पानी कहानी, १० रुपियाँमा ३५ लिटर !

जाजरकोट । ०७७ असोज २६ गते

पाका महिलाहरू भालेको डाकसँगै उठ्छन् र उज्यालो हुँदासम्म दुइतीन पटक ओसारी सक्छन् । पानी ओसार्नेमा धेरैजसो महिलाहरूको ताँती हुन्छ । बालबालिका पनि हात र काँधमा ग्यालेन तथा गाग्रीमा पानी बोकिरहेका हुन्छन् । जति विहानै उठेपनि घर देखि भेरीको किनारसम्मै पानी बोक्नेहरू लहरै भेटिन्छन् । रित्ता र भरी गाग्रीवालाहरू सबैलाई हतारो । विद्यार्थीहरु पनि करिब डेढ घण्टा लगाएर भेरी बगर छेउको मुलबाट र नदिमा बगिरहेको पानी बोक्न बिहानै देखि तल्लिन हुन्छन् । कुदुवासी धमिलो पानी पिउन बाध्य छन । पीउने मात्र हैन नुहाउन र गाई बस्तुलाई खुवाउन समेत पानीको अभाव छ ।

3 jajarkot20201012

गाउँमै बनेको डिप बोरिङ्गतिर जाने, त्यहाँ धेरै भिडभाड भए भेरी नदीको तिरमा रहेको मुलमा पुगेर पिउने पानी ल्याउनु पर्छ । घाँस दाउरामा परिवारलाई सघाउनै पर्ने । स्कुल जाँदा जहिलै हतार । स्कुलबाट फर्केपछि पनि विद्यार्थीहरूलाई एक/दुईपटक पानी नबोकी हुदैन । पानीका लागि ओहोर दोहोर गर्दैमा साँझ विहानको समय जाने भएकोले पढ्ने समय छुट्याउन मुस्किल हुन्छ भगवतिलाई । भगवती मावि कुदुमा कक्षा ८ मा अध्यनरत भगवती बटालाले भनिन्, ‘पानी बोक्ने र घरको अरु कामले गर्दा धेरैजसो दिनमा होमर्क गर्ने समय हुदैन्थ्यो । कहिले त सरको पिटाइ पनि खानुपथ्र्यो ।’ तर अहिले कोरोनाको कारण विद्यालय बन्द छन् ।

कुदु भेरी नपा –१३ को भेरी किनारको बस्ती हो । मिलेको गाउँ । व्यवस्थित सिँचाइ भने छैन । पुर्खौदेखि यहाँका मानिसहरूको पानीको स्रोत भेरी हो । वर्षातको समयमा नदिनमा पानी धमीलो आउँछ । विडम्बना खानुको विकल्प छैन । नगरपालिकाको आर्थिक सहयोगमा डिप बोरिङ्ग निर्माण गरेपछि कुदुवासीको पानीको कहानी फेरीने आश पलायो । ४ सय २५ घर धुरीका करिब २ हजार २ सय ५० जनाको लागि एउटा मात्र बोरिङ्गले सुरुका दिनमा केही राहत भएपनि पानी भर्नका लागि भने घटौं कुर्न पर्ने भयो । पानीका दुःख संधैका लागि अन्त्य भएको कल्पना गरेकी धनाकुमारी शर्मालाई झन दोहोरो झन्झट भयो, ‘बोरिङ्गमा कुर्नु की भेरी जानु ?’ घर नजिकको उक्त बोरिङ्ग बत्ति बिना चल्दैन । बस्तीमा राष्ट्रिय प्रसारण लाइनले छोएको छ । तर बोरिङ्ग स्वास्थ्य चौकी परिसर भित्र निर्माण भएकोले दिउँसोको समयमा चौकीमै बिजुली प्रयोग हुनेभएपछि बिहान बेलुका मात्र बोरिङ्ग चल्छ । पानी लिन नाम लेखाउनु पर्छ । पालो आएपछि मात्र भर्न पाइन्छ । धनाले भन्नुभयो,–‘कामको भ्याई नभ्याई हुन्छ । घाँस, दाउरा र घर भान्सा सबै आफ्नै भर । बोरिङ्गको पानी भर्न धेरैबेर कुर्न पर्ने भएकोले हामी त भेरी नै जान्छौं ।’

