साँझ बिहानको छाकः हथौडा र ढुङ्गाको साथ

जुम्ला । ०७४ माघ १० गते

खेतीपाती गरौँ उमेर ढल्किसक्यो । बिहान बेलुका छाक टार्न निकै धौ धौ पर्छ उनलाई । घरमा जग्गा भएपनि खनजोत गर्ने कोही छैनन् । दुई छोरा छुटिएर बसेका छन् । आफ्नो नाममा भएको ज्यूनारी जग्गा खनजोत गर्न नसकेरै बाँझो भो । पति बितेको झण्डै तीन वर्षभयो । पति स्वर्गीय भएपछि उनको जीवन शुन्य भएको छ । यता जग्गा कमाउन नसक्ने ! उता भोको पेट पाल्नु पर्ने ! दिन गुजार्न निकै मुस्किल छ । उमेरले ६३ वर्ष नाघिसकेकी उनले बुढेसकालमा छाक टार्ने केही उपाय नलागेपछि अन्तिम विकल्पका रूपमा बिहान बेलुकाको गास जुटाउन गिटी कुट्ने विकल्प रोजेकी छन् ।

photo20180124jumla (2)

यो दिनचर्या हो तातोपानी गाउँपालिका-२ की एकल महिला छुमकली कामीको । 'उमेर ढल्कँदै गएपछि सबैले हेला गर्दा रहेछन् । छोरा बुहारी नातीनातिनीहरू कोही पनि उनको साहारा गर्ने छैनन् । गर्ने मान्छे नभएपछि जग्गाले आफैँ उत्पादन दिँदो रहेनछ ।'-उनले भनिन् । 'बिहान बेलुका भोको पेटलाई शान्त पार्न पनि बुढेसकालमा गिट्टी कुट्नु पर्ने बाध्यता आइलाग्यो ।' पति छँदा निकै खुसीका साथ जीवन बिताएकी छुमकली कामीको अहिले सडकमा ढुङ्गामाटोसँग पिरती गाँसिएको छ । 'एक दिन हथौडा र ढुङ्गासँग भेट भएन भने त्यो दिन नियास्रो नै लाग्छ ।'-उनले भनिन् । पतिको मृत्यु भएपछि जिन्दगी चलाउन यो मात्रै साहरा बाँकी रहेको छुमकली कामीको कथन छ ।

photo20180124jumla (1)

बिहान १० बजे हतारिँदै सडकको पेटीमा गिट्टी कुट्न पुग्छिन् छुमकली । दिनभरी गिट्टी कुटेपछि साँझ कुम्ला कुटुरा बोकेर घर फर्किन हतार ! उनी ५ बजे फर्किन्छिन् । अरु कार्यालय जाने समयमा छुमकली गिट्टी कुट्न जान्छिन र कार्यालय र्फकने समयमा घर फर्किन्छिन् । 'एक दिनमा जति धेरै गिट्टी कुट्यो, त्यति धेरै आम्दानी हुने भएकाले फुर्सदमा व्यर्थै समय खर्चनु भन्दा गिटी कटुनु नै बेस छ ।'-उनले भनिन् ।-'पतिसँगै हुँदा अलि सहज थियो, अहिले निकै गाह्रो छ  ।

photo20180124jumla (3)

अहिलेसम्म उनले झण्डै ३० हजार रुपियाँ कमाएकी छन् । गिटी कुटेको पैसाले नुन तेल, अनि लुगाफाटो गर्न अलि सहज भएको बताईन् । त्यस्तै कितु चनाराको पनि दैनिकी समस्या गिट्टी कुटेर नै टरेको छ । उनका पनि श्रीमान छैनन् । दुवै जना छोरा छुटिएपछि अहिले नुन तेल साबुन किन्ने समस्या र्टार्न आफुले गिट्टी कुट्ने साहारा लिएको बताइन् । 'एक ट्रलीको ५ हजार रुपियाँमा बेच्ने गरेको छु ।'-उनले भनिन् । कितु चनारा र छुमकली कामी त एक प्रतिनिधि पात्र मात्रै हुन् । जुम्लामा गिटी कुटेर दैनिकी चलाउने दलित महिलाहरूको सङ्ख्या सयौँ छन् । जुम्लाका अधिकांश दलित महिलाहरू सडक पेटीमा गिट्टी कुटेरै खर्च जुटाउँछन् । गिट्टी कुटेरै वाषिर्क ५० हजार रुपियाँभन्दा बढी कमाउँछन् । जुम्लाका दलित महिला, फुर्सदको समय व्यर्थै विताउनु भन्दा सदुपयोग गनुपर्ने चेतनाको विकास भएको जुम्लाका महिलामा । कोही कोही 'साउमहाजन'ले गिटीको मुल्य अनियमितता गरेर गरिब माथि अन्याय गर्ने महिलाको दुखेसो छ ।

