पूर्व लडाकुलाई प्रयोग गरी पतिको हत्या

०७२ माघ १२ गते

सुख दुख बाँडेरसँगै जिउने बाचा साथ वैवाहिक बन्धनमा बाँधिएर रहेको एक जोडीले आपसी सामान्य विवादलाई मिलाउन नसक्दा परिवार नै छिन्नभिन्न भएको छ । सामान्य घरायसी विवादलाई समयमै व्यवस्थापन गर्न नसक्दा रिसइवी चुलिएपछि परिवारमा एक जनाको ज्यान गएको छ भने अरु लथालिङ्ग भएका छन् ।

 

मापसे गरी सताउने गरेको आरोपमा रुपन्देहीको तिलोत्तमा नपा१४, कुमारीका एक पुरुषलाई पत्नीले माओवादीका पूर्व लडाकुको प्रयोग गरी हत्या गराएकी छन् । ४५ वर्षीय पदमबहादुर थापालाई उनकै पत्नी ३७ वर्षीया रेनुले माओवादीका पूर्वलडाकुलाई प्रयोग गरी गत माघ ४ गते घरमा सुतेकै अवस्थामा हत्या गरेको खुलेको छ । घटनामा संलग्नहरू सबै गिरफ्तार भएपछि मात्रै प्रहरीले घटना सार्वजनिक गरेको छ । हत्यामा संलग्न दुवै जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

 

माओवादीका पूर्व लडाकु तिलोत्तमा नपा१६ (मक्रहर) मृगौलीका ३२ वर्षीय सञ्जय भन्ने विक्रम थारुलाई प्रहरीले माघ ११ गते उनको घर नजिकैबाट गिरफ्तार गरेको बताएको छ । उनीहरू दुवै जनालाई प्रहरीले बुटवलमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।

 

पतिले सधै मादकपदार्थ सेवन गर्थे, घरको आर्थिक स्थिति के छ, त्यो कहिल्यै ख्याल नराख्ने र केही सम्झाउन खोज्दा मार्न खोज्ने गरेकाले मान्छे खोजेर मार्न लगाएको आरोपितले बयान दिएकी छन् । रक्सी खाने आउने तथानाम गाली गर्ने, बेइज्जती गर्ने, जग्गा जमिन बिक्री गरी सिध्याउने जस्ता काम गरेकाले रिस खप्न नसकेर मारिदिएको हत्या आरोपितले बताएकी छन् ।

पतिको गतिविधि सहन नसकेपछि पूर्व लडाकुलाई ८० हजार रुपियाँ दिएर मार्न लगाएको उनले बताइन् । हत्याका आरोपित चौधरी मृतकका मिल्ने साथी पनि थिए । आफ्नै मिल्ने साथीलाई हत्या गर्दा पश्चाताप लागेको छैन भनेर त्यहाँ उपस्थित पत्रकार सामु प्रहरीले प्रश्न गर्दा चौधरीले भनेछैन । उनको अनुहारमा कुनै पनि सङ्कोच देखिँदैनथ्यो ।

 

उनीहरूका १६ वर्षीय एक छोरा र १८ वर्षीया एक छोरी छन् । छोरा मुटुको रोगी छन् । मुटु रोगी छोराले कक्षा ८ पढ्दा पढ्दै छाडेर बसेका छन् । छोरीले कक्षा १२ पढ्छिन् । उनीहरू हजुरआमा र काकाको घरमा आश्रय लिएका छन् ।  बाबाको हत्या भएको र हत्याको आरोपमा आमा गिरफ्तार परेपछि उनीहरू निराश बनेका छन् ।

 

कसरी भयो घटना ?

पतिले सधैजसो मापसे गरेर कुटपिट गर्ने गरेको र सताउने गर्दा उनीहरूपतिपत्नीबीच जहिले पनि यही विषयमा झगडा हुन्थ्यो । पतिले मार्नेगरी कुटपिट गर्दा उनले मनमनै पतिलाई नै मारिदिन पाए हुन्थ्यो भन्ने योजना बनाउन थालिन् । विगत झण्डै डेढ महिनादेखि यस्तो योजना बनाउन थालेको उनले प्रहरी सामु बताएकी थिइन् । हत्या गर्नकै लागि पदमकै साथी विक्रमलाई सम्पर्क गरिन् ।

 

विक्रमले पैसाको लोभमा आफ्नै साथीको हत्या गर्न तयार भए । विक्रमले ८० हजार रुपियाँमध्ये पेश्की स्वरुप आधा जति पाएपछि हत्याको सम्झौता पनि गरे । घटनाको दिन विक्रम पदमको घरमा पुगे त्यो माघ ४ गतेको दिन थियो । राति १० बजेतिर विक्रम उनको घरमा पुगेका थिए त्यतिबेला घरमा कोही थिएनन् । छोराछोरी हजुरआमाकोमा थिए, पत्नी बिहानै देखि घर बाहिर थिइन् । कोठामा सुतेका पदमको विक्रमले हत्या गरे । हत्याका लागि उनले फलामे रडको प्रयोग गरेका थिए । उनी रक्ताम्ये भएर बेडमै सुतेको अवस्थामा प्रहरीले फेला पारेको थियो । अहिले पतिको हत्या गर्न लगाउने रेनु र हत्या गर्ने विक्रम थारु इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा छन् । उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइएको छ ।

 

Photo20160126Rupandehi1

 

को हुन विक्रम थारु ?

तिलोत्तमा नपा१६ मृगौलीका बासिन्दा ३२ वर्षीय सञ्जय भन्ने विक्रम थारु माओवादीका पूर्व लडाकु हुन् । ९ वर्षसम्म माओवादी लडाकु भई काम गरेको उनले बताए । ०६८ सालको फागुनमा पनि उनी गिरफ्तार भएका थिए । त्यतिबेला प्रहरीले उनको साथबाट कटुवा पेस्तोल फेला पारेको थियो । त्यतिबेला उनी ३ वर्षजेल बसी ०७१ सालको फागुनमा छुटेका थिए ।

 

Photo20160126Rupandehi

 


अमृत गिरी







Top