पहिरोले विद्यार्थीको मन विचलित !
कक्षा कोठाभरी पहिरो प्रभावित परिवार । आँगनमा विद्यार्थी । धर्मपुर माविसहित सत्यवति गाउँपालिकाका सबै विद्यालय साउन २८ गते देखि खुले । पहिरो प्रभावित क्षेत्रका विद्यार्थीहरूको झोलामा किताब कापी मात्रै नभई मन र मतिष्कमा बेदना बोकेका थिए । 'बर्खे बिदा भएको नौ दिनमा गाउँमा प्राकृति बिपत्ति पर्यो ।'-सिङदी गाउँका विनोद बिकले भने-'अहिले गाउँ घर र मन दुवै चर्किएको छ । तरपनि विद्यालय गयौँ ।' बिहानै प्रार्थनामा आउने धेरै विद्यार्थीको अनुहारमा खुसी थिएन् । धर्मपुर माविका ४ सय ५० विद्यार्थीमध्ये ९० प्रतिशत विस्थापित छन् । धेरै जनाले धर्मपुरमै आश्रय लिएका छन् । पहिलो दिन विद्यालयको प्राङ्गणमै हाजिरी गरियो । त्यही ठाउँमै शोक मनाए र घर गए । धर्मपुर माविका सहायक प्रध्यानाध्यापक जुक्तबहादुर थापाले शोक र प्रार्थना गरेर बिदा गरेको बताए । विद्यालयमा विस्थापित परिवार बसेको र त्यसमध्येका अधिकांश विद्यार्थी सोही परिवारको रहेको, विद्यार्थीहरू मानसिक रूपमा विचलित भएका कारण भदौ १ गतेसम्मको लागि पुनः बिदा गरिएको सहायक प्रध्यानाध्यापक थापाले बताए ।
बर्खे बिदापछि धर्मपुर मावि साउन २९ गते एकछिनका लागि खुल्यो । बबि बिक विद्यालय आएनन् । उनी अब सधैँका लागि नआउने गरी पहिरोमा परेका हुन् । तीन जना विद्यार्थी गुमाएको पुष्प मोहन प्रावि पनि शोकमै थियो । सरस्वति माविमा पनि एक जना विद्यार्थीको सधैँका लागि अनुपस्थित हुने भए । एक महिने बर्खे बिदासँगै पाँच विद्यार्थी सदाका लागि बिदा भए । ०७६ असार २७ गतेदेखि साउन २८ गतेसम्म सत्यवति गाँउपालिकाका सबै विद्यालय बन्द थिए । विद्यालय बन्द भएको नौ दिनमै गाउँमा ठूलो प्राकृतिक बिपत्ति पर्यो ।
साउन ६ गते रातिको अविरल वर्षासँगैको पहिरोमा सत्यवति गाउँपालिका-३ ठुलोलुम्पेकको धर्मपुर माविको कक्षा ९ मा अध्ययनरत बबि बिक, सरस्वति माविको कक्षा ४ मा अध्ययनरत अञ्जली विक, पुष्प मोहन प्राविको कक्षा २ मा अध्ययनरत शिवानी विक, नर्शरीमा अध्ययनरत हिमान्सु र तारा बिकले एकै रात ज्यान गुमाए । मर्ने सबै विद्यार्थी दलित परिवारका छन् ।
मौन धारणमा धर्मपुर माविका शिक्षक र विद्यार्थीका आँखा रसाए अनि गला अबरूद्ध भए । पहिरोमा ज्यान गुमाएका बबिका आफन्त समेत रहेका छिमेकी बिनोद बिक लाइनबाटै बाहिरिए । 'बबिलाई फेरि सम्झिएँ । सधैँ सँगै सुत्थ्यौँ । विद्यालयमा पनि एउटै बेञ्च र लाइनमा हुन्थ्यो ।'-सत्यवति गाउँपालिका-३ ठुलोलुम्पेकका बिनोद बिकले भने-'मौन धारणमा मन थामिएन आँसु पुच्छ्दै बाहिर आएँ ।' बवि विद्यालयका राम्रा भलिबल खेलाडी समेत हुन् । अविरल वर्षासँगैको पहिरोले आमा माया बिकसँगै बबिलाई बगायो ।