पक्की निर्माण बढायो गिट्टी व्यापार

जुम्लामा पछिल्लो समय पक्की भवन तथा घर निर्माण गर्नेहरूको सङ्ख्या दिनहुँ बढेपछि गिट्टीको व्यापार बढ्दै गएको छ । शहरका भन्दा ग्रामीण महिलाहरू गिट्टी कुट्ने पेशामा बढी सक्रिय छन् । एक ट्रलीको ५ हजार रुपियाँमा विक्री हुने भएपछि गाउँका बालबालिकादेखि युवायुवती बुढापाका महिलाहरू गिट्टी कुटन बिहानैदेखि हथौडा तयार गरी ढुङ्गासँग पसिना साट्छन् ।

photo20180124jumla (4)

जुम्लामा बढेको पक्की घर भवन निर्माण कार्यले निम्न आयस्तर भएका महिलाहरूलाई निकै राहत भएको छ । पहिला पाँच रुपियाँ पनि माग्न दिनहुँ 'साउमहाजन'को घरमा कुर्नुपर्थ्यो । स्थानीय महिला काशीकला परियारले भनिन्-'तर, पक्की भवन घर निर्माण गर्दा गिट्टी अनिवार्य चाहिने भएकाले आफू जस्ता बेसहाराहरूलाई राहत भएको छ । केही नभए पनि नुन तेलको जोहो गर्न सकिएको उनले बताइन् । कहिले काँही साहुमहाजनहरू सही मुल्य दिन्छु भनी लिने तर पनि घटाएर दिँदा आँखा अगाडि गरिबको श्रम माथि शोषण गर्ने गरेको अर्की महिला बेलु चनराले दुख पोखिन् । कडा परिश्रम गरी ढुङ्गा फोड्यो पछि सहि मुल्य नदिएपछि आँसुनै आउने उनको अनुभव छ । जुम्लाका हरेक बस्तीका बेसाहारा अरू भन्दा दलित महिलाहरू गिट्टी कुटेर घर्रखर्च छोराछोरीको पढाइ, नुन तेलको जोहो गर्ने गरिररहेका छन् ।

photo20180124jumla (5)

सिपमुलक तालिमको माग

सधैँ गिट्टी कुटेर जीवन चल्छ भन्ने कुनै ग्यारेण्टी छैन र गर्न पनि सकिँदैन । त्यसैले अहिलेको स्थानीय सरकारले दलित, विपन्न तथा एकल महिलाहरूका लागि सिपमुलक कार्यक्रम ल्याई उनीहरूलाई स्वरोजगारतिर उन्मुख गराउने पहल गर्न आबश्यक छ । सिप सिकेमा सजिलै कुनै काम गरी खान सकिन्छ । सिप सिक्न उमेरले पनि छेक्दैन । धेरै महिलाले जुनकुनै निकायले सिपमुलक कार्यक्रम दिएमा गिट्टी कुट्नु भन्दा स्वारोजगारमुलक अन्य कामबाट दैनिकी गुजार्ने चाहना व्यक्त गरेका छन् । युवती देखि उमेर ढल्केका महिलाहरूलाई गिट्टी कुट्नबाट मुक्त गर्न सिपमुलक कार्यक्रम सिकाउनुको अरू विकल्प छैन् । अब सरकारी तथा गैरसरकारी निकायको ध्यान त्यसतर्फ केन्द्रित गराउन पनि आवश्यक छ ।

photo20180124jumla (6)

 

- मानदत्त रावल