मधेसको गुणात्मक शिक्षा केही वर्षपछाडि धकेलिएको शिक्षाविद्हरूको कथन

०७३ पुस ०७ गते

मधेसी मोर्चाले गरेको आन्दोलन चार महिना पूरा हुन लाग्दा महोत्तरीसहित मधेसका जिल्लाकाे जनजीवन कष्टकर हुँदै गएको छ । विगत ५५ दिन देखिको लामो बन्दले सबैभन्दा कोही प्रभावित भएको छ भने, त्यो हो गरिब-विपन्न वर्गका मजदुर परिवारहरु ।

जताबाट पनि गरिबहरु जहिले पनि मर्कामा पर्ने गरेको झैँ यो बन्दमा पनि गरीबहरुलाई नै बढी पिरोलेको छ । बन्दका कारण सामुदायिक विद्यालयमा पढने बालबालिकाहरूको पठनपाठनमा अत्यन्तै नकारात्मक प्रभाव परेको छ । सामुदायिक विद्यालय विगत ५५ दिन देखि बन्द रहेको छ । यता निजी विद्यालयहरु बन्दको सुरुवातमा बन्द भए पनि बीच-बीचमा कहिले काहीँ खुल्ने, फेरि बन्द हुने गरेको थियो । विगत एक महिना देखि आउट ड्रेसमा बोलाएर सदरमुकाम जलेश्वरसहित वरिपरीका निजी विद्यालयहरू सञ्चालन भइरहेका छन् भने जिल्लाका उत्तरीभेगका वर्दिवास, गौरीवास, हातिलेट, विजलपुरा, माइस्थान, खैरमारा लगायतका क्षेत्रका विद्यालयहरू विधिवत रूपमा नै सञ्चालनमा आएको छ ।

 

अहिले विद्यालय जाने उमेरका बालबालिका अर्थोपार्जनका लागि भन्दै कोही माछा मारेर, कोही सीमापारीबाट पेट्रोल ल्याएर बेच्न तल्लीन छन् भने कोही-काही ठूलाहरूले गर्ने विभिन्न किसिमको नाराजुलुसको स्वरूपमा बालबालिकाहरू जम्मा भएर खेल्ने शैली अपनाएका छन् । सडकमा टायर बाल्ने, बाटो अवरुद्ध गर्ने त्यस्तै कुनै गाडी सडकमा गुडेको देखेर ढुङ्गा हान्ने जस्ता क्रियाकलाप गरेर बालबालिकाहरू दिन बिताइरहेका देखिन्छन् ।

 

तिमीहरूले यस्तो किन गरेको भनेर पंक्तिकारले सोद्धा  बालबालिकाहरूले एकै स्वरमा भनेुहाम्रो स्कूल खोलाई दिनुस् न, हामी पढ्न जान्छौं । स्कूल बन्द छ अनि हामी के गर्ने भनेर उनीहरूले प्रतिप्रश्न गरे । उनीहरूलाई स्कूल कहिले खुल्छ भन्ने चिन्ता पनि थियो - अङ्कल,हाम्रो स्कूल कहिले खुल्छ - यो पङ्क्तिकारले मधेस आन्दोलन सकिएपछि खुल्छ भनेर जवाफ दिन नपाउँदै अर्कोले सोध्यो अनि यो आन्दोलन चाहि कहिले सकिन्छ नि - यो त्यस्तो प्रश्न हो , जसको उत्तर कसैले दिन सक्ने अवस्था छैन।

 

शैक्षिक सत्रको ६ महिना बित्न लाग्दा पनि एक महिना राम्रोसँग विद्यालय सञ्चालन हुन सकेको छैन । वैशाख १२ गते गएको भूकम्पले गर्दा लामो समय बालबालिका विद्यालय जान पाएनन । करिब दुई महिनादेखि जारी आन्दोलनका कारण विद्यालयहरू बन्द छन् । विद्यार्थीहरू आन्दोलनमा ढुङ्गा फ्याक्ने,टायर बाल्ने, नाराबाजी गर्ने जस्ता कार्यमा दिनहुँ होमिँदा कपि किताब, झोला र स्कूल ड्रेस कहाँ छ भन्ने ठेगान छैन । यस्ता कर्ममा लिप्त बालबालिकाले भविष्यमा कुनै पनि समस्याको समाधान गर्ने यस्तै बाटो रोज्लान् भन्ने पीर न आन्दोलनका नेताहरू छ न  त समाजले नै यसप्रति ध्यान दिएको छ ।

 

राजनीतिक दलहरूले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेका छन् । तर, तिनै दलहरू जब कुनै आन्दोलनमा लाग्दछन् उनीहरू विज्ञप्ति नै जारी गरेर स्कुल बन्द गर्न चेतावनी दिन पछि पर्दैनन्। शिक्षकहरू डरले स्कुल बन्द गरेर उनीहरू पनि आन्दोलनमा होमिएका छन् । स्कूल बन्द भएपछि विद्यार्थी र शिक्षक शिक्षिकहरू पनि दिनहुँ हुने आन्दोलनमा सहभागी छन् । पढ्न पाउने मौलिक अधिकारबाट बालबालिकाहर वञ्चित भएका छन् ।

