रापमा जलेको जीवन !

सप्तरी । ०७७ भदौ २३ गते

एक महिनादेखि बसन्ती सदा जलनले छट्पटाइरहनु भएको छ । घाँटीदेखि गोडासम्म आगोले जलेर घाउ नै घाउ छ । घाउ कुहिएर हेर्नै डरलाग्दो छ । उठ्न खोजे पनि जलेको छाला तन्किँदा घाउ टन्किएर सहिसक्नु छैन । उपचार गर्न मन छ तर खर्च छैन । आगोले जलेर जीवन–मरणको दोसाँधमा पुगेकी २४ वर्षीया बसन्तीलाई बाँच्ने आशा मारेर घरमै राखेपछि ओछ्यान परेको बुवा मनभरण सदाले बताउनु भयो । बसन्तीले पनि जीवनबाट हरेश खाएको सुनाउनु भयो ।
सुरुङ्गा नपा–३, लक्ष्मीपुरकी बसन्तीलाई दुःख सुखमा जीवनभर साथ दिने बाचा तोडेर २७ वर्षीय दिपेन भनिने दिपेन्द्र सदाले साउन ७ गते आगो लगाइ दिए । जलेर घाइते हुनुभएकी बसन्तीलाई राजविराज र विराटनगर पुर्‍याए पनि केही दिनमै खर्च सकिए पछि घरमै ल्याएर राखियो ।
घर नजिकैका दिपेन्द्रसँग १५ वर्षकै उमेरमा बसन्तीको विवाह भएको थियो । बसन्तीको आठ वर्षीया छोरी छन् । मजदुरी गर्न दिपेन्द्र भारत गएपछि बसन्ती पनि ज्याला मजदुरी गर्नुहुन्थ्यो । उहाँ नाबालक छोरीको स्याहार र सासूससुराको सेवा पनि भ्याउनु भएको थियो ।
कोभिड–१९ को महामारीमा रोजगारी गुमेपछि भारतको हरियाणा पञ्जाबबाट साउन ५ गते घर आएपछि दिपेन्द्रलाई बसन्तीले विद्यालयमा बनेको क्वारेण्टाइनमा जान आग्रह गर्नु भयो । भारतबाट आउने अधिकांश व्यक्तिमा कोरोना सङ्क्रमण भएको सुन्नु भएकी बसन्तीले पनि पति दिपेन्द्रलाई क्वारेण्टाइनमा बसेर परीक्षणमा नेगेटिभ रिपोर्ट आए पछि घर आउन भन्नु भएको थियो ।
बसन्तीको कुरा दिपेन्द्रलाई पचेन । आफूलाई कुनै लक्षण नरहेको र केही पनि नभएको दावी गर्नु भयो । आफैँ नगए जनप्रतिनिधि र प्रहरीलाई बोलाएर क्वारेण्टाइन पठाउने र केही दिन घरबाट अलग्गै राख्ने बसन्तीको अडानपछि दिपेन्द्रले परपुरुषसँग अबैध सम्बन्ध रहेको आरोप लगाएको पीडितको भनाई छ ।
आवेशमा घरबाट निक्लिएका दिपेन्द्रले साथीहरूसँग बसेर मादक पदार्थ सेवन गरेर रातमा मातिएर घर पुगेपछि पत्नीसँग पुनः सोही विषयमा विवाद गरेको पीडितले बताउनु भयो । साउन ७ गते बिहानै पुनः रक्सीले मातिएर झगडा गर्न थालेका दिपेन्द्रले बसन्तीको शरीरमा मट्टितेल खन्याए र लाइटर बालेर जिउँदै आगो लगाइ दिएको पीडितको आरोप छ । पीडाले चिच्याएको आवाज सुनेर पुगेका छिमेकीहरूले आगो निभाउँदा शरीरको अधिकांश भाग जलिसकेको थियो । डाक्टर रोहित साहका अनुसार बसन्तीको शरीरको ५५ देखि ६० प्रतिशत भाग जलेको छ ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालले रेफर गरेपछि विराटनगर पु¥याइएकी घाइतेलाई नोबेल अस्पतालले भर्ना लिएन । गरीब देखेर हो वा कोरानाको भयले हो