पीडामाथिको पीडामा इस्माका बालबालिका !

०७६ मङ्सिर २२ गते

गुजुप्पको बस्ती । इस्मा गाउँपालिका–४ को पैयाँपाटा । दुई घर बाहेक सबै कार्की । तीन वर्षमा एक पटक आउने कुलपुजाले सबै परिवार खुसी थिए । देश परदेशबाट आएका अभिभावक र छोराछोरीले कार्की गाउँको उमङ्ग फरक नहुने कुरै भएन । समुदाय अनुसारको कुल पुजा ठुलो पर्व नै भएकाले स्वभाविक पनि थियो । दुर्भाग्य त्यो खुसी धेरै दिन टिकेन । मङ्सिर १७ गते कुलपुजाकै लागि हिँडेका कार्की परिवार चढेको जिप बाग्लुङको बडिगाढ गाउँपालिका–७ मा दुर्घटनामा प¥यो । दुर्घटनामा एउटै गाउँका १५ जनाले ज्यान गुमाए । तीन जना उपचारको लागि काठमाडौँ छन् । अहिले कार्की गाउँका अधिकांश घर शोकमा परेका छन् । केही घरका दुई-तीन जना नै दुर्घटनामा परेका छन् । जसका कारण सहयोग गर्ने मान्छेसम्म गाउँमा नभएको सोही गाउँका बद्री कार्कीले बताउनुभयो । ‘एक परिवारको दुःख जस्तो भएन । गाउँनै शोकमा छ ।’–उहाँले भन्नुभयो–‘बाँकी रहेका घरहरुले मात्रै सहयोग गर्न मुस्किल परेको छ ।’

बल्लबल्ल अडिएको कच्ची घर । देख्दै अप्ठ्यारो । सेतो बस्त्रमा कलिलो अनुहार । ढोकै छेउमा टुसुक्क बसेकी १६ वर्षीया इशा कार्की । आमा ४२ वर्षीया सिता र दुई वर्षीया बहिनी अनुष्काले सडक दुर्घटनामा ज्यान गुमाए । किरिया कर्म इशाको काँध छ । उनी मङसिर १९ बाट आमाको किरिया बसेकी छन् । बुवा प्रेम कार्की मजदुरीको लागि भारतमा हुनुहुन्थ्यो । दुर्घटनाको खबर सोही दिन नै थाहा पाउनुभयो । पत्नी र छोरी गुमाएका कार्की विक्षिप्त हुनुहुन्छ । उहाँ १८ गते साँझ घर आउनुभयो । पत्नी सिताले मेलापातबाटै घर धान्नु भएको थियो । प्रेम भारतमा काम गर्नुहुन्थ्यो । अब छोरी मात्रै घरमा भए । ‘साना छोराछोरी छोडेर कसरी फर्कर्ने, काम नगरे उपाय छैन ।’–आँसु पुच्छ्दै कार्कीले भन्नुभयो–‘दैवले विचल्ली पार्‍यो ।’ इशा कक्षा सातमा पढ्नुहुन्छ । १० वर्षीया बहिनी पुजा कक्षा दुईमा । अर्धवार्षिक परीक्षा सञ्चालन भइरहेकै बेला दुर्घटना थियो ।

बुवा चन्द्रदिप बस्नेत परदेश । आमा मिनाको दुर्घटनामा ज्यान गयो । छुट्टिएर बसेको परिवारमा १३ वर्षीय सुनिल र नौ वर्षकी बहिनी रविना मात्रै । दाजुबहिनीकै अर्धवार्षिक परीक्षा थियो । परीक्षा राम्रो गर्न भन्दै हिँडेकी आमा फर्किनन् । परीक्षा र आमा दुवैबाट वञ्चित भएकाले सुनिलसँगै नौ वर्षीया बहिनी रबिना बस्नेत पीडामा हुनुहुन्छ । त्यसमाथि सानो उमेरमै आमाको काज किरियाले सुनिललाई थप पीडित बनाएको छ । ‘सानो मान्छे आमाको शोकले आफैँ पीडामा छ । त्यसैमाथि काज किरिया र चिसोले थला पर्ने भो ।’–हजुरबुबा लालबहादुर बस्नेतले भन्नुभयो–‘जस्तो पनि भोग्नु पर्ने रहेछ ।’ मौसम चिसो र सानो मान्छे भएकाले खानपानका कारण स्वास्थ्यमा समेत समस्या परेको बस्नेतले बताउनुभयो । सोही गाउँकै भुमि कार्कीले पनि दुर्घटनामा ज्यान गुमाउनुभयो । घरमा पति तिलबहादुर र १६ वर्षीय छोरा विष्णु कार्की हुनुहुन्थ्यो । आफू बिरामी, त्यो माथि सानो छोराले किरिया गर्नुपर्ने भएकाले थप पीडा भएको तिलबहादुर कार्कीले बताउनुभयो । उहाँले आमा नभएको पीडा त्यसैमाथि परीक्षा दिन नपाउँदा छोरा विष्णु थप चिन्तित बनेको बताउनुभयो । स्वास्थ्यमा समेत समस्या देखिएको छ ।

सोही गाउँका महेन्द्र कार्कीले पनि दुर्घटनामा ज्यान गुमाउनुभयो । १७ वर्षीय छोरा मेघराज र १३ वर्षीय छोरा प्रेम कार्कीले बुबाको किरिया थालेद्यनुभएको छ । महेन्द्र २० वर्षमा कुल पुजाकै लागि भारतबाट गाउँ आउनुभएको थियो उहाँ भारतमा नशारोग विशेषज्ञ डाक्टरका असिस्टेण्ट हुनुहुन्थ्यो । राम्रो कमाई भएकाले दुई छोराले राम्रोसँग पढाउनुभएको थियो । सानो परिवार खुसी थियो । ‘नियतिले खुसी सहेन त्यसैले बज्रपात पर्‍यो ।’–महेन्द्रका बुबा झवि कार्कीले दुःख व्यक्त गर्नुभयो–‘खाउँ–खाउँ, लाउँ–लाउँ भन्ने उमेरमा परिवार बिचल्लीमा परे ।’

photo20191208gulmi (1)

photo20191208gulmi (2)

photo20191208gulmi (3)

photo20191208gulmi (4)

photo20191208gulmi (5)

photo20191208gulmi (6)

- टोपलाल अर्याल