बागलुङका कायतः आर्थिक, सामाजिक र सांस्कृतिक अवस्था

सृजना पन्त

बागलुङ । ०७६ फागुन ८ गते

नेपाल चार जात ३६ वर्णको साझा फूलबारी हो । यो भनाइले जातीय विभेदलाई प्रोत्साहन गर्छ भन्ने तर्क पनि यदाकदा छन् । तर बहुभाषी, बहुजाति र बहुसंस्कृति भएको नेपाल साँच्चै साझा फूलबारी हो भन्दा फरक पर्दैन । साँच्चै सबै जात, सबै धर्म र सबैं संस्कृतिले फुल्न पाउने हो भने यो फूलबारी विश्वकै सुन्दर फूलबारी हुनेछ । नेपाल जात, धर्म र भाषा जस्तै भौगोलिक विविधताले पनि भरिपूर्ण देश हो भन्नेमा शङ्का छैन । दक्षिण एसियाली भूपरिवेष्ठित हिमाली राष्ट्रका रूपमा विश्वमा परिचित भए पनि नेपालमा हिमालमात्र छैनन्, उच्च पहाड र तराईका उष्ण फाँट पनि छन् ।
फरक फरक जात, धर्म, वेशभूषा र भाषा संस्कृतिले भरिएको नेपाल विश्वमा छुट्टै पहिचान भएको देश हो । १ सय २३ भाषी र १ सय २५ जातिको बसोबास रहेको नेपालमा अल्पसङ्ख्यक जातजातिको बसोबास छ । कुनाकुनामा रहेका ती जाति कति लोप भइसकेका छन् भने कति घिटिघिटी गरेरै भए पनि आफ्नो अस्तित्वको लडाइँ लडिरहेका छन् । राष्ट्रको विकास र पहिचानमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कतिपय जातिले आफ्नो जात, धर्म र संस्कृतिको पराक्रमको परिचय दिइरहेका छन् । यहाँ राष्ट्रिय भाषासँगै मैथिली, मगर, तामाङ र नेवारी भाषा बोल्नेको सङ्ख्या पनि उल्लेख्य छ । हिन्दुसँगै, बौद्ध, इस्लाम, क्रिस्चियन र किरात धर्म मान्नेको सङ्ख्या पनि उल्लेख्य छ ।
सांस्कृतिक पहिचान, सामाजिक संरचना छुट्टै भएका र लिखित र अलिखित इतिहास भएका जाति र समुदायलाई जनजाति भनिन्छ । नेपाल सरकारले ५९ जातिलाई आदिवासी जनजातिमा सूचीकृत गरेको छ । आदिवासी जनजातिभित्र पनि लोपोन्मुख, अति सीमान्तकृत, सीमान्तकृत, सुविधा वञ्चित र उन्नत गरी ५ भागमा विभाजन गरिएको छ । नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार कुल जनसङ्ख्याको ०.५० प्रतिशतभन्दा कम जनसङ्ख्या भएका समुदायलाई अल्पसङ्ख्यक भनिन्छ । तोकिएको जनसङ्ख्याभन्दा कम सङ्ख्या रहेका छैरोतन, ताङ्बे, थकाली, तीन गाउँले, थुदाम, ताप्केगोला, फ्रि, धानुक, वनकरिया, मार्फाली थकाली, बाह्र गाउँले, व्यासी, लार्के, बालुङ, सियार र सुरेल जातका  आदिवासीभित्रका १६ ओटा समुदाय अल्पसङ्ख्यकको सूचीमा समावेश भएका छैनन् ।
त्यस्तै सरकारले सीमान्तकृत समुदायका रूपमा सियार, माझी, ल्होमी, थुदाम, धानुक, चेपाङ, सतार (सन्थाल), झाँगड, थामी, बोटे, दनुवार र बरामोलाई समावेश गरेको छ । अमात, आठपहरिया, उराव, कार्मारोङ, किरात कोइच, कुर्मी, कुमाल, केवट, केवरत, कोच, खडिया, खाम्पा, गडेरिया, गनगाई, गोंड, घ्याल्सुम्दो नार्पा, ङिस्याङ, चुम्बा, चेपाङ, जिरेल, टहसक्च्युलुङ, ढोक्प्या, ताजपुरिया, तामाङ, थपल्याब्यासी, थामी, थारू, थुदाम, दराई र दनुवारलाई सीमान्तकृत समुदायका रूपमा सिफारिस गरेको छ ।
बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ७ बोवाङमा बसोबास गर्दै आएको कायत समुदाय नेपालका १ सय २५ जातिमा त सूचीकृत छैनन् नै, सूचीकृत हुन छुटेका जातिको सूचीमा पनि समावेश छैनन् । उनीहरू किन सूचीकृत हुन सकेनन् र सूचीकृत हुन नसकेका जातिमा समेत किन पर्न सकेनन् भन्नेबारे कुनै आधिकारिक धारणा प्राप्त हुन सकेको छैन ।
कायत जातिको बसोबास नेपालभर ढोरपाटन नगरपालिकामा मात्रै छ । ढोरपाटन सिकार आरक्षको नामबाट नामाकरण गरिएको ढोरपाटन नगरपालिकाको बोवाङ र ढोरपाटन उपत्यकामा बस्ने कायत समुदाय यही कारण महत्वपूर्ण भइकन पनि ओझेलमा छ । उनीहरू कहाँबाट कहिले आएर यो ठाउँमा बसोबास गर्न थाले भन्नेबारे एकीन र भरपर्दा प्रमाण छैनन् । तापनि नेपालको अन्य स्थानमा बसोबास गरेको नपाइएको हुँदा वर्षौँदेखि यसै क्षेत्रमा उनीहरू बस्दै आएका अनुमान गर्न सकिन्छ । न्यून जनसङ्ख्या र एउटा सीमाभित्र मात्र बसोबास गर्दै आएका कायत समुदायको आफूहरूलाई अल्पसङ्ख्यक, लोपोन्मुख, सीमान्तकृतको सूचीमा समावेश गरिनुपर्ने माग छ तर अहिलेसम्म उनीहरू कुनै पनि जातिमा समेत सूचीकृत हुन भने सकेका छैनन् । यस अध्ययनमा राज्यको कुनै पनि जातिमा समावेश नहुँदा कायत जातिको आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थामा परेको प्रभाव प्रस्ट पार्ने प्रयास गरिएको छ ।
गण्डकी प्रदेशको पहाडी जिल्लाका रूपमा चिनिएको बागलुङको जनसङ्ख्या राष्ट्रिय जनगणना २०६८ अनुसार २ लाख ६८ हजार ६ सय ५ छ । त्यसमध्ये ढोरपाटन नगरपालिकाको जनसङ्ख्या २६ हजार १ सय १५ छ । राष्ट्रिय जनगणना २०६८ मा गणकका रूपमा कायत समुदायबाट पनि प्रतिनिधित्व थियो । हाल कायत एकता समाजका अध्यक्षसमेत रहेका निमबहादुर कायतले तत्कालीन बोवाङ गाविसको गणकका रूपमा काम गरेका थिए । तर उनलाई नै त्यो समयमा कायतको जनसङ्ख्या यति नै थियो भन्ने एकीन छैन । तथ्याङ्कक कार्यालय बागलुङका तथ्याङ्क अधिकृत मुकुन्द शर्माका अनुसार जनगणनाअनुसार कायतको जनसङ्ख्या १ सय २९ पुरुष र १ सय ६७ महिला गरी २ सय ९६ छ । यो सङ्ख्या ढोरपाटन नगरपालिकाको कुल जनसङ्ख्याको १ प्रतिशत मात्र हो । हालसालै कायत एकता समाज बोवाङले गरेको सर्वेक्षणअनुसार उनीहरूको जनसङ्ख्या ४ सय १ रहेको समाजका अध्यक्ष निमबहादुर कायतले बताउनुभयो ।
कायतको बसाइँ घुमन्ते छ । वर्षको ६ महिना (असोजदेखि फागुनसम्म) बोवाङमा बसोबास गर्छन् भने ६ महिना ढोरपाटन उपत्यकामा बसोबास गर्छन् । असोज लागेसँगै ढोरपाटनमा चिसो बढ्ने र हिउँ तुसारो पर्न थालेपछि त्यहाँ बस्न नसकेर तल झर्ने गरेको रामबहादुर कायत बताउँनुहुन्छ । ‘पुर्खाकै पालादेखि हाम्रो बसोबास दुई ठाउँमा छ, जाडोमा तल झर्छौँ, गर्मी सुरु भएपछि माथि जान्छौँ’– रामबहादुरले भन्नुभयो । यस क्षेत्रका विद्यालय, वस्तुभाउ पनि जाडो सुरु भएसँगै ढोरपाटन उपत्यकाबाट बोवाङ झारिने चलन छ ।
पेशा र आर्थिक अवस्था
कायत जातिको मुख्य पेशा कृषि हो । वर्षभर खेतीपाती गर्दा पनि आफ्नो उत्पादनले उनीहरूलाई ४ महिना खान पनि पुग्दैन । उनीहरूको मुख्य नगदेवाली आलु, मकै, गहुँ, जौ र उवा हुन् । आफूले उब्जाएको मकै र आलुसँग उनीहरू धान साट्ने गर्छन् । पहिले–पहिले उनीहरू दैनिकजसो मकैको आटो र आलु नै खान्थे । भात खान चाडपर्व र विशेष अवस्था जुर्नुपथ्र्यो । तर पछिल्लो समय उनीहरूको भान्छामा दैनिकजसो भात पाक्छ । उनीहरूको मुख्य आम्दानीको स्रोतचाहिँ आलु बिक्रीबाट आउने पैसा नै हो । उनीहरूले उत्पादन गरेका आलु काठमाडौँ, चितवन, पोखरालगायतका मुख्य शहरसम्म पुग्छन् । पछिल्लो समय कायतले यहाँ उत्पादन गरेका आलु विभिन्न शहरबाट माग हुने क्रम बढ्दो छ ।
पछिल्लो समय कायत समुदायबाट वैदेशिक रोजगारीका लागि जानेहरूको सङ्ख्या पनि बढ्दै गएको छ । सरकारी जागिर खानेको सङ्ख्या भने न्यून छ । आर्थिक अवस्था कमजोर भएका कारण अहिलेसम्म सामुदायिक भवन निर्माण गर्नसमेत नसकेको उनीहरूको गुनासो छ । उनीहरूले आफ्नो धर्म, संस्कृति र पहिचान जोगाउन हरसम्भव प्रयास गर्दै आएका छन् । अहिलेसम्म स्थानीय तहले भने कायत जाति र समुदायका लागि भनेर एउटा पनि योजना तयार गरेको छैन ।
