चर्को घाममा गरिएको कामको हरायो दाम !

खोटाङ । ०७६ भदौ २६ गते

०७६ भदौको ११ गते मध्यान्ह । साप्सुखोला उर्लिरहेको छ । चर्को घामका कारण खोला किनार आसपास उखर्माउलो गर्मी छ । टलक्कै टल्किएको पक्की पुलको एकापट्टि रातो रिबन टाँगिएको छ । नजिकै रातै पर्दाले ताम्रापत्र छोपिएको छ । खोला किनारैमा टाँगिएको त्रिपालमुनी केही कुर्सी हारबद्ध छन् । ब्यानर झुण्ड्याइएको छ । निमेषनिमेषमा मोटरसाइकलहरू रोकिँदैछन् । गाडीहरू जम्मा हुँदैछन् । वारिपारीबाट मान्छेहरू भेला भइरहेका छन् । झन्-झन् बढिरहेको गर्मीकैबीच पुल उद्घाटनलाई भव्य बनाउने तयारी भइरहेको छ ।

Photo20190912Khotang

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिका जोड्ने पक्की पुल उद्घाटनका क्रममा समृद्धिको ढोका खुलेको भन्दै मञ्चबाट खुसी व्यक्त भइरहँदा सोही पुल निर्माणका क्रममा श्रम गरेकी ४० वर्षीया चन्द्रकला राई भने निराश थिइन् । मञ्चमा खादा र माला लगाएका विशिष्ट व्यक्तिहरूबाट गुञ्जिएको 'समृद्ध नेपाल-सुखी नेपाली'को भाषण सुनिरहेकी चन्द्रकलालाई भने तीन वर्ष बित्दा समेत श्रमको ज्याला नपाएकोमा बढी पिरलो थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङ र साकेला गाउँपालिका-५ मात्तिम जोड्ने साप्सु खोला (दोश्रो) पुल निर्माणका क्रममा ०७२ सालमा गिटी कुटेको ज्याला नपाएको चन्द्रकलाले गुनासो गरिन् । 'ठेकेदारले अझै दुई गाडी र ३२ टिन गिटी कुटेको पैसा दिएको छैन ।'-भाषण सुन्दै बसिरहेकी चन्द्रकलाले भनिन्-'पति भर्तमानले पनि मिस्त्री काम गरे बापतको तीन महिनाको ज्याला पाउन बाँकी छ ।' यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका ४५ वर्षीय जगत राईले पुल निर्माणका क्रममा तीन महिना गिटी र बालुवा ओसार्ने काम गरे बापतको पारिश्रमिक पाएका छैनन् । उनीहरू मात्र होइन, सो पुल निर्माणका क्रममा ज्यामीको काम गरेका ३० जनाभन्दा बढी कामदारले हालसम्म पूर्ण पारिश्रमिक नपाएको गुनासो गरेका छन् । निर्माण कम्पनी गजुरमूखी/हरिहरि निर्माण सेवा जेभीका प्रतिनिधिले पुल निर्माणको काममा श्रमशोषण गरेको कामदारको आरोप छ । उक्त कम्पनीका प्रतिनिधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१५ विजयखर्कका ५० वर्षीय श्याम पोखरेलले पुलको शिलान्यास हुनुभन्दा ३ वर्षअघि ०७० सालदेखि नै स्थानीयलाई काममा खटाएका थिए ।

