बालुवामा भाग्य खोज्दैछन् नागरिकताविहीनबादीहरू
दुर्गा थापा
१४ असार०६२
सुर्खेत । भेरी नदी र झुप्राखोलाको बीचमा रहेको लाटिकोइली गाविस-१ स्थित शान्तिनगरका बादी बस्तीका अधिकांशसँग नागरिकता छैन भने उनीहरूका पीडा, वेदना र चुनौती अनेक छन् । बादीजातिको बाहुल्यता रहेको शान्तिनगरमा पुग्ने जो-कोहीले पनि उनीहरूको दयनीय अवस्था सहजै नियाल्न सक्छ । स्याउलाले बनेका झुप्रामा तीनजनासम्म अटाउने भए तापनि १० जना कोचिएर बस्नु पर्ने बाध्यता छ । गरिबी र अभावबीच बाँचिरहेका उनीहरूको रात रातभर छानाबाट चुहिने पानीको थोपा र भुइँको चिसोबीच बित्छ । चिसोबाट बालबालिका, सुत्केरी र बुढाबुढीलाई कसरी जोगाउने भन्ने चुनौती छ उनीहरूमाथि । यति मात्र होइन, साँझ-बिहान के खाने भन्ने चिन्ताले त उनीहरूको पिछा कहिल्यै छाडेन ।
करिब २२ वर्षअगाडि चार परिवारबाट स्थापना भएको बस्तीको जनसंख्या अहिले ११ सय पुगिसकेको छ । बस्तीका थोरैसँग नागरिकता भएपनि अधिकांश मानिस नागरिकताविहीन छन् । जन्म, मृत्यु र विवाह दर्ता गर्ने बारेमा त कसैले सोच्दा पनि नसोचेको स्थानीय हीरालाल नेपाली बताउनु हुन्छ । आफूहरू शिक्षा, स्वास्थ्य, संचार,विद्युत त के कुरा, गाँस, बास, कपासजस्तो आधारभूत आवश्यकताबाट समेत वञ्चित रहेको नेपाली बताउनु हुन्छ ।
बिहानीको मिरमिरेसँगै राती अबेरसम्म बालुवा निकाल्नु सो बादी बस्तीको दिनचर्या नै बनिसकेको छ । छ/सात वर्ष बालबालिकादेखि ६० वर्षनाघेका बुढाबुढीसम्म सबै एकाबिहानै भेरी नदीको किनारामा बालुवा निकाल्न निस्कन्छन् । बाबुआमा सँगै काम गर्न जानु पर्ने बाध्यताकै कारण धेरै बालबालिका पढ्नबाट बञ्चित भएका छन् । जसले गर्दा अधिकांश मानिसहरू निरक्षर छन् । नौ वर्षीय यामबहादुर नेपाली पेट पाल्नकै निम्ति पढाइ छोड्नु परेको पीडा सुनाउँछन् । बादी बस्तीका आमाहरूसँग नानीलाई सेक्ने तेल छैन, स्याहार सुसार गर्ने फुर्सद पनि छैन।
दिनभरी पानीभित्रको बालुवा निकाल्दा धेरैजनाको शरीर सुन्निएको देखिन्छ । गिट्टी कुट्दा र बालुवा निकाल्दा हातका औला थिचिनु र नङ्गहरू खिइनुलाई सामान्य ठान्न बाध्य उनीहरूलाई महिनौ लगाएर निकालेको बालुवा र गिट्टी बिक्री नभएर भोक भोकै बस्नुपर्ने अवस्थामा चाहिँ खपिनसक्नु हुन्छ । "गिट्टी-बालुवा बिक्री भए खाइन्छ, नभए भोकभोकै सुतिन्छ । कति रात भोकै बितायौं भनेर साध्य नै छैन ।" सोही बस्तीकी कृष्ण नेपाली भन्छिन् । "सम्पत्तिको नाममा स्याउले झुपडी बाहेक अरु केही छैन । बालुवा बेचेर न पेटभरी खान पुग्छ, न त छोराछोरी पढाउन नै । यहाँ केवल मर्ने दिन भेटाउनको लागि मात्र बसेका छौं ।" उनी थप्छिन् । रगताम्य औंला,ठेला उठेका हात, भोको पेटमा पटुका कसेर भोक-प्यास घामपानीको वास्ता नगरी गरेको मिहिनेतको उचित मूल्य माग्दा ग्राहकले दुःख नबुझ्ने र सस्तोमा गिट्टी बालुवा लिन खोज्ने गरेको तारा नेपालीको गुनासो छ ।
भेरी नदी र झुप्राखोलाको बीचमा बस्ती रहेकोले पानी पर्न थाल्यो कि रातदिनै जाग्राम बस्नुपर्ने अर्को समस्या उनीहरूमा छ । बाढीलाई रोक्ने तारजालीको व्यवस्था गरिदिन सरकारी निकायसँग पटक पटक अनुरोध गर्दा पनि बेवास्ता गरेको आरोप छ । बस्ती बगाउला भन्ने डरले पानी पर्नासाथ बालबालिका, महिला र वृद्धवृद्धालाई सुरक्षित स्थानमा राखेर रातभरी जाग्राम बस्ने गरेको हरिबहादुर नेपालीले इन्सेकअनलाइनलाई जानकारी दिनु भयो ।
-
सम्बन्धित फिचरहरू
चार दिनमा दुई घण्टा बिजुली शिक्षा र स्वास्थ्यमा नकारात्मक असर
विद्यालय पुग्न घरबाट करिब १ घण्टाको बाटो । गाउँमा बिजुली पनि छैन । बालबालिकाले भनेजसरी पढ्न पाएनन् भनेर पिर । घरको कामले लखतरान । छोराछोरीको भविष्य उज्यालो बनाउन सिंजा गाउँपालिका–६…
‘गुलियो’ खेती गर्नेका तिता अनुभव !
निलो मास्क । टाउकोमा सेतो गम्छा । सेतै पहिरन । चिसो मौसम छ हात्तिछाप चप्पल पड्काउँदै हरेक दिन आन्दोलनमा सहभागी भइरहेका छन् । रामनगर गाउँपालिका–१, सर्लाहीबाट न्याय खोज्दै काठमाडौँ आएका…
दार्चुला र धार्चुला जोड्ने पुलमा स्वास्थ्य मापदण्ड विपरीत भीडभाड ! (फोटो फिचर)
नेपाल–भारत जोड्ने दार्चुला र धार्चुलाको बिचमा रहेको महाकाली नदीको झोलुङ्गे पुलमा मङ्सिर १३ गते देखिएको भीड हो यो । एक घण्टाका लागि खोलिएको पुलमा धार्चुलाबाट समान ल्याउन गएका नेपालीले स्वास्थ्य…
बदर हुनेभयो ‘फड्के तमसुक’, बलात्कार घटनाबाट पीडित महिलाले न्याय पाउने आशा !
जेठको पारिलो घाममा दिउँसो पानी भर्न जान सकिनन् । दुई घण्टाको बाटो पैदल हिँडेर पानीको गाग्री बोकेर अप्ठ्यारो हुने भएपनि उनले साँझतिर पानी भर्ने योजना बनाइन् । सोही अनुसार जेठ…
पानी कहानी, १० रुपियाँमा ३५ लिटर !
पाका महिलाहरू भालेको डाकसँगै उठ्छन् र उज्यालो हुँदासम्म दुइतीन पटक ओसारी सक्छन् । पानी ओसार्नेमा धेरैजसो महिलाहरूको ताँती हुन्छ । बालबालिका पनि हात र काँधमा ग्यालेन तथा गाग्रीमा पानी बोकिरहेका…