देशको कुनै पनि स्थानमा नपाइने लोपोन्मुख कायत जाति आफ्नो नगरपालिकामा मात्र बसोबास गरेको पाउँदा पनि स्थानीय तहले न उनीहरूको पहिचान संरक्षणका लागि कदम चालेको छ न त उनीहरूको विकास, संरक्षण र संवर्धनकै लागि कुनै योजना, नीति निर्माण गरेको छ । आफ्नो पुख्र्यौली पेशाले ४ महिना पनि खान नपुगेपछि पछिल्लो समय उनीहरू अन्य पेशा/व्यवसायमा पनि आबद्ध हुन थालेका छन् । अन्य व्यवसायमा आबद्ध भएपछि उनीहरूको आर्थिक अवस्था सुधारोन्मुख त देखिएको छ तर पनि त्यो गुणस्तरीय जीवन यापनका लागि पर्याप्त भने छैन ।
बोवाङमा बसोबास गर्ने कायत समुदायमा कृषि पशुपालनबाहेक अन्य पेशामा संलग्नहरू निम्न छन्
शिक्षक–२ (पुरुष १, महिला १)
प्रहरी– २ (पुरुष)
सेना– १ (पुरुष)
वैदेशिक रोजगार– ३२ (पुरुष)
स्वास्थ्यकर्मी– १ (पुरुष)
सामाजिक तथा सांस्कृतिक अवस्था
कायत जाति र समुदायभित्र धर्म, संस्कृतिमा सधैँ एकरूपता छ । उनीहरू सबै एउटै चाड/पर्व मनाउँछन्, एउटै भाषा बोल्छन् र एउटै संस्कृतिमा रमाउँछन् । केही वर्षपहिले धर्म संस्कृतिमा जस्तै कायत जातिको थरमा पनि एकरूपता थियो । तर अहिले भने उनीहरू आफ्नो जातीय पहिचानको अभावका कारण थर परिवर्तन गर्न बाध्य भएको बताउँछन् । बोवाङमा जति पनि कायत जातिको बसोबास छ उनीहरू सबैले आफ्नो थर कायत नै लेख्थे । तर कायत तर लेख्दा रोजगारीमा समस्या परेको भन्दै युवा पुस्ताले आफ्नो थर परिर्वतन गर्न थालेका छन् ।
हेर्दा मङ्गोलियन जस्ता देखिने कायतको जातिगतरूपमा पहिचान हुन नसक्दा आफूहरू वञ्चितीकरणमा परेको, राज्यले जनजातिलाई उपलब्ध गराउने आरक्षणमा आफूहरू नपरेको र त्यसले गर्दा भारतीय सेनामा भर्ती हुन, नेपालमा सरकारी जागिर खानसमेत आफूहरूलाई समस्या भएकाले थर परिर्वतन गर्न बाध्य भएको स्थानीयको भनाइ छ । त्यसैले पछिल्लो पुस्ताका युवाले कायतको ठाउँमा आफ्नो थर पुन र थापा लेख्न सुरु गरेका छन् । रोजगारी र आरक्षणका लागि थर नै परिर्वतन गर्न बाध्य भए पनि आफूपछिको पुस्तासम्म यो जातिको अस्तित्व नै लोप हुने डरसमेत उनीहरूमा छ । थरमा विविधता पाइए पनि उनीहरूका धर्म, संस्कृति र संस्कार भने निम्न छन्
जन्म संस्कार
यहाँका कायत जातिमा गर्भवती महिलाले गाह्रो काम गर्नुहुुँदैन, आराम गर्नुपर्छ, पोषिला कुरा खानुपर्छ भन्ने राम्रा मान्यता छन् । तर सुत्केरी भएपछि भने २१ दिनसम्म जुठो हुन्छ, सुत्केरीलाई छुनु हुँदैन । सुत्केरीलाई घरमा बनाएको रक्सी र जाँड खुवाउनुपर्छ । यसरी जाँड/रक्सी खुवाउँदा सुत्केरी र बच्चा दुवै बलिया हुन्छन् भन्ने धारणा छ । पहिले पहिले सुत्केरी व्यथा लागेपछि गाउँमै सुडेनीलाई बोलाउने प्रचलन थियो तर बिस्तारै स्वास्थ्य संस्थासम्म लैजाने र प्रसूति गराउनेहरू बढ्दै छन् । यहाँ सुत्केरी महिलालाई अत्यधिक धेरै रक्सी र मासु खुवाउने प्रचलन छ ।
धूप गर्ने
अन्य समुदायमा न्वारन भने पनि कायत जातिले यो संस्कारलाई धूप गर्ने भन्छन् । बच्चा जन्मेको ३ र ५ दिनमा धूप गरिन्छ । छोरी जन्मेमा ३ दिन र छोरा जन्मेमा ५ दिनमा धूप गर्ने गरिन्छ । छोरीहरू छिटो हुर्कने, बढ्ने र विवाह गरेर अरुको घरमा जाने जात भएकाले ३ दिन र छोराहरूले अन्तिमसम्म पनि पुर्खाको परम्परा धान्ने भएका कारणले ५ दिनमा धूप गर्ने गरेको उनीहरूको भनाइ छ । धूप गर्नका लागि पण्डित या अन्य कसैको आवश्यकता पर्दैन । उनीहरू आफ्ना सबै दाजुभाइ जम्मा हुन्छन् । बच्चा र आमालाई समुदायका महिलाले नुहाइदिन्छन्, गहुँत सबैलाई छर्केर कुल चोख्याउँछन् र आफूहरू पनि चोखिन्छन् । अन्य समुदायमा जस्तो यही दिन बच्चाको नामकरण यो समुदायमा गरिँदैन । सुत्केरी भएको २१ दिनसम्म सबै जुठो हुने भएकाले नामकरण गर्नुहुँदैन भन्ने मान्यता पनि यिनीहरूमा छ । २१ दिनपछि भने स्थानीय पण्डितलाई बच्चा जन्मेको समय र मिति भनेर १–२ महिनाभित्र नाम राख्ने चलन छ ।
