सुविधा र विकासबाट उपेक्षित छाङ्गरु र तिङ्कर गाउँ (फोटो फिचर)

दार्चुला । ०७७ चैत २० गते

दार्चुला सदरमुकाम खलंगाबाट आफ्नै भूमि पुग्न घोरेटो बाटो छैन् । साघुरो र जोखिमपूर्ण बाटो भएरै जान पाँच दिन पैदल दुरीमा पर्छ, व्यास गाउँपालिका वडा नम्बर १ को छांगरु र तिङ्कर गाउँ । छांगरु गाउँ भारतसँग सीमा जोडिएको छ भने तिङ्कर गाउँ चीनसँग नजिकै छ ।

सरकारले चुच्चे नक्सा जारी गरेपनि भारतले अतिक्रमण गरेर राखेका तीन गाउँ नावी, गुञ्जी र कुटी यही क्षेत्रमा पर्दछन् । नेपालतिर रहेका दुई गाउँ छांगरु र तिङ्करका नागरिकलाई राज्यले सुपथ मूल्यमा खाद्यान्न समेत उपलब्ध गराउन सकेको छैन् । यस क्षेत्रका स्थानीयहरुले महंगोमा खाद्यान्य किनेर खानु पर्ने बाध्यता छ ।

नुनको प्रतिकिलो कति रुपैयाँ पर्छ ? सामान्यतया सदरमुकाम खलंगाको नुन डिपोमा नौ रुपियाँ प्रतिकिलो पर्ने नुन व्यासको छांगरु र तिङ्करका स्थानीयले प्रतिकिलो १ सय ६० रुपियाँमा किन्न बाध्य छन् । त्यही नुन पनि पाउनै मुस्किल हुन्छ ।

सदरमुकाम खलंगाबाट व्यासको छांगरु र तिङ्कर पुग्न चार दिन समय लाग्छ । सडक पुगेको छैन् । बाटोघाटो राम्रो छैन् । सबै ठाउँमा जोखिम मोलेरै आवतजावत गर्नुपर्ने यहाँका बासीन्दाको बाध्यता छ ।

त्रिदेशीय सीमा जोड्ने गरी निर्माण भइरहेको दार्चुला तिङ्कर सडक खण्ड १२ वर्षमा ४३ किलोमिटर मात्रै सडकको ट्रयाक खुलेको छ । तर, गाडी ४० किलोमिटरसम्म मात्रै मुस्किलले सञ्चालन हुन्छ ।

पिठ्युमा बोकेर ल्याएको नुन व्यासमा महंगो मूल्यमा पाइनु सामान्य जस्तै भएको बताउनु हुन्छ, सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मका गुल्मपति धिरेन्द्र शाह । यो ठाउँमा नुन पाउन नै कठिन छ ।

छांगरुमा मोटो चामल प्रतिकिलो २ सय रुपियाँ, पाँच केजी पिठोको मुल्य १ हजार रुपियाँ, खानेतेल प्रतिलिटर ३ सय रुपियाँ र तयारी चाउचाउ प्रति गोटा १ सय २० रुपियाँमा पाउँछ ।

महंगो ठाउँमा बसेर सुरक्षा दिदै आएको सुरक्षाकर्मीको रासन भत्ता पनि निकै न्यून छ । सदरमुकाम खलंगामा कार्यरत जवान र अधिकृतको भन्दा व्यासको छांगरुको चिसोमा ड्युटी गर्ने जवानको भत्ता १ सय ४० रुपियाँ र अधिकृतको ३ सय २५ रुपियाँ मात्रै बढि छ ।

सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नक्सा जारी गरेपछि पहिलो पटक भारतसँग सीमा जोडिएको दुम्लीङमा बोर्डर आउट पोष्ट र छांगरुमा बाह्रैमासका लागि गुल्म राखेको छ । तिङ्करमा समेत छिट्टै बीओपी राख्ने तयारी छ ।

मान्छे बस्नै नसक्ने ठाउँमा भाडाको भवनमा बसेका सशस्त्र प्रहरीले कष्टकर तवरले ड्युटी गरे पनि उनीहरुलाई राज्यले प्रोत्साहन गर्न नसकेको बताउनु हुन्छ, व्याँसका स्थानीय दिपक खाती । ३ हजार ४ सयदेखि ५ हजार फिट उचाईसम्मको ड्युटीमा खटिने सुरक्षाकर्मीलाई सरकारले प्रोत्साहन गर्न नसकेकोमा सुरक्षाकर्मी समेत निरास छन् ।

सरकारले गत कात्तिक महिनामा खाद्य संस्थानको चामल ढुवानी गरेको हो । तर, यहाँ बस्ने सशस्त्र प्रहरीले मात्र दुई क्वीन्टल चामल पायो । हेलिकप्टरमार्फत ढुवानी गरिएको थियो खाद्यान्न । त्यसयता यो क्षेत्रमा हेलिकप्टर आएको छैन् । न यो क्षेत्रको लागि खाद्यान्न नै ढुवानी हुन सक्यो ।

