'घरबाट पाटोमा, पाटोबाट बाटोमा'

०७२ जेठ २९ गते

जिल्लाको दुर्गम भनिने डाँडापारीका कृष्ण खुलाल आजकाल शहरतिरै भेटिन्छन् । भूकम्पले चिराचिरा पारेको थकित मन लिएर आजकाल उनी गाउँका लागि केही गर्न सकिन्छ कि भनेर सरकारी र गैरसरकारी संस्थाका कार्यालय धाउँछन् । लामो समयदेखि डाँडापारीको समस्यालाई नजिकबाट नियालेका उनी सालधाराको पानीडाँडा र बेलडाँडा र्सार्न सकिए त्यहाँका मानिसहरूको ज्यान जोगिन्थ्यो भन्छन् । 'पहिला नै त्राही-त्राही भएर बसेको अहिले त उठीबास हुने भयो' तुइचेको पहिरो सम्भिmँदै उनी थप्छन् '०५० सालको बाढी-पहिरोमा यो पहिरोले १० जनाको ज्यान लियो । ०४५ सालको भूकम्पमा नै बस्ती बसाउन अयोग्य भनिएको थियो तर गरिब जनता कहाँ जाउन् -'

 

यहाँका सर्वसाधारणले देवीदेवता रिसाएकी भन्ठानेर गाउँ, टोल र मन्दिरहरूमा क्षमा पूजा मात्र गरेनन्, ध्यान-जप पनि गरे तर भूकम्पको कम्पनहरू रोकिएनन् । विसं १९९० सालको भूकम्प व्यहोरेका कतिपय ज्येष्ठ नागरिक 'दिउँसो १२ बजे देउता रिसाएको नभएर राक्षसहरूबीच लडाइँ भएको' भन्छन् । नगरकोट, पनौती र बनेपालाई केन्द्रबिन्दु बनाएर धेरैपटक भूकम्पका पराकम्पन आएकाले जमिन थर्कियो, मानिस र पशुपंक्षी मात्र मरेनन् गाउँका प्रायः घरहरू भत्किए ।

 

भूकम्पका कारण विस्थापनमा पर्नुपरेको समस्या खुलालको मात्र होइन, पहिरोले उठिबास लगाएको पीडा पोखरीचौरी गाविस-९ खारका भीमराज गिरीले पनि सुनाए । पोखरीचौरी गाविस-३ र ४ को बीचमा रहेको तुसारे पात्लेखेतमा दुई किलोमिटरसम्म सुख्खा पहिरो गएकाले यहाँका १ सय ४० घरधुरी उच्च जोखिममा छन् । सुलिकोटमा त पानीको मुहान नै सुक्यो । खेतको बीचमा रहेको यहाँको बस्ती त्यही ठाउँमा अस्थायी टहरा बनाएर बसेको छ । वर्षामा यो बस्ती रहन नसक्ने भन्दै स्थानीयले चिन्ता गरेका छन् । खारमा हरेक वर्ष १० लाख बराबरको कफी फल्थ्यो । आम्दानीको स्रोत धान र कफी खेती बिग्रिएपछि गाउँमा अनिकालको त्रास बढ्दो छ ।

 

यो समस्या गाउँका अगुवाहरूले प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारीलाई पनि सुनाए । तर, समस्या उस्तै छ भन्छन् भीमराज-'यहाँको शैलुङ्गेश्वर प्राविको हालत पनि उस्तै छ । बच्चाहरू विद्यालय जान डराइरहेका छन । हेर्न जाउँला भन्थे तर गएका छैनन् ।'

 

काभ्रेको विकट मानिएको कोशीपारीको गोठपानी गाविस-३ सल्यानीटारका स्थानीय नारायण खरेलको जग्गामा पाल टाँगेर बसेका छन् । घिसिङगाउँका १४ घरधुरी यस्तै समस्यामा देखिन्छन् । बिर्तादेउराली गाविस-१ को पटुवारमात्र नभएर माझिफेदा गाविस-९ को सोलम्बुमा १ फिटजति जमिन फाटेका कारण यहाँका ३० घरधुरी डर नै डरमा छ । सानो वाङ्थलीको लेकमा ५० घरधुरीले खानेपानी सुकेर तल्लो भागमा पलाएको छ । घ्रयाम्राङखोला, डाँडाखर्क र मुक्तानटोलको पानीको मुहानमा क्षति मात्र नभएर इन्टेकसमेत बिग्रिएको छ । पहिरोको त्रासमा नाँग्रेगँगर्चे गाविस-८ दुतिका १२ घरधुरी विस्थापन भएर अन्यत्र गएका छन् भने थप चार घर पहिरोको जोखिममा देखिन्छन् । यहीँ गाविसको वडा नम्बर ९ को मादले टोलमा करिब दुई मिटर जमिन फाटेका कारण १५ घरधुरी विस्थापनको समस्यामा छ । मादनकुँडारी गाविस-९ चुच्चेडाँडामा करिव २५ मिटर जमिन फाटेका कारण यहाँका केही परिवार समस्यामा देखिन्छन् ।