पास्नी
कायत समुदायमा अहिलेसम्म कसैले ३ दिन र कसैले ६ महिनामा पास्नी गर्ने गरेका पाइएको छ । यो समुदायमा कसैकसैले पास्नीलाई जुठो लगाउने पनि भन्छन् । पास्नीको दिन घरमा पाकेको खानेकुरा बच्चाको मुखमा जुठो लगाइन्छ । उनीहरूको पकवानमा कुखुराको मासु अनिवार्य हुन्छ । पास्नीका दिन घरको मूलीले बच्चालाई बोकेर हातमा लठ्ठी समातेर पूर्व, पश्चिम, उत्तर र दक्षिण घुमाउँछन् र संसारको परिक्रमा गर्नू भन्दै आशीष दिन्छन् ।
छेवर
छोरा जन्मेको ३ वर्ष पुगेपछि मात्र छेवर गरिन्छ । छेवरको दिन कायत जातिले स्थानीय ब्राह्मण (पण्डित) बोलाउँछन् । पण्डितले हेराएर कपाल काट्ने मान्छे जुराइदिन्छन् । कपाल पण्डितले जुराएको व्यक्तिले मात्र काट्ने चलन छ । छेवरका दिन बच्चाको भविष्य निर्धारण हुन्छ भन्ने मान्यता यो समुदायमा छ । उनीहरूले सगुनका रूपमा चामल र गहुँको पीठोबाट कापी, कलम, हतियार, पैसा र अन्य वस्तु तयार गर्छन् र बच्चालाई त्यसकै नजिक छाड्छन् । बच्चाले सबैभन्दा पहिले जुन चिजमा हात लगाउँछ ऊ भविष्यमा त्यही बन्छ भन्ने विश्वास उनीहरूमा छ । छेवरका दिन दाजुभाइ बोलाउने, खसी काट्ने, खाने र रमाइलो गर्ने उनीहरूको चलन छ ।
विवाह संस्कार
विवाहलाई सामाजिक संस्कार र जैविक आवश्यकताका रूपमा हेरिँदै आएको छ । हाम्रो समाजले विवाहपछि मात्रै सन्तान जन्माउन अनुमति दिन्छ । धर्म, संस्कार र जात जातिका आफ्ना रीतिरिवाजअनुसार विवाह गर्ने तौरतरिका पनि फरकफरक हुन्छन् । कायत जातिमा विवाह गर्ने प्रचलन र तरिका निम्न छन्
प्रेम विवाह/भागी विवाह
अन्य समुदायम जस्तो मागेर विवाह गर्ने प्रचलन कायत जातिमा छैन । प्रौढदेखि आजका युवा पुस्तासम्ममा उनीहरूका समुदायका एकजना मानिसको पनि मागेर विवाह भएको रेकर्ड छैन । उनीहरूको समुदायमा सबैभन्दा प्रचलित र मान्यता पाएको विवाह भनेको प्रेम र भागी विवाह नै हो । विवाह गर्ने उमेर भएका युवा/युवतीले विवाहका लागि प्रेम गर्नु अनिवार्य नै छ । यो समुदायमा प्रेम गर्नु, विवाहअगाडि केटा/केटी भेट्नु, हाँस्नु, बोल्नुलाई नकारात्मकरूपमा हेरिँदैन । मन परेको केटाले दलित र हाडनाताबाहेकका जुन कुनै समुदायको केटीलाई प्रेम गरेर ल्याए पनि उनीहरूको समुदायमा सहर्ष स्वीकार गरिन्छ । केटाले केटीलाई भगाएर ल्याएको तेस्रो दिन समुदायका अग्रज र केटाको घरका अभिभावक केटीको घरमा जान्छन् र तपाईँको छोरी हाम्रो छोराले ल्याएको छ भनेर जानकारी दिने चलन छ । उनीहरू जानकारी दिन जाँदा रक्सी, मासु र सुन लिएर जान्छन् । केटीको घरकाले सगुन स्वीकार गरे भने टीका फुकाउन कहिले आउने भनेर सल्लाह हुन्छ । गरेनन् भने पनि हाम्रो छोराले ल्याएको, हाम्रो जीत भयो भनेर केटा पक्ष नझुक्ने मान्यता छ । यो समुदायका केटीलाई पनि दलितबाहेक अन्य जुनसुकै समुदायका केटासँग भागेर जान अनुमति छ ।
विधवा/विधुर विवाह
विधवा र विधुर विवाह त्यति धेरै नभएको भए पनि विवाह गर्न भने यो समुदायमा रोक छैन । कसैको श्रीमान्, कसैको श्रीमतीको कुनै कारणवस मृत्यु भएमा अर्काे विवाह गर्न छूट छ । श्रीमान्को मृत्यु भएकाले श्रीमतीको मृत्यु भएकासँग मात्र विवाह गर्नुपर्छ भन्ने छैन । कुमार केटासँग विधवा महिला र विधुरसँग कुमारी केटीको पनि विवाह हुन सक्छ । यस्तो विवाहका लागि कुनै अवरोध छैन ।