छांगरु गाउँका एक्ला चौकीदार

व्याँस गाउँपालिका–१ छांगरुका ६० वर्षीय राईसिह ऐतवाल गाउँभरीका एक्ला चौकीदार हुन् । ३ हजार २ सय मिटर उचाईमा रहेको छांगरु भारतसँग सीमा जोडिएको गाउँ हो । यहाँ झण्डै चारदेखि ६ फुटसम्म वर्षमा हिमपात हुन्छ ।

अत्यधिक चिसो हुने गरेको कारण यहाँका नागरिक ६ महिना सदरमुकाम खलंगा र ६ महिना व्यास उक्लिने गर्छन् । अहिले चिसो समय भएको कारण यहाँका नागरिक गत मङ्सिर महिनामा आफ्ना पशुचौपाया र लालाबालासहित सदरमुकाम खलंगा झरेका छन् । तर, ऐतवाल चिसोको समयमा पनि गाउँको चौकीदारी गर्दै बस्नु भएको छ ।

व्यासको छांगरुमा यो पटक चिसो माइनस १६ डिग्रीसम्म रहेको भएपनि चौकीदार ऐतवालले यो चिसोलाई सहजै छलेको सुनाउनु भयो । छांगरुमा बसोबास गर्दै आएका १ सय २० परिवार सदरमुकाम आएका भएपनि ऐतवाललाई वडा नम्बर १ को कार्यालयले चौकीदार राखेको छ ।

गाउँको निगरानी गर्ने, चोरी भए खबर गर्ने उहाँको जिम्मेवारी हो । ऐतलाल भन्नुहुन्छ, चोर तस्करसँग लड्न त कहाँ सकिन्छ, तर निगरानी गर्छु । विगतमा भारतसँग खुला सीमा, तथा तस्करहरु चल्ने समय हुँदा चौकीदार बस्नु पथ्र्यो । त्यो बेला गाउँमा आएर आगजनी गरि दिने, धनसम्पत्ति चोरी दिने खतरा हुन्थ्यो, उहाँले भन्नु भयो, तर अहिले त्यो अवस्था छैन् ।

दुई वर्षदेखि चौकीदार बस्दै आउनु भएका ऐतवाललाई यो पटक सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म र नेपाल प्रहरी समेत छांगरुमै बसेपछि सहज भएको छ । विगतमा गाउँभरी एक्लै हुन्थे । तर, यो वर्ष पहिलो पटक सरकारले दुई ओटा सुरक्षा निकायलाई बाह्रैमास छांगरुमै राखेपछि चौकीदारीमा सजिलो भयो, उहाँले भन्नु भयो ।

यो वर्ष विगतको भन्दा हिउँ पनि कम पर्‍यो । गाउँको वरिपरी दैनिक दुई / चार पटक फन्को लगाउँछु, ऐतवालले दिनचर्या सुनाउनु भयो । पूरै गाउँ घुम्न १० मिनेट लाग्छ । बिहान, दिउँसो र रातीको समयमा सबैको घर घर पुगेर अवस्था हेर्नु पर्छ । एक्लै बस्न डर लाग्दैन् भन्ने प्रश्नमा ऐतवाल भन्नु हुन्छ, यस्तो कैलाश भूमिमा के को डर ?

ऐतवाललाई वडा कार्यालयले मासिक १० हजार रुपियाँ दिने गरी चौकीदार राखेको हो । गाउँको सुरक्षा पनि हुने, रोजगारी पनि सिर्जना हुने भएपछि पाँच / ६ महिनाको लागि चौकीदार राखिएको वडा अध्यक्ष अशोकसिह बोहरा बताउनु भयो ।

स्वास्थ्य चौकीमा ताला

व्यासको छांगरुमा स्वास्थ्य चौकी छ । तर, त्यहाँ बाह्रैमास स्वास्थ्यकर्मी र औषधि हुँदैन् । गत कात्तिक महिनामा सौका समुदायको कुञ्चासँगै स्वास्थ्यकर्मी खलंगा झरेका छन् । पटक सरकारले बाह्रैमास सशस्त्र प्रहरीको गुल्म र नेपाल प्रहरी छांगरुमै राखेको भएपनि  सामान्य विरामी हुँदा पनि चेकजाँच गर्न र औषधि उपचार गराउन स्वास्थ्य चौकी नभएको डिएसपी धिरेन्द्र शाहले बताउनु भयो ।

यो क्षेत्रमा पाँच / ६ फिट हिउँ पर्छ । चिसो बेला आगो तापेर भएपनि ड्युटी गर्नु पर्‍यो । चिसोले झन विरामी हुने सम्भावना हुन्छ । तर, राज्यले राम्रो अस्पताल सशस्त्रको लागि बनाउन सकेको छैन् ।

सशस्त्र प्रहरीले सुरक्षाकर्मीको चेकजाँचको लागि गाउँमै डाक्टर ल्याएर शिविर आयोजना गर्‍यो । जवानको लागि आयोजना गरिएको शिविरमा स्थानीयलाई समेत स्वास्थ्य परीक्षण र औषधि वितरण गरिएको डिएसपी शाहले भनाई छ ।

