चार दिनमा दुई घण्टा बिजुली शिक्षा र स्वास्थ्यमा नकारात्मक असर

जुम्ला । ०७७ पुस २९ गते

विद्यालय पुग्न घरबाट करिब १ घण्टाको बाटो । गाउँमा बिजुली पनि छैन । बालबालिकाले भनेजसरी पढ्न पाएनन् भनेर पिर । घरको कामले लखतरान । छोराछोरीको भविष्य उज्यालो बनाउन सिंजा गाउँपालिका–६ जोडु गाउँकी शान्ता बुढा ०७६ फागुनमा सदरमुकाम खलङ्गा आउनु भएको थियो । तर, खलङ्गा उहाँले सोचेजस्तो भएन । ‘यहाँ त चार दिनमा एक दिन मात्र २ घण्टा बिजुली आउँदो रहेछ । दियालोकै भर पर्नु पर्ने भयो ।’

चन्दननाथ नगरपालिका–१० बोहोरा गाउँकी रामकली सुनारको घटना पनि उस्तै छ । ‘दिउँसो छोराछोरी स्कुल जान्छन् । साँझ बत्ति नहुँदा गृहकार्य गर्न पनि मुस्किल हुन्छ ।’–रामकलीको दुःखेसो छ । उहाँका अनुसार दियालोको जोहो गर्न वन नगइ हुँदैन । बिहान गएपछि साँझ मात्रै घर फर्किनु पर्ने हुन्छ । कर्णाली माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत रोशनी बुढाले लामो समयदेखि बिजुली नआउँदा पढ्नका लागि दियालो बाल्ने गरेको बताउनुभयो ।

बिजुली नहँुदा विकल्पमा दियालो बाल्दा त्यसको धुँवाले स्वास प्रस्वासमा असर गर्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका डाक्टर निरेश थापाले बताउनुभयो । उहाँले भन्नुभयो–‘दियालोको धँुवाले आँखासम्बन्धी विभिन्न रोग पनि लाग्छ । दियालोको प्रकाश बिजुली भन्दा कम हुने हँुदा बालबालिकाले पठनपाठन गर्दा पुस्तक आँखा नजिक लिएर पढ्नु पर्ने हुन्छ, जसका कारण आँखाको ज्योतीमा पनि असर पर्न जान्छ ।’ सदरमुकाम रहेको चन्दननाथ नगरपालिकामा सामुदायिक र निजी गरी ३६ ओटा विद्यालयमा ८ हजार ५ सय विद्यार्थी अध्ययनरत छन् । चन्दननाथ माध्यामिक विद्यालयका प्रधानाध्यापक टङ्क महतका अनुसार चार दिनमा दुई घण्टा मात्र बिजुली आउने हुँदा ९४ घण्टाको लोडसेडिङ्ले जनजीवन प्रभावित भएको छ । उहाँका अनुसार घुघुत्ति साना जलविद्युत आयोजनाको दुवै मेसिन बिग्रेपछि चर्काे लोडसिडङको मार खेप्नुपरेको हो ।
राष्ट्रिय जनगणना २०६८ अनुसार नगरपालिकाभित्र बसोबास गर्ने ४ हजार २ सय ७१ घरधुरी को २० हजार ८ सय ८४ जनसङ्ख्या दुई महिनादेखि अँध्यारोमा बस्न बाध्य छन् । नागरिकहरू अँध्यारोमा बस्न थालेको अहिले मात्र भने होइन । यस अघि पनि हप्ता, महिना हुँदै वर्ष दिनसम्म पनि अँध्यारोसँग जुुधिरहेका छन् । स्थानीयहरूले पटकपटक साङ्केतिक विरोध कार्यक्रम गरिरहेका छन् भने सरोकारवालाले पनि समाधानका लागि सम्बन्धित निकायसँग ज्ञापन पत्र बुझाइरहेका छन् ।
लोडसेडिङबाट ३ सय बेड भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पनि प्रभावित छ । चन्दननाथ नपाभित्रै रहेको अस्पतालमा हाल बिजुली नहुँदा डिजेलबाट उपकरण सञ्चालित गरिएका छन् । प्रतिष्ठान प्रशासन प्रमुख द्वन्द्वबहादुर शाहीका अनुसार सिटि स्क्यान, भेण्टिलेटर, आइसीयू, ल्याव, अक्सिजन उत्पादन प्लाण्ट लगायतका उपकरणहरू डिजेल प्लाण्टबाट सञ्चालनमा छन् । यस कार्यमा मात्र दैनिक १ लाख रुपियाँ बराबरको डिजेल खर्च भइरहेको शाहीले बताउनुभयो । अझै उपकरण थपिने क्रम जारी नै रहेकाले यथाशिघ्र राष्ट्रिय प्रशारण लाइन जोड्नुु पर्ने आवश्यकता रहेको उहाँको भनाई छ ।
५ सय घरधुरीका लागि भनेर २०४० सालमा निर्माण गरिएको २ सय २० किलोवाटको घुघुत्ति साना जलविद्युत गृहको मेसिन जीर्ण भएपछि चार वर्षअघि तत्कालीन जिल्ला विकास समितिले भारतीय दुतावासको २ करोड ६३ लाख ७७ हजार रुपियाँ र तत्कालीन जिल्ला विकास समितिबाट थप रकम गरी ३ करोड ९ लाख रुपियाँ बजेटबाट नयाँ मेसिन जडान गर्ने सम्झौता भएको थियो । नेपाल प्राधिकरण सेवा कार्यालय जुम्लाका निमित्त प्रमुख हेमन्त साहुका अनुसार विद्युत गृहमा जडान गरिएका दुई ओटा उपकरण बर्षदिन नपुग्दै पटकपटक बिग्रन थालेपछि यहाँका नागरिकले नक्कली मेसिन जडान भएको हो कि भनेर आशङ्का गर्न थालेका छन् । हाल जडित उपकरणको प्राधिकरणका केन्द्रीय इन्जिनियरिङ टोलीले अध्ययन अनुसन्धान गरिरहेको रिपोर्ट भने नआएको साहुले बताउनुभयो ।  घुघुत्ति विद्युत गृहमा मेसिन बिग्रिएपछि सदरमुकाम खलङ्गा बजारसहित सिङ्गो चन्दननाथ नगरपालिका २०७७ कात्तिक दोस्रो सातादेखि अन्धकार छ । इन्धन अभावका कारण डिजेल प्लाण्ट प्रयोगमा नआउँदा एक दिनमा ६ घण्टा मात्र चलाएर नगरपालिका भित्रका ८ वडाका विभिन्न गाउँबस्तीमा चार दिनको फरकमा एकदिनमा दुई घण्टा मात्र बिजुली आउने गरेको स्थानीय मनसुर सुनारले बताउनुभयो ।

यसैगरी जिल्ला कारागारका कैदीबन्दीले बिजुली नियमति नहुँदा आफ्ना कामहरू प्रभावित भएको गुनासो गरेका छन् । कैदी खड्कजित रोकायाले बिजुली नहुँदा अँध्यारोमै बस्नु परेको बताउनुभयो । कारागारमा भएको बैकल्पिक सौर्य उर्जा सोलार पनि अपुग हुने र घाम नलागेको दिन सोलारले पनि काम नगर्ने रोकायले बताउनुभयो ।   २ सय जनाको क्षमता रहेको कारागारमा एक जना महिलासहित १ सय १२ जना कैदीबन्दी रहेका छन् । कारागार विशेष क्षेत्र भएकाले बिजुली नियमित प्रदान गर्न सम्बन्धित निकायसँग पहल गरेपनि समस्या समाधान हुन नसकेको जेलर गयाप्रसाद पाण्डेको भनाइ छ । उहाँका अनुसार कारागारमा प्रयोग गरिने पानी बिजुली नहुँदा जेनेरेटरमार्फत तीला नदीबाट ल्याउने गरिएको छ । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाका अनुसार सदरमुकाममा बिजुलीको समस्या भएपनि सम्बन्धित निकायलाई निर्देशन गरी कारागारमा नियमित बिजुली आपूर्ति गर्न भनेपनि यहाँ विजुली प्रयाप्त नभएको राष्ट्रिय प्रशारण लाइन जुम्ला नपुगेकाले समस्या भएको हो ।
लामो समयदेखि बिजुली आपूर्ति नहुँदा यहाँका सञ्चार गृह समेत प्रभावित भएका छन् । खलङ्गामा सञ्चालित रेडियो, छापा र सरकारी तथा गैरसरकारी कार्यालयका कामहरू प्रभावित भएको नेपाल पत्रकार महासँघ जुम्लाका अध्यक्ष बरमबहादुर महतको भनाइ छ । मोवाइल समेत चार्ज गर्न नपाइरहेको अवस्था छ । विकल्पमा सौर्य उर्जाको व्यवस्था गर्नु पर्दा सञ्चार माध्यम थप मारमा परेको महतको भनाइ छ । एक वर्षअघि प्रतिनिधि सभा सांसद गजेन्द्रबहादुर महतको पहलमा संसद विकास कोषको एक करोड लगानीमा ३ सय केभीको डिजेल प्लाण्ट जुम्ला ल्याइएको थियो । विद्युत गृहका उपकरण बिग्रिएपछि र इन्धन अभावमा डिजेल प्लाण्ट दैनिक ६ घण्टा मात्रै सञ्चालन गर्न सकिएको विद्युत प्राधिकरण वितरण केन्द्र जुम्लाका निमित्त प्रमुख हेमन्त साहुले बताउनुभयो । उहाँले भन्नुभयो–‘दुईओटै टर्बाइन मेसिन बिग्रिएपछि विद्युत आपूर्ति ठप्प भएकोले सामान्य मोवाइल चार्ज गर्नका लागि दैनिक ६ घण्टा डिजेल प्याण्ट सञ्चालनमा ल्याएको हो ।’ एउटा मेसिनमा क्वाइल जलेर समस्या आएको र अर्कोमा बेरिङ भाँचिएको शाहुको भनाइ छ । मेसिन मर्मतका लागि कात्तिक दोस्रो साता भारतको दिल्ली पठाएकोले अब मर्मत भएर छिट्टै ल्याउने तयारी गरिएको समेत उहाँले जानकारी दिनुभयो । डिजेल प्लाण्ट सञ्चालनका लागि तेलको व्यवस्था नभएकाले प्राधिकरणसँग अनुरोध गरिएको निमित्त प्रमुख साहुले बताउनुभयो । ‘मेसिन मर्मत हुन धेरै समय लाग्ने भएकाले तत्कालका लागि डिजेल प्लान्ट सञ्चालन गर्न माग गरेका छौँ ।’–उहाँले भन्नुभयोे–‘तर, अहिले दैनिक छ घण्टा मात्र डिजेल प्लान्ट सञ्चालनमा छ ।’
०७७ मङ्सिर २० गते बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले अवरूद्ध बिजुली आपूर्ति गर्नका लागि दैनिक ६ घण्टाबाट १२ घण्टा डिजेल प्लाण्ट सञ्चालन गर्न विद्युत प्राधिकरण जुम्लासँग पहल गर्ने निर्णय गरेपनि सञ्चालनमा आउन सकेको छैन । त्यसैगरी दैलेखबाट जुम्ला ल्याउन लागिएको ३३ केभी र कालिकोटबाट ११ केभी राष्ट्रिय प्रशारण लाइन ०७७ कात्तिकसम्म ल्याउने तयारी भएपनि काम सम्पन्न हुन नसकेको जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले बताउनुभयो ।

- मानदत्त रावल