जारी लिने प्रथा/विवाह
अर्काकी श्रमिती विवाह गरेपछि जारी तिर्ने प्रथा पनि यो समुदायमा कायम छ । कसैकी श्रीमतीलाई अरु पुरुषले प्रेम गरेर वा प्रलोभनमा पारेर विवाह गरे पनि पहिलो श्रीमान्ले महिलाको दोस्रो श्रीमान्बाट जारी लिने चलन छ । महिलाले पहिलाको श्रीमान्को घरबाट वा विवाह गरेर आउँदा ल्याएका सबै गहना, कपडा र अन्य वस्तु फिर्ता गर्नुपर्छ । पहिलो श्रीमान्ले दोस्रो श्रीमान्सँग आफ्नी श्रीमतीको मूल्य गर्छ र दोस्रो श्रीमान्ले त्यो मूल्य तिर्नुपर्ने हुन्छ । यसरी जारी बुझेपछि दोस्रोपटक विवाह गरेर आएकी महिलालाई समाजले घृणाको दृष्टिले हेर्दैन ।
मृत्यु संस्कार
अन्य जातिको जस्तै कायत जातिको पनि छुट्टै प्रकारको मृत्यु संस्कार छ । उनीहरूको समुदायमा कसैको मृत्यु भयो भने कट्वालले घोक हालेर मान्छे मरेको जानकारी सबैलाई गराउँछ । कायत जातिमा उमेर पुगेर वा वृद्ध अवस्था भएर मृत्यु भएका व्यक्तिहरूको शव गाड्ने र दैवी प्रकोप, उमेर नपुगी, भिरबाट लडेर वा अन्य कुनै दुर्घटनामा परेर मृत्यु भएका व्यक्तिको शव भने जलाउने चलन छ । यसमा श्रीमान्को पहिला मृत्यु भएको छ भने उसको जुन प्रकारले दाहसंस्कार गरिएको हो, वर्षपछि श्रीमतीको मृत्यु भयो भने पनि सोहीअनुसार अन्तिम संस्कार गर्ने चलन छ । कट्वालले घोक हाल्ने समयमा नै जलाउने वा गाड्ने भनेर जानकारी गराउँछ । जलाउने भनियो भने सबैले आआफ्नो घरबाट १–२ वटा दाउरा लिएर आउनुपर्छ । ढोरपाटन र बोवाङ दुई ठाउँमा बसोबास भएका कारण उनीहरूको दुवै ठाउँमा मसान घाट छ । उनीहरू त्यहीँ अन्तिम संस्कार गर्छन् । मृतकलाई घाटसम्म पुर्‍याउन जाने प्रक्रियालाई उनीहरू मलामी जाने भन्छन् । त्यसका लागि कायतमात्र नभएर अन्य समुदायका व्यक्तिको पनि सहभागिता हुन्छ । मृत्यु भएको प्रायः १३ औँ दिनमा उम्कने वा चोखिने चलन भए पनि उनीहरूले चाड/पर्व, विवाह, छेवर वा अन्य विशेष परिस्थितिमा भने ९, ७, ३ र १ दिनमा पनि उम्कने गरेका छन् । विशेषगरी मृत्यु भएको ९ दिनबाट उनीहरू नून खाँदैनन्, ९ दिनसम्म मृत्यु भएका घरकै मानिस, किरिया गर्ने व्यक्तिले पनि नून खान र दैनिक काम गर्न छूट छ । ९ दिनका दिन कोरा पस्ने र १३ औँ दिनमा उम्कँदाको दिन टीका लगाउने, खसी काटेर खाने गर्छन् । किरिया गर्ने छोरा नभएको, आर्थिक अवस्था अति कमजोर भएको र दसैँ/तिहार जस्ता ठूला चाड/पर्व, कसैको विवाह परेमा भने उनीहरू पहिल्यै पनि उम्कन सक्छन् । हिन्दु धर्मावलम्बी भए पनि उनीहरूमा पितृलाई सम्झेर श्राद्ध गर्ने चलन भने छैन ।
धर्म संस्कार
कायत जाति हिन्दु धर्म मान्छन् । उनीहरू गणेश, शिव, पार्वतीसँगै सम्पूर्ण हिन्दु देवी/देवताको पूजा गर्छन् । हाल कायत समुदायका २ जना भने क्रिस्चियन धर्ममा आस्था राख्न थालेका छन् ।
भाषा
कायतहरू राष्ट्रिय भाषा नेपाली बोल्छन् । उनीहरूको आफ्नो छुट्टै भाषा छैन ।
पोशाक
कायत जातिको आफ्नो छुट्टै पोशाक छ । नयाँ पुस्ताले आधुनिक पोशाक लगाउने गरे पनि उनीहरूका पुराना पुस्ताले भने अहिले पनि दैनिक आफ्नै पोशाक लगाउने गरेका छन्  । कायत जातिका पुरुषहरू चौबन्दी, खादी, पाखी र काम्लाको टोपी लगाउँछन् । उनीहरूले प्रयोग गर्ने काम्लामा भेडाको ऊन प्रयोग हुन्छ । पुरुषले पोशाकमा खुकुरी, ठिउरालाई गहनाका रूपमा प्रयोग गर्छन् । महिलाका लागि गुन्यु चोली, घलेक, टेकी र पटुका मुख्य पोशाक हो । उनीहरूले अहिले पनि चाँदीका सिक्काको हमेल गहनाका रूपमा लगाउँछन् । डोरा, रइया बाला, पोते, चाँदीका मुन्द्रा, रिङ, नाकमा फुली र बुलाकी उनीहरूका मुख्य गहना हुन् । उनीहरूका सबै गहना चाँदीका हुन्छन् ।