 

कात्तिकेदेउराली गाविस-१ आरुबोटको स्कूलडाँडा ८५ मिटर जति लम्बाइमा फाटेकाले केही परिवार विस्थापनको त्रासमा छ । यहीँ गाविसको बल्टार, पाथीभरा, पुरानोगाउँ, दारिमबोटका गरी ९९ घरधुरी जमिन फाटेका कारण पहिरो जानसक्ने भन्दै त्रासमा छ । डाँडाटोलदेखि थुम्काडिलसम्म मात्र नभएर कालिमाटीदेखि ड्याङडुडे र भिरकुनामा जमिन चर्केका कारण एक सय भन्दा बढीले पहिरोको जोखिम मोलिरहेका छन् । यहाँ वैशाख १२ गतेको भूकम्पमा पलाएको पानी वैशाख २९ गतेको भूकम्पपछि सुकेको मात्र नभएर छबीसेको पानीको ट्याङ्कीसमेत फुटेको छ । पहिरोका कारण कोशिपारी जाने सडक अबरुद्ध भएकाले केहीस्थानमा मर्मत-सुधार गरिएको छ । काभ्रे जिल्ला दक्षिणपूर्वी मनसुन प्रभावित क्षेत्रमा पर्ने हुनाले असारदेखि भाद्रसम्ममा प्रशस्त पानी पर्दथ्यो । जिल्लामा सबैभन्दा बढी वर्षा हुने कोखाजोर खोला क्षेत्रमा अहिलेसम्म वर्षा भएको छैन ।

 

पहिरोको उच्च जोखिममा रहेको च्याम्राङबेशी गाविस-१ को स्याल्मा, टाङ्ग्रो र गाँठेडाँडाका २० घरधुरी ढुङ्गा खस्ने, पहिरो आउने र डाँडा भासिने डर छ । यहाँका केही घरधुरी अर्काको जग्गामा टहरा बनाएर बसेका छन् भने १० घरधुरी लालाबाला बोकेर पनौतीस्थित आफन्तको घरमा बसेका छन् । सेतीभीर खसेका कारण गाउँ नै त्रासमा रहेको च्याम्राङवेशी गाविस-२ को च्याम्राङटोल, चियानडाँडा, नागबेदी, लोभिनाघारी, तिखेढुङ्गाका अधिकांश परिवार काठमाडौँ सुनाकोठीमा शरण लिएर बसेको छ । लामिडाँडा, डाँडाघर, झमिलाघारी, भालुछाप्रो र खरिछाप्रोका १८ घरधुरी पहिरोको त्रासमा अर्काको जग्गामा गएर बसेको छ । चौतारा, पोलसिंह, फूर्केथली र झिँगेका २७ घरधुरी वस्तुभाउ घिच्याँउँदै बासको खोजीमा भौँतारिएको छ । यहाँ सबैलाई राख्न सकिने सरकारी जमिन वा चौरको अभावका कारण सरकारी निकायसमेत तनावमा देखिन्छन् । स्थानीय अगुवा भोटु दाहाल भूकम्पका कारण डाँडो चिराचिरा भएर भासिने डरमा यहाँका १ सय २ परिवार घरबारी छोडेर अर्काको बारीमा पाल हालेर बसेको बताउँछन् । भूकम्प, हावाहुरी र पहिरोको जोखिममा परेका उनीहरूका लागि तत्काल अन्यत्र सानुपर्ने उनको तर्क छ । जिल्लाको धरातलीय विविधतासँगै यहाँको हावापानीमा विविधता छ ।

 

