भेडासँग साटिएका फुर्वाको रून्चे हाँसो

०७२ फागुन २७ गते

धैलोमैलो लुगा । हातमा हावा नभएको सानो भकुण्डो । भेडा बथानका बीचमा । बिहानको आठ बजे खाना खाएर भेडा लिएर जङ्गल पसेपछि साँझ खोरमा भेडा लिएर फर्कन्छन् । यो उनको दैनिकी हो । पेटभर खान त कुरै नगरौँ दिउँसो भोक टार्न खाजासमेत पाउँदैनन् उनले । गाउँका सबै साथीहरू खाना खाएर हातमा किताब कपी लिएर विद्यालय जाँदा उनलाई भने भेडा धपाउँदैमा फुर्सद छैन । टोलाउँदै उनी भेडाहरूलाई हेर्छन् । हिँड्न नसकेको भेडाको पाठो बोक्छन् पनि । उनको अभिभारा जङ्गलमा लगेर भेडा चराउने, हराउँछ की भन्दै गन्ती गर्ने, जङ्गलमै पाठो जन्मिए बोकेर घर ल्याउने हो । तर, उनी भेडा जस्तै फोहोरी भएको र बाध्यताले रून्चे हाँसो लिएर भेडा हेर्न गएको कसैले प्रश्न गर्दैनन् । भेडाको बिचमा हिँडिरहेका ती नाबालाकलाई देख्न साथ सबैले कति ओटा भेडा छन भनेर प्रश्न गर्छन ? लजाउँदै उनको उत्तर आउँछ-'दुई सय ।'

Photo20160310Sankhuwasabha

सङ्खुवासभाको पाथीभरा गाविस-७ बाक्लेकका ११ वर्षीय फुर्वा शेर्पाको यथार्थ घटना हो यो । दैनिक दुई सय भेडाको हेरचाहा गर्ने उनी छ वर्षको उमेर देखि गाठालो लाग्ने काम गर्दै आएका छन । बुवा तेन्जी शेर्पाले फुर्वालाई छ वर्षको उमेरदेखि भेडा हेर्न पाथीभरा गाविस-३ का टेकबहादुर गुरूङको घरमा गोठालो राखेका हुन् । उनले बिहानदेखि साँझसम्म भेडा हेरे बापत उनको बुवा तेन्जीले वार्षिक पाँच ओटा भेडा लिने गर्छन । पढाउने त कुरै नगरौँ छोराको मेहनतले प्राप्त गरेको भेडासमेत बुवाले अन्यत्रै खर्चने गरेको फूर्वा बताउँछन् ।

Photo20160310Sankhuwasabha1

 

फुर्वा बस्ने घर नजिकै विद्यालय छ । तर, विद्यालयका शिक्षकहरूले समेत उनलाई पढ्नुपर्छ भनेर नभनेको गुनासो पोख्छन् फुर्वा । पढ्न मन लाग्छ भनेर प्रश्न गर्दा उनी भन्छन्-'धेरै लाग्छ । गोठालो जाँदा जङ्गलमा दाइहरूसँग वालुवामा कख लेख्न सिक्छु ।'

 

उनीसँगै पाथीभरा गाविस-७ बाक्लेककै डिल्ली शेर्पाले १६ वर्षीय माइला छोरा दोर्ची शेर्पा र १४ वर्षीय साहिंला छोरा फुर्वालाई छ वर्षको उमेरदेखि भेडा हेर्न गोठालो राखेका छन् । फुर्वाको जस्तै उनका बुवाले पनि भेडा हेरे वापत वार्षिक चारदेखि पाँच ओटासम्म भेडा लिने गरेका छन् । निरक्षर अभिभावक भएकाले यि बालकहरूलाई पढ्नको सट्टा गोठालो राखेको स्थानीय नागरिक अगुवा नुर्वु शेर्पा बताउँछन् । कुनै दाता र संघसंस्थाले यि बालकलाई पढाइ दिए उनीहरू पढ्न इच्छुक भएको नुर्वुले बताए । यी बालकका अभिभावकले भने आर्थिक अभावकै कारण छोरालाई विद्यालय पठाउन नसकेर गोठालो राखेको बताए । जिल्ला शिक्षा अधिकारी टङ्कप्रसाद गौतम भने निरक्षर भए विद्यालय भर्ना अभियाननै चलाएर साक्षर बनाउने बताउँछन् । 'अभिभावकलाई छोराछोरी विद्यालय भर्ना गर्न अनुरोध गरेका छौं । दबावसमेत दिँदै आएका छौँ ।'-गौतमले भने ।

 

Photo20160310Sankhuwasabha2

 

उनलाई पढ्नका लागि कसैले पनि विद्यालय भर्ना गराएनन् । राज्यले कक्षा-५ सम्मको निशुल्क र माध्यमिक तहसम्म अनिवार्य शिक्षा लागु गर्ने नारा यि बालकहरूमा लागु भएको पाईंदैन । निरक्षरता उन्मूलन गरेर पुर्ण साक्षर जिल्ला घोषणा गर्ने लहर चले पनि यि बालकहरू निरक्षर हुँदा साक्षर बनाउन पहल कतै बाट पनि भएको पाईंदैन । निरक्षरताको पात्र मात्र बनेका यि नाबालकजस्ता अन्य धेरै भेटिन्छन् । यसका लागि शिक्षा कार्यालय र यस अन्तर्गतका संस्थाहरूले प्रभावकारी कार्यक्रम अघि बढाउनु आवश्यक छ ।

 

 

- छेटु शेर्पा