चाड/पर्व
कायत हिन्दु धर्मावलम्बी हुन् । उनीहरू दसैँ, तिहार, तीज, माघे सङ्क्रान्ति, जनै पूर्णिमा, गोठ पूजा जस्ता सबै प्रकारका चाड/पर्व मनाउँछन् । तर अन्य हिन्दु धर्मावलम्बीले नमनाउने उनीहरूको आफ्नै पर्व पनि छ, जसलाई उनीहरू विसौना भन्छन् । उनीहरूले यो पर्व आफ्ना मृत्यु भएका परिवारका सदस्यहरूको सम्झनामा मनाउने गर्छन् । यो समुदायका मृत्यु भएका व्यक्तिहरूको चिहानबाट ल्याइएका ढुङ्गालाई विसौना बनाएर सुरक्षित राखिएको छ । यो पर्व परिवारका सदस्यको मृत्यु भएको दुई वर्षपछि मात्र मनाउन सुरु गरिन्छ । मनाउँदा उनीहरू झाँक्रीसहित आफ्ना परिवारका सदस्यहरूको अन्तिम संस्कार गरेको चिहानमा गई ढुङ्गा ल्याउँछन् र विसौनामा राखिन्छ । यो पूजाका लागि भेडाको आवश्यकता पर्छ । मृत्यु भएका परिवारले १ र समुदायबाट १ भेडा ल्याइ विसौनामा काट्ने र सबै दाजुभाइले खाने गरेपछि विसौना सकिन्छ ।
स्वास्थ्य
कायतहरूको खानपान, जीवनशैली र धामी/झाँक्रीमा बढी आस्था विश्वास भएका कारण उनीहरूको स्वास्थ्य कमजोर बन्दै गएको छ । साक्षर भए पनि पढे/लेखेका र बौद्धिक व्यक्तिहरूको सङ्ख्या न्यून छ र भएका व्यक्ति पनि आफ्नो संस्कार र संस्कृति भन्दै अन्धविश्वासबाट माथि उठ्न सकेका देखिँदैन । कायत समुदायका मानिसले रक्सी र जाँडलाई पानीकै रूपमा पिउने गरेका छन् । बालबच्चादेखि वृद्धवृद्धा सबैले जाँड/रक्सी खाने कुरालाई सामान्यरूपमा लिन्छन् । मद्यपान मात्र नभएर धूमपान र सूर्तीजन्य पदार्थ पनि यो समुदायमा सामान्य जस्तै छ । पछिल्लो समय स्वास्थ्य संस्थामा उपचारका लागि जानुपर्छ भन्ने चेतना बढेको भए पनि एकपटक धामी झाँक्रीमा जानैपर्छ भन्ने मान्यता पनि उत्तिकै गतिलोसँग जरा गाडेर बसेको छ ।
शिक्षा
कायत जातिका मानिस शैक्षिकरूपमा पनि पछाडि छन् । ढोरपाटन र बोवाङ गरी २ स्थानमा घुमन्ते बसोबास रहेपछि २ स्थानमै विद्यालय छन् । पछिल्लो समय सबै बालबालिका विद्यालय जान थालेका भए पनि उनीहरूमध्ये माध्यमिक तहको पढाइ भने कमैले पूरा गर्ने गरेका छन् । स्थानीय ज्ञानोदय माध्यमिक विद्यालयका प्रधानाध्यापकसमेत रहेका कायत समुदायका अगुवा यामबहादुर कायतले विद्यालयमा ६ सय ७१ जना विद्यार्थी भए पनि कायत समुदायका ४६ जनामात्र भएको जानकारी दिए । परिवारको कमजोर आर्थिक अवस्था भएकाले काम गर्न सक्ने उमेरका अधिकांश बालबालिकालाई विद्यार्थीका रूपमा विद्यालयमा रोकेर राख्न मुस्किल छ । यो समुदायमा अहिलेसम्म एसइइ उत्तीर्ण गरेका १८ महिला र २३ पुरुष गरी ४१ जना छन् भने १२ पास गरेका ४ महिला र ६ पुरुष गरेर १० जना छन् । त्यसैगरी १ महिला र २ पुरुष गरी ३ जनाले बिए पास गरेका छन् भने एमए पास गर्नेमा मात्र १ जना (पुरुष) छन् ।
सामाजिक सङ्घसंस्थामा आबद्धता
कायत समुदायका कुनै पनि व्यक्तिको अन्य सामाजिक सङ्घ/संस्थामा आबद्धता छैन । उनीहरू आफैँले गठन गरेको कायत एकता समाजमा मात्र आबद्ध छन् । सामाजिक काम र पहिचानको लडाइँ उनीहरू यही संस्थामार्फत लडिरहेका छन् ।
मुख्य समस्या
बागलुङको बोवाङ र ढोरपाटन उपत्यकामा बसोबास रहेका कायत जाति आर्थिक, सामाजिक र सांस्कृतिकरूपमा पछाडि परेका छन् । यो जातिमा देखिएका मुख्य समस्या निम्नानुसार छन्
पहिचानको समस्या
