बालविवाहका कारण विद्यालय जाने धोको अधुरै !

बैतडी । ०७३ मङ्सिर १६ गते

भिरालो बारी । कलिला किशोरीहरू । घाँस बोक्ने डोको बिसाएर गफिँदै । एक आपसमा सुख-दुखः साटिरहेका छन् उनीहरू । झट्ट हेर्दा ५/६ कक्षाका विद्यार्थी । विद्यालय विदाको दिन घरपरिवारलाई सघाउन लागेका जस्तै देखिने उनीहरू । कसैका पत्नी त कसैका बुहारी भइसकेका छन् । उमेर हेर्दा पत्यार लाग्दैन । तर, सिउँदो रङ्गिएको देख्दा पत्याउन करै लाग्छ । कोही भुईँमा थ्याच्चै बसिरहेका छन् भने कोही चप्पल ओछ्याएर बसेका छन् । साथीसँग खेल्दा ठूला सपना देखेर कुनै समय भविष्यको बारेमा गफ गर्ने सित्तड-५ की लक्ष्मी सार्की पारिवारिक जिम्मेवारीका बारेमा दुःखसुख साट्दैछिन् ।

सार्की अहिले १७ वर्षलागनि् । तीन भाइ र दुई बहिनीमध्ये उनी जेठी हुन् । गाउँकै विद्यालयमा ८ कक्षा पढ्दै गरेकी लक्ष्मीको १४ वर्षको उमेरमा विवाह भयो । विद्यालय पढ्दापढ्दै घरपरिवारले विवाह गरेपछि उनलाई पढाइको चिन्ता लागेको छ । विवाहपछि घरब्यवहारमा व्यस्त हुनुपर्दा विद्यालय छोडनुपर्ने बाध्यता आयो । डोल गाउँमा २१ परिवार सार्की समुदाय बस्छन् । उनको मात्रै होइन लक्ष्मीको हाराहारी उमेरका १२/१३ जना दौतरीको विवाह भइसकेको छ । गाउँमा लक्ष्मी मात्रै होइन ६ कक्षामा पढ्दा पढ्दै १३ वर्षको उमेरमा हजारी सार्की, १५ वर्षको उमेरमा कलावती सार्कीको समेत विवाह भइसकेको छ । ज्याला मजदुरी र सामान्य कृषि पेशाबाट जीवन निर्वाह गर्दै आएका यी परिवारमा वयस्क जति प्रायः सबै निरक्षर छन् । कम उमेरमै विवाह भएपछि उनीहरूले विद्यालय छाड्ने गरेका छन् । 'सानै उमेरमा विवाह गर्ने परम्परा नै बनेको छ डोलको सार्की बस्तीमा'-स्थानीय कमला सार्कीले भनिन्-'सानैमा विवाह गर्ने चलनले विद्यालय छाड्न बाध्य हुन्छन् ।' कलिलै उमेरमा विवाह गर्नेमध्ये डोल गाँउका धेरै छन् ।

जीवनलाई उदासिलो जस्तै ठानेर बसिरहेका किशोरी बुहारीहरू कसैले हात मोडेर थकाई मारिरहेका छन् । कसैले कन्चटमा हात टेकाएर बिसौनीको मज्जा लिइरहेका छन् । डोल गाँउका लक्ष्मी, कलावती र हजारीजस्ता अरूलाई पढ्न निकै रहर छ । किशोरावस्थामै पारिवारिक बोझले उनीहरूको बाल अधिकार कुण्ठित भएको अधिकारकर्मीहरूले बताएका छन् । इन्सेककर्मीसहितको टोली डोलगाउँमा पुग्दा टाउको मात्रै घुमाएर क्यामेरातर्फ हेरेका उनीहरू फेरि आफ्नै गफमा व्यस्त भए । उनीहरूको गफ ठूलो सपनाको थिएन । कसैले आज बेलुकी के खाने भनिरहेका थिए भने कसैले जङ्गलमा घाँस नै छैन कसरी डोको भर्ने ? घरमा जाँदा सासुले बढी घाँस किन नल्याएको भनि सोध्दा के भन्ने ? लगायतका गफ गरिरहेका थिए ।

'सानैमा विवाह गरिदिए पालन पोषणको जिम्मेवारी घट्छ भने बुहारी भित्रिएपछि घरायसी काममा सजिलो हुन्छ ।'-बृद्ध लालुले भने-'आर्थिक अवस्था कमजोर भएका कारण पनि चाँडै विवाह गरेर जिम्मेवारी कम गर्न चाहन्छन् ।' विवाहपछि थोरैले मात्र पढाइलाई निरन्तरता दिन्छन् । पारिवारिक जिम्मेवारी बढ्न थालेपछि कामको खोजीमा युवाहरू भारत जाने गरेको गोमती सार्कीले भनिन् । विवाहपछि युवाहरू भारत पलायन हुँदै आएका छन् । महिलाले घरधन्दा सम्हाल्छन् । बावुबाजेको पालामा डोकाडालो र छालाका सामान बनाएर गुजारा गर्दै आए पनि अहिले यो पेशाले धान्न सक्ने अवस्था नभएपछि विदेशिने बाध्यता आएको स्थानीय सुनाउँछन् । खेतीयोग्य जमीनको अभाव र छालाका सामग्री बनाउने परम्परागत पेशाले खर्च धान्न नसक्दा सार्की समुदायमा विदेशिने क्रम बढन थालेको हो । निगालो र छाला पाउन मुस्किल भएपछि उनीहरू वैकल्पिक पेशाका रूपमा खर्च जुटाउन भारत जान थालेका हुन् । आधा घण्टाको दूरीमा उच्च मावि भए पनि डोल गाउँमा प्राथमिक तह पार गर्नेको सङ्ख्या थोरै छ । विद्यालय छोड्ने क्रम जारी रहेको छ । जिल्ला विकास समिति बैतडीको तथ्याङ्क अनुसार अहिले बैतडीमा ५९ प्रतिशत विवाह सानै उमेरमा हुने गरेका छन् । जिल्ला विकास समिति, महिला बालबालिका कार्यालय र विभिन्न सङ्घसंस्थाहरूले सचेतनामूलक कार्यक्रम गरेर बालविवाह कम गरेको दावी गर्छन तर बालिका भने अझै बुहारी हुन बाध्य छन् ।

सामूहिक रूपमा घाँस काट्न जाँदा भन्दा एक्लै गएपनि छिटो घाँसले डोको भरिन्छ । तर, सुख-दुखका कुरा गर्न र घरसारका दुःखसुख साट्न किशोरी बुहारीहरू दौतरीसँगै डोको नाम्लो बोकेर घाँस काट्न जान्छन् । भिरालो जमीनको जोखिम मोलेर काटेको घाँस घरमा पुग्दा उनीहरूले कुनै न कुनै निहुँमा सासू र अन्य परिवारका सदस्यहरूबाट गाली खानुपर्छ । कहिले घाँस कम काटेको भनेर त कहिले घाँस राम्रो आएन भैँसीले खाएन भनेर मानसिक यातना भोग्छन् । बिहानको झिसमिसेमा सबै काम सकेर डोको पिठ्यूँमा हाली जङ्गल चाहार्ने यहाँका किशोरी बुहारीहरूलाई आनन्दका साथ जीवन बिताउने इच्छा पुरा हुने आशै छैन ।

- नरी बडु