सत्यवति गाउँपालिका-३ ठुलोलुम्पेकको सिद्द आधारभुत प्राविको भवन नै पहिरोले बगाउँदा विद्यार्थीको पढाइ अन्यौलमा परेको छ । पहिरोले सिद्द आधारभुत प्राविको चार कोठे भवन बगाएको छ । अर्को चार कोठे भवनको माथिल्लो तला पुरिएको विद्यालयकी प्रध्यानाध्यापक ज्ञानमाया तरामुले बताइन् । विद्यालय भवनभन्दा तलबाट पनि पहिरो गएको छ । खेल मैदानमा पहिरोले भरिएको छ । सिद्द आधारभुत प्राविमा ५१ जना विद्यार्थीले अध्ययन गर्दै आएका थिए । सत्यवति गाउँपालिकाका सामाजिक विकास समिति संयोजक भिमलाल पाण्डेयले तत्काल विद्यालय बन्ने कुनै सम्भावना नभएकाले अस्थायी बस्ती विकाससँगै टहरो निर्माण गरेर पठनपाठन गराउने बताए । पहिरोले विद्यालय मात्रै बगाएको छैन् । सिद्ध प्राविमा पढ्ने विद्यार्थीहरूको घरमा पनि पहिरोले क्षति पुर्याएको छ ।
पहिरोले सत्यवति गाउँपालिकामा ठुलो क्षति पुर्याएको छ । सत्यवति गाउँपालिका-३ को सिद्द आधारभुत प्राविमा पढाइनै सञ्चालन भएको छैन । धर्मपुर माविमा अझै विस्थापित परिवार छन् । सोही गाउँपालिका-२ को गगनपुर आधारभुत प्राविको भवन चर्किएको छ । सोही गाउँपालिका-४ को पुष्प मोहन प्रावि पनि जोखिममा रहेको छ । माथि पहाड र नजिकैबाट पहिरो गएकाले धेरै अभिभावक र विद्यार्थी पानीका थोपा परे पनि हतास हुने स्थिति रहेको प्रध्यानाध्यापक कुमार नेपालीले बताए । अहिले तत्काल व्यावस्थापनको विकल्प नभएकाले जोखिम मोलेरै भएपनि विद्यालय सञ्चालन गर्नुपर्ने अवस्था आएको सत्यवति गाउँपालिकाका शिक्षा अधिकृत रेनु गैरेले बताइन् । त्यस्तै मनकामना प्राविमा समेत पहिरोले माटो थुप्रिएको छ । पानी परे दुवै विद्यालयमा विद्यार्थी पढाउने स्थिति नभएको गैरैले बताइन् । उनले पहिरो प्रभावित विद्यालयले मृत्यु भएका विद्यार्थीको शोक मनाउँदै थप व्यावस्थापनको लागि केही दिन बिदा गरेको जानकारी गराइन् ।
- टोपलाल अर्याल
संबंधित फिचरहरू
पीडामाथिको पीडामा इस्माका बालबालिका !
गुजुप्पको बस्ती । इस्मा गाउँपालिका–४ को पैयाँपाटा । दुई घर बाहेक सबै कार्की । तीन वर्षमा एक पटक आउने कुलपुजाले सबै परिवार खुसी थिए । देश परदेशबाट आएका अभिभावक र…
बजेट अभावमा सडक बालबालिका सडकमै !
सात वर्षीया सुनिता थारु चार वर्षीया बहिनी हेलिनालाई पिठ्यूँमा बोकेर एकाबिहानै कुश्माबजारको व्यस्त सडक शिवालयचोकमा निस्किनुहुन्छ । यसअघि गत चैत महिनामा कुश्मा बजारकै शिवालय माध्यमिक विद्यालयमा सञ्चालित अनौपचारिक कक्षामा बिहानी…
सडकपेटीमै जुत्ता सिलाएर गुजारा !
पहाडी क्षेत्र । बिहानको चिसो सिरेटो । बाहिर निस्कनै मुस्किल ! दिउँसोको पारिलो घामको न्यानो समेत लिन पाउँदिनन् उनी । मौसम जस्तो सुकै होस् उनलाई कुनै परवाह छैन । न…
चर्को घाममा गरिएको कामको हरायो दाम !
०७६ भदौको ११ गते मध्यान्ह । साप्सुखोला उर्लिरहेको छ । चर्को घामका कारण खोला किनार आसपास उखर्माउलो गर्मी छ । टलक्कै टल्किएको पक्की पुलको एकापट्टि रातो रिबन टाँगिएको छ ।…
बालविवाहले बढायो समस्या !
मध्य दिनको चर्को घाम, निधारमा चिटचिट पसिना, छेउमा ढुङ्गाको थुप्रोमा बसेर गिट्टी कुटिरहेकी छिन्, १६ वर्षीया एक बालिका । घरखर्च चलाउन समस्या भएपछि उनी गिट्टी कुटेर घरखर्च चलाउन विवश छिन्…