नागरिकलाई तुइनकै सास्ती ( फोटो फिचर)

दार्चुला । ०७७ फागुन २६ गते

दार्चुला र धार्चुलालाई जोडिएको छ महाकाली नदीले । बिहान ७ बजे दार्चुला धार्चुला जोडने झोलुङ्गे पुलको ढोका खुल्छ । फेरि बेलुकी ५ बजे पुनः ढोका बन्द हुन्छ । पुलको ढोका खुलेसँगै स्थानीयको नेपाल भारत अर्थात दार्चुला धार्चुला आवतजावत सुरु हुन्छ । यहि वारीपारीको सृङ्खला सदरमुकाम खलङ्गामा मात्र नभई उत्तर तिरका आधा दर्जन ठाउँका तुइनमा पनि निरन्तर चलि रहन्छ ।

यहि तुइनमा दैनिकी बिताउँदैछन्, व्यास गाउँपालिका– २ का कल्यासिह धामी । तुइनमार्फत आवतजावत गर्नेलाई सहयोग गर्ने काम हो धामीको । कयौंलाई तुइन तर्न आउँदैन् । तुइन तर्न आएन भने महाकालीमा अकालमै स्थानीयहरुको ज्यान जाने गरेको धामी सुनाउँनु हुन्छ । तीन पाने तुइनमा वारपार गर्नेलाई डोरीको सहारामा पठाउने काम धामीले गर्दै आउनु भएको छ ।

धार्चुलाबाट एक घण्टाको गाडी यात्रापछि व्यासको तुइन क्षेत्रको यात्रा सुरु हुन्छ । भारतले कालापानी मार्ग भनेर यो सडक कालोपत्रे गरेको छ । व्यासका स्थानीय नेपाल भारत जोड्ने झोलुङ्गे पुल नहुँदा महाकाली नदीमा तीन पाने फलामे तुइन तरेर घर आवजाउ गर्ने गर्छन् । यो उनीहरुको दैनिकी हो । दैनिक उपभोग्य वस्तु मात्र नभई गर्भवती, सुत्केरी र बालबालिका पनि त्यहि तुइनमार्फत वारपार गर्न बाध्य छन् ।

नेपालतिर सडज बाटो छैन् । आफ्नै गाउँ आउजाउ गर्न नेपालको भन्दा सहज बाटो भारत हुन्छ, व्यास ३ का स्थानीय मानसिह खातीले भन्नु भयो । भारततिर कालोपत्रे सडक छ । महाकाली नदीमा तीन पाने फलामको डोरीमा तर्ने वित्तिकै गाउँ नजिकै हुन्छ । तर, आफ्नै भूमि भएर व्यास गाउँपालिकाको सुनसेरा पुग्न एक दिन लाग्छ । नेपालतिर भर्खर मात्रै सडकको ट्याक खुल्दै छ । सडक जोखिमपूर्ण भएको हुँदा यहाँका स्थानीय वर्षौदेखि तुइनकै भर पर्छन् ।  ज्यानकै बाजी लगाएर जानु पर्ने ठाउँमा स्थानीयले भारतीय एसएसबीको आँखा छल्नु पर्छ ।

एसएसबीले नियमित गस्ती गर्छन् । उनीहरु आए सिधै तुइन काटिदिन्छन् । तुइन अवैध भए पनि यहाँका नागरिकलाई सहज र छोटो बाटो यहि तुइनको प्रयोगमार्फत हुन्छ । देशमा झण्डै एक वर्ष बन्दाबन्दी हुँदा पनि यहाँका नागरिकले भारतकै खाद्यान्न लुकिछिपी यहि तुइनबाट ल्याएका थिए । ज्यानकै बाजी लगाएर भए पनि यहि बाटो हिड्नुको विकल्प पनि त छैन् ।

नेपाल सरकारले तुइन विस्थापन गर्ने नीति लिएपनि दार्चुलाको व्यास क्षेत्रमा अझै तुइन विस्थापन बाँकी छ । अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक प्रधानमन्त्री हुँदा देशभरका तुइन विस्थापन गर्ने नीति लिनु भएको हो । त्यहि तुइन विस्थापन अन्तर्गत दार्चुलाका लाली, र तिगरमा तुइन निर्माण भए भने अहिले व्यासकै बडुगाउँ माल र बाकुमा तुइन विस्थापनको लागि झोलुङ्गे पुल निर्माण कार्यको सुुरुवात गरिदैछ ।

तर, तुइन विस्थापनमा ढिलाई हुँदा स्थानीयले जोखिम मोलेर आवतजावत गर्नु परेको बताउनु हुन्छ भारतीय नागरिक रवि सिंह ।  दुई देशबीच रोटी बेटीको सम्बन्ध छ । दुई देशको भिन्नता केहि पनि देखिदैन यो क्षेत्रमा । बोली एउटै, विहेवारी वारीपारी छ । धार्चुलाबाट दैनिक उपभोग्य वस्तु यहि क्षेत्रबाट ढुवानी हुन्छ । नेपालतिर सडक सञ्जालले भर्खर मात्रै जोडिदैछ । हामी पनि यहि तुइन तरेर नेपाल जान्छौँ रविले भन्नु भयो । तर, दुवै पक्षले यस क्षेत्रका जनतालाई हेरेका छैनन् ।