 

विद्यालय बन्द भएपछि आन्दोलनमा स्कुले विद्यार्थीको आफै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहभागी छन् । एकातिर आन्दोलनको नाममा विद्यालय बन्द भएपछि आन्दोलनमा स्कुले विद्यार्थीहरूलाई  प्रयोगमा ल्याएको देखिन्छ । केहि भने स्वःर्स्र्फत रूपमा आन्दोलनमा सहभागी भएका छन् ।

 

६-७ बर्षेदेखि १५-१६ बर्षसम्मका बालबालिकाहरू सडकमा टायर बालेर नाराबाजी गर्दै दिन बिताउँछन् । नारा लगाउँदै सडक अवरुद्ध गर्नु उनीहरूको दिनचर्या नै बनेको छ,  हिजो आज । जारी आन्दोलनको क्रममा गाउँ गाउँबाट स्कुले विद्यार्थीहरू आन्दोलन गर्न भन्दै मुख्य ठाउँमा जान्छन् ।

 

दलहरूले बालबालिका र विद्यालय शान्ति क्षेत्र हो यसमा राजनितिक हस्तक्षेप नगर्ने पटक पटक प्रतिबद्धता जनाएपनि त्यसो हुन नसकेको मानवअधिकारकर्मी तथा शिक्षक समेत रहेका मदन झाले बताए ।

 

बन्द हड्तालमा बालबालिका प्रयोग नगर्न भन्दै राजनीतिक दलहरूले प्रतिबद्धता गरे पनि व्यवहारमा लागु नहुँदा सोको सिधा असर अध्ययनरत स्कूले विद्यार्थीमाथि परिरहेको छ ।

 

मधेस बन्दले शैक्षिक गतिबिधि अस्तव्यस्त बनेको छ । यस प्रति शिक्षाविद्हरूले चिन्ता ब्यक्त गरेका छन् । राजनीतिक हकअधिकार प्राप्तिका लागि भनिएको आन्दोलनले मधेसको शैक्षिक गतिबिधि ठप्प छ । आन्दोलनको नाममा बालबालिकाको शिक्षा प्राप्तिको अधिकार कुण्ठित पारेको प्रति शिक्षाविद्हरूले चिन्ता व्यक्त गरेका छन् ।

 

विद्यालयलाई कुनै बन्द हडतालको थलो नबनाउने दलहरूले गरेका पूर्व प्रतिबद्घताको यसपाली मधेस आन्दोलनमा धज्जी उडाइएको जनता बहुमुखी क्याम्पस बर्दिवासका प्रमुख तोपबहादुर ठकुरीले बताए । उनले भने, राजनीतिक हकअधिकारका लागि आन्दोलन नै विकल्प देख्नु सम्बन्धित दलहरूको बाध्यता होला ठकुरीले भने, तर यसमा शैक्षिक संस्थालाई मुछ्ने कुरा भने कुनै पनि तर्कले ठीक भन्न मिल्दैन ।

 

स्कुल बन्द हुँदा बालबालिकाहरूको दैनिकी पनि फेरिएको छ ।  स्कूल खुल्दा सँधै हातमा,काँधमा स्कुले झोला र किताव हुनुपर्ने ठाँउमा अहिले हातमा ढुङ्गा र काँधमा साइकलका टायर बोकेर आन्दोलन गरिरहेका छन् । ग्रामीण क्षेत्रमा रहेका राजमार्गमा बसिरहेका हुन्छन् । यसले बालबालिकामा मानसिक असर समेत देखिने, आपराधिक क्रियाकलापमा मनोवृत्ति लगायतका अल्पकालीन र दीर्घकालीन असरहरू देखिने लामो समयदेखि सामाजिक क्षेत्रमा कार्यरत ग्रामीण विकासका एक विद्यार्थी संजिता रौनियारले बताईन ।

 

गरिब, दलित, समाजमा निमुखा गनिएका तप्काका जनताले छोराछोरी पढाउने ठाउँ बन्द भएपछि महोत्तरी सहितका पूर्वीमधेसको शैक्षिक अवस्था लथालिङ्ग नै बनेको शिक्षा क्षेत्रमा लामो सेवा गरेर अवकास लिएका महोत्तरी जिल्लाकै सदरमुकाम जलेश्वरका बासिन्दा पूर्वप्रशासक  महेश्वर रायको भनाइ छ ।

 

आन्दोलनको नाममा विद्यालयको प्रयोग नगर्न र बालबालिकाको प्रयोग नगर्न भनि आन्दोलनरत पक्ष र राज्य पक्ष दुबैले आवश्यक ध्यान दिन आवश्यक रहेको निजी विद्यालयहरूको सङ्गठन महोत्तरी प्याव्सनका उपाध्यक्ष इश्वरी पन्त बताउँछन् । बालबालिकाहरूलाई विभिन्न स्वार्थको रूपमा प्रयोग गरिनु ठीक नभएको समेत उनको कथन छ । उनले बालबालिका आन्दोलनमा प्रयोग गरिनु आपत्तिजनक भएको भन्दै उनीहरूलाई सहजै विद्यालय जान पाउनुपर्ने वातावरण मिलाईदिन समेत सबैमा आग्रह गरे ।

