जनता आवास कार्यक्रम अन्तर्गत घर निर्माण कार्य अलपत्र (फोटो फिचर)

महोत्तरी । ०७७ असोज १४ गते
गौशाला नपा–६ फुलकाहामा सञ्चालित जनता आवास कार्यक्रमअन्तर्गत काम सम्पन्न नहुँदा गरीब, दलित र विपन्नलाई झन् समस्या परेको छ ।सहरी विकास मन्त्रालय अन्तर्गत जनता आवास कार्यक्रमले आठ महिनाअघि दलित समुदायको घर बनाउन सुरू गरेको थियो । तर, आठ महिना बितिसक्दा पनि दुइ कोठे घर निर्माण हुन सकेको छैन ।

गौशाला नपा–६ फुलकहाका मुसहरी टोलमा करिब ३६ घरधुरी मुसहर समुदायका घर भत्काएर पक्की घर बनाउन लागेको आठ महिना बितिसक्दा पनि घर निर्माण कार्य अलपत्रै छ ।

पक्की घर बनाउने भनेर झुपडी भत्काएर बस्तीका ३६ ओटा घरको जग उठाएर अलपत्र छोडिएको छ । घर निर्माण नहुँदा अहिले ३६ परिवारका महिला, बालबालिकासहित ज्येष्ठ नागरिक खुला आकाशमुनि बस्न बाध्य छन् ।

६३ वर्षीया पानोदेवी माझी मुसहरले भन्नुभयो–‘धेरै समस्या छ । गरीबको पक्षमा बोलिदिने कोही छैनन् ।’

सोही ठाउँका ४५ वर्षीय इन्दल माझी मुसहरले महिनौँ बितिसक्दा पनि घर नबनेपछि जग उठाएको ठाउँमा झुपडी बनाएर त्रिपालले छाएर गुजारा चलाउँदै आएको बताउनु भयो ।

त्रिपाल र टेन्टमा पानी परेको र हावाहुरी आएको बेला बिचल्ली हुने गरेको ५५ वर्षीया लक्ष्मीदेवी माझी मुसहरले दुःखेसो पोखिन् ।

६० वर्षीय किसुन माझी मुसहरले भन्नु भयो–‘पानीले भिजेर दुई जना बालबालिका बिरामी भएका छन् ।’–उहाँले पीडा सुनाउँदै थप्नु भयो–‘यो वर्षामा बाँचिदैन होला ।’

सहरी विकास मन्त्रालयले जनता आवास कार्यक्रम अन्तर्गत महोत्तरीमा गएको आर्थिक वर्षमा १ हजार दलित परिवारलाई घर निर्माण गर्ने कार्यक्रम सञ्चालन गरेको थियो ।

तर, उक्त कार्यक्रम प्रभावकारी बन्न नसक्दा घर निर्माणको कार्य अलपत्र परेको छ ।  अलपत्र बनेको घर नबन्नुको कारण समेत मुसहर समुदायले जानकारी पाएका छैनन् ।

केन्द्र सरकारको आर्थिक सहयोगमा प्रदेश सरकारले सञ्चालन गरेको आयोजना भएकाले नगरपालिकाले हस्तक्षेप गर्न नमिल्ने बताउँदै गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोले घर निर्माणको लागि प्रदेश सरकारसँग आग्रह गरिरहेको बताउनु भयो ।

भङ्गहा नगरपालिकाको मुसहर बस्तीमा पनि त्यस्तै समस्या छ । भङ्गहा नपा–३ स्थित मुसहर समुदायका लागि जनता आवास कार्यक्रममार्फत घर निर्माण सुरू भएपनि सम्पन्न नहुँदा उनीहरू सानो झुपडी र त्रिपालको ओतमुनि बस्न बाध्य छन् । ठाउँ अभावले गाईवस्तु समेत उनीहरूसँगै राख्नुपर्ने अवस्था छ ।

‘खुल्ला आकाशमुनि दिनरात काट्दा बिरामी भएर पतिको ज्यान गयो । त्रिपाल र परालको सहाराले बालबच्चा सहित जसोतसो ओत लागेका छौँ । म पनि बिरामी भइरहन्छु । यसपालीको जाडोमा कालले लाने हो कि ?’–भङ्गहा नपा–३ की ६५ वर्षीया मुनेसरीदेवी सदाल भन्नु भयो ।

सरकारले नयाँ पक्की घर बनाइदिने भन्दै ओत लाग्ने छाप्रोको घर भत्काएर उठिबास गरेको झण्डै ३ वर्ष भइसक्यो । त्यसै बेलादेखि घरविहीन बनेकी मुनेसरीदेवीका छोरा, बुहारी र नातिनातिनी गरी आठ जनाको परिवार खुल्ला आकाशमुनि दिनरात बस्न बाध्य छ ।

