सेनिटरी प्याड: आफैँ बनाउँदै, आफैँ लगाउँदै ओखलढुङ्गाका महिला

ओखलढुङ्गाका महिलाहरूले आफूले प्रयोग गर्ने ‘सेनिटरी प्याड’ आफैँ बनाउन थालेका छन् । जिल्लाका विभिन्न उमेर समूहका महिलाहरूले विभिन्न माध्यमबाट प्याड बनाउन सिकेको सीपलाई व्यवहारमा उतार्दै आफूलाई चाहिने सेनिटरी प्याड आफैँ बनाउन थालेका हुन् । प्रत्येक वर्ष मे २८ का दिन मनाइने सुरक्षित महिनावारी दिवसका अवसरमा किशोरी समूहको अगुवाइमा दुई वर्षअघि प्याड बनाउने तालिम आयोजना गरिएको थियो । उक्त तालिममा सिकेको सीप प्रयोग गरेर आफूलाई आवश्यक पर्ने सेनिटरी प्याड आफैँ बनाउने गरिएको सिद्धिचरण नगरपालिका–९ की लक्ष्मी बानियाले बताउनुभयो । यसरी आफैँले बनाएको प्याड प्रयोग गर्दा सजिलो भएको र बजारको प्याड किन्नु नपर्दा त्यो पैसा समेत बचत हुने गरेको उहाँको भनाइ छ । ‘पहिला प्याड नहुँदा साह्रै समस्या हुन्थ्यो । चाहेको बेला बजारमा गएर किन्नुपर्ने हुन्थ्यो ।’–उहाँले भन्नुभयो–‘अहिले आफैँले प्याड बनाउन सिकेपछि साह्रै सहज भएको छ । नियमित रूपमा प्याड किन्दा खर्च हुने पैसा समेत बचत हुन थालेको छ ।’ किशोरीहरूका लागि आयोजना गरिएको रुपान्तरणको तालिमले प्याड बनाउन सिकाएदेखि आफू र आफ्ना नजिकका साथीलाई समेत आवश्यक पर्ने प्याड बनाइदिने गरेको उहाँको भनाइ छ ।
महिनावारी भएको बेला एक पटक प्रयोग गरेपछि त्यसलाई धोएर फेरि लगाउन मिल्ने प्याड बनाउँदा बढी प्रभावकारी भएको सिद्धिचरण नगरपालिका–११ की किशोरी वसन्ता खत्रीको भनाइ छ । खत्रीले आफूले सिकेको प्याड बनाउने सीप समुदायका अरु किशोरीहरूलाई पनि सिकाइरहनु भएको छ । ‘पहिला म पनि बजारमा पाइने प्याड किनेर प्रयोग गर्थेँ । अहिले आफैँ बनाउँछु । मलाई जस्तै अरुलाई पनि सहज होस् भनेर साथीहरूलाई पनि सिकाउने गरेको छु ।’–खत्रीले भन्नुभयो । प्याड बनाउन सिकेपछि विद्यालयमा महिनावारी हुने बालिकाको उपस्थिति समेत बढेको किशोरी अभियान्ता सुजना केसीको भनाइ छ । विगतमा महिनावारी हुँदा महिनामा चार दिन विद्यालयमा गयल हुने किशोरीहरू अहिले आफैँले बनाएको प्याड प्रयोग गरेर नियमित विद्यालय जाने गरेको उहाँको भनाइ छ । ‘महिनावारी सामान्य प्रक्रिया हो तर यसले बालिका/महिलाको जीवनमा निकै ठुलो प्रभाव पर्दछ । महिनावारी हुँदा विद्यालय जान नसक्ने अवस्था हुन्थ्यो ।’–केसीले भन्नुभयो–‘प्याड नपाउँदा महिनामा ४–५ दिन गयल हुने छात्राहरू अहिले आफूले प्याड बनाउन सिकेपछि नियमित विद्यालय जान थालेका छन् ।’
सिद्धिचरण नगरपालिकाले पनि स्थानीय महिलाहरूका लागि प्याड बनाउने तालिम दिएको छ । नगरपालिकाबाट तालिम पाएपछि विगतमा पुराना कपडाका टालोको प्रयोग गर्नेहरू आफैँले बनाएका प्याड प्रयोग गर्न थालेका छन् । नगरपालिकाले केहि महिनाअघि महिला सहकारीका १४ जना सदस्यलाई कपडाको प्याड बनाउने तालिम दिएको थियो । महिला जागरण तथा सशक्तिकरणका लागि व्यवहारिक सीप अन्तर्गत प्याड बनाउन सिकाइएको नगरपालिकाको महिला तथा बालबालिका शाखाकी अधिकृत सरिता तामाङले बताउनुभयो । सञ्चालित तालिमबाट स्थानीय महिलाहरूले लाभ लिएको र यसको प्रभावकारिता हेरेर अन्य महिलालाई समेत तालिम दिइने उहाँको भनाइ छ । ‘महिलाहरूबाट माग पनि आयो र आवश्यकता समेत महसुस गरेर सुरुमा सहकारीका महिलालाई प्याड बनाउने सीप सिकाएका हौँ ।’–अधिकृत तामाङले भन्नुभयो–‘यो निकै प्रभावकारी रहेको प्रतिक्रिया आयो । अब अरुलाई पनि यस्ता तालिममा समेट्ने हाम्रो लक्ष्य छ ।’