गाउँमा स्वास्थ्य संस्था प्रमुख नहुँदा सशस्त्र प्रहरीकै अहेवले औषधि दिने र विरामी चेकजाँच गर्ने काम गर्छन् । सशस्त्र प्रहरी जवान अहेव किसनसिह साउदले गाउँले विरामी हुँदा, औषधि उपचार गर्ने गरेको डिएसपी शाह बताउनु हुन्छ ।

तिङ्क गाउँ मानवविहिन

चीनको सीमा नजिकैको रहेको व्याँस गाउँपालिका–१ तिङ्कर गाउँमा अहिले मानव विहिन बस्तीका रुपमा रहेको छ ।

गत मङ्सिर महिनामा यहाँका ६५ घरधुरी चिसो छल्न सदरमुकाम खलंगा औल झरेपछि यो बस्ती मानव शून्य बनेको हो ।

आफ्नै भूमि जान घोरेटो बाटो छैन् । भारतीय भूमि भएर जान पनि त्यति सहज छैन् । कोभिडको जोखिमको बेला यहाँका नागरिक भारतसँग समन्वय गरेर सीतापूल नाका भएर सदरमुकाम झरेका हुन् ।

अहिले तिङ्करमा कोहि छैनन् । सदरमुकाम खलंगाबाट नेपालकै भूमि भएर तिङ्कर पुग्नै पाँच दिन लाग्छ । छांगरुबाटै तिङ्कर जान आधा दिन लाग्छ । तिङ्करमा ६ महिना सुरक्षाकर्मीको उपस्थिति रहने गर्दछ ।

तिङ्करस्थित सीमा प्रहरी चौकी अहिले व्यासको छांगरु झरेको छ । तिङ्करबाट नेपाल चीन सीमा बोर्डर क्षेत्र पुग्न पाँचदेखि ६ घण्टा लाग्छ । पिलर नम्बर १ बाट सोझै झर्यो भने चीनको स्वसासित क्षेत्र तिब्बत पुगिन्छ ।

तिङ्करमा बस्ने नेपाल प्रहरी ६ महिना छायालेकमा बस्ने गर्छ । अहिले मानव शून्य रहेको तिङ्कर गाउँसम्म कहिले काहि सशस्त्र प्रहरीले एलआरपी गस्ती गर्ने गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म छांगरुले जनाएको छ । सधै यो ठाउँसम्म पनि पुग्न सकिने अवस्था थिएन्, डिएसपी धिरेन्द्र शाहले भन्नु भयो, हिउँ भएको कारण कहिलेकाही वस्तुस्थिति बुझ्न जाने गरेका छौँ ।

राज्यको उपस्थिति गराउने प्रयत्न जारी

सरकारले नेपालको चुच्चे नक्सा जारी गरेपछि केहि पहलकदमी भने लिएको छ । सुरक्षाकर्मीको बाह्रैमास उपस्थिति गराएको छ । लामो समयदेखि निर्माण अघि बढ्न नसकेको दार्चुला तिङ्कर सडक नेपाली सेनामार्फत निर्मण भइरहेको छ ।

सेनाले चालु आर्थिक वर्षबाटै काम अघि बढाउने गरी जनशक्ति व्यासको सुनसेरा र दुम्लिङगमा खटाएको छ । व्यास गाउँपालिका अध्यक्ष दिलिपसिह बुढाथोकीले व्यास क्षेत्रको विकासको लागि सेनामार्फत काम काम अघि बढेको बताउनु भयो ।

यसअघि अवरुद्ध रहेको घाटिबगर क्षेत्रमा नेपाली सेनाले २ करोड लागतमा घोरेटो बाटोको ट्रयाक खुलाएको छ । अहिले यो क्षेत्रमा घोरेटो बाटो निर्माणको लागि डोलीडारले बोलपत्र आह्वान गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिह ठगुन्नाका अनुसार सडक निर्माण र घोरेटो बाटो दुबै काम छांगरु तिङ्करसम्म निर्माण भइरहेको बताउनु भयो । संघीय सरकारले यो क्षेत्रमा विशेष प्याकेजका साथ काम अघि बढाएको उहाँको भनाई छ ।

प्रदेश सरकारले पनि यो क्षेत्रको विकासको लागि ५ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । पछिल्लो समय छांगरु र तिङ्करका नागरिकको लागि मात्र नभई सामरिक महत्व बोकेको क्षेत्र भएको कारण सरकारले विशेष ध्यान दिएको छ ।

Photo20210402darchula (1)

Photo20210402darchula (2)

Photo20210402darchula (3)

Photo20210402darchula (4)

Photo20210402darchula (5)

Photo20210402darchula (6)

DCIM100GOPROG0253308.

DCIM100GOPROG0263510.

DCIM100GOPROG0273555.

Photo20210402darchula (12)

- नरेन्द्रसिह कार्की