आफ्नै गाउँमा रोजगार पाउँदा उत्साहित हुँदै मिस्त्री, गिटी, ढुङ्गा र बालुवाको काम गरेका कामदारले पुल सञ्चालनमा आउँदासम्म पनि ज्याला नपाएको साकेला गाउँपालिका-५ मात्तिमका ४७ वर्षीय तिलबहादुर राईले गुनासो गरे । ठेकेदारले पसलमा खाना तथा खाजा खाएको १ लाख ७० हजार रुपियाँ बक्यौता रकम हालसम्म नदिएको निर्माणस्थलमा व्यवसाय गर्दै आएका मात्तिमका ३५ वर्षीय रामचन्द्र राईले बताए । पुल निर्माणका क्रममा लफ्याङ, मात्तिम लगायतका स्थानीयले गिटी कुट्ने, बालुवा ओसार्ने, मिस्त्री लगायतका काम गरेका थिए । कतिपय विद्यार्थी पनि विद्यालय छाडेर गिटी कुट्न साप्सु खोला पुगेका थिए । विद्यालय छाडी-छाडी काम गरेका ती स्थानीय छात्राहरू हाल विवाह गरेर गइसकेका छन् । तर, उनीहरूको पसिनाको मूल्य हराएको छ । ठेकेदारकै कारण कतिपय कामदारले कुटेको गिटी टिनमा भर्ने र हिसाव गर्ने काम नभएको कामदारको आरोप छ ।

म्याद गुज्रेको १५ महिना बित्दासमेत पहिलो निर्माण कम्पनी गजुरमूखी हरिहरि निर्माण सेवा जेभीको पहिलो प्रतिनिधिले पुल निर्माणको काम पूरा गर्ने छाँट नदेखाएपछि ०७५ चैतमा दोभान निर्माण सेवाका सञ्चालक सुरज बस्नेतलाई कामको जिम्मा दिइएको थियो । बस्नेतले कामको जिम्मा लिए यताको पारिश्रमिक पाए पनि सोभन्दा अघिको पारिश्रमिक नपाएको कामदारको गुनासो छ । साकेला गाउँपालिकाका अध्यक्ष झङ्कार खड्काले भने पुल निर्माणका क्रममा ज्याला पाउन बाँकी कामदारलाई ज्याला दिलाउने बताए । 'ज्याला नपाएका वास्तविक कामदारलाई ठेकेदारबाट भुक्तानी दिलाउने छौँ ।'-अध्यक्ष खड्काले भने-'तर, ठेकेदारबाट कसले कति पैसा पाए ? कति पाउन बाँकी छ ? त्यसको स्पष्ट हिसाव गरेर मात्र ज्याला दिलाइने छ । विना आधार पैसा दावी गरेर मात्र हुँदैन ।'

१८ महिनाभित्र पूरा गर्नेगरी ०७३ साल वैशाख १७ गते सम्झौता गरिएको पुल नेपाल सरकार स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको २ करोड ३० लाख ३६ हजार रुपियाँको खर्चमा तयार भएको हो । दिक्तेल-खोटाङबजार सडक खण्ड अन्तरगत पर्ने साप्सु खोलामा ०७३ मङ्सिर २२ गते शिलान्यास गरिएको पुलको म्याद ०७४ साल कात्तिकमै गुज्रिएको थियो । कामको दाम नपाएको विरोधमा कामदारले भदौ ११ गतेको पुल उद्घाटन कार्यक्रममा अवरोध नै गर्ने तयारी गरेका थिए । तर, स्थानीय जनप्रतिनिधिबाट पारिश्रमिक दिलाउने आश्वसन पाएपछि उनीहरू पछि हटेका हुन् ।

तर, निर्धारित समयमा कार्यक्रम सुरू हुन नसक्दा कतिपय सहभागीहरू खोलामा पौडिरहेका दृश्य देखिन्छ । विशिष्ट व्यक्तिहरूबाट पुलको रिवन काट्ने चाँजोपाँजो गरिरहँदा गाउँले हुलियामा आएका ३०-३५ जना पुरूष तथा महिलाहरू भने पुल उद्घाटन रोक्न तम्सिरहेका छन् । उद्घाटन हुनुभन्दा अगाडि आफूहरूले गरेको श्रमको मूल्य खोजिरहेका छन् । त्यसै कारण कार्यक्रम समयमा सुरू हुन सकिरहेको थिएन । अन्ततः पुल उद्घाटन भएरै छाड्यो । काम गरेको दाम चाँहि कता हो कता ?

- रामधन राई