खुल्ला आकाशमुनि दिनरात काट्दै आएका कारण बिरामी भएर २०७६ भदौको वर्षामा मुनेसरीका ७० वर्षीय पति जुल्मा सदाको मृत्यु भयो ।

मुनेसरीले भन्नु भयो–‘सुरुमा भएको खरको ओत लाग्ने झुपडी भत्काउँदा सरकारले केही दिनमै घर बनाइदिने भनेर अश्वासन दिएको थियो । तीन वर्ष बित्न लाग्यो पहिलो चरणमा जग हालेर डेढ वर्ष छाडे, अहिले दोस्रो वर्ष देवाल उठाएर छाडेका छन् । खोइ कहिले बन्ने हो कुन्नि ? मलाई पनि पक्की घर नदेखेर पति कालले लान्छ जस्तो लाग्न थाल्यो ।’

नयनकुमारी सदा परिवारको पनि समस्या उस्तै छ । उहाँलगायत परिवारका नौ जना सदस्य खुल्ला अकाशमुनि त्रिपालको सहारामा घाम, पानी छल्दै आइरहेको छ ।

‘सुरुमा त पक्की घर बनाइदिने भनेर भएको खरको झुपडी भत्काउँदा खुसी थिएँ । केहि दिनमै हाम्रो पक्की घर बन्छ भन्नेमा विश्वस्त थिएँ । तर, तीन वर्ष पुग्न लाग्दा समेत घर बनेन् । हामीलाई सरकारले बेघर बनाइदियो । अहिले जाडोमा परिवारका सबैजना त्रिपालको ओत र भुँइमा परालको सहराले बसेका छौँ ।’–नयनकुमारीले भन्नु भयो–‘हामीलाई जनता आवासको नाममा सरकारले उठिबास गराइदियो । हाम्रो पीडा कसले बुझ्ने ?’

मुनेसरी र नयनकुमारीको परिवार त उदाहरण मात्र हुन् । सोही बस्तीमा दलित एवम् विपन्न १९ मुसहर परिवारको घर जनता आवास कार्यक्रम अन्तर्गत पक्की घर बनाउन सरकारले भत्काएको थियो ।

१९ घरपरिवार नै बेघर भएपछि यहाँको मुसहर समुदायले झण्डै ३ वर्षदेखि घामपानी तथा जाडोमा कष्टकर जीवन व्यतित गरिरहेका छन् ।

भङ्गहा नगरपालिकाका प्रमुख सञ्जिवकुमार साहले नयाँ घर बनाइदिने बहानामा भएको घरलाई समेत भत्काएर दलित विपन्नलाई सरकारले उठिबास बनाएको आरोप लगाउनु भयो ।

जनता आवास केन्द्र सरकारको आर्थिक सहयोगमा प्रदेश सरकारको काम भएकाले घरको उठाइएको जगमाथि नगरपालिकाले बनाउन नमिल्ने उहाँले बताउनु भयो ।

गएको वर्ष जाडोमा विभिन्न सङ्घसंस्थाको समन्वयमा यहाँका प्रत्येक घरमा दुई–तीन ओटा बल्याङ्केट र लत्ताकपडा वितरण गरिएको थियो ।

जनता आवासको कामको जिम्मेवारी बोकेको प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले कर्मचारी अभावले काम गर्न नसकेको प्रतिक्रिया दिनु भयो ।

‘कर्मचारी नै छैनन् । जनता आवासको घर कसरी बनाउने ? तर पनि जे जति कर्मचारी छन्, उनीहरुलाई नै जिम्मा दिएर छिट्टै घरहरू बनाउन निर्देशन दिएको छु ।’–मन्त्री सोनलले भन्नु भयो–‘जनताको समस्यालाई हामीले पनि चासो दिइरहेका छौँ । सकभर चाँडै जनता आवासको निर्माणाधीन काम सक्ने हाम्रो प्रयास छ ।’

photo20200930mahottari (1)

photo20200930mahottari (2)

photo20200930mahottari (3)

photo20200930mahottari (4)

photo20200930mahottari (5)

photo20200930mahottari (6)

photo20200930mahottari (7)

photo20200930mahottari (8)

photo20200930mahottari (9)

photo20200930mahottari (10)

photo20200930mahottari (11)

photo20200930mahottari (12)

photo20200930mahottari (13)

photo20200930mahottari (14)

photo20200930mahottari (15)

photo20200930mahottari (16)

photo20200930mahottari (17)

photo20200930mahottari (18)

photo20200930mahottari (19)

photo20200930mahottari (20)

photo20200930mahottari (21)

- अजयकुमार साह