श्रमिक महिलाको साँझ बिहानको छाक टार्ने साहरा विमानस्थल

हुम्ला । ०७५ जेठ २१ गते

हवाइजहाजको आवाज सुन्दा खुसी हुँदै उनका कान टाठा हुन्छन् । आकाशमा ‘प्लेन’ देखेपछि हतारहतार उनी विमानस्थलतिर दर्गुछिन । भारी बोक्ने काम पाइने आशमा उनी मख्ख हुन्छिन् । यसैगरी सिमकोट गाउँपालिका-५ की हिराकली बोहोराको दिनचर्या चलिरहेको छ । प्लेन नआएको दिन काम नपाइँदा भोकै सुत्नु परेको अनुभव उनले सुनाइन् ।

Photo20180604Humla (1)

सडक यातायातले नछोएको हुम्लाको सदरमुकाम सिमकोटमा व्यापार व्यवसाय गरेका व्यवसायीहरूको नेपालगञ्ज र सुर्खेतबाट ढुवानी हुने सामान यी महिलाको बिहान र बेलुकाको छाक टार्ने र जीवनयापनको गुजाराका लागि माध्यम बनेको हो, विमानस्थल । जसबाट धेरै महिलाहरूले आफ्नो दैनिक गर्जो टार्ने मात्र होइन, भविष्यको विषयमा सोच्ने पेसा बनाएता पनि नेपाल सरकारले तोके अनुसारको ज्याला पाउन नसेकेको हिराकलीको दुखेसो छ ।

सिमकोट गाउँपालिकाका प्रशासकीय अधिकृत अर्जुन दर्जीका अनुसार हुम्लामा दक्ष कामदारको दैनिक १ हजार ३ सय रुपियाँ र अदक्ष कामदारको दैनिक ७ सय ५० रुपियाँ ज्याला रहेको छ । दुरी हेरी विमानस्थलबाट प्रति भारी ५० रुपियाँदेखि बजारसम्म पुर्‍याउनको लागि २ सय रुपियाँसम्म भरियाले पाउने गरेको उद्योग वाणिज्य सङ्घका विमानस्थल प्रतिनिधि टेकबहादुर रोकायले बताए ।

Photo20180604Humla (2)

वि.स.२०३४ सालमा सिमकोट विमानस्थल स्थापना भएदेखि केही महिलाले यो पेशा अँगाल्दै आएका छन् । पछिल्लो समयमा आर्थिक अवस्था कमजोर भएका परिवारको छाक टार्ने माध्यम विमानस्थल बनेको बोहोराले बताइन् । सुख दुःख भन्नु त्यस्तै हो आफूसँग छोराछोरी समेत भएपनि आफूले काम नगरी माम नपाइने रहेछ । त्यो पनि बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म पिठ्युँको भारी पिठ्युँमै छ कसरी जिन्दगी बिताउने, भारी बोकेर खाना खाएको करिब २५ वर्षभयो । समयले पनि नेटो काट्यो अब ४५ वर्षपूरा भई ४६ मा लागे हिराकलीले गुनासो गरिन् ।

त्यस्तै समस्या सिमकोट गाउँपालिका-८ डाँडाफयाकी ५१ वर्षीया बाँचु नेपालीको पनि छ । नेपालीले भनिन्-‘विमानस्थलबाट मात्र नभएर दैनिक गुजाराका लागि विभिन्न गाउँठाउँमा गएर काम खोज्नु पर्ने बाध्यता रहेको बताइन् । तीन छोरी एक छोरा भएकी महिलाको पति नहुँदा अर्काको घरमा काम गर्ने र ढुङ्गा बोकेर छोराछोरीको पेट भर्ने काम गरेको बताइन् । आफू र तीन वटा छोरी पनि भारी बोक्ने गरेका छौँ ।’ उनका परिवारका सदस्यमध्ये तीन जना भरिया पेशामा आश्रति छन् । नेपालीले आफ्नो मन फुकाएर यो पेशाबाट मनग्य कमाउने सपना देखिन्, तर भरपर्दो रूपमा लाभ नभएको गुनासो गर्छिन्-‘चार जना बाल बच्चामध्ये कान्छो छोरालाई सरकारी विद्यालयमा पढाएकी छु ।’ अरु छोरीलाई पढाउने क्षमता नभएको भन्दै भारी बोक्ने भरिया बनाएकी महिलाको जीवन कथा अनौठो छ । छोरीहरूको पढ्ने सपना उनले पूरा गर्न सकेकी छैनन् । अरुको रिस गरेर के गर्ने मेरो क्षमता छैन भन्दै छोरीलाई सान्त्वना दिएकी नेपाली यतिखेर दुःखैदुःखमा जीउन बाध्य भएकी छन् ।

Photo20180604Humla (3)