तिमाल अर्न्तगत पोखरीनारायणस्थान गाविस-३ माकूचेडाँडाका ३२ घरधुरीका २ सय ७९ जना सोही वडाको धुचेमा विस्थापित भएर बसेका छन् । जमिन चर्किएर बस्तीमाथि भएको ठूलो ढुङ्गा आएर बसेकाले गएको जेठ २ गते पानी पर्दा यहाँका सर्वसाधारण जङ्गलमा गएर रात बिताए । नजिकैको भूकेचेडाँडा भासिनसक्ने खतरामा डरसँगै रात बिताए । रोशीअर्न्तगत भीमखोरी गाविस-४ मा जमिन चर्केर पहिरोको आशङ्कामा दुई घरपरिवार जोखिममा छन् । बिहाबरअर्न्तगतको कुशादेवी गाविस-५ भञ्ज्याङका चार घरधुरी पहिरोका कारण विस्थापनमा परेका छन् । र्‍याले गाविस-४ को जफूमका चार घरधुरी पोखरीडाँडामा गएर बसेको छ । कोलाती भूमेडाँडा-७ खारखोलाका १४ घरपरिवार ठूलो ढुङ्गा खस्ने सम्भावनाका कारण विस्थापनमा परेको छ । नालाको टुकुचा गाविस-४ चारघरेका चार घरपरिवार जमिन चिरा परेर पहिरो आउनसक्ने भन्दै देविटार गाविस-४ मा गएर बसेको छ ।

 

मण्डनको महादेवस्थान गाविस-३ मा रहेको सल्लेनी बगुवा सामुदायिक वनअर्न्तगतको बगुवा पाखामा सुख्खा पहिरो गएका कारण स्थानीय त्रसित छन् । यो पहिरोले खेतीयोग्य जमिन मात्र बिगारेन, थप पहिरो जानसक्ने डरमा रायोबारीका ११ घरधुरी थप सङ्कटमा देखिए । देवीटार गाविस-४ मा जमिन चिरा परेकाले स्थानीय वर्षायाममा यहाँ पहिरो जानसक्ने डरमा छन् । गैरिबिसौना देउपुरका प्रायः घर जमिनसँगै मिले, बाँस र गाँसका लागि भौँतारिइरहेका खाटेचौरका ९९ घरधुरी बस्ती नै फुटेका कारण अन्यत्र सार्नुपर्ने देखिन्छ ।

 

चण्डेनी गाविस-७ तिनधारामा खानेपानीको मूहान सुकेको छ । जिल्ला दैवी प्रकोप उद्दार समितिमा प्राप्त विवरण अनुसार काभ्रेमा १ सय ६० घरधुरी विस्थापनमा परेको छ भने ४ सय ५० घरधुरी पहिरोको उच्च जोखिममा छन् । काभ्रेका प्रमुख जिल्ला अधिकारी सुर्दशनप्रसाद ढकाल पहिरोको जोखिममा रहेका बस्तीहरूलाई सुरक्षित स्थानमा सार्नुपर्नेमा जोड दिन्छन् । तर,गाउँलेहरूको रोजाइको सुरक्षित स्थान कहाँ हो भन्ने कुरा उनैलाई थाहा छैन । पर्याप्त प्राविधिक जनशक्ति र उपकरणको अभावमा सबै गाउँमा टोली समेत परिचालन गर्न नसकेको स्थानीय प्रशासन बर्खामा समस्या आउनसक्ने भन्दै आवश्यक जनशक्ति जुटाउन भने प्रयासरत देखिन्छ । भूकम्प र पहिरोका कारण सर्वसाधारणले जोहो गरेको विउ विजन मात्र पुरिएन कतिपयका खेतियोग्य जमिन नै नष्ट भएका छन् ।

 

