'मर्नु न बाँच्नु बनाएर छाडे'

०७३ असार १५ गते

आँखाभरी आँसु । निन्याउरो अनुहार । जिङ्रिङ्ग कपाल । ब्लाउज र लुङ्गीमा न्याय खोज्दै भौंतारिएकी छन् उनी । मर्नु न बाँच्नुको दोसाँधमा उनी एकोहोरो भइ रहन्छिन् । आफ्नो काखकी छोरी गुमाउँदाको पीडा कुन आमा बाबुलाई नहोला र ? हुर्केबढेकी छोरी आँखै अगाडि घुमिरहन्छिन् । बेलाबेलामा टोलाउँदै र रुँदै १४ वर्षबित्यो उनको । न्याय पाउन अझ कति वर्षकुर्नु पर्ने हो ? न उनलाई थाहा छ न न्याय दिन बसेकालाई नै !

किमलुङ् गाविस-(हाल उत्तरी षडानन्द नपा-)की कमलादेवी राईले आफ्नी छोरी मनु गुमाएको १४ वर्षबित्यो । 'बाँचेकी भए अहिले ३१ वर्षकी हुन्थी । मलाई सहयोग गर्थी । म छोरीको प्रगति देखेर हाँसिरहेकी हुन्थें होला । तर, पापीहरूले मारे ।'-कमलादेवीले भनिन् । सत्यनिरूपण तथा मेलमिलाप आयोगका लागि स्थानीय शान्ति समितिमा उजुरी दिन आएकी उनी छोरीको 'मोल' १० लाख रुपियाँ तोकिदिएकामा भक्कानिएर रोइन् । छोरी बितेदेखि रसाएका उनका आँखा अहिलेसम्म नओभाएको उनले बताइन् ।

दुःख, सुखमा साथ दिने कसम खाएर बाँधिएको जोडी उजाडिएको तीन वर्षपछि कमलादेवीले छोरी गुमाएकी हुन् । 'पतिको मृत्युपछि उसै (छोरी)को मुख हेरेर बाँकी जीवन गुजार्ने योजना थियो ।'-उनले भनिन् । सशस्त्र द्वन्द्वको समय थियो । जताततै डर र त्रास मात्रै थियो । जाडो महिना चाँडै साँझ परेको थियो । ०५९ पुस १२ गते तिवारीभञ्ज्याङ गाविसको प्रहरी चौकीमा माओवादीले आक्रमण गरेको थियो । त्यही दिन राज्यपक्षबाट मनुलाई मारिएको भन्ने उनले हल्ला मात्रै सुनेकी थिइन् । त्यसयता छोरी मनु कहिल्यै फर्किइनन् । न लास पाइयो, न सास आयो ।

'मेरी छोरी मार्नेलाई कडाभन्दा कडा सजाय दिनुपर्छ ।'-उनले स्थानीय शान्ति समितिका कर्मचारीलाई उजुरी थमाइन् । छोरीको मृत्युपछि कमलादेवीले सहिद परिवारका लागि दिने भनिएको १० लाख रुपियाँमध्ये ५ लाख रुपियाँ पोहोर साल मात्र पाइन् । 'बाँकी ५ लाख कहिले पाइने हो ? थाहा छैन ।'-उनले भनिन्-'हामीलाई क्षतिपूर्तिमात्रै दिएर हुँदैन । छोरी मार्नेलाई कारबाही पनि हुनुपर्छ ।'

१७ वर्षको कलिलो उमेरमा समाज बदल्न हिँडेकी मनु तत्कालीन विद्रोही नेकपा माओवादीको जनमुक्ति सेना सेक्सन सदस्य थिइन् । किमालुङ् गाविस-८ स्थित उनैको घर नजिकैबाट गस्तीमा गएका तत्कालीन शाही नेपाली सेना र प्रहरीको टोलीले ०५९ पुस ८ गते गिरफ्तार गरी गोली हानी हत्या गरेको इन्सेकको अभिलेखमा छ ।

- किरण राई/भोजपुर