बदर हुनेभयो ‘फड्के तमसुक’, बलात्कार घटनाबाट पीडित महिलाले न्याय पाउने आशा !

बैतडी । ०७७ मङ्सिर १२ गते

जेठको पारिलो घाममा दिउँसो पानी भर्न जान सकिनन् । दुई घण्टाको बाटो पैदल हिँडेर पानीको गाग्री बोकेर अप्ठ्यारो हुने भएपनि उनले साँझतिर पानी भर्ने योजना बनाइन् । सोही अनुसार जेठ २३ गतेको दिउँसोतिर पानी बोक्न सधैँ झैँ उनी न्वउलोमा गइन् । दुई घण्टा हिँडेर पानी भर्ने उनको दैनिकी हो तर त्यो दिन थोरै ढिला भयो । न्वाउलोमै रात पर्न थाल्यो । ४० लिटरको पानीको गाग्री पिठ्यूँमा बोकेर उनी घरतिर लागिन् । चिनैकै मानिस नजिक आयो । साँझको बेला चिनेजानेको मान्छे आउँदा ढुक्क भएकी उनलाई बाटोमै रोकेर अस्वाभाविक व्यवहार गर्न थाल्यो । उनी आत्तिइन् । चिच्याउन खोजिन् । तर, चिच्याए ज्यान मार्ने धम्की दिँदै चिनेजानेका ति व्यक्तिले बाटो छेउकै जङ्गलमा लगेर बलात्कार गरे । ‘बलात्कार घटनापछि उनको महिनावारी रोकियो ।’–उनले पीडा सुनाउँदै भनिने–‘म हिंसामा परेँ । तर, उल्टै ममाथि नै आरोप लगाइयो ।’ बलात्कर घटनाका आरोपित व्यक्तिलाई समाजका गन्यमान्य व्यक्तिले नै एक तोला सुनको फड्के कागजमा सहिछाप गराएर दाँया–बाँयाँ औँठाको छापमा सफाइ दिए । उनीसँग कुनै विकल्प बचेन । आफ्नै अभिभावक (दाइ) लाई पनि धम्क्याएर फड्के कागजको किनारामा गाउँलेहरूले सहिछाप गराउन बाध्य पारे ।

बलात्कारपछि गर्भपतन गराएको घटना एक तोला सुन दिने ‘फड्के तमसुक’ बनाएर मिलाएको घटना भएको झण्डै ७ महिनापछि मात्रै खुल्यो । घटनाको सात महिनापछि पीडित महिला न्याय माग्दै सदरमुकाम पुगेपछि घटना बाहिरिएको हो । मङ्सिर १० गते पीडित महिला केही आफन्तसहित न्यायको खोजी गर्दै सदरमुकाम आइपुगेकी हुन् । पीडित महिलालाई आरोपितले गत जेठ २३ गते सिगास गाउँपालिका–२ का २२ वर्षीय दिपक धामीले बलात्कार गरेको पीडितको आरोप छ । बलात्कारका कारण गर्भवती भएकी पीडित महिलाले औषधि खाएर गर्भपतन गराएको पनि बताइन् । गाउँमा सबैलाई थाहा भएपछि स्थानीय अगुवाले आरोपितबाट एक तोला सुन भराउने तमसुक गराएर घटना सामसुम पारेका थिए ।

