न त रह्यो बास, न त पाइन्छ गाँस !

जाजरकोट । ०७७ साउन २२ गते ।

करे सार्कीले पेटभरी खान नपाएको धेरै दिन भयो । पहिरोले घर पुरेपछि विस्थापित भएका उहाँले झण्डै एक महिनादेखि पेटभरी खान र आनन्दले निदाउन पाउनु भएको छैन । खाद्यान्न अभावमा ६ जनाको परिवारले भोकमरीको सामना गरिरहेको छ । ठूलो पानी पर्दा अहिले पनि उहाँ त्रसित हुनुहुन्छ । ‘गाउँ नै बगाउँछकि भन्ने डर लाग्छ् । राम्रो सँग नसुतेको र नखाएको तीन हप्ता भैसक्यो’ उहाँले भन्नुभयो ‘आफूसँग पैंसा पनि छैन । भएपनि किनेर खाने अन्न पाइदैन ।’ नयाँ बाली पाकी नसकेको, खाद्य डिपोमा चामल नभएको र गाउँमा मौज्दात अन्न पनि सकिएपछि बारेकोटमा भोकमरीको अवस्था देखिन थालेको छ । राहतको आशामा बसेका बारेकोट गाउँपालिका—४ सार्कीटोलका करे सार्की जस्ता अन्य पहिरोबाट बिस्थापित बनेकाहरु परिवार भोकभोकै बसिरहेको दुःखेसो पोख्छन् ।

बारेकोट गाउँपालिकाका अनुसार  ०७७ असार २५  गते बारेकोट—४ सार्कीटोलमा गएको पहिरोमा परि ११ जनाको मृत्यु भएको छ । बारेकोटका विभिन्न वडामा गएको पहिरोमा परि अझै तीनजना बेपत्ता छन् । बाढीपहिरोको कारण १ हजार ५५ परिवारका ६ हजार पाँच सय सातजना विस्थापित भएका छन् । ५६ घर भत्किएका छन् । मृतकको किरिया  खर्च स्वरुप प्रति परिवार २५ हजार दिएको र घर भत्किएकालाई प्रति परिवार एक÷एक बोरा चामल वितरण गरेको गाउँपालिकाले जनाएको छ । विस्थापितहरु स्थानीय विद्यालय, गोठ र चौरमा पालमुनि बसिरहेका छन् । तर धेरै परिवारसँग खाने अन्न छैन । बारेकोटमा किनेर खाने खाद्यान्न पनि नपाइने भएकोले विस्थापितहरु भोकभोकै पर्न थालेको  स्थानीय शिक्षक गोरखबहादुर सिंहले इन्सेकसंग बताउनुभयो ।

बारेकोट गाउँपालिकामा उत्पादित अन्नले ५÷६ महिनामात्र खान पुग्छ । यातायातको असुविधाका कारण ढुवानी समस्याले खाद्यपसल पनि छैनन् । मानिसहरु खाद्य संस्थानको चामलमै भर पर्ने गरेका छन् तर खाद्य डिपो दुई महिना देखि रित्तै हुँदा थप समस्या भएको शिक्षक सिहंहको भनाई छ । वर्षात रोकिएको छैन । विस्थापित सबै परिवार राहतकै पर्खाइमा छन् तर अहिले सम्म कम्मल तथा अन्य राहत सामग्रीको सहयोग स्वरुप पाएपनि खाद्यान्न सकैले पनि सहयोग नगरेको विस्थापीत परिवारको गुनासो छ । बारेकोटको जिरी, तल्लो जिरी, धौलाकोट, मैना, तोलखाना, कालाखोली, भैलोखाना, धुमा, धौलाकोट, कोट्ली लगायतका गाउँका मानिस विस्थापित भएर विद्यालयमा बसिरहेको स्थानिय डम्बर बहादुर सिंहले जानकारी दिनुभयो । ‘गहँु मकै, कोदो पिस्ने घट्ट बाढीले बगाएको, किनेर खाने बजार छैन, नयाँबाली पाकेको छैन र बाटोघाटो अवरुद्ध छ । यतिबेला बारेकोटी जनता निकै समस्यामा छन्’ सिंहले थप्नुभयो ।

विश्वखाद्य कार्यक्रमले निकै समस्या परेका परिवारलाई पोषिलो विस्कुट वितरण गरिरहेको, रेडक्रस सोसाइटी र पहाडी क्षेत्र विकास कार्यक्रमले त्रीपाल, कम्बल लगाएतका सामाग्री वितरण गरेको गाँउपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनुभयो ।  विश्वखाद्य कार्यक्रम अन्तर्गत खाद्यान्न दिने तयारी गरेपनि ढुवानी समस्याले रोकिएको अध्यक्ष शाहको भनाई छ । पाक्दै गरेको मकै संकलन गरेर अभाव पुर्ति गर्ने गाउँपालिकाको तयारी रहेको अध्यक्ष शाहले सुनाउनुभयो । उहाँका अनुसार पहिरो गएसँगै धेरै परिवार विस्थापित बन्नुका साथै भोकमरीको चपेटामा परेको गाउँपालिकावासीको समस्या हल गर्न प्रयास भइरहेको छ ।

विस्थापितहरु खाद्यान्नको चरम अभाव व्यहोर्न थालेपछि खाद्य सुरक्षा समिति जाजरकोटको साउन १८ गतेको वैठकले प्रभावित क्षेत्रमा १ हजार क्वीन्टल चामल पठाउन खाद्य संस्थान जाजरकोटले पठाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले इन्सेकलाई बताउनुभयो । निर्णय भए लगत्तै सडक सञ्जालले नपुगेको उक्त प्रभावित क्षेत्रका लागि दुई सय क्वीन्टल चामल खच्चडलाई बोकाएर पठाइएको र हाल बाटोमै रहेको प्रजिअ पन्तको भनाई छ ।

- दिनेशकुमार श्रेष्ठ