आउनुहोस्, सहयोग गरौँ नरैनापुरका नाउ परिवारलाई !

भोला महत

कोरोनाका कारण मुलुकमा लकडाउन गरिएको पनि दुई महिना नाघिसकेको छ । कोरोना सङ्क्रमण नफैलियोस् भनी गरिएको लकडाउनको यो अवधिमा सङ्क्रमितको सङ्ख्या २ हजार ९ सय नाघिसकेको छ भने ११ जनाको मृत्यु भएको छ । दिनप्रतिदिन सङ्क्रमितको सङ्ख्या बढ्नेक्रम छ । सामान्य दिनहरू जस्तै समग्र स्थितिको अध्ययन अनुगमन गर्न लकडाउनका कारण सम्भव छैन । आफैँ जोखिम व्यहोरेर कतिपय मानवीय कार्यहरूमा संलग्न हुनु, आम नागरिकमा परेका समस्या उजागर गर्नु र उनीहरूलाई थोरै भए पनि सहयोग गर्नु सजिलो छैन । यस्तै अवस्थाका बीच हामी (केही साथीहरूसहित म)  जेठ २२ गते बाँकेको नरैनापुर गाउँपालिकाको नयाँ बस्ती पुग्यौँ । यहाँका एक जनाको केही दिनअघि कोरोनाका कारण मृत्यु भएको थियो ।

सात वर्ष अघि राप्ती नदीमा आएको बाढीका कारण नजिम नाउका परिवारले जग्गा जमीनसहित सम्पति गुमाउनु पर्‍यो । प्रत्येक वर्ष राप्ती नदीमा आउने बाढीको कहर राप्ती पारिका नागरिकका लागि छुट्याए झैँ हुने गरेको छ । यसको समाधान कसरी हुन्छ स्थानीयलाई थाहा छैन । नाउ परिवार भगवानपुरबाट नरैनापुर गाउँपालिकामा बसाइ सरेको धेरै भएको

छैन । नजिमको परिवारलाई यो वर्ष अर्को अकल्पनिय बज्रपात। शोक पर्‍यो । परिवारको हातमुख जोड्न मजदुरीका लागि भारत गएका आफ्ना जेठा छोरा भारतको मुम्बईबाट फर्केको केही दिनमै सबैलाई छाडेर गए । कोरोनाका कारण क्वारेण्टाइनमा राखिएका उनको मृत्यु क्वारेण्टाइनमा नै भयो । मृतक परिवारको अवस्था बुझ्न नेपाली सेना, नेपाल प्रहरीलगायत नेपाल बार एशोसियनका केन्द्रीय उपाध्यक्ष सुनिल श्रेष्ठ, मेडिकल कलेज नेपालगञ्जका उपनिर्देशक डा. नितेश कनोडिया, सूर्य घर्तीसहित म नयाँबस्ती पुग्दा बस्ती नै रोइरहेको झैँ लाग्थ्यो । सुनसान बस्ती, एकातिर कोरोना महामारीको त्रास, अर्कोतिर बिहान बेलुका हातमुख जोड्ने समस्या ! सहयोगको याचना गर्दै आइरहेका गाउँलेको एउटै स्वर थियो–‘सबैभन्दा पहिले मृतकका परिवारलाई सहयोग गरिदिनुस् जसको बस्ने बास, खाने गाससमेत छैन ।’ सामान्य हावाहुरी चल्दा र पानी पर्दा राम्रोसँग ओत लाग्न नाउ परिवारसँग घर समेत छैन । नयाँबस्तीका अधिकांश स्थानीय विपन्न छन् । घटनापछि उक्त परिवारका सदस्यहरूको आँखामा आँशु ओभाएको छैन । मृतक नाउकी पत्नी, पाँच वर्षीय एक छोरा र एक वर्षीया छोरीसमेतका आँखामा आँशु ओभाएको छैन । हजुरबुबा, हजुरआमा, आमा रुँदा उनीहरू पनि सँगसँगै रुन्छन् । कुरा बुझ्ने बुझेरै रुन्छन् नबुझ्ने अरु रोएको देखेर रुन्छन् । जे होस् सबै रोइरहेका छन् । सिङ्गो गाउँ रोएको छ ।

photo2020605banke1

दुःखमा परेकालाई सहयोग गर्ने नेपालीहरूको संस्कार हो । कोरोना महामारीकै दौरानमा पनि अलपत्र परेका हजारौँ नागरिकहरूको उद्दार, बाटोमा अलपत्र परेकाहरूलाई खानपिनको व्यवस्थालगायतका काम गरिरहेका हाम्रो समाजसेवी भावनाको कहिले कमी छैन । आफ्नो क्षमताले भ्याएसम्मका सहयोग भइरहेकै छन् । गरिरहेकै छौँ । यो दौरानमा नाउ परिवार जस्तै सयौँ नागरिकहरू अफ्ठ्यारोमा परेका होलान्, सहयोगका याचना गरिरहेका होलान् सबैले मनकारी हात अगाडि बढाउनुपर्ने बेला आएको छ । हुनेले नहुनेहरूलाई सहयोग गर्नु हाम्रो संस्कारलाई झनै स्थापित गर्नुछ । नाउ परिवारलाई सान्त्वना स्वरुप बाँच्नका लागि मलहमपट्टि लगाउनु छ । तपाईं हाम्रो सानो सहयोगले सहयोगापेक्षीको जीवनमा निकै ठूलो परिवर्तन हुन सक्छ । आउनुस, तपाई हामी सबै नाउ र नाउ जस्तै दुःखी गरिब नागरिकहरूको पहिचान गरी सहयोगमा जुटौँ ।

photo2020605banke2