भारतीय क्वारेण्टाइनबाट जन्मथलो फर्किन पाउँदा खुसी भए नेपाली मजदुर (फोटो फिचर)

दार्चुला । ०७७ वैशाख १८ गते

काखमा दुधे बालक । पिठ्यूँमा छ महिना काम गरि फर्कंदा ल्याएको कोसेली (भारी) थियो । धन कमाउन काला पहाड गएका उनीहरूले भारतमा बस्दाको दुख बिर्सिएर सीमामा पाइला टेक्दा मनमा थोरै खुसी देखिन्थ्यो । जति बेला नेपाल भारत जोड्ने झोलुङ्गे पूल डेढ महिनापछि ताला खुलेर सीमा देखियो उनीहरूको मनमा खुसीको किरण छायो । लाग्यो होला अब आफ्नो भूमिमा पाइला टेक्न पाइन्छ । यस्तै खुसीको मुस्कान लिएर आएकी थिइन्, सुर्खेत जिल्लाकी कमला शाही । काखमा १५ महिने दुधे बालक सहित नेपाल प्रवेश गर्दा उनको मन उज्यालो देखिन्थ्यो । उनका पति गगन शाहीले ६ वर्षीय जेठो छोरा सुदीपको हात समातेर नेपाल छिरेका थिए ।

'३४ दिन क्वारेण्टाइनमा बसेपछि आफ्नो देशको भूमिमा पाइला टेक्दा पनि खुसी छौँ ।'-शाहीले भने-'अझै आफ्नो घर पुग्न कति समय लाग्ने हो त्यो थाहा छैन । तैपनि आफ्नो भूमिमा पाइला टेक्न पाउँदा मात्रै पनि खुसी छौँ ।' ढिलो गरी भएपनि सरकारले नेपाल ल्याउँदा निकै खुसी थिए, शाही दम्पति । ६ महिना अघि भारत पिथौरागढको डिडिहाटमा मजदुरी गर्न गएका थिए । छोराछोरी लिएर धन कमाउन गएका शाही दम्पतिले चाहेअनुसारको पैसा भने कमाउन सकेनन् ।

सदरमुकाम खलंगामा महाकाली नगरपालिकाको क्वारेन्टाइनमा पुगेका उनीहरूको अबको चाहना आफ्नो जन्मभूमि जाने इच्छा साह्रै छ । 'गाउँ जान पाए भारतमा खेप्नु परेको दुःख कष्ट बिर्सन सकिन्छ कि !'-कमलाले भनिन् । अछाम जिल्ला घर भएका हर्कबहादुर बिक आफ्नो पूरै परिवार लिएर ०७६ मङ्सिरमा डिडिहाटमा मजदुरी गर्न गएका थिए । पत्नी दिपा बिक र चार छोराछोरी लिएर गएका बिक सपरिवार नेपाल आउन पाएकोमा निकै खुसी देखिन्थे । घरको ढोकामा ताला लगाएर भारतमा मजदुरी गर्न पुगेका बिक परिवारले आफ्ना लालाबालासहित नेपाल प्रवेश गरेका हुन् । उनी १० वर्षीया छोरी उर्मीला, आठ वर्षीया छोरा सुरेन्द्र, पाँच वर्षीया छोरा भविन्द र नौ महिनाकी माया लिएर धन कमाउने सपना बोकेरै डिडिहाट गएका थिए । उर्मीलाले आफ्नी बहिनी मायालाई बोकेर आएकी थिइन् भने आमाबाबुले छोराछोरीको हात समातेर दुःख भारततर्फ नै छाडेर नेपालमा खुसी मात्रै बोकेर आएका झैँ देखिन्थे ।

'६ जनाको परिवार पूरै भारतमा मजदुरी गरेर खान्छौँ ।'-हर्कबहादुरले भने-भारत नगए चूल्होमा आगो बल्दैन । सडकमै काम गरियो । सडकमै छोराछोरी हुर्किए । दुवै जना काम गर्छौँ । छोराछोरी खेल्छन् । माटोमै भए माटोमै हुर्किए ।'-उनले भने । अहिले बन्दका कारण आफूहरूको रोजी रोटी गुमेकोमा हर्कको परिवार चिन्तामा छ । 'अझै देशमा लकडाउन खुलेको छैन । गाउँ गएर के खाने चिन्ता उत्तिकै छ ।'-उनले भने-'काम गर्न पाए त परिवार पाल्न सकिएला, नत्र के गर्नु ?' एक महिनाभन्दा बढी भारतीय क्वारेण्टाइनमा बस्नुपर्दा भने उनीहरू निराश थिए ।

