बुढेसकालमा छैन सहारा !

सप्तरी । ०७७ जेठ २ गते

‘आफन्तहरूले हेरेनन्, केही गरेनन् भनेर के दुःखमनाउ गर्नु ? जन्माएको छोरा नै आफ्नो हुन सकेन । अहिले कोही नभएकी र केही नभएकी भएको छु ।’ सप्तरी जिल्लाको सबैभन्दा दक्षिण–पश्चिममा रहेको बलान बिहुल गाउँपालिका–३ मौवाहाकी ६० वर्षीया मुर्तिदेबी दास तत्मा भन्नुहुन्छ– ‘मर्नु न बाँच्नुको अवस्था छ, बरु काल चाँडै आएर मर्न पाए हुन्थ्यो, यस्तो दुःख त कसैले पनि नपाओस् ।’ तत्मा जति वर्षकी भइन्, त्यति नै गुना बढी पीडा छ । ‘छोरी पाए ज्वाईलाई, छोरा पाए बुहारीलाई’ भन्ने उखान ठ्याक्कै उहाँको जीवनसँग मेल खान्छ ।
सामाजिक रितीरिवाज अनुसार छोरीलाई विवाह गरेर अर्काको घर पठाइन्छ तर बुहारी भित्र्याउँदा छोरा आँखा अगाडि नै हुन्छ । यति एउटा फरक बुझ्नु भएकी उहाँ पनि छोरालाई अन्तिम सहारा ठानेर ढुक्क हुनु हुन्थ्यो । रोगले थलिएर उपचार नपाई जवानीमै पति गुमाउनु परेपछि एक मात्र छोरालाई दुःखले हुर्काउनु भयो । बुढेसकालको सहारा छोरा छ भन्ने आशामा जीवन अघि बढाउनु भयो । बुहारी ल्याएपछि थप सुख पाइएला भनेर विहेकर्म पनि सम्पन्न गर्नुभयो ।
‘तर जे नहुनु थियो, त्यही भयो, छोरा ससुरालीकै भयो’ तत्माले भाग्यलाई दोष दिँदै भन्नुभयो– ‘आफू ताक्छु मुढो, बञ्चरो ताक्छ घुँडो भने झैँ नियतिले फेरि पनि मैमाथि बज्र हान्यो ।’ हरेक कुराको लागि आमामा निर्भर हुने छोरा आमाको इच्छा विपरित आफ्नो सन्तानको भविष्य सोच्दै खडक नगरपालिकाको पंसेरास्थित ससुरालीमा बस्न थाल्नु भयो । आर्थिक अभाव र तनावमा एक्लो जीवन बिताउँदै आउनु भएकी तत्मालाई आफ्नै जिन्दगी यतिबेला बोझ बनेको छ । ‘मृत्यु पर्खेर बसेको छु’ उहाँले थप्नुभयो–‘एक्लो जीवन बोझ लाग्न थाल्यो ।’ जति बोल्छिन त्यस भन्दा बढी सुक्क–सुक्क गर्छिन र सारीको फेरोले आँशु पुच्छिन् । बुढ्यौली शरीर, जिउमा गतिला कपडा छैनन् । घरमा अन्नको गेडो छैन, हातमा कौडी छैन् । बाँसको झिक्राले बारेको टहरो मर्मत गर्न नसक्दा छानाको ठाउँ–ठाउँमा दुलो परेको छ ।
तत्माको भन्दा चन्द्रकलादेवी मण्डलको समस्या कम छैन । उहाँको पीडा अरुभन्दा भिन्नमात्र होइन, विरहलाग्दो छ । श्रीमानको १५ वर्ष अघि मृत्यु भएपछि एक्लै बस्दै आउनु भएकी निःसन्तान मण्डल भन्नु हुन्छ, ‘कोठामा रासन छैन, कसरी बाँच्ने ? जीवनदेखि हार खाएर आफ्नै मृत्युको कामना गरेर दिन कटाउन बाध्य हुनुहुन्छ उहाँ । हार खाँदै मण्डल भन्नु हुन्छ, ‘मर्नु न बाँच्नुको अवस्था छ, सन्तान हुनेहरूको त विजोग छ, आफ्नो त त्यहीं झिनो आशा पनि छैन् ।’ बुढेसकालमा सकस भोगिरहनु भएकी उहाँलाई छिमेकीहरूले दिए पेट भरिन्छ, नभए भोकै सुत्नु पर्छ ।