नेपाली समाजमा धर्म संस्कृतिसँग जोडेर महिनावारीलाई व्याख्या गर्ने चलन छ । महिनावारी हुने प्रक्रियालाई सामान्य रुपमा लिन नसक्ने समाजमा सेनिटरी प्याड बनाउने सीपको महत्व बुझाउन अझै समय लाग्ने भएपनि हरेक महिलाले प्याड बनाएर प्रयोग गर्न जान्नुपर्ने अभियान्ताहरू बताउँछन् । महिनावारी भएका बेला आवश्यक सरसफाईमा ध्यान नदिँदा महिलाहरूको स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले प्याडको सहि प्रयोग गर्न र सरसफाईमा ध्यान दिन स्वास्थ्यकर्मी शर्मिला राईको सुझाव छ । ‘महिनावारी हुनु स्वभाविक प्रकृया हो । तर, अस्वभाविक जस्तो मान्ने, खुलेर यसका विषयमा छलफल नगर्ने र सरसफाईमा समेत खासै ध्यान नदिँदा कतिपय महिलामा दीर्घकालिन स्वास्थ्य समस्याहरू देखा पर्दछन् ।’–राईले भन्नुभयो–‘महिनावारी हुँदा खानपान र सरसफाईमा अरुबेलाको भन्दा बढी ध्यान दिनु पर्दछ । प्याड नै बनाएर प्रयोग गर्नु त झनै राम्रो भयो ।’ महिलाहरूलाई प्याड बनाएर प्रयोग गर्न मात्रै होइन प्रयोग गरिसकेको प्याडलाई सहि व्यवस्थापन कसरी गर्ने भन्ने ज्ञान समेत दिन आवश्यक रहेको उहाँको भनाइ छ ।
- सरस्वती बानिया
सम्बन्धित फिचरहरू
चौधविसमा रोकिएन बालविवाह, २० वर्ष नपुग्दै आमा बन्छन् युवती !
तथ्याङ्कीय रुपमा हेर्ने हो भने नेपालको सुदुरपश्चिम र कर्णाली प्रदेशमा बढी बालविवाह हुने गरेको पाइन्छ । यहाँको अन्य ठाउँको तुलनामा भन्दा जुम्लाको पूर्वी भेग चौधविस क्षेत्र अर्थात पातारासी गाउँपालिकामा बालविवाह…
गिट्टी नकुटी जुट्दैन गाँस, हरेक दिन खोलाकै बास
सल्यान जिल्लाको शारदा नगरपालिका–१ शान्तिनगर स्थित शारदा नदिको किनार, दिउँसोको चर्को घाम होस या बिहानको चिसो सिरेटो अनि एक्कासी आउने मुसलधारे पानी नै किन नहोस तर खोला किनारमा उही दृश्य…
बिजमायालाई आवासको अधिकार खोई सरकार !
देश संघीय संरचनामा गएपछि तीन तहका सरकारले जनजीविकाका सवालमा काम गरिरहेका छन् । सङ्घ, प्रदेश र स्थानीय तह मध्ये सवै भन्दा नागरिकको नजिकमा छरछिमेकीको रुपमा रहेको स्थानीय सरकार हो ।…
बेनी नगरपालिकाले सुरू गर्यो नसर्ने रोगको शिविर
म्याग्दीको बेनी नगरपालिकाले नसर्ने रोगको रोकथाम तथा प्रारम्भिक पहिचानका लागि स्क्रिनिङ शिविर सुरू गरेको छ । ग्रामीण भेगका सर्वसाधारण, नागरिकलाई घरदैलोमै पुगेर नसर्ने रोगको पहिचान गरी स्वास्थ्य सेवा दिने उद्देश्यले…
निर्वाचनप्रति नागरिकको आस्था (फोटो फिचर)
एउटा चिनियाँ उखान छ–‘हजार माइल यात्रा पार गर्न पहिलो एक माइलको यात्रा तय गर्नुपर्छ ।’ यो वर्ष तीनै तहको निर्वाचन सही ढङ्गले पार गर्न स्थानीय तहको निर्वाचनको पहिलो खुट्किलोको यात्रा…