डाँडापारीकै घर्तिछापका शिक्षक ध्रुबकुमार दर्लामी पान्लेमा पहिरो गएकाले बस्ती नै सार्नुपर्ने अवस्था रहेको बताउँछन् । यहाँको दक्षिणी भेग भूकम्पले फुटेका कारण वर्षामा पहिरो जानसक्ने त्रासमा स्थानीय उत्तरी क्षेत्रमा आएर बसेको उनको भनाइ छ । यहाँका अगुवा टङ्क आले भने भूकम्पले घरबाट पाटोमा र पाटोबाट पहिरोले बाटोमा पुर्‍याएको गुनासो पोख्छन् । यस जिल्लामा पहिरोका कारण ठूलोपर्सा बोहोरे दोभान सडक, सिपाली-बुढाखानी, नेपालथोक-चोपटार, भूम्लुटार, लाकुरीडाँडा-सालथुम्का सडक अबरुद्ध भएकाले हटाउने काम भएको छ । राष्ट्रिय जनगणना-२०६८ अनुसार जिल्लाको कुल क्षेत्रफलमध्ये ४३ दशमलव ८ प्रतिशत कृषि भूमि, ५२ दशमलव ५ प्रतिशत वन क्षेत्र रहेको छ । जिल्लाको १२ हेक्टर जमिन भुक्षय क्षेत्र र २८ दशमलव १ प्रतिशत भिरालो, १० दशमलव २ प्रतिशत कम भिरालो क्षेत्र छ । कषि, उपत्यका, बन, झाडी र चरण क्षेत्रमा भने कम असर देखिन्छ ।

 

भूकम्पले कहीँ मूल सुक्यो भने कहीँ मूल फुट्यो । अधिकांश गाविसमा बिहान बेलुका खाना पकाउने र खानेपानीको अभाव छ । खानेपानीको मूहान सुकेपछि १ सय १५ घरधुरी पानीको अभावले समस्यामा रहेको महाँकालचौर गाविस-६ भञ्ज्यार्ङखर्कका चन्द्रबहादुर तामाङले बताए -'पानी अभावकै कारण नुहाउन र कपडा धुनको लागि २/३ घण्टा तल खोलासम्म पुग्नुपर्छ ।'गाईवस्तु पाल्नेका लागि पानीको झनै समस्या छ । विनाशकारी भूकम्पले घरहरू त क्षति भयो नै पनौती नगरपालिका-४ टौखालस्थित डिही गाउँमा रहेको वर्षौ पुरानो मूल सुकेपछि स्थानीयलाई पानीको समस्या थपिएको छ । स्थानीय फत्तबहादुर श्रेष्ठ भन्छन्-दुई ओटा मूल रहेको पँधेरो सुकेर कमिला हिँडेको देखिन्छ । वर्षौदेखि पानीको समस्या व्यहोरेको तिमाल क्षेत्रका मुहान सुकेका कारण पानीको हाहाकार देखिन्छ । भूकम्पपछि रोशी, इन्द्रावती खोला भरिएका छन् भने शहरका इनारहरू सुकेका छन् । पानीको मूहान बढेर सुख्खाबस्तीलाई रसिलो बनाएको ज्याम्दी गाविस-५ का बृद्ध शिवराम सापकोटा बताँउछन् । यता दाताहरूले ल्याएको मिनरल वाटर भने जिल्लातिरै थन्किएको छ ।

 

काभ्रेका सिवालिक क्षेत्रहरू पाँचखाल, महादेवस्थान, भकूण्डेबेशी, मंगलटार, तालढुङ्गा, शिखरआम्बोटे र गोकुले गाविसमा अर्धउष्ण हावापानी पाइन्छ । बनेपा, पनौतीलगायत जिल्लाका अधिकांश भागमा न्यानो समशीतोष्ण हावापानी र चौवास,च्याम्राङवेसी, नगरकोट, पोखरीनारायणस्थान तथा महाभारत श्रृङ्खलाहरूमा ठण्डा शीतोष्ण हावापानी रहेको छ । सुनकोशी र इन्द्रावतीको मुहान हिमाली क्षेत्र रहेकोले यी सदैव अटुट रूपमा पूर्ण जल प्रवाह साथ बग्दछन् भने रोशी, कोखाजोर खोला,बाग्मती, खानी खोलाको मूहान महाभारत श्रृङ्खला पर्ने भएकोले हिउँदमा यस नदीमा पानीको मात्रा घट्दछ तर, सुक्दैन । जिल्लाको हावापानीको विविधताको साथसाथै धरातलीय उचाई र बनौट पनि फरक छ । आजकाल यहाँ मुख्य जनावर, पंक्षी र जलचर देखिन थालेका छन् । भूकम्पका कारण जिल्लामा पर्यावरणीय, कृषि, धार्मिक, शैक्षिक पर्यटन र होमस्टेहरू आर्थिक मारमा परेको बताउँछन् ।

 

- भोजराज तिमल्सिना