पिसिआर पोजिटिभ आए के गर्ने ? (स्वास्थ्य सल्लाह)

डाक्टर रवीन्द्र समीर
यसपटकको नयाँ प्रजातिको महामारी गतसालको जस्तो सामान्य छैन । ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने, स्वाद र गन्ध हराउने, पखाला वा र बान्ता हुने, एकदम थकान हुने, निद्रा लागिरहने, छालामा बिमिरा आउने, आँखा रातो हुनेमध्ये केहि लक्षण मिलेमा तुरुन्त पिसिआर टेस्ट गर्नुहोला । यसपटक परिवारमा एकजना सङ्क्रमित भएमा सबै सङ्क्रमित हुने अवस्था छ । तसर्थ कुनै लक्षण देखिएमा आइसोलेसनमा बस्नुहोला । सङ्क्रमणको शङ्का लागेमा तुरुन्त पिसिआर टेस्ट गर्नुहोला । सहेर वा हेरौँ भनेर अलमल नगर्नुहोला । जति छिटो रोग पत्ता लाग्यो, त्यति छिटो उपचार पाउने अवस्था हुन्छ ।
- पिसिआर पोजिटिभ आएमा गतसाल जस्तो सप्लिमेन्ट (भिटामिन वा इम्युन बुस्टर) खाएर ढुक्क नहुनुहोला । यसपटकको कोभिडमा छिटो निमोनिया हुने भएकोले तुरुन्तै नजिकको कोभिड अस्पतालको फिभर क्लिनिकमा जानुहोला । त्यहाँ चिकित्सकले तपाइँलाई परीक्षण गरेर आवश्यकता अनुसार छातिको एक्सरे, रगतको जाँच तथा सिटि स्क्यान गर्ने सल्लाह दिनुहुन्छ । यदि तपाइँको अवस्था खराब छ भने उहाँहरुले औषधि वा भर्नाको लागि सल्लाह दिनुहुनेछ । उहाँहरुको सल्लाह अक्षरस पालना गर्नुहोला ।
- लामो समय ज्वरो आयो, खोकी लाग्यो, सास फेर्न गाह्रो भयो, खाना खान गाह्रो भयो वा अक्सिजनको स्तर ९४ भन्दा तल भइरह्यो भने घरमा नबस्नुहोला । यो अवस्थामा तपाइँलाई छातिमा सङ्क्रमण भएको बुझ्न सकिन्छ । जति छिटो अस्पताल पुग्यो त्यति छिटो भर्ना हुनु नपर्ने एवम् सजिलोसँग निको हुने अवस्था हुन्छ ।
- गतसाल सङ्क्रमण भएका वा यो साल खोप लगाएका व्यक्तिलाई पनि सङ्क्रमण हुनसक्छ । प्रजाति फरक भएकोले गाह्रो हुन पनि सक्छ । मैले खोप लगाएको छु वा पोहोरको एन्टिबडीले काम गर्छ भनेर लापरबाही नगर्नुहोला । अप्ठ्यारो भए तुरुन्त अस्पताल जानुहोला ।
- बालबालिका तथा युवालाई केही हुँदैन भनेर घरमा नबस्नुहोला । यसपटक बालबालिका र युवाको सङ्क्रमण दर, गम्भीर हुने दर तथा मृत्युदर गतसालको भन्दा धेरै छ ।
- अस्पताल जाने बेलासम्म घोप्टो परेर सुत्नु भयो भने अक्सिजनको स्तर केहि बढ्छ । तसर्थ पेटको बलमा घोप्टो परेर सुत्नुहोला । अस्पताल प्याक छन् भनेर नआत्तिनुहोला । अस्पताल जाँदैमा सबै भर्ना हुनु पर्दैन । प्याक भएका अस्पतालले अस्पताल बाहिर समेत अक्सिजन दिएर उपचार गरिरहेका छन् ।
- चिकित्सकको सल्लाह बिना आफैँ अक्सिजन लगाएर घरमा नबस्नुहोला । अक्सिजन उपचार होइन । निमोनिया वा अन्य छातिको सङ्क्रमणको औषधि चलाउँदै अक्सिजन लगाउनुपर्छ । अक्सिजनको मात्रा चिकित्सकको सल्लाह अनुसार मात्र थपघट गर्नुपर्छ ।
- औषधि उपचार प्रत्येक व्यक्तिको फरक हुनसक्छ । एकजनालाई निको भएको औषधिले अर्को व्यक्तिलाई निको नहुन सक्छ । तसर्थ स्वास्थ्यकर्मी बाहेकका व्यक्तिले सिफारिस गरेको औषधि सेवन नगर्नुहोला । कुनै पनि औषधिले कोरोना च्वाट्ट निको हुने वा लाग्न नदिने कुरा गर्छ भने त्यो गलत हो ।
