द्वन्द्वपीडित भन्छन्-‘पीडा उस्तै छ ! भोट कसरी हाल्ने ?’

दार्चुला । ०७४ असार १२ गते

आँखाभरी आँसु । माओवादी कार्यकर्ताले आफ्नै आँखा अगाडिबाट आफन्तलाई घरबाटै अपहरण गरेर बेपत्ता बनाएको पीडा । न सास न लास नै ! स्थानीय तहको चुनाव त आयो उनको मनमा भएको छटपटीमा कुनै कमी आएन । न चित्तबुझदो जबाफ छ माओवादीसँग न त परिपूरण नै ! घटना सुनाउँदा गला अबरूद्ध छ उनको । आक्रोश छ । मन बेचैन छ । नन्दा पार्कीले पछ्यौराको फेरले आँसु पुछिन् । गला अबरूद्ध भएर बोल्नै नसक्ने भएकी उनी उमेरले ५५ वर्षनाघेकी छन् । उनी आँखाबाट आँसु निकालेर बोल्दै गर्दा वरिपरि रहेका अन्य द्वन्द्वपीडितका आँखा पनि रसाए । १० वर्ष सशस्त्र द्वन्द्वको क्रममा आफ्ना पति दिलुराम पार्की गुमाएको पीडा सुनाउँदै गर्दै सबैको आँखा रसाए । घरबाटै अभियानमा हिँड भन्दै माओवादीले अपहरण गरिएका पार्की कहिल्यै घर फर्किएनन् ।

अहिले सशस्त्र द्वन्द्वको उपलब्धी भन्दै स्थानीय तहको निर्वाचन हुँदै छ । तर, द्वन्द्वपीडित भने यस्ता कुरा सुनाउँदा र सुन्दा आँखा भरी आँसु निकाल्छन् । नन्दाले भनिन्-‘देशको व्यवस्था परिवर्तन भयो । तर, मेरो परिवारको अवस्था नाजुक भयो । घरको सहारा पतिलाई बलपूर्वक बेपत्ता बनाएपछि मैले दिनभर गिट्टी कुट्नुपर्ने, भारी खोज्दै जानुपर्ने भयो । चुनावमा कसरी भोट हाल्ने ?’ ‘छाती भरी पतिलाई बेपत्ता बनाएको पीडा ताजै छ । घरबाट लगेदेखि अनुहार देख्नै पाइएन । माओवादीलाई सोध्दा महाकाली नदीमा फालिदियौँ भनेर जबाफ दिए । मैले भोट दिएर के हुन्छ ?’-उनले भनिन् ।

सशस्त्र द्वन्द्वको क्रममा मृत्युवरण गरेका द्वन्द्वपीडित परिवारलाई सम्मान तथा निर्वाचनमा मानव अधिकारसम्बन्धी सचेतना कार्यक्रममा सहभागी हुन आएकी नले आफूलाई सम्मान गरेपनि आफ्नो परिवारको अवस्था बिचल्ली परेको सुनाइन् । ‘पतिको मृत्युपछि सरकारले राहत दिएपनि सो राहत छोरालाई प्रहरी/सेनामा भर्ना गर्नमै सकियो, गाउँका आफन्तले छोरा जागिरे लगाउने भन्दै आएको राहत त्यसैमा खर्च भयो । तर, छोराले रोजगारी पाउनै सकेनन् । न त प्रहरी सेनामै भर्ना हुन सके । अहिले छोरा ढुङ्गा बोक्ने, गिट्टी कुट्ने काम गर्छ ।’-उनले भनिन् ।

मालिकार्जुन गाउँपालिकाकै गौमति पार्की भन्छिन्-‘पतिको घरबाट साविकको रिठाचौपाता गाविस नपुग्दै हत्या भएको रहेछ । द्वन्द्वको क्रममा भएको हत्याको अहिले सम्मानले के गर्नु ? परिवारको अवस्था खान लगाउन नसकिने छ ? हामीलाई सम्मान भन्दा पनि परिवारलाई रोजगारीको आवश्यकता छ । घरमा जवान भएका छोराले भारी बोक्नु, गिट्टी कुट्नु र अरूको खेत जोत्नुपर्दा छाती दुख्छ । पतिको मृत्युपछि छोराछोरीको खर्च चलाउन सकिएको छैन ।’

द्वन्द्वको समयमा दार्चुलामा १ सय ५६ जनाले ज्यान गुमाएकोमा १ सय ४१ जना मृतक परिवारले राहत पाएको स्थानीय शान्ति समितिका सचिव तेजराज तिमिल्सिनाले जानकारी दिए । यस्तै राज्यपक्षबाट बेपत्ता पारिएका पाँच जना मध्ये तीन जनाको परिवारले राहत प्राप्त गरेका छन् । द्वन्द्वको समयमा ६३ जना विस्थापित ३३ जना घाइते र १० जना अपहरणमा परेको स्थानीय शान्ति समितिले जनाएको छ ।

‘सिङ्गो व्यवस्था परिवर्तनसँगै सर्वसाधारणले घरदैलोबाटै राज्यका सेवा सुविधा उपभोग गर्न निर्वाचनमा सबैले सहभागी हुन समेत द्वन्द्वपीडितलाई प्रमुख जिल्ला अधिकारी कोइरालाले आग्रह गरे । मतदान गर्न पाउनु तपाइँको अधिकार हो । द्वन्द्वपीडितले झनै अहिलेको व्यवस्था परिवर्तनको लागि सहभागी हुनुपर्छ ।’-सरकारी अधिकारीहरूको भनाइ छ । राजनीतिक दलहरू चुनाव प्रचारप्रसारसँगै उम्मेदवार चुन्ने तयारीमा छन् । २० वर्षपछि सर्वसाधारणले आफ्ना नजिकका जनप्रतिनिधि घरदैलोबाटै चयन गर्दै छन् । सशस्त्र द्वन्द्व, जनआन्दोलन र संविधान सभा निर्वाचनपछि व्यवस्था परिवर्तन हुँदै राज्यका सेवा सुविधा सर्वसाधारणको घर आँगनमै पुग्न थालेका छन् । यस्तो अवस्थामा द्वन्द्वपीडितहरूले हाम्रो भन्दा पनि राम्रो मान्छे चुन्न आग्रह गरे ।


नरेन्द्रसिंह काकी







Top