महिनावारी रोकिएको परिवार र गाउँमा थाहा भएपछि आरोपितले नै गर्भपतन गराउने औषधि ल्याएर दिएको पीडितले बताइन । ‘बलात्कार गरेकै व्यक्तिले दिएको औषधि असार ८ गते खाएपछि धेरै रगत बग्दा घरपरिवार र छिमेकी सबैले थाहा पाए ।’–पीडितले भनिन्–‘पहिला डरले भनिनँ ।’ ‘उसलाई सहयोग गर्ने गाउँकै शिक्षक, गाउँपालिकामा कार्यरत कर्मचारी र गाउँकै नेताले मिल्नुपर्छ भनेर एक तोला सुन दिने कागज बनाएर सहीछाप गराए ।’–उनले भनिन्–‘त्यसपछि यस्तो घटनामा बलजफती मिलापत्र भयो ।’ उनको मनले मानेन । पुरानो झोलामा दिदी र भाउजुले घरबाटै पकाएर ल्याएको सुख्खा रोटी बोकिन् र उनी न्याय खोज्दै करिब डेढ दिनको यात्रापछि मङ्सिर १० गते जिल्ला सदरमुकाम आइपुगिन् ।

गत असार १४ गते गाउँलेसँगै वडा कार्यालयबाट केही व्यक्ति आएर तमसुक बनाएको पीडितले बताइन् । उनीहरूले आरोपित र पीडितको औँठाछापसहितको तमसुक बनाए । कात्तिक ३० गतेभित्र एक तोला सुन दिने भनेर बनाएको तमसुकमा झगडा भएको भनेर लेखिएको छ  । उक्त तमसुकमा दीपकले कात्तिक ३० भित्र एक तोला सुन दिन नसके मनोज र अम्मरले दिने उल्लेख छ । छोरीलाई किन यस्तो गरेको भन्दा ६५ वर्षीय बुबालाई पनि बलात्कार घटनाका आरोपितले कुटपिट गरेको उनको आरोप छ । ‘बाहिर कुरा ल्यायो भने मलाई र मेरो परिवारलाई मार्छु भन्यो अनि कसैलाई नभनेर सुनमा मिलेका हौँ ।’–उनले भनिन् । घटना मिलाउने र तमसुक बनाउने काममा गाउँकै अम्मरसिंह धामी, मनोजसिंह धामी, नरेन्द्रसिंह धामी र राजेन्द्रसिंह धामीको संलग्नता रहेको पीडितकी दिदीले बताइन् । तमसुकको साक्षीमा पीडितका दाइको नाम पनि उल्लेख छ । ‘दाइलाई पनि कुटपिट गरेर तमसुकमा मिलापत्र गराउनेमा नाम लेखाए ।’–उनकी ३५ वर्षीया दिदीले भनिन्–‘जे हुनु भइहाल्यो । सुन दिन्छौँ । पढाउँछौँ । भविष्य हेरौँला भनेर मिलाए ।’

उनीहरूलाई जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायणप्रसाद अधिकारीले आफैँ ‘केस’ हेर्ने भनेर जिल्ला बोलाएका हुन् । सदरमुकामको एक होटलमा बसेका उनीहरूलाई खानबस्न समेत समस्या भएको छ । ल्याएको खर्च बाटामै सकिएको र प्रहरीले सबै सहयोग गर्छौँ भनेकाले केही आशा पलाएको पीडितकी दिदीले बताइन् । डिएसपी अधिकारीले मुद्दा दर्ता भइसकेको बताउनु भयो । उहाँका अनुसार प्रारम्भिक अनुसन्धानमा घटना भएको देखिएको र मुद्दाको प्रक्रिया अघि बढेकाले संलग्न सबैलाई कानुनी दायरामा ल्याइनेछ । पीडित महिलालाई सुरक्षा र स्वास्थ्यका हिसाबले जिल्ला अस्पतालमा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा राख्ने तयारी भएको पनि डिएसपी अधिकारीले जानकारी दिनु भयो । ‘हामीले थाहा पाइसकेपछि पनि मिल्नका लागि प्रेसर आएको रहेछ, अब कुनै हालतमा आरोपितले छुटकरा पाउँदैनन् । यहाँसम्म ल्याउन सहयोग गर्नुभयो तपाँईलाई धन्यवाद !’–डिएसपी नारायण अधिकारीले मुद्दा दर्ता गरिसकेपछि इन्सेक प्रतिनिधिसँग भन्नु भयो ।

- नरी बडु