मानवीय स्वभाव र व्यवहार परिवर्तन गरे कोरोना हाम्रो वरिपरी आउँदैन

डा. बाबुराम मरासिनी

इपिडिमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख

तत्कालै सूचना प्रवाहको जमाना भएकाले एउटा पनि तथ्यहीन सूचना फैलिन नपाओस् भन्नेमा सजग हुनुपर्छ । तथ्यहीन सूचनाले त्रासदीपूर्ण वातावरण बनाउँछ । प्रकाशित प्रशारित सबै सूचना सही नहुन सक्छन् । सूचनालाई पुष्टि नगरी प्रशारण प्रकाशन गर्नु हुँदैन । विश्व स्वास्थ्य सङ्गठनले गत ३० जनवरीमै नोभल कोरोना भाइरसलाई लिएर ‘अन्तराष्ट्रिय चासोको जनस्वास्थ्य सङ्कट’ घोषणा गरिसकेको छ । यसअघि सन् २००९ मा स्वाइन फ्लु (एचवानएनवान), २०१४ मा पोलियो र २०१४ मै इबोला, २०१६ मा जिका भाइरस र २०१८ मा किभु इबोलाका कारण स्वास्थ्य सङ्कटकाल घोषणा गरिएको थियो । इबोला र सार्सको मृत्युदर कोरोनाको भन्दा बढी थियो भने स्वाइन फ्लुको कम थियो । त्यतिबेला सङ्क्रमितमध्ये इबोलाबाट ३४ प्रतिशत, सार्सबाट ९.६ प्रतिशत र स्वाइन फ्लुबाट ०.०२ प्रतिशतको ज्यान गएको थियो ।

रुघा मात्रै लक्षण भन्ने गरेको सुनेको छु । यसले जनमानसमा त्रास फैलिएको छ । ज्वरो आयो, खोकी लाग्यो र स्वासप्रश्वासमा समस्या भयो भने शङ्का गरौँ । रुघा लाग्यो भनेर नआतिउँ । आम नागरिकमा सही सूचना पुर्‍याउनु पर्छ भनेकै यस्तै कारणबाट हो । रुघा लाग्दा मात्रै कोरोना भएको केस त निकै न्यून छ । तर, कोरोना भएका सबैजसोमा ज्वरो आउने, खोकी लाग्ने र सास फेर्न गार्‍हो हुने समान लक्षण देखिएका छन् । त्यसैले सही ठहरिएका सूचनालाई मात्रै जारी गरौँ । धेरैभन्दा धेरै प्रचार सामग्री छापौँ र बाडौँ । तीनै तहका सरकारले यसका लागि समय र बजेट छुट्याउनु आवश्यक छ । सही सापेक्ष हुन्छ । वैज्ञानिकताले अर्को कुरा पुष्टि गरेपछि मात्रै अर्को सही हुन्छ नत्र अहिले जे पुष्टि छ त्यो मात्रै सही हो ।

यो रोग स्वास प्रश्वासबाट फैलने रोग हो । सबैभन्दा ठूलो कुरा सरसफाइमा ध्यान दियौँ भने कोरोनाले छुँदैन । हाम्रो पुर्वीय दर्शनले भने अनुसारका 'नमस्ते गरौँ, बाहिरबाट आएपछि बालबालिकालाई छुनु अघि आगो वा पानी छुने गरौँ' भनेका कुरालाई एकैछिन विचार गरौँ । हात कसको सफा छ कसको फोहोर कसरी थाहा पाउनु ? त्यही भएर नमस्ते गरेमा छुनु पर्दैन । संसर्गबाट लाग्ने रोग सर्दैन । बाहिरबाट आएका मानिसले हात गोडा धोएर वा आगोमा हात सुख्खा गरेर बालबालिका लिँदा भाइरस मर्ने हुँदा बालबालिका सम्भावित जोखिमबाट जोगिइन्छ । जो १३ दिने किरिया बस्छ, किरिया बस्दा प्रायः स?वा रोगले छुँदैन । उसले आफ्नो खाना आफैँ बनाएर खान्छ । छुट्टै बस्छ । एक हिसाबले त्यो पनि आइसोलेशन रहेछ । यो धर्मसँग जोडिएको कुरा हो । तर, यसमा वैज्ञानिक कारण रहेछ । यस्ता वैज्ञानिकता पनि खोजौँ । धार्मिक कारण नै किन नहोस् रोग नलाग्ने वा नसर्ने बाटोको खाजी गरौँ । जगेर्ना गरौँ । ज्येष्ठ नागरिकको हेरचाह र सरसफाई तथा बालबालिकालाई परिवारका केही निश्चित व्यक्तिबाहेक अरूले छुने नगरौँ । भेटघाट आउजाउ बन्द भनेको चाहिँ रोग नसरोस् भनेर हो । त्यसैले सफाईमा काफी ध्यान दिउँ । सरसफाईले कोरोना मात्रै होइन धेरै भाइरल रोगबाट जोगिन मद्दत पुर्‍याउँछ ।

हामीले मानवीय व्यवहार र स्वभाव परिवर्तन गर्न सक्यौँ भने कोरोना हाम्रो वरिपरी आउँदैन । तर, यो निकै गार्‍हो काम हो । एकैपटक परिवर्तन भइहाल्दैन । चुरोटले स्वास्थ्यमा असर गर्छ भन्ने जानकारी दिने १५ प्रतिशत डाक्टर नै चुरोट पिउँछन् । त्यसैले शारीरिक स्वास्थ्य सरसफाई महत्वपूर्ण हुन्छ । बानी परिवर्तन गर्न कानुनको पनि आवश्यक छ । जहाँ पायो त्यहिँ थुक्नु हुँदैन । दिसापिसाव गर्नु हुँदैन मात्रै भनेर भएन । यदि त्यसो गरेको पाइएमा कारवाही हुने प्रावधानसहित तत्कालै अध्यादेश ल्याएर कार्यान्वयन गर्नुपर्छ । मेरो विचारमा कोरोनाको प्रकोप त्यति चाँडै समाधान भइहाल्दैन । लामै अवधि यसको प्रकोप रहन्छ । प्रकोप नियन्त्रणका लागि सरकार र स्वास्थ्यकर्मीलाई आम नागरिकले पूर्ण साथ र सहयोग गर्नुपर्छ । आम नागरिकको साथ भएमा अन्यत्र जेजे भएपनि नेपालमा भने चाँडै कोरोना नियन्त्रणमा आउँछ । त्यसका लागि नागरिकले सरसफाईमा पूर्ण ध्यान दिनु जरूरी छ । बेलैमा सावधानी अपनाएर सम्भावित क्षतिबाट जोगिउँ ।

रमेशप्रसाद तिमल्सिनासँगको कुराकानीमा आधारित