बालविवाहले बढायो समस्या !

रूकुम (पश्चिम) । ०७६ वैशाख २ गते

मध्य दिनको चर्को घाम, निधारमा चिटचिट पसिना, छेउमा ढुङ्गाको थुप्रोमा बसेर गिट्टी कुटिरहेकी छिन्, १६ वर्षीया एक बालिका । घरखर्च चलाउन समस्या भएपछि उनी गिट्टी कुटेर घरखर्च चलाउन विवश छिन् । ५ महिना अघि उनको विवाह भयो । विवाहपछि घरपरिवारले राम्रो नगर्दा उनी र पति अलग बस्न थाले । सानै उमेरमा उनले निर्वाह गर्नुपर्ने जिम्मेवारी र घरमा आर्थिक समस्याका कारण पैसाको जोहो गर्नुपर्ने भएकोले उनको पढाई लगायतका काम रोकिए ।

शारदा नगरपालिका–१ श्रीनगर सल्यानकी १६ वर्षीया यी बालिकाले त्रिवेणी गाउँपालिका–१ रूकुम पश्चिमका १७ वर्षीय एक बालकसँग विवाह गरिन् । श्रीनगरमै कक्षा ७ मा अध्ययनरत ती बालिका विवाहपछि विद्यालय जान छोडेकी छिन् । नेपालको कानुन अनुसार २० वर्ष मुनिको विवाहलाई मान्यता नदिएपनि रूकुम पश्चिममा १६ वर्ष भन्दा मुनिको उमेरमा विवाह गर्नेको सङ्ख्या निकै बढेको छ । बालविवाहकै कारण चौतर्फी समस्या बढ्दा बालिकाहरू गिट्टी कु्ट्ने, अन्य ज्याला मजदुरीमा काम गर्ने र बालकहरू पनि कामका लागि भारत जानुपर्ने बाध्यता रहेको छ ।

त्यस्तै मुसीकोट नगरपालिका–१ कि १७ वर्षीया एक बालिकाले सोही ठाउँ निवासी १७ वर्षीय एक बालकसँग विवाह गरिन् । मुसीकोट नगरपालिकाकै एक माध्यामिक तहमा अध्ययनरत दुवैको विवाहपछि पढाई रोकिएको छ । विवाहपछि परिवारले सहयोग नगर्दा उनीहरूको सबै इच्छा आकांक्षाहरू समेत पूरा हुन सकेका छैनन् । उनीहरूलाई चौतर्फी समस्याले घेरेको छ । मुसीकोट नगरपालिका र त्रिवेणाी गाउँपालिकामा मात्र नभएर जिल्लाका अधिकांश ठाउँमा १८ वर्ष नपुगी विवाह गर्नेको संख्या बढ्दो क्रममा रहेको छ । केही मात्रामा परिवारको सहमतिमा भएपनि धेरैजसो बालबालिकाको प्रेम विवाह हुने गरेको पाइन्छ ।

परिपक्व नभएर गरेको विवाहले पढाईमा मात्र नभएर मानसिक, शारीरिक, सामाजिक र आर्थिक रूपमा अनेक प्रतिकुलता ल्याएको छ । सानै उमेरमा विवाह गरेका बालबालिकाहरू शिक्षा र जनचेतनाबाट वञ्चित हुने, छिट्टै आमा बन्ने र त्यसको सम्पूर्ण जिम्मेवारी उनिहरूलाई मात्र हुँदा मानसिक समस्या बढ्दै गइरहेको छ । बालविवाह आफैँमा एउटा ठूलो समस्या त हुँदै हो, अझ यसका बहुआयामिक असरबाट समाजमा धेरै समस्या सिर्जना भएका छन् । विभिन्न प्रयास गर्दागर्दै पनि सबै बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउने सरकारको उद्देश्य पूरा नहुनुको प्रमुख कारण समेत बालविवाह बनेको छ ।

जिल्लामा विद्यालय पढ्दै गरेका बालबालिकाको विवाह हुने सङ्ख्या बढिरहेको मुसिकोट नगरपालिकाका बाल अधिकार अधिकृत मानविर ओलीले बताए । बालविवाह रोक्न जिल्लाभर विभिन्न अभियानहरू सञ्चालन गरेपनि बालविवाह न्यूनीकरण नभएको उनको भनाई छ । जिल्लामा अहिले करिब ८०  प्रतिशत उमेर नपुगी विवाह हुने गरेको उनले बताए । विपन्न समुदायमा आर्थिक अभावका कारण विद्यालय पढाउनु भन्दा छोराछोरीको विवाह गरिदिने गरेको पाइएपनि सम्पन्न परिवारका बालबालिका स्वयम्ले भागेर विवाह गर्ने गरेको भेटिएको उनले जानकारी दिए । उनका अनुसार बालविवाह गरेका जोडीहरू बीचमै पढाई छोड्ने, सानै उमेरमा आमा बन्ने, सानै उमेरमा सम्बन्ध बिच्छेद गर्ने जस्ता समस्याहरूबाट पिरोलिनुपरेको छ ।

सानै उमेरमा विवाह गर्दा उनीहरू सानैमा गर्भवती हुने र स्वास्थ्यका दृष्टिले निकै समस्या हुने गरेको, परिपक्व भएपछि एक अर्काप्रति वितृष्णा पैदा हुने र त्यसपछि सम्बन्ध विच्छेदको चरणमा पुग्ने गरेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए । सानै उमेरमा प्रजनन् अङ्गहरूको पूर्ण रूपमा विकास नभएको र यस्तो अवस्थामा विवाह गर्दा शिशु मृत्युदर, मातृ मृत्युदर बढ्ने, पाठेघर खस्ने, पाठेघरको क्यान्सर हुनेजस्ता यौनजन्य रोग लाग्नुका साथै अन्य सामाजिक समस्याहरूको बीचमा बाँच्नुपर्ने बाध्यता हुने गरेको उनको भनाई छ । परम्परागत गलत संस्कार, जनचेतनाको कमी, अशिक्षा र गरिवीका कारण बालविवाह बढिरहेको उनले बताए ।

- मनिषा केसी