कैलाली घोडाघोडीन नपा-८ का बाधुराम चौधरी र प्रदेशीनी चौधरी पतिपत्नी हुन् । उनीहरू पनि भारतमै मजदुरी गरी दार्चुलाको नाका भएर घर फर्कंदा निकै खुसी थिए । साथमा उनीहरूको छोरा पुनाराम चौधरी पनि थिए । 'डेढ महिना भारतमै क्वारेण्टाइनमा बस्यौँ । हामीलाई चाँडो घर पुर्‍याउनु पर्‍यो । घर परिवार छिटो भेट्ने चाहना छ । भारतमा बस्दा दुख झेल्नुपरे पनि आफ्नो भूमि आउँदा खुसीको स्वास फेर्न पाएका छौँ ।'-बाधुरामले भने । कैलालीकै मीना रोका मगर सरकारले ढिलै भएपनि आफूहरूको उद्धार गरेको प्रति गर्व गर्छिन् । सरकारले ढिलो भएपनि आवाज सुन्यो । आफ्नै भूमि आउन पनि महिनौँ कुर्नुपरेको भन्दै अब भने नेपाल आएपछि घर जान पाउनुपर्ने बताउनुभयो ।

कञ्चनपुरका मानबहादुर धानुकले १४ दिन क्वारेण्टाइनपछि ल्याएको भए भारतमा गालीगलौज खानुपर्दैन थियो भने । ढिलो ल्याएपनि आफ्नो जन्मभूमि आउन पाएकामो गर्व छ । क्वारेण्टाइन बस्नै परे आफ्नो गाउँ गएर बसौँला । भारतमा पनि स्वास्थ्य चेकजाँच गरिएकै हो । 'रोग लिएर हामी पनि गाउँ जान चाहन्नौ ।'-धानुकले भन्नुभयो-'आफू बचेर परिवार समाज जोगाउनु पर्छ । समयमै गाउँ फर्किन पाएका भए दुःख झेल्नु पर्ने थिएन ।' महाकाली नगरपालिका-३ दार्चुलाका दिपक महरा दुई महिना भारतको बेङ्लोरमा काम गरेर फर्किंदा बाटोमै लकडाउनमा परे । काम गरेको भन्दा बढी समय धार्चुलाको क्वारेण्टाइनमा राखेको भन्दै उनले भने-'सरकार छैन कि भन्ने भएको थियो । ढिलै भए पनि उद्धार गरेको प्रति खुसी छौँ । हाम्रो सरकार हामीसँग नै रहेछ ।'

लकडाउनका कारण दुवैतर्फका सीमा बन्द भएको बेला भारतीय क्वारेण्टाइनमा रहेका नेपालीहरूलाई बुधबार नेपाल ल्याउने सहमति पछि उद्धार गरिएको छ । महाकालीपारि धार्चुलाको क्वारेण्टाइनमा रहेका वैशाख १८ गते स्वदेश फर्किएपछि खुसी भएका छन् । धार्चुलाका पाँच ओटा क्वारेण्टाइनमा रहेका १ हजारभन्दा बढी नेपाली आफ्नो भूमि प्रवेश गरेका छन् । उनीहरूलाई दार्चुलाको पुलघाट र दत्तु नाका तथा बैतडीको झुलाघाट नाकाबाट प्रवेश गराइएको छ । एक महिनाभन्दा बढी भारतको पिठौरागढको विभिन्न स्थानमा क्वारेण्टाइनमा बसेका उनीहरूलाई दुवै पक्षबिच सहमति भएपछि वैशाख १८ गते नेपाल फर्काउन निर्णय भएको थियो । 'हामी उहाँहरूलाई फर्काउने पहलमा लागेको एक हप्ता जति भयो ।'-दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले भने-'आज नाका खोल्ने कुरामा सहमति भएपछि नेपालीको उद्धार गरिएको छ । लामो समयदेखि भारतमा मजदुर रोकिदा समस्या थियो, अहिले उद्धार गरी सम्बन्धित तहमा पठाउन पाउँदा निकै खुसी छौँ । १ हजारभन्दा बढीको व्यवस्थापन गर्न सकिएको छ । सबैको स्वास्थ्य चेकजाँच भारत र नेपाल दुवैतर्फगरेर पठाउन थालिएको छ ।' उनीहरूको सम्बन्धित स्थानीय तहमा १४ दिन क्वारेण्टाइनमा राख्ने व्यवस्थापन मिलाइएको प्रजिअ पौडेलले बताए । भारतको क्वारेण्टाइनमा नेपालका दार्चुला, बैतडी, डोटी, डडेल्धुरा, बझाङ, अछाम, कैलाली, कञ्चनपुर, सुर्खेत, दैलेख लगायतका जिल्लाका नागरिकहरूको उद्धार गरिएको हो ।

1

1

1

1

1

1

1

1

- नरेन्द्रसिंह कार्की