मण्डललाई छोरा नभएको तनाव छ भने तत्मालाई छोरा भएर पनि साथमा नरहेको तनाव छ । बुवाको बारेमा अझ बढी आमाको बारेमा दर्जनौं गीत, गजल र कविता लेखिएका छन्, उखान बनेका छन् । तर बुढेसकालमा पुगेका आमाबुवालाई पाल्ने समाज पछिल्लो दशक फाल्ने समाज बन्दै गएको छ । आमाबुवाप्रति सन्तानले ‘कुभलो’ चिताए पनि बुवाआमाले जस्तोसुकै सन्तान भए पनि ‘भलो’ नै चिताउँछन् भन्नेमा सबैजसोको मत एक छ । सन्तानले आमाबुवाप्रति कुभलो चिताउन थालेपछि मनमोहन अधिकारीको नेतृत्वमा नेपालमा बनेको पहिलो कम्युनिष्ट सरकारले २०५१ सालदेखि ‘वृद्ध भत्ता’ को सुरुआत ग¥यो । १ सय रुपियाँबाट सुरु भएको यो सामाजिक सुरक्षा भत्ता अहिले बढीमा ५ हजारसम्म पुगेको छ ।
बलान बिहुल गाउँपालिकाका दुखिया आमाबुवाहरू यतिबेला अर्को साझा समस्यासँग पनि जुधिरहेका छन् । गाउँपालिकाको कमजोरीका कारण एकल महिला, जेष्ठ नागरिक, दलित बालबालिका र अपाङ्गता भएका व्यक्ति सामाजिक सुरक्षा भत्ता कहिले पाइन्छ र राहत कहिले आउँछ भनेर प्रतिक्षा गरिरहेका छन् । अन्य स्थानीय तहले तेस्रो चौमासिकवापतको भत्ता वितरण गरे पनि बलान बिहुल गाउँपालिकाले दोस्रो चौमासिकको भत्ता समेत दिएको छैन् । प्रमुख प्रशासकिय अधिकृत रामसुन्दर थापाका अनुसार ६ वटा वडाका दुई हजार ३ सय ७९ जनालाई सरकारले सामाजिक सुरक्षा भत्ता वापत बार्षिक ६ करोड बढी रूपियाँ खर्च गर्ने गरेको छ । आर्थिक वर्षको दोस्रो र तेस्रो किस्ता वापतको रकम दिन नसकेको स्विकार्दै थापाले वडा नम्बर ३ मा गत आर्थिक वर्षकै अन्तिम किस्तावापतको भत्ता पनि दिन नसकेको खुलासा गर्नुभयो ।
गाउँपालिकाले वडा नम्बर १ का ३७०, वडा नम्बर २ का ३०८, वडा नम्बर ३ का ५४२, वडा नम्बर ४ का ४९२, वडा नम्बर ५ का २२१ र वडा नम्बर ६ का ४३६ जना लक्षित वर्गलाई दोस्रो चौमासिकवापतको २ करोड ७ लाख ८६ हजार र तेस्रो चौमासिकवापतको २ करोड १० लाख रुपियाँ वितरण गर्न सकेको छैन् । कतिपय एकल वा बृद्ध दम्पतिको गुजारा नै सामाजिक सुरक्षा भत्ताबाट हुने गरेको ७० वर्षीया मिथलीदेबी र उहाँका पति राजलाल पासवानको अनुभव छ । ‘घरमा नुन, तेलसहित दैनिक उपभोगका सामान किन्न समस्या छ ।’ राजलाल पासवानले दुखेसो पोख्नु भयो–‘लकडाउनको ५१औँ दिन पुगे पनि हामीजस्ता निमुखाका लागि न राहत आयो, न सामाजिक सुरक्षा भत्ता नै पाइयो ।’
पहिलो प्राथमिकतामा पर्नुपर्ने सामाजिक सुरक्षा भत्ता वितरणमा गाउँपालिकाको वेवास्ताका कारण यसअघि ४० जना एकल महिला, जेष्ठ नागरिकले जिल्ला प्रशासन कार्यालयमा डेलिगेशन गएपछि पहिलो चौमासिकवापतको भत्ता पाए तर दोस्रो र तेस्रो चौमासिकको भत्ता रकम अझै पाएका छैनन्, वडा नम्बर ३ का लक्षित वर्गले गत वर्षको अन्तिम किस्तावापतको रकम पनि पाएका छैनन् । सर्वसाधारणलाई घरायसी चिन्तासँगै