- प्रतिरोध क्षमता बढाउनको लागि जथाभावी आयुर्बेद औषधि नखानुहोला । सम्बन्धित चिकित्सक तथा स्वास्थ्यकर्मीको सिफारस अनुसार मात्र आयुर्बेद औषधि सेवन गर्नुहोला । आयुर्बेद औषधिले कोभिड निको हुँदैन । तपाइँको स्टामिना बढाउँछ । यस्तो बेला सबै चिकित्सा पद्दतिको एकीकृत उपचार प्रभावकारी हुन्छ ।
- यसपटकको सङ्क्रमणले निकै छिटो फोक्सोमा असर गर्ने किसिमको छ । ४–६ घण्टामा निकै बढी असर गर्न सक्छ । तसर्थ भोलि अस्पताल जाउँला भनेर नबस्नुहोला । निको भएका सङ्क्रमितका कुरा सुन्नुहोला ।
- कुनैपनि चिकित्सकले औषधि चलाएको बेला पनि भित्रभित्रै असर हुनसक्छ । यो भाइरल सङ्क्रमण भएको हुँदा एन्टिबायोटिकको भर पर्नु हुँदैन । यस्तो अवस्थामा एकपटक छातिको एक्सरे वा सिटि स्क्यान गर्नु सुरक्षित हुन्छ ।
- अस्पतालमा गम्भीर बिरामीप्रति चिकित्सकको ध्यान बढी हुन्छ । तसर्थ नआत्तिनुहोला ।
- उपचार पश्चात पिसिआर नेगेटिभ आएपनि कोभिडले तपाइँका विभिन्न अङ्गमा असर गरेको हुनसक्छ । चिकित्सकको सल्लाह अनुसार यसको पनि उपचार गरेर स्वास्थ्य लाभ गर्नुपर्ने हुन्छ ।
- सरकारले जारी गरेका सूचना, सतर्कता तथा जनस्वास्थ्यका मापदण्ड पालनाबाट हामी सङ्क्रमणबाट बच्नेछौँ । कृपया पटक्कै लापरबाही नगर्नुहोला ।
- आफू, परिवार तथा समाजलाई सङ्क्रमण हुन नदिनको लागि सतर्क बनौँ । सतर्क भएमा हामी अस्पताल जानु पर्दैन ।
(डाक्टर समीर जनस्वास्थ्य विज्ञ हुनुहुन्छ)
सम्बन्धित विचार मञ्चहरू
सबै मिलेर जातीय विभेद अन्त्य गर्नु जरूरी
इन्सेकको स्थापनापछि पहिलो प्राथमिकता रहेको कार्यक्रम जातीय विभेद विरुद्धको अभियान एक हो । पहुँच र नीति निर्माणको तहमा दलितको उपस्थिति नहुँदा आज पनि मुलुकमा अझै पनि मानिस–मानिसका बीचमा विभेद कायम…
जातीय विभेद न्यूनीकरणमा चुकेको राज्य
रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरमा १६ वर्षीया दलित बालिकालाई २१ घण्टासम्म घरको थाममा नाम्लोले बाँधेर यातना दिइएको छ । ०७८ फागुन ३० गते दलित बालिकाले स्थानीय शेरबहादुर श्रेष्ठको घरभित्र प्रवेश गरीे…
विभिन्न दबाबका कारण मुद्दा होस्टाइल, पीडित झन् पीडित !
महिलाविरूद्ध हुने सबै खालका हिंसाको अन्त्य गर्न राज्यले बलात्कारविरुद्धको थप कडा कानुन ल्याए पनि महिलाहरूलाई नै प्रयोग गरी अरुले आफ्नो अनुकूलतामा प्रयोग गर्ने गरेको देखिएको छ । बलात्कार अर्थात् जबरजस्ती…
मानव अधिकार संरक्षणमा आआफ्नो ठाउँबाट जुटौँ
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को मानव अधिकार अनुगमन एक प्रमुख कार्य हो, जुन यसले स्थापनाकालदेखि नै गर्दै आएको छ । सन् २०२१ (सन् २०२१ जनवरीदेखि डिसेम्बरसम्म)को मानव अधिकार अवस्थाको अनुगमन…
सामाजिक न्याय र मानव अधिकारका लागि इन्सेक अभियान
निरङ्कुशता र विधिको शासन प्रतिकूलको राज्य व्यवस्थामा सामाजिक न्याय र मानव अधिकार परिकल्पनाको विषयमात्र हुन सक्छ। अझ सामाजिक न्यायका लागि गरिने पहलकदमी तथा त्यस्ता संस्थागत प्रयत्नहरू गैरकानुनी ठहर गरिन्छन्। नागरिक…