नेपालतिर भरपर्दो बाटो नभएकै कारण व्यासीहरु भारतीय सडक मार्गको पहुँच भएको क्षेत्रबाटै खाद्यान्न लगायतका सामाग्री निर्यात गर्छन् । स्थानीय गणेशसिह धामी नेपालतिरको सडक कालोपत्रे नभएसम्म भारतकै बाटो प्रयोग गर्न सहज हुने बताउनु हुन्छ । खाद्यान्न उत्पादनको हिसाबले यो क्षेत्रमा तीन महिना देखि ६ महिनासम्म मुस्किलले खान पुग्छ । दैनिक मजदुरी गर्न भारततिरै जानु पर्छ ।

दार्चुलाको व्याँस गाउँपालिकाको वडा नम्बर २ राप्ला,दुम्लीङ, माल, वडा नम्बर ३ को सिना, वडा नम्बर ४ को सुनसेरा, वडा नम्बर ५  धौलाकोट लगायतका स्थानीयले अहिले पनि तुइनकै प्रयोग गरेर आवतजावत गर्नु परेको छ ।

व्यासको तिगरमा नेपाल भारत जोडने झोलुङ्गे पुल निर्माण भएपनि अझै अधिकांश वस्ती जोड्ने झोलुङ्गे पुल नहुँदा स्थानीयले आधादर्जन बढि ठाउँमा तुइनको प्रयोग गरेर आवतजावत गर्ने गर्छन् । तुइन विस्थापन अन्तर्गत झोलुंगे पुल निर्माणको काम समयमै सकिए स्थानीयले तुइन तर्नु पर्ने बाध्यता अन्त्य हुने स्थानीय बताउँछन् ।

व्यास गाउँपालिका अध्यक्ष दिलिपसिह बुढाथोकी अहिले व्यास क्षेत्रमै नेपाल भारत जोडने झोलुङ्गे पूल निर्माण भइरहेकोले आगामी वर्षभित्र स्थानीयलाई आवतजावतमा सहज हुने विश्वास व्यक्त गर्नु हुन्छ । एक वर्ष कोभिडका कारणले पुल निर्माण हुन सकेन् उहाँले भन्नु भयो, अहिले निर्माण व्यवसायीले निर्माणका सामग्री ढुवानी थालेका छन् । यसले छिट्टै  तुइन विस्थापन हुने आशा पलाएको छ, उहाँले सुनाउनु भयो ।

झोलुङ्गे पुल निर्माणमा ढिलाई

दार्चुलामा महाकाली नदीमाथि नेपाल भारत जोडन लगाइएका तुइन विस्थापन अन्तर्गत झोलुङ्गे पुल निर्माणको काममा अझै ढिलाई भएको छ । तुइन विस्थापन अन्तर्गत ब्यास गाउँपालिकाको मालघाट, बडुगाउँ र मालिकार्जुन गाउँपालिकाको बाकुमा तुइन विस्थापन अन्तर्गत निर्माण भइरहेको झोलुङ्गे पुल निर्माणको काममा ढिलाई भएको हो ।

गत वर्षदेखि नै निर्माण काम सुरु भएको थियो । तर, कोरोनाका कारण चैत ११ गतेदेखि सीमानाका बन्द र लकडाउन हुँदा पुल निर्माणको काम एक वर्षदेखि रोकिएको थियो ।

तुइन विस्थापन अन्तर्गत ब्यास गाउँपालिका–२ को माल र वडा नम्बर ३ र ४ को बर्तीघाटमा झोलुङ्गे पुल निर्माण भइरहेको छ । यस क्षेत्रमा खम्पाचे रुविना जेभी काठमाडौँले झोलुङ्गे पुल निर्माणको लागि २ करोड ७३ लाख लागतमा ठेक्का सम्झौता गरेको छ ।

बाकु र बडुगाउँमा मालिका निर्माण सेवा कञ्चनपुरले निर्माणको ठेक्का पाएको छ । दुवै ठाउँको पुल निर्माण गर्न २ करोड ५५ लाख ६४ हजार लागतमा सम्झौता भएको हो । अहिले कोभिड कम हुँदै जानु र सीमानाका खुलेसँगै पुल निर्माण सामाग्री ढुवानी सुरु गरिएको मालिकार्जुन निर्माण सेवाका निर्माण व्यावसायी दिपक साउदले बताउनु भयो ।

उहाँले भन्नु भयो –‘पूलको लागि चाहिने लठ्ठा आवश्यक उपकरणहरु ढुवानी भइसकेको छ । अब चाडै पुल निर्माण कार्यले गति लिन्छ । सीमानाका बन्द नभएको भए अहिलेसम्म पुल निर्माण काम सकिन्थ्यो । अहिले दार्चुला धार्चुला हुँदै निर्माणस्थलमा सामाग्री ढुवानीको काम चलिरहेको छ ।’

यसअघि मालिका निर्माण सेवाले लेकम गाउँपालिका–३ लालीमा नेपाल भारत जोडने झोलुङ्गे पुल निर्माण गरेको थियो । लालीमा झोलुङ्गे पुल निर्माणपछि त्यो क्षेत्रमा सञ्चालन हुने ट्युब विस्थापन भएको थियो ।

ब्यास गाउँपालिकाका मुख्य तुइन रहेका ठाउँमा झोलुङ्गे पुल निर्माण भइरहेको ब्यास गाउँपालिका–२ का स्थानीय दानसिह कार्कीले बताउनु भयो ।

photo20210310darchula (1)

photo20210310darchula (2)

photo20210310darchula (3)

photo20210310darchula (4)

photo20210310darchula (5)

photo20210310darchula (6)

photo20210310darchula (7)

photo20210310darchula (8)

- नरेन्द्रसिह कार्की