पाउनुपर्ने राहत र सामाजिक सुरक्षा भत्ता लामो समयसम्म नपाएकोमा ठूलो तनाव छ । कोरोना महामारीको विश्व संकटका बेला पनि राहत र सामाजिक सुरक्षा भत्ता उपलब्ब्ध गराउन नसकेको भन्नु हुँदै अगुवा युवा अशोककुमार यादवले एकल महिला र जेष्ठ नागरिकहरूलाई एक्लो जीवन बिताउनु परेको तनावसँगै समयमै राहत र भत्ता उपलब्ध नहुँदा ‘डिप्रेसन’मा पर्दै जानु भएको बताउनु भयो ।
‘सामाजिक सुरक्षा भत्ता दिएको भए पेटभर खान त पाइन्थ्यो ।’ ७० वर्षीया सहजीदेवी पण्डित भन्नुहुन्छ– ‘बिहान बेलुका हातमुख जोर्न पनि ठेगान नभएका हामी जस्ता सर्वसाधारणहरू त खाना नपाएरै मर्छौ जस्तो लाग्छ ।’ एक्लो जीवन र भोको पेट हुँदा झन बढी तनाव हुने गरेको उहाँले दुख सुनाउनु भयो । कोरोनाको महामारी फैलिएसँगै नेपालमा पनि संक्रमितको सङ्ख्या बढदै गएको छ । लकडाउनको अवधी थपिँदै गए पछि राहत र सामाजिक सुरक्षा भत्ता नपाएकाहरू आधा पेट खाएर बाँचिरहेका छन् । गाउँ डुलेर खाने गरेको बताउनु भएकी तत्माले कहिले नुन, भात त कहिले तातो पानी पिएर सुत्ने गरेको बताउनु हुन्छ ।
सिरहा र सप्तरी छुट्याउने बलान खोलाको किनारमा भारतीय सीमासँग जोडिएको मौवाहा, बेल्ही, मल्हनिया, रामनगर, रौतहट गाउँहरू मिलेर बनेको बलान विहुल गाउँपालिका जति दुर्गम छ उतिनै समस्याग्रस्त छ । गाउँपालिका अध्यक्ष दयानन्द गोइतले कार्यविधी र प्रकृया मिलाउन तथा खाधान्न व्यवस्थापन गर्न समय लागेकोले राहत वितरणमा ढिलाई भएको बताउनु भयो । दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता केन्द्रबाट नै कम पठाएकोले विवाद नहोस भनेर वितरण नगरिएको गोइतले बताउनु भयो । प्रमुख प्रशासकिय अधिकृत थापाले दिनु भएको जानकारी अनुसार दोस्रो चौमासिकका लागि सामाजिक सुरक्षा भत्तावापत २ करोड ७ लाख ८६ हजार आउनु पर्नेमा १ करोड ५३ लाख मात्र प्राप्त भएकोले कसैले पाउने, कसैले नपाउने अवस्थामा विवाद होला भनेर हालसम्म नबाँडिएको बताउनु भयो ।
बलान बिहुल गाउँपालिकामा सामाजिक सुरक्षा भत्ताको वडागत अभिलेख अद्यावधिक नभएको, थपघट भएको विवरण लेखा परीक्षणार्थ पेश नभएको, एमआइएस विवरणको उपयोग नगरेकाले सुरक्षा भत्ताको रकम पाउनु पर्नेले नै पाएको भन्न सक्ने आधार नभएको भनी यसअघि महालेखा परीक्षणले प्रतिवेदन दिएको थियो । गाउँपालिकाकै कमजोरीका कारण हालसम्म गत वर्षको रकम समेत नपाएको लक्षित वर्गको गुनासो छ । ‘सरकारले गरिब, विपन्नलाई राहत उपलब्ध गराउने निर्णय गरेपछि र सामाजिक सुरक्षा भत्तामा बृद्धि गरेपछि ठूलो खुशी महसुस भएको थियो’ शारिरीक रूपले कमजोर बन्दै गएका १०८ वर्षीय तेतर दास भन्नु हुन्छ–‘पर्खेर बसेको छु, हेरौ मृत्यु पहिले आउँछ कि राहत र भत्ता !’

- मनोहरकुमार पोखरेल