कायत जातिको मुख्य समस्या पहिचान नहुनु हो । उनीहरूलाई अहिलेसम्म सरकारले कुनै पनि जाति र वर्गमा सूचीकृत गरेको छैन । जातिगतरूपमा पहिचान नहुँदा उनीहरू शिक्षा, रोजगारी जस्ता सरकारले अल्पसङ्ख्यक, सीमान्तकृत र लोपोन्मुख समुदायका लागि प्रदान गर्दै आएका आरक्षण कोटाबाट समेत वञ्चित हुनुपरेको यो समुदायका ज्येष्ठ सदस्य ८३ वर्षीय चनु कायत बताउँनुहुन्छ ।
कमजोर आर्थिक अवस्था
कायतहरू बागलुङ जिल्लाकै गरिब समुदायभित्र पर्छन् । कृषिमा निर्भर हुनु, जनसङ्ख्या बढ्दै जानु र आफ्नो पुख्र्यौली सम्पत्ति कम हुनु उनीहरूका लागि अर्काे समस्या हो । पछिल्लो समय वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या वृद्धि हुँदै गए पनि उनीहरू साउदी र मलेसिया जस्ता खाडी मुलुकमा कम आम्दानी हुने जोखिमपूर्ण काम गर्न बाध्य छन् । धान नफल्ने, आलु र मकैमा निर्भर पर्नुपर्ने भएकाले कायतले दुःख गरेर कमाएको थोरै पैसा पनि चामल खरिदमै सकिने गरेको छ । उनीहरूसँग उद्योग/व्यवसाय सञ्चालन गर्न र दीर्घकालीनरूपमा अर्थोपार्जन गर्ने आम्दानी सुरु गर्नसमेत लगानी अभाव छ ।
शैक्षिकरूपमा पछाडि हुनु
शैक्षिकरूपमा अन्य समुदाय भन्दा पछाडि पर्नु पनि उनीहरूको अर्काे समस्या हो । आर्थिकरूपमा पछि परेकै कारण शैक्षिकरूपमा समेत पछि परेको ज्ञानेन्द्र कायत बताउँछन् । विद्यालयमा भर्ना हुनेहरूको तुलनामा उच्च शिक्षा र माध्यमिक शिक्षा पूरा नगरी विद्यालय छाड्नेहरू धेरै छन् । काम गर्न सक्ने भएपछि यहाँका बालबालिकालाई विद्यालयमा टिकाउन गाह्रो हुने गरेको छ । घर व्यवहार र घरको कामले गर्दा यहाँका किशोर/किशोरी विद्यालय कमैमात्र जान्छन् ।
सचेतनाको कमी/मादक पदार्थ सेवन
कायत जातिमा सचेतनाको कमी छ । स्थानीय उत्पादनलाई सहीरूपमा प्रयोग गर्नसमेत नजानेको पाइन्छ । यहीँ उत्पादन हुने मकै, जौ, कोदो आदिलाई उनीहरू बिहान/बेलुकाको खाना/खाजा भन्दा पनि मदिराका रूपमा बढी प्रयोग गर्न रुचाउँछन् । वैदेशिक रोजगारीमा गएर फर्किएका युवासमेत उत्पादनशील क्षेत्रमा लाग्नुको साटो मदिरामा लठ्ठ भएर बस्ने गरेका पाइन्छ । पुरुषमात्र नभएर यहाँका महिला पनि मदिरा सेवन गर्छन् । दिनभर खेतबारीमा काम गर्ने र तिर्खा लाग्यो भने मकै, कोदो र उवाबाट बनाइएको जाँड पिउने गरेको राजकुमारी कायत बताउँछिन् । पानीभन्दा धेरै जाँड पिउने र त्यसले शक्ति प्राप्त हुने, काम गर्न जाँगर लाग्ने अनि थकान पनि महसुस नहुने उनीहरूको दाबी छ ।
नीतिगत समस्या
नेपाल सरकार, स्थानीय तहले बनाएका कुनै पनि नीति तथा कार्यक्रमले बोवाङका कायत समुदायलाई छोएको छैन् । स्थानीय निकाय स्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि २०६९ ले आदिबासी जनजातिका लागि बजेट तथा कार्यक्रम समावेश गरेको थियो । त्यस्तै बजेट तर्जुमा निर्देशिका २०७५ ले लक्षित वर्ग तथा समुदायका लागि अनिवार्यरूपमा समावेश गर्नैपर्ने गरी कुनै नीति तथा कार्यक्रम समावेश गरेको पाइँदैन । त्यसमाथि कायत समुदायलाई राज्यले न अल्पसङ्ख्यक, सीमान्तकृत र लोपोन्मुख भनेर सूचीकृत गरेको छ न त अहिलेसम्म उनीहरूलाई जातीयरूपमा ब्राह्मण, क्षत्री, जनजाति या दलित भनेर नै सूचीकृत गरिएको छ । राज्यले उनीहरूलाई सूचीकृत नगरेकै कारण राज्यप्रदत्त सेवा/सुविधा प्राप्त गर्नबाट समेत कायत समुदाय वञ्चित छन् ।
कायत जाति र समुदायको उत्थानका लागि भएका काम तथा बनाइएका नीति/कार्यक्रम
गैरसरकारी संस्थाले गरेका कार्यक्रम  
