गाउँ-गाउँमा जिवितै छ बालीघरे प्रथा !

पर्वत । ०७५ भदौ २७ गते

उमेर ८२ वर्षभैसक्यो तर उनका हात अहिले पनि खलाती (आरनमा आगो फुक्ने छालाको साधन) मै अभ्यस्त छन् । १२ वर्षको उमेरमा समातेको खलाती अहिले पनि उनका लागि पेट पाल्ने र परिवारको खर्च धान्ने साधनका रूपमा परिचित छ । बुढ्यौलीले ढाकेपनि उनी निरन्तर खलातीको हावाले आगो सल्काउँदै फलाम तताउने दैनिकी छाड्न सक्दैनन् । फलेबास नगरपालिका-५ खानीगाउँका ८२ वर्षीय जगतबहादुर बिक ७० वर्षदेखि खलाती फुकेर परिवारको बिहान बेलुकाको हातमुख जोड्ने काममा व्यस्त छन् । ‘यही खलाती फुकेर ७० वर्षदेखि परिवार पाल्दै आएको छु ।’-उनले भने-‘परान (श्वास) रहुञ्जेल यही खलाती मेरो हातमुख जोड्ने साधन हो । खलाती फुक्न छाड्दा मेरो श्वास पनि रोकिन्छ होला ।’

Photo20180912Parvat (1)

आरन चलाउने काम जगतबहादुर बिकको परिवार पाल्ने पुख्यौली पेसा नै हो । उनका बाबु बराजेले पनि यही पेसाबाट परिवार पालेका थिए । अहिलेको विकशित समयमा पनि उही पुरानै बालीघरे प्रथाकै भरमा उनको पेसा चलेको छ । बाली घरे प्रथाका कारण श्रमिकहरू मर्कामा परे भनेर यसलाई रोक्न ठुलाठुला आन्दोलन भए । सम्झौता भए । तर, उनलाई त्यसको अत्तोपत्तो छैन । उनी त्यस्ता कुरामा वास्ता पनि गर्दैनन् । ‘अरूले बालीघरे छाडे । तर, मेरो परिवार पाल्ने पेसा नै यही हो । बाँचुञ्जेल छाड्दिन ।’-उनले भने-‘म बालीघरेबाट सन्तुष्ट छु । अरूको कुरा जान्दिनँ ।’ जगतबहादुरले अहिले पनि वार्षिक ५ पाथीदेