बागलुङमा बढ्दो छ बालिका आमाहरूको तथ्याङ्क !

बागलुङ । ०७५ वैशाख ३१ गते

उमेर हातमा किताव कापी बोकेर विद्यालय जाने हो । काखकी छोरी र माइतीको चुलो चौको स्याहार्न फुर्सद छैन उनलाई । प्रेम गरेको प्रेमीको गलत नियत र आफ्नो नियतीको शिकार बनेको कारणले बालापनमै ‘बालिका’ हुर्काउन ब्यस्त छिन् उनी । साथिहरूसँगै कपालमा रिबनको फोका पारेर पिठ्यूँमा किताबको झोला बोकेर विद्यालय जाने रहर नभएको कहाँ हो र ? आमा बुवा गोठ जानुपर्ने बाध्यताका बिच घरमा कोही नभएका बेला गाउँकै मदन सिर्पालीसँग जोडिएको सम्बन्धले तमानखोला गाउँपालिकाकी माया सिर्पालीलाई अहिलेसम्म तनाव बेहोर्नुपरेको छ ।

‘मदनसँगको सम्बन्ध धेरै महिनासम्म त जर्बजस्त लुकाएर राखेकी थिएँ ।’-माया भन्छिन्-‘यस्तो समय आयो । जतिबेला नौ महिनाको गर्भ थियो त्यस्तो अवस्थामा मैले नभने पनि दुनियाँले थाहा पाउने भए । त्यसैले मेरो पेटमा मदनको गर्भ छ भनेपछि गाउँलेले दुवैको बिहे त गराई दिए । तर, त्यो दिगो हुन सकेन । आफ्नो छोरा र परिवारको इज्जतमा समेत दाग लगाएको भन्दै मायालाई दैनिकजसो परिवारबाट मानसिक यातना आउन थाल्यो । बिहेको १७ दिन सम्म सहेर बसेकी मायाको जीवनमा कठिन मोड आयो ।’-उनले भनिन्-‘घर छोडेर आएको कहाँ जाने ? जाने ठाउँ थिएन । मर्न पनि सकिनँ ।’-दुई वर्षीया छोरी मुस्कानलाई मुसार्दै भनिन्-‘यही बच्चाको मुख हेरेर माइत आएर बसेकी छु, श्रीमानले पनि राम्रो व्यवहार गर्नुहुन्न पीडा माथी पीडामा छु ।’

१३ वर्षको उमेरमा विवाह गरेर १६ वर्षको उमेरमा सम्बन्ध विच्छेद गरेकी तमानखोला गाउँपालिका-२ की सुनिता गोतामेको रङ्गनि सपनाको यात्रामा अहिले पूर्णबिराम लागेको छ । ‘बिहे, जिवन भन्ने के हो थाहै नभएको समयमा आफ्नै फुपूले बुर्तिबाङ बजार जाम् भनेर फकाई फुल्याई ल्याएर कक्षा ५ पढदैं गरेकी सुनिताको सोही ठाउँका किसान बिकसँग बिहे गराई दिएपछि सुनिताको बालापन पीडा र समस्यामा परिणत भयो । बिहे गरेको तीन वर्षमै पतिले अर्को बिहे गरे । सुनिताले हालै ३ लाख रुपियाँ लिएर पतिसँग सम्बन्ध विच्छेद गरेकी छन् । ग्रामीण भेगमा फकाई फुल्याई प्रलोभनमा पारेर उमेर नपुगेका बालिकालाहरूलाई परिवारकै सदस्यले विवाह बन्धनमा बाधिदिँदा सुनिता जस्ता बालिकाहरूको रङ्गनि सपनाको यात्रामा पूर्णबिराम लाग्ने गरेको छ । माइतीघरमा बस्दै आएकी सुनिताले रुँदै भनिन्-‘छिटो बिहे गर्नाले रहर, सपना सबै सकिए र अब यिनै बाआमासँग दुःख सुख गरेर बाँच्छु । जिन्दगी जाने कुरामा खेलवाड गर्न नहुने रहेछ ।’

बावाले दिएको वचन राख्नकै लागि १४ वर्षको उमेरमा कोपिल सिर्पालीसँग विवाह गरेकी तमानखोला गाउँपालिका-५ की नरमा सिर्पाली अहिले माइतीमा बस्दै आएकी छन् । सासूससुराको दैनिक गालीगलौज, पतिले गर्ने बेवास्ता र दुर्व्यवहार सहन नसकेर माइतीमा बस्न थालेकी नरमाका पतिले भर्खरै अर्को विवाह गरेका छन् । ‘सानैमा टुहुरी भएकीले घरमा बोझ जस्तो ठानेर जबरजस्ती बिहे गरिदिए ।’-विवाह गर्दाको समय सम्झदै उनी भन्छिन्-‘अहिले माइतीमा बस्दा दुनियाको कुरा सुन्नु परेको छ । सबैबाट घृणा र दुर्व्यवहार सहनुपरेको छ । उमेर परिपक्व भएर बिहे गरेको भए यस्तो नियति भोग्नु पर्थेन कि भन्ने लागेको छ ।’

बागलुङ जिल्लाको पश्चिम क्षेत्रमा अझैपनि बालविवाह गर्ने प्रचलन हटेको छैन । छोरीलाई सानो उमेरमै विवाह गरेर पठाउँदा माइतीले बोझ कम भएको ठान्छन् । छोरीकै कारणले समाजमा बदनाम हुनुपर्ला की भन्ने डर हट्ने भन्दैं परिवारका सदस्यहरूले कतै समस्या त कतै बाध्यताको नाममा आफ्ना उमेर नपुगेका छोरीहरूको विवाह गर्दै आएका छन् । बालविवाहकै कारणले पछिल्लो समय बहुविवाहले समेत प्रश्रय पाउन थालेको छ । उमेर नपुग्दै विवाह गरेका बालक(पुरुष)हरूले उमेर पुगेपछि अर्को विवाह गर्दा विद्यालय जाने उमेरका बालिकाहरू सानो उमेरमा नै बहुविवाहबाट पीडित हुने गरेका छन् । महिला तथा बालबालिका कार्यालय बागलुङले २०७४ सालको चैत महिनामा जिल्लाका केही स्थानीय तहमा बालविवाहको अवस्थाको बारेमा अध्ययन समेत गरेको थियो ।

कार्यालयको तथ्याङक अनुसार जिल्लाको निसिखोला गाउँपालिकामा मात्र १८ वर्षउमेर नपुगी विवाह गर्ने बालबालिकाको सङ्ख्या १ सय ३८ रहेको छ । जसमा ५५ जना बालक र ८३ जना बालिका रहेका छन् । त्यस्तै जैमिनी नगरपालिका-१ बरेङमा पनि बालविवाह गर्नेहरूको सङ्ख्या उल्लेखय रहेको छ । कार्यालयको तथ्याङ्कमा ३६ जना बालक र ५९ जना बालिकाले बालविवाह गरेको देखिन्छ । त्यस्तै बागलुङ नगरपालिका भित्रै पनि बालविवाह गर्ने गरेको पाइएको छ । बागलुङ नगरपालिकाको १, २ र ३ वडामा महिला तथा बालवालिका कार्यालय बागलुङले गरेको अध्यायनमा आठ जना बालक र १९ जना बालिकाले बालविवाह गरेका छन् ।

बालविवाह सुन्नेहरूको लागि सामान्य भएपनि भोग्नेहरूको लागि निकै पीडादायी र डरलाग्दो समस्या भएको महिला तथा बालबालिका कार्यालय बागलुङकी प्रमुख डिलकुमारी शर्मा बताउँछिन् । आर्थिक सामाजिक र प्रजनन् स्वास्थ्यका लागि बालविवाह निकै गम्भीर विषय भएकाले यसलाई निर्मुल पार्नको लागि सरकार, सरोकारवाला र परिवार सबै सचेत हुनुपर्ने उनको भनाई छ । निसिखोला गाउँपालिकामा बालविवाहको तथ्याङ्क डरलाग्दो देखिएपनि न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्न छुट्टै बजेट विनियोजन भने गरिएको छैन । गाउँपालिका प्रमुख तारानाथ पौडेलले बालविवाह हुन नदिन विद्यालयमा सचेतनामुलक कार्यक्रम गर्न थालेको बताए । पौडेलले बावुआमाको सहमतिमा भन्दा पनि विद्यालय जाने उमेरका बालवालिका भागेर विवाह गर्नेहरूको सङ्ख्या ठुलो भएकाले विद्यालयमा चेतनामुलक कार्यक्रमको आयोजना गर्न थालिएको बताए । तमानखोला गाउँपालिकाले भने आफ्नो गाउँपालिकामा भएका बालविवाहको तथ्याङक आफैँ सङ्कलन गर्न सुरू गरेको  छ । बालविवाह, बहुविवाह गाउँपालिकाको ठुलो सामाजिक समस्याको रूपमा देखिएको र यो कानुनी हिसावले मात्र समाधान हुने नदेखिएकाले अहिले जागरणमुलक कार्यक्रम गरेर नियन्त्रणका लागि प्रयास सुरू गरेको तमानखोला गाउँपालिकाका प्रमुख जोकलाल बुढाले बताए । ‘यहाँ बालबिवाहको समस्या चरम रूपमा रहेको पाइयो ।’-तमानखोला गाउँपालिकाका कार्यकारी अधिकृत खिमबहादुर बिकले भने-‘यही समस्यालाई बोध गरेर बालविवाह र यससँगै देखिएको बहुविवाह रोक्न चेतनामूलक कार्यक्रम/अभियान सञ्चालनका लागि बजेट विनियोजन गरिसकेका छौँ । हाम्रो शासन प्रणाली फेरियो हामी फेरिएनौँ भने जहीँको त्यहीँ हुन्छौँ ।’

जिल्लाको दुर्गम र पिछडिएको यस क्षेत्रमा बालविवाह र यसले निम्त्याएको बहुविवाहलगायतका समस्या अनगिन्ती समस्या छन् । निसीखोला, जैमिनी नगरपालिकासँगै तमानखोला गाउँपालिकाको खुङ्खानी, स्याउलालगायतका गाउँमा बालविवाह कुसंस्कार विद्यमान छ । अशिक्षा, चेतनाको अभाव, आर्थिक विपन्नतालगायतका कारण बालविवाह अहिले पनि उस्तै गतिमा भइरहेका छन् । बालविवाह व्याप्त भए पनि यस बारेमा प्रहरीमा अहिलेसम्म उजुरी नआएको बुङ्गादोभान प्रहरी चौकीले जनाएको छ । तमानखोला गाउँपालिकाको कार्यालयमा पनि अहिलेसम्म यसबारेमा कुनै उजुरी नआएको गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक मानसरी शेरचनले बताइन् । ‘हामीले पनि गाउँघरमा बालविवाह हुने गरेको देखेका छौँ ।’-उनले भनिन्-‘यसबारेमा उजुरी आए बालविवाह नियन्त्रण गर्ने गरी कानुन सम्मत हिसावले अघि बढ्छौँ ।’


सिर्जना पन्त







Top