भर्ना नै लिन नमानेपछि फर्काएर राजविराजस्थित अस्पताल नै ल्याएको बसन्तीका बुवा मनभरण सदाले बताउनु भयो । गरीब, दलित, असहाय, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति जस्ता लक्षित समूहका लागि सामाजिक सेवा इकाइमार्फत र लैङ्गिक हिंसा पीडितलाई एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमार्फत सरकारले अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरेको छ । सरकारको घोषणा बमोजिम लक्षित समूहले प्राथमिक उपचार सेवा पाए पनि निको हुन लामो समय लाग्ने देखेर अस्पतालले वास्ता गर्न छाडेको पीडित परिवारको आरोप छ । अस्पतालले औषधि किनेर ल्याउन भनेपछि राजविराजमा खाना, बस्न र औषधि किन्न समस्या भएर उपचार नै नगरी घर ल्याउनु परेको उहाँका ससुरा हरी सदाले बताउनु भयो ।
उपचार नपाएपछि निको हुनुको साटो घाउ पाक्न थाल्यो । जलनको पीडा र उपचार नपाउँदाको पीडासँगै कोरोना सङ्क्रमितको आशङ्कामा अर्को पीडा पनि थपियो । विपन्नताका कारण घर फर्किएका बिरामीलाई कोरोना सङ्क्रमणको कारण अस्पतालले भर्ना नलिएको भन्दै गाउँमा भ्रम फेलिएर थप तनाव भएको पीडित परिवारको गुनासो छ । कोरोना लागेको भनेर छरछिमेकहरू हेर्न पनि नआउने गरेको भन्दै बसन्तीले पीडामाथि पीडा परेको सुनाउनु भयो ।
उजुरीका आधारमा तत्कालै गिरफ्तार परेका दिपेन्द्र आगो लगाएर ज्यान मार्ने प्रयास गरेको आरोपमा भदौ ११ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा परेको इलाका प्रहरी कार्यालय कडरबोना, सप्तरीका इन्स्पेक्टर रामराजा केशरीले जानकारी दिनु भयो । “मुलुकी अपराध (संहिता) ऐन, २०७४” मा आगो लगाई ज्यान मार्नेलाई जन्मकैद र ज्यान मार्ने उद्योग गर्नेलाई १० वर्षसम्म कैदको कानुनी व्यवस्था गरिएको अधिवक्ता मीना देवले बताउनु भयो । जलेकी बसन्तीलाई आगोको रापले र जलाउने दिपेन्द्रलाई पश्चातापले पोलेको छ । उपचार गर्न नपाएको सिंगो परिवारलाई भने अभावले भतभती पोलेको छ ।
कुहिरहेको घाउको दुखाइ सहेर घरमा अलपत्र परेकी बसन्तीबारे जानकारी पाएर मनोविमर्शकर्ता कविता चौधरी र रेणु कर्णले भदौ १० गते उद्दार गरी रामकुमार शारदा उमाप्रसाद मुरारका अस्पताल लहान भर्ना गर्नु भयो । डाक्टर सुनिल कुशवाहाले लहानमा उपचार सम्भव नरहेको बताएपछि बिरामीसँगै उद्दारकर्ताहरू पनि चिन्तित बने । लहानमै उपचार हुने आशामा रहेका समग्र जनउत्थान केन्द्रका पदाधिकारीहरू डाक्टरको सुझावले उपायविहीन बनेपछि समग्र जनउत्थान केन्द्रका कार्यकारी निर्देशक देवराज पोखरेलले इन्सेक सप्तरी प्रतिनिधिसँग सहयोगका लागि आग्रह गर्नु भयो ।
