सडकपेटीमै जुत्ता सिलाएर गुजारा !

रुकुम (पश्चिम) । ०७६ कात्तिक २८ गते

पहाडी क्षेत्र । बिहानको चिसो सिरेटो । बाहिर निस्कनै मुस्किल ! दिउँसोको पारिलो घामको न्यानो समेत लिन पाउँदिनन् उनी । मौसम जस्तो सुकै होस् उनलाई कुनै परवाह छैन । न त बिहानको जाडोको न त दिउँसोको त्यो रापिलो घामको आस छ न त त्रास नै ! रुकुम पश्चिम, मुसिकोटकी ४२ वर्षीय तिला खड्काको दैनिकी बिहान सबेरैबाट सुरू हुन्छ । बिहानै उठेर घरको धन्दा सकेर घरमा परिवारलाई खाना खुवाएपछि आफ्नो व्यवसायिक दिनचर्या सुरू गर्छिन् तिला । बिहान जुत्ता सिलाउने सामान बाकेर निस्किएकी तिलाको व्यवसायिक व्यस्तता बेलुकी अबेलामात्रै सकिन्छ ।

तिलाको स्थायी घर रुकुम पुर्वको सिस्ने गाउँपालिका–६ रुकुमकोट हो । हाल रुकुम पश्चिमको मुसिकोटमै सानो घर बनाएर बसिरहेको छ तिलाको परिवार । झट्ट हेर्दा तिला जाँगरिली देखिन्छिन्, हँसिली देखिन्छिन् । यो उमेरसम्म आइपुग्दा धेरै सङ्घर्ष गरेको सुनाउँछिन् उनी । जीवन निर्वाहको लागि गरिने सङ्घर्ष र दुःख त थियो नै, छोराछोरीको स्याहारले व्यस्तता पनि थपियो । दुई छोरा र एक छोरी सन्तान रहेकोमा छोरीको विवाह भइसकेको छ भने दुवै छोरामा अपाङ्गता छ । दुवै छोरा होचा पुड्का भएपछि उनीहरूको जीवन कसरी चल्छ ? भनेर चिन्ता लाग्ने बताउँछिन् तिला ।

खलङ्गा बजारको चिसोमा दिनभर जुत्ता सिलाउँदा कुनै दिन पुग नपुग ४ सय रुपियाँ त कुनै दिन २ सय रुपियाँ पनि नपुग्ने उनको भनाइ छ । सोही कमाईबाट दुई छोरा र पति सहित चारजनाको परिवार जसोतसो धानेकी छिन् तिलाले । ‘दुवै छोराको पढाइलेखाइ पनि यसै कामबाट जेनतेन चलेकै छ ।’–उनी भन्छिन्–‘जेठो छोरा बिएड पढ्दैछ, कान्छो छोरा ६ कक्षामा पढ्छ ।’

क्षेत्री भएर जुत्ता सिलाउने पेसा रोजेको कारण सामाजिक रूपमा पनि अपहेलित हुनुपरेको उनी बताउँछिन् । जुत्ता सिलाउन आउने कति जनाले त जात र थर सोध्ने गरेको र क्षेत्रीको छोरी भएर पनि यस्तो पेशा किन गरेको ? भन्ने जस्ता प्रश्न दैनिक आउने तिला बताउँछिन् । क्षेत्रीको छोरी भन्दा कतिले त नपत्याएर आफूले दिएको पानी समेत नखाएको तिलाको भोगाइ छ । ‘दलितलाई हेलाँहोचो गर्ने चलन मैले बुझेको छु । मानिस सबै बराबर हो भन्ने बुझाइ नै छैन ।’–उनले भनिन् ।

तिलाले जुत्ता सिलाउन थालेको तीन वर्ष भयो । सकारात्मक रूपले सोच्नेहरूका लागि अहिले उनी समाजको उदाहरणीय व्यक्ति बनेकी छिन् । आफ्नो पेशाप्रति गर्व गर्दै उनी भन्छिन्–‘समाजका कुनै कुनै मानिसले अझै मेरो पेसालाई घृणा गर्छन् । तर, मतलब गर्दिन । यो पेसाका कारण मैले आफ्नो गुजारा चलाइराखेकी छु ।’ अलि ठूलो बजार नभएकाले धेरै ग्राहकहरू नआउने र धेरैजसो ग्राहक पनि पुरूषद्वारा सञ्चालित पसलमा जाने हुँदा आफ्नो आम्दानी सोचेजस्तो नभएको उनको भनाइ छ ।

गरिबीका कारण दैनिकीमा केही सहयोग होस् भनेर २०७३ सालमा अपाङ्गता अधिकारसम्बन्धी काम गर्ने संस्थाले दिएको जुत्ता सिलाउने तालिम लिएको तिला बताउँछिन् । ज्याला मजदुरी गर्ने पतिको मात्रै कमाइबाट घर चलाउन समस्या भएपछि यो पेसाको सुरूवात गरेको उनले बताइन् ।

मुसिकोट नपा–१ सालघारीकी ३० वर्षीया कल्पना सार्कीको समस्या पनि तिलाको जस्तै छ । कल्पना पनि छोरा छोरीलाई पढाउन र साँझ बिहानको छाक टार्न बिहानै जुत्ता सिलाउने सामान बोकेर खलङ्गा बजारको सडक छेउमा रहेको घुम्तीमा आउँछिन् । ‘साना दुई सन्तान आफूसँगै छन् । पति अर्को विवाह गरेर अलग्गै बस्छन् ।’–उनले भनिन् ।

पतिले अर्को बिहे गरेपछि अर्कोतिर गइसकेपछि सबै जिम्मेवारी आफ्नो काँधमा आएको उनी बताउँछिन् । छोराछोरीलाई पढाउनको लागि जानीनजानी भएपनि जुत्ता सिलाउन थालेको उनको भनाइ छ । उनी भन्छिन्–‘सुरूमा जान्दैनथेँ । अहिले भने सिकिसकेकी छु । कति ग्राहकले त बिगारेको भनेर गाली पनि गरे तर के गर्नु छोराछोरीको शिक्षादीक्षा, लालनपालनको लागि पनि दुःख त गर्नैपर्‍यो ।’ कल्पना दिनमा जसोतसो ३ सय रुपियाँदेखि ४ सय रुपियाँसम्मको व्यापार हुने गरेको बताउँछिन् ।

दिनभरीको दुःख सँगै एक मनमा खुसी पनि छाउँछ । त्यो आम्दानीले दिनभरीको दुःख त कता हो कता गायब ! भोलिको चिन्ताले मन भारी हुन्छ । आफूले गरेको कमाई थोरै भएपनि त्यसैमा सन्तुष्टि भएर घर फर्कन्छन्, उनीहरु । दिनभरी गरेको थोरै आम्दानीले घरखर्च टर्ने आशा बोकेर हरेक साँझ बाँकी सामान बोकेर घर फर्किन्छन्, तिला र कल्पना । फेरि सुरु हुन्छ उनीहरुको घरको धन्दा ।

photo20191114westerukum (1)

photo20191114westerukum (2)

photo20191114westerukum (3)

- मनिषा केसी