त्यस्तै सोही गाउँपालिका-६ की ४० वर्षीया हंसकला सुनार पनि त्यसरी नै जीवन निर्वाह गर्दै आएको बताउँछिन् । ‘बिहान र बेलुका हातमुख जोड्नका लागि धेरै कष्ट खेप्नु परेको छ ।’-उनले भनिन् । उनी दैनिक बिहान ७ बजे उठेर विमनस्थल धाउँछिन् । ‘केही ढिला भयो भने भारी नै पाइँदैन बेलुका खाना नखाएर भोकै बस्नु पर्छ । सास रहुञ्जेलसम्म आस भने झैँ खानाको लागि पनि प्लेन कतिखेर आउँछ भनी हेरिरहन्छु । अब त भारी बोकेर खाउँला भन्ने मानसिकता नै भइसक्यो मेरो यदि हावा हुरी र बादल (कुहिरो) लागेको दिनमा त भारी नपाएर घरको चुलोमा आगो नै बल्दैन यसका लागि धेरै काममा खटिरहनु पर्छ ।’ घरका चार जनाले दिनभरिको कमाई बेलुकासम्म ८ सयदेखि १ हजार रुपियाँसम्म कमाई गरेपनि परिवारलाई खान नपुग्ने उनले गनासो गरिन् ।

त्यस्तै जुम्ला घरभई सिमकोट बस्दै आएकी बासु रोकायाले पनि यो पेसा गर्दै आएकी छन् । यही व्यवसायबाट तीन जना बालबच्चा र आफ्नो जीवन निर्वाह गर्दै आएको उनले बताइन् । हुम्लामा महिलाहरूको पीडा कहालीलाग्दो रहेको छ । काम नगरी खाना नपाउने हुम्लाकी महिलाहरू धेरै छन्, तर पनि यी महिलाको कथाव्यथा अर्कै देखिएको छ । ‘जीवनमा सहारा दिने आफन्त नभएपछि भोकै समेत हुनुपर्दो रैछ ।’-रोकायाले भनिन्-‘आफूलाई हातमा हात र साथमा साथ नदिने आफन्त नभएपछि जिन्दगी भरि भारी बोक्नु पर्ने बाध्यता रहृयो ।’

Photo20180604Humla (4)

यो पेसामा तीन जना दम्पती मात्र होइनन् ३३ जना अन्य महिला र तीन जना पुरुष भरियाले पनि यो कार्य गर्दै आएका छन् । सात वर्षअघि पति गुमाएकी सिमकोट गाउँपालिका-४ की काली बोहोराले पनि विगत ४ वर्षयता सिमकोट विमानस्थलबाट भारी बोक्दै आएको बताइन् । घरको जमीनबाट उत्पादन हुने अन्नले तीन महिना पनि खान नपुग्ने बोहोरालाई चार सदस्यीय परिवारलाई धान्न धौधौ भएको छ ।

त्यस्तै सिमकोट गाउँपालिका-५ की माया रावतले पनि यो काम अँगालेकी छन् । रावतको पाँच जनाको परिवार छ, सबै यसैबाट पालन पोषण र लुगाफाटो समेत गर्नु परेको बताइन्, त्यो पनि अर्काकै घरमा घरभाडा बसेर दिन काटाउनु परेको पीडा सुनाइन् ।

‘हवाई यात्रुहरूको सामान पनि बोकेका छौँ । हामीहरूले राज्यको नियम अनुसार कामको ज्याला पाएका छैनौँ ।’-भरियाको गुनासो छ । त्यस्तै यातायातको अन्य साधन नभएपछि दैनिक नेपालगञ्ज र सुर्खेतवाट ३० देखि ४० फ्लाइट सिमकोट विमानस्थलमा अवतरण गर्ने गरेका छन् । ती सबै जहाजबाट ढुवानी भएको सामान यिनै भरियाहरूले बोक्ने गरेका छन् ।

संविधानको धारा ३४ को उपधारा (२) मा प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने छ भनेता पनि हुम्लाका श्रमिकका लागि उक्त हकको कार्यान्वयन हुनसकेको छैन । त्यस्तै धारा ३८ को उपधारा (२) मा प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्यसम्बन्धी हक उल्लेख गरिएको भए पनि हुम्लामा नियमित स्वास्थ्य परीक्षण गर्न पाएका छैनन् । भारिले गर्दा झन बढी रक्तश्राव हुने गरेको छ । यसैगरी धारा ३९ को उपधारा (२) मा प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन, तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हकको व्यवस्था गरिए पनि हुम्लाका बालबालिकालाई सो कार्य लागु हुनसकेको छैन । यसैगरी धारा ३९ कै उपधारा (४) मा कुनै पनि बालबालिकालाई कारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन नपाइने प्रावधान रहेको भए पनि यसको ठीक विपरीत भएको देखिन्छ ।


नन्द सिंह







Top