 

आन्दोलनमा जसरी बालबालिकाको प्रयोग भएको छ, त्यसले समाजमा नराम्रो असर देखिने नागरिक समाजका अगुवाहरू बताँउछन् । अहिले आन्दोलनको क्रममा झडपमा परेर मारिनेहरूमा अधिकांश बालकहरू रहेको देखिएको छ । आन्दोलनमा मारिनेहरू प्रायजसो ४ वर्षका बालक देखि १७-१८ वर्षका बालकरकिशोरहरूको सङ्ख्या नै ९० प्रतिशत देखिएको छ ।

 

मधेशी मोर्चा र  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आहृवान गरेको अनिश्चितकालीन आम हड्तालका कारण गत साउन २९ गतेदेखि नै विद्यालय बन्द रहेका छन् जिल्लाको यो शैक्षिक अवस्थाप्रति सर्वसाधारणले पनि रोष देखाएका छन् ।

 

'आन्दोलनमै लागेका दलका नेता भने आफ्ना छोराछोरी राजधानी र अन्यत्र सुविधासम्पन्न ठाउँमा पढाइरहेका छन्' महोत्तरीकै भङ्गाहा-४ को अत्यन्त पिछडिएको मुसहर (दलित)बस्तीका जुगल सदा मुसहरले भने, 'हाम्रा नानी पढ्ने स्कूल बन्द गरिएका छन् ।' जिल्ला र छरछिमेकको यस्तो शैक्षिक अवस्थाले मधेसी बालबालिका कुण्ठित हुने कुरा बुझन शिक्षाविद्हरूले सम्बद्घ दल र सरकारसँग माग गरेका छन् ।

 

आन्दोलनले विद्यालय बन्द भएपछि अब विद्यार्थीको पढाइ पूरा गराउन समस्या उत्पन्न भएको श्री प्रसाद सिंह उच्च मावि औरही महोत्तरीका शिक्षक दीपक चन्द्र ओझाले बताए । उनले भने,'अब जसरी भए पनि कोर्स सिध्याउने प्रयास गर्दा  विधार्थीहरूलाई बुझेर पढ्न समस्या हुन्छ ।' नेपाल शिक्षक सङ्घ महोत्तरीका अध्यक्ष सुशील यादवले आन्दोलनकारीहरूले नै विद्यालय बन्द गराएको बताए "हामीले आन्दोलन प्रति समर्थन गरेका हौं तर स्कूल बन्द हामीले गरेका हैनौं ।"

 

जतिसुकै कडा आन्दोलन गरिए पनि शैक्षिक संस्थालाई बन्दको प्रभावमा पार्न नहुने शिक्षाविदहरूको राय छ । जारी आन्दोलनले शैक्षिक संस्थालाई लपेट्दा अब मधेसको गुणात्मक शिक्षा केही बर्षपछाडि धकेलिएको शिक्षाविदहरुको कथन छ । मधेसको अहिलेको अवस्थाप्रति मिथिला क्षेत्रकै प्रसिद्घ साहित्यकार डा। राजेन्द्र विमलले चिन्ता ब्यक्त गरेका छन् । उनले भने, 'आन्दोलन जनताका लागि नै भएको ठहर हो भने पनि दलहरूले तत्काल आन्दोलनको स्वरूप फेरेर जनजीवन सामान्य बनाउनु पर्छ ।' शैक्षिक संस्था बन्द गराएर प्राप्त हुने कुनै अधिकारको सचेत उपयोग हुन नसक्ने बताउँदै डा विमलले यस विषयमा कुरा बुझन जरुरी छ । आन्दोलनको सम्बोधनमा राज्य समेत उदासिन देखिएको सङ्केत गर्दै डा। विमलले राज्यले अभिभावकीय भूमिका देखाउन ढिलो गर्न नहुने सल्लाह दिए ।

 

जिल्लाका ४ सय ११ प्राथमिक, १ सय २७ निम्नमाध्यमिक र ६५ वटा माध्यमिक र ४२ उच्च मावि विद्यालयहरू आन्दोलनकारीको डरले बन्द भएको कारण १ लाख ६९ हजार ५ सय ८९ बिद्यार्थीहरू पढाइबाट वञ्चित भएको महोत्तरीका पूर्व जिल्ला शिक्षा अधिकारी अरबिन्दलाल कर्णले जानकारी दिएका छन् । जिशिअ कर्णको अनुसार प्राथमिक तहमा १ लाख २६ हजार ३ सय ६१, निमाविमा ३० हजार ८ सय १६, मावि तहमामा १० हजार ३ सय ७१ र उच्च माविमा २ हजार ४१ विद्यार्थी अध्ययरत छन् ।

 

अब अझ कति दिनसम्म यस्तो समस्या झेल्नु पर्ने हो भनेर अभिभावकहरू चिन्तित छन् ।

- अजयकुमार साह