यसअघि ०७६ माघ १७ गते राजविराज नपा–१५ की २० वर्षीया रेखादेवी शर्मालाई आगो लगाइ ज्यान मार्ने प्रयास गरेको आरोपमा गिरफ्तार परेका ५५ वर्षीय ससुरा परशुराम शर्मा सुतिहार फागुन १८ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । आगो लगाएर मार्ने वा मार्ने प्रयासका घटना अधिकांश घरेलु हिंसाका रूपमा देखिने गरेको प्रहरीको भनाइ छ । यस्ता अपराधमा पीडितको मृत्यु क्रुर हुने र बाँच्नेहरू पनि जीवनभर शारीरिक रूपमा कुरूप बन्ने गरेको बताउनु हुँदै जिल्ला प्रहरी कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र राजविराजकी असई सामवती राजबंशीले आगो लगाउनु वितृष्णा वा असन्तुष्टिको डरलाग्दो रूप भएको बताउनु भयो ।
भदौ १२ गते इन्सेक अनलाइन र भदौ १४ गते अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशनपछि उपचारका लागि आर्थिक सहयोग जुट्न थालेको छ । सुरुङ्गा नगरपालिकाले एम्बुलेन्स सहयोग गरेपछि घाइतेको किर्तिपुरस्थित बर्न अस्पतालमा भदौ १४ गतेदेखि नै उपचार सुरु भएको छ । एसिड आक्रमणबाट घाइते हुनेहरूको उपचार तथा उनीहरूको हकहितका लागि पैरवी गर्दै आएका उज्जवलविक्रम थापाले इन्सेक सप्तरी प्रतिनिधिलाई फोन गरी अस्पतालमा ५० हजार रुपियाँ जम्मा गरेको र उपचारका लागि थप सहयोग जुटाउने जानकारी दिनु भयो । उपचारमा प्रत्यक्ष संलग्न रहेको समग्र जनउत्थान केन्द्र, ओरेकलगायतले देश विदेशमा बस्ने नेपालीहरूबाट सहयोग जुटिरहेको र औषधोपचारको चाँजो मिल्दै गएको जानकारी दिएका छन् ।
अधिकारकर्मी सुनिल साहले इन्सेक प्रतिनिधिको भरोसासहितको तत्परता, समन्वय र सहयोगी हातहरू जुट्दै गएपछि बाँच्ने आशा मारेकी महिलाको उपचार सुरु भएकोले नयाँ जीवन पाउने आशा जागेको बताउनु भयो । दाइजो कम ल्याएको, सन्तान नभएको वा छोरी मात्र भएको, चरित्रमाथि शङ्का लागेको वा अर्को मन पराएको आदि कारणले प्रदेश २ मा घरेलु हिंसा बढिरहेको बताउनु हुँदै साहले प्रमाण नष्ट गर्न पनि दोषीहरूले आगो लगाउने गरेको बताउनु भयो ।
धेरै जनाको सहयोग र समन्वयबाट घरमै अलपत्र परेकी घाइते महिलाको उपचार सुरु भएकोमा खुशी व्यक्त गर्दै सामाजिक कार्यकर्ताहरू आगोले जलेकाहरूको राज्यले नै उपचार गरिदिनु पर्ने बताउँछन् । ‘चरित्रहिनको आरोप होस् की अनैतिक सम्बन्ध लुकाउन होस् जल्ने त महिला नै हो’ भन्दै राजविराज जेसीजकी अध्यक्ष नानीमैया कटवालले हत्या गर्नेलाई मात्र नभई आगोले ज्यान मार्ने प्रयास गर्नेलाई पनि जन्मकैदको माग गर्नु भयो । आगो र एसिडले जलेर बाँचेकाहरूले जीवनभरी रापको पीडा बोक्नु पर्ने भएकाले अभियुक्तलाई जन्मकैद गर्नु पर्ने र पीडितको उपचार राज्यले गर्नु पर्ने उहाँको माग छ ।

- मनोहरकुमार पोखरेल