कायत जाति र समुदायकै लागि भनेर अहिलेसम्म गैरसरकारी कुनै पनि सङ्घ/संस्था र निकायले सहयोग गरेका पाइँदैन ।
स्थानीय तहको बजेट तथा नीति र कार्यक्रम
नेपाल सरकारले तय गरेको नीति तथा कार्यक्रमअनुसार लक्षित समूह विकास कार्यक्रमअन्तर्गत अघिल्लो आर्थिक वर्षसम्म महिला र बालबालिकाका लागि न्यूनतम १०–१० प्रतिशत र आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति, पिछडा वर्ग, दलित, ज्येष्ठ नागरिक, मधेसी, मुस्लिम आदिका लागि १५ प्रतिशत बजेट विनियोजन गर्नुपर्ने व्यवस्था थियो । राज्यका कुनै पनि जातजातिको सूचीमा समावेश नभएका कायत जातिका लागि बजेट विनियोजन हुने त कुरै भएन । राज्यको नजरमा नपरेको यो जाति आफू बसोबास गर्ने ढोरपाटन नगरपालिका र आफ्नो वडाको बजेट, नीति र कार्यक्रममा समेत समावेश हुन सकेन ।
कायत जातिका लागि भनेर ढोरपाटन नगरपालिका र वडा नं. ७ को कार्यालयले पनि आफ्ना नीति र कार्यक्रममा अहिलेसम्म कुनै कार्यक्रम राखेका छैनन् । कायत समुदाय ढोरपाटन नगरपालिकाको पहिचान भएको भन्दै राज्यले अल्पसङ्ख्यक, सीमान्तकृत र लोपोन्मुख जातिमा उनीहरूलाई सूचीकृत गरिदिनुपर्छ भन्ने आफ्नो धारणा सुनाउँदै ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भन्छन्– अब नगरपालिकाले बनाउने नयाँ योजना र कार्यक्रममा यो समुदायलाई समेट्ने तयारी भइरहेको छ । उनीहरूलाई राज्यको मूलधारमा ल्याउन जरुरी छ ।
निष्कर्ष
कायत जाति आर्थिक, सामाजिक तथा सांस्कृतिकरूपमा सवल हुन सकेका छैनन् । उनीहरूको एउटै भनाइ छ– हामीलाई राज्यले सूचीकृत गरोस् र राज्यको नागरिक भएको हैसियत प्रदान गरोस् । ढोरपाटन नगरपालिका–७ बोवाङमा बसोबास रहेका कायत जाति नेपालको अन्य कुनै पनि ठाउँमा पाइँदैन । मुलुकमा आएको परिर्वतनसँगै र पहिचान नभएकै कारण उनीहरूले आफ्नो थर नै परिर्वतन गर्नसमेत थालिसकेका छन् । यसरी उनीहरूको थर परिर्वतन गर्ने दर बढ्दै गयो भने केही वर्षमै कायत जात लोप हुनेछ । कृषिमा निर्भर यस जातिलाई औद्योगिक र व्यावसायिकरूपमा अगाडि बढाउनका लागि सबैको ध्यान जानुपर्ने देखिन्छ । त्यसैले राज्यले यी समुदायका लागि छुट्टै नीति तथा कार्यक्रम बनाउनुपर्ने देखिन्छ । उनीहरूलाई सूचीकृत गरेर पहिचान दिलाउनुपर्ने आवश्यकता पनि उत्तिकै छ ।
सुझाव
कायत जातिको आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्था मजबुत बनाउन निम्न क्रियाकलाप गर्नुपर्ने देखिन्छ ।
क. वर्षौँदेखि पहिचानको लडाइँ लडिरहेका कायत जातिलाई राज्यले सबैभन्दा पहिले सूचीकृत गर्नुपर्छ ।
ख. उनीहरूले गर्दै आएका कृषि पेशालाई आधुनिकीकरण गरेर आर्थिकरूपमा सबल बनाउन पहल गर्नुपर्छ ।
ग. विद्यालयमा बालबालिका टिकाइराख्नका लागि आकर्षक योजना र कार्यक्रम सञ्चालन गर्नुपर्छ ।
घ. शिक्षा, स्वास्थ्य र खाद्यसँगै आर्थिक उपार्जनका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ ।
ङ. कायत जातिको बसोबास भएका स्थानमा पूर्वाधारका परियोजना, सार्वजनिक सुनुवाइ, योजना तथा कार्यक्रम निर्माण र सञ्चालन गर्दा उनीहरूलाई सुसूचित गरी सहभागी हुने अवसरसमेत प्रदान गर्नुपर्छ ।

सन्दर्भ सामग्री
राष्ट्रिय जनगणना २०६८
मानव अधिकार वर्ष पुस्तक २०१८
निमबहादुर कायत– कायत एकता समाजका अध्यक्ष, यामबहादुर कायत– ज्ञानोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक, राजकुमारी कायत, विश्वास कायत, चनु कायत, रामबहादुर कायत, मुकुन्द शर्मा पौडेल– तथ्याङ्क अधिकृत, देवकुमारी नेपाली– मेयर, ढोरपाटन नगरपालिकासँगको कुराकानी ।