भोको सुत्केरीको चुलो बलेन !

सप्तरी । ०७७ असार ३ गते

काखमा १९ दिनको छोरी च्यापेकी २५ वर्षीया मनोरमादेवी देबको अनुहार मलिन छ । तीन दिनदेखि उहाँको घरको चुलो बलेको छैन । सप्तरीको विषहरीया गाउँबाट थाँतथलो उठेपछि पति राधेश्याम र छोरीहरूसँगै राजविराज नगरपालिका–७ थानगाछीमा डेरा लिएर बस्न थालेकी मनोरमा हाल माइतको आश्रय लिनु भएको छ । डेरामा बस्दा राजविराजकै साहुबाट २-४ सयको तरकारी लिई दोबाटोमा बिक्री गरेर देब दम्पतिले गुजारा चलाउँदै आउनु भएको थियो । लकडाउन सुरु भएपछि उनी बाटोमा बसेर तरकारी बेच्न पाउनु भएन । बाटोमा बेच्न बस्दा प्रहरी आएपछि कि त ग्राहकसँग लिनुपर्ने पैसा छुट्थ्यो कि तरकारी छाडेर भाग्नु पर्दथ्यो । लोभ गरेमा प्रहरीको कठबाँसको लौरोको चुटाई खानु पथ्र्यो । यसरी लकडाउन सँगै उहाँहरूको पेटमा पनि लकडाउन भयो । घरभाडा तिर्न सक्ने अवस्था रहेन ।

photo20200618saptari (1)

सहारा पाउनु पर्ने बेलामा उहाँको ओत लाग्ने छानो खोसियो । बहाल (घरभाडा) तिर्न नसकेपछि डेराबाट निकालिएकी उनी १५ दिनमा सुत्केरी हुनु भयो । सुत्केरी हुने बेलामा डेराबाट निकालिनु भएकी मनोरमाले सपरिवार सप्तरीको बिष्णुपुर गाउँपालिका–६ स्थित माइतमा आश्रय लिनु भएको छ । माइतमा असहाय एक्ली बृद्ध आमा मञ्जुदेवी मात्र हुनु हुन्छ । असहाय आमाले छोरी र सुत्केरी छोरीले आमाको काख त पाउनु भयो तर जोगीका घरमा सन्यासी पाहुना जस्तो भएको छ ।

आमाको दूधमा सम्पूर्ण पौष्टिक तत्वहरू र शिशुलाई पुग्ने पानीको मात्रा हुने हुँदा चिकित्सकले उहाँलाई दिनमा आठ देखि १२ पटक (२४ घण्टा दिन र रात) स्तनपान गराउन भनेको छ । त्यस्का लागि सुत्केरी आमाले हरेक दिन अन्न, गेडागुडी, हरिया सागपात, तरकारी तथा फलफूल, पशुपंक्षीजन्य खानेकुरा खानुपर्ने हुन्छ । तर, भरपुर पोषक तत्व खानुपर्ने बेलामा उहाँको घरको चुलो निभेको छ । मनोरमा भन्नु हुन्छ–‘आफूले पेटभरी खान नपाएकाले बच्चालाई दुध नै पुग्दैन ।’

photo20200618saptari (2)

बाँसको टाट र माटोले बनेको एक कोठे सानो झुपडी हिउँदको घाम र बर्खाको झरीले चुहिने भएको छ । कोठामा प्लाइउडको सानो खाटमा मनोरमाका पाँच जनाको परिवार सकसले सुत्छन् । मनोरमाको परिवार आएदेखि उहाँकी आमा मञ्जुदेवीको ओछ्यान बरण्डाको भुई भएको छ । पैसा तिर्न नसकेपछि छिमेकीबाट तानेर ल्याएको बिजुलीबत्ती काटिएको छ । बिहान, दिउँसो र बेलुकी खुवाउने पौष्टिक आहार त परको कुरा, उहाँले बिहानबेलुका हातमुख जोर्न पनि पाउनु भएको छैन । कहिलेकाहीँ छिमेकीले ल्याई दिएको भात बाँडीचुडि खान पाउनु हुन्छ ।

मनोरमा देवी सुत्केरी हुँदा र लगत्तै रक्तश्राव भई बिरामी परेपछि स्याहार्न १० दिन अस्पतालमा कुर्नु पर्दा साहुजीबाट ल्याएको ३ सय रुपियाँको तरकारी बेच्नै नपाएर कुहिए । तरकारीको पैसाका लागि साहुजीले ताकेदा गरेर धम्क्याए पछि मनोरमाका पति राधेश्याम बिहानै साहुजीको ऋण तिर्न जोरजार पारेको १ सय रुपियाँ भए पनि बुझाउन बजार निक्लिनु भएको हो । चार घण्टा भइसक्दा पनि उहाँ फर्किनु भएन ।

photo20200618saptari (3)

सुत्केरीलाई औषधी र पौष्टिक आहारा चाहिएको छ, काखे छोरी भन्दा माथिका चार र पाँच वर्षकी दुई छोरीलाई बिस्कुट चाहिएको छ । खानेकुराका लागि सबै जना राधेश्यामको पर्खाइमा छन् । काखमा शिशु छोरी च्यापेर चुलो अगाडि टोलाउँदै मनोरमाले भन्नु भयो– ‘असहायका लागि कतै राहत पो बाँडेको छ कि कुनै दयालुले खाना पो खुवाउँदैछ कि भनेर भौतारिएका होलान् ।’ चुलोमा दाउरा नपरेको तीन दिन भइसक्यो । ‘एकछिन भोक सह, खाना आउँदैछ,’ मनोरमाले छोरीहरूलाई आश्वासन दिनु भयो । बजारबाट आउँदा बुवाले ल्याउने झोला बोक्न माइली छोरी घर अगाडि बाटोमै गएर पर्खिन थालेकी छिन् ।

photo20200618saptari (4)

स्थानीय तहले साढे दुई महिनाको अवधिमा बाँडेको १५ किलो चामल र दुई किलो दाल जसोतसो गरेर महिना दिनलाई पुगाएको मञ्जुदेवीले बताउनु भयो । सरकारले बाँडेको राहत सबैले बराबर पाउनु पर्ने भनेर धनीहरूले पनि लोभ गरेपछि वास्तविक गरिबहरुको भाग खोसिएको राहत वितरण सर्वदलीय समितिका सदस्य अशोककुमार यादव बताउनु हुन्छ । राहत लिन नमानेका यादवसहित वडाका १५ परिवार बाहेक वडाका धनी–गरिब १ हजार १ सय ९१ परिवारलाई बराबरी राहत बाँडिएको वडा अध्यक्ष बहादुर सदाले जानकारी दिनु भयो ।

‘न सुत्केरीको शरीरमा तागत छ न शिशुको नै ।’ मञ्जुदेवीले भन्नु भयो,–‘बच्चालाई लगाउन तेल र सेक्न आगो छैन । गरिबी, बेरोजगारी त्यसमाथि सुत्केरी र बिरामीले खुबै सताएको छ । ‘कोरोना महामारीभन्दा भोकमरीले नै हामी गरिब मर्छौँ भन्ने लागेको छ ।’ कम बोल्ने सुस्त स्वभावकी मनोरमा गहभरी आँसु बगाउँछिन् र भन्छिन् –‘भोकको पीडा त खप्नै गाह्रो हुन्छ, त्यसमाथि भोकले छोरीहरू कल्पिदा त मन थाम्नै सकिँदैन ।’

- मनोहरकुमार पोखरेल