बालुवा खोस्रने श्रमिक महिलालाई छोएन दिवसले

०७६ फागुन २६ गते

आइतबार बिहानैदेखि घर, टोल र समाजमा अन्तर्राष्ट्रिय नारी दिवसको चर्चा चल्यो, सामाजिक सञ्जाल होस या सन्चार माध्यममा पनि सबैले यो दिवसको अवसरमा शुभकामना आदान प्रदान गरे ।

अमेरिकाको सिकागो शहरमा सुरु भएको श्रमिक महिलाहरुको आन्दोलन पछि आज भन्दा ११० वर्ष अघि महिलाहरुले आर्थिक तथा राजनीतिक अधिकार प्राप्त गरेको उपलब्धीको स्मरण र खुशीयालीमा यो दिवस विश्वभर मनाउने गरिएको छ । विशेष गरि पछिल्लो समयमा यो दिवस राजनीतिक क्षेत्रका महिलाहरुले उल्लास पुर्णरुपमा मनाउने गर्छन् ।

सभा, सम्मेलन, गोष्ठी र अन्तरक्रिया गरि महिला अधिकार र यसले पाएको उपलब्धीको बारेमा चर्चा परिचर्चा गरि यो दिवस मनाउने गरिन्छ । तर श्रमिक महिलाहरुले प्राप्त गरेको यो उपलब्धी र श्रमिक महिलाहरुकै नाममा मनाउने गरिएको यो दिवस यही श्रमको क्षेत्रमा कार्यरत महिलाहरु भने अनभिज्ञ जस्तै बनेका छन् ।

विश्वभर फैलदै गएको कोरोना भाइरसको सन्त्रासको कारण नेपालमा यो दिवस विगत वर्षमा जस्तो सभा, सम्मेलन तथा कार्यक्रमको आयोजना नगरिएपनि महिलाको हक र अधिकारको बारेमा चर्चा र परिचर्चा गरि मनाइयो ।

श्रमिक महिला दिवस भएकै कारण दिवसको एक दिन मात्र भएपनि श्रमिक महिलाले आफ्नो अधिकार प्राप्त गरेको दिनको रुपमा स्मरण गरि घरमै आराम गरेर मनाउन पाए राम्रो हुन्थ्यो भन्ने सोच सबैको हुन्छ ।

सरकारी तथा गैरसरकारी कार्यालय मात्र नभइ नीजि क्षेत्रका उद्योग प्रतिष्ठान तथा व्यवसायीक क्षेत्रमा पनि दिवसको दिन श्रमिक महिलालाई बिदा दिइएको हुन्छ । तर दिनभर श्रम गरेर बिहान बेलुकीको छाक टार्न बाध्य हुने श्रमिक महिलालाई भने यो दिवसले छुन सकेन ।

तनहँुको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ कोत्रे स्थित सेती नदीको किनारमा गिट्टी कुट्ने तथा बालुवा संकलन गर्ने श्रमिक महिलालाई यो दिवसले कुनै प्रभाव पारेन ।

‘बिहानै सबैले आज महिला दिवस भनेको सुने पनि यो कस्तो दिवस हो’ भन्ने प्रतिप्रश्न गर्दै नदी किनारमा बालुवा संकलन गर्नु भएकी ४५ वर्षीया मिना कटुवालले ‘जुनसुकै दिवस भएपनि बिहान बेलुकीको हातमुख जोर्न ज्यालादारीमा काम गर्नुपर्ने हुन्छ’ बताउनुभयो ।

बालुवा खोस्रेर ट्याक्टरमा भर्ने संकलन नगरेसम्म रकम नपाइने हुँदा बिहानै देखि बालुवा खोस्रने दैनिकी गरेको उहाँले बताउनुभयो ।

उहाँ जस्तै सेती किनारमा १५ जना भन्दा बढि महिलाहरु श्रमिक महिला दिवसको वेवास्ता गर्दै बालुवा खोस्रने काममा व्यस्त हुनु भएको थियो । पुर्वी झापाबाट दुई वर्ष अघि कोत्रे आउनु भएकी मिनाले यहाँ आएपछि दिनहु नदी किनारको बालुवा खोस्रने र संकलन गर्ने काम गर्न थाल्नु भएको छ ।

दिनभर गरेको कामले बेलुकी र अर्को बिहानको छाक टार्नु पर्छ भन्दै उहाँले एक दिन काम गर्न सकिएन भने बेलुकी छाक टार्न समस्या पर्ने बताउनुभयो ।

छोरा छोरी झापामै छोडेर पति पत्नी दुबै कोत्रेमा बालुवा संकलन गर्ने काममा लागेको उहाँले बताउनुभयो । दिनभर संकलन गरेको बालुवा क्रसर उद्योगमा लैजाने र जती धेरै संकलन गर्न सक्यो, त्यती नै धेरै पैसा कमाइ हुने हुँदा बिहान झिसमिसे देखि साँझसम्म नदी किनारमै बस्ने उहाँले बताउनुभयो ।

महिला दिवस वा श्रमिक दिवस जे भएपनि श्रम नगरी खान नपुग्ने हुँदा आफूलाई कुनै पनि दिवसले छुन नसकेको उहाँले बताउनुभयो । सरकारले सामाजिक सुरक्षाको व्यवस्था गरेको सुनेपनि त्यो कस्तो खालको व्यवस्था हो, मजदुर र त्यसमा पनि महिला मजदुरलाई त्यसले कसरी सम्बोधन गर्छ भन्ने जिज्ञासा भएको उहाँको भनाइ छ ।

photo20200309Tanahun

 

 

- प्रकाशचन्द्र भट्टराई