2 jajarkot20201012

रातीसम्म पानी भर्नेहरुको कोलाहलले कुदुवासीको निन्द्रा गिजोलिन्छ । स्थानीय ध्रुबप्रसाद शर्मा भन्नुहुन्छ ‘कतिपयको पानी भर्ने पालो राती ११ बजे पछि आउँछ । पानी भर्नकै लागि रातभर जाग्राम बस्नु पर्ने बाध्यता छ ।’ पानी खोल्न र बन्द गर्न उपभोक्ताले मासिक १५ हजार दिने गरी स्थानीय तुलाराम गिरीलाई सहयोगी राखेका छन् । शर्माका अनुसार उनलाई तलब खुवाउन ३५ लिटरपानी भरेपछि उपभोक्ताले १० रूपियाँ दिनु पर्छ । एउटा परिवारले मासिक ४ हजार ५ सय देखी ५ हजार सम्म रकम बुझाउँछन् । सहयोगीले नाम लेखाउँछन् । पालो आएपछि मात्र पानी भर्न पाइन्छ । नाम दर्ता गरेको कम्तिमा २ देखि ६ घण्टापछि मात्र पालो आउँछ । पालो राती ११ बजेपछि पनि आउन सक्ने ध्रुवको गुनासो छ । पालो आएपछि एउटा घरले २५ देखी ३५ लिटर पानी भर्न पाउँछ ।

कुदु बृहत खानेपानी आयोजनाका लागि तीन वर्ष अघि खानेपानी तथा सरसफाई कार्यालयबाट चार करोड छ्ट्याइएको भएपनि आयोजना अलपत्र अवस्थामा छ । हाल सम्म निर्माण कार्य सम्पन्न हुन नसकेपछि पानी आउन सकेको छैन । नगरपालिकाले पनि यस अघि उक्त खानेपानी आयोजनाका लागि चार करोड बजेट विनियोजन गरेको भएपनि पानी आउन नसकेको स्थानीय नरबहादुर बस्नेतले बताउनु भयो ।

1 Jajarkot 20201012

कुदुको खानेपानी समस्याको दिर्घकालिन समाधानका लागि आवश्यक पहल भइरहेको भेरी नपा–१३ का अध्यक्ष गोपालबहादुर बटालाले बताउनु भयो । भेरीबाट पानी ल्याउने बाध्यता तोड्न डिप बोरिङ्गबाट पानी निकालिएको र गाउँ भरीका लागि एउटा बोरिङ्ग अपर्याप्त रहेको अध्यक्ष बटालाको भनाई छ । वडाध्यक्ष बटालाका अनुसार कुदुका अगुवाले कुदु बजारमा थप एउटा बोरिङ्ग निर्माणका लागि माग गरेका छन् । उहाँले थप्नुभयो –‘जनसंख्याको हिसावले सहज पानीको उपलब्धताको लागि अब एउटा बोरिङ्ग चाहिने हो । एउटा डिप बोरिङ्ग निर्माण गर्दा करिब ६५ लाख खर्च लाग्छ । जुन वडाको बजेटले निर्माण गर्न सक्दैन ।’ यस सन्दर्भमा भेरी नपाका प्रमुख चन्द्रप्रकाश घर्तीले कुदुमा खानेपानीको निकै समस्या भएकाले पहिलो पटक ट्रायल स्वरुप एउटा डिप बोरिङ्ग निर्माण गरिएको र थप निर्माणका लागि माग आएकाले आगामी वर्ष एउटा बोरिङ्ग निर्माण गर्ने योजना रहेको बताउनुभयो ।

फोटो सौजन्य/ हेमन्त केसी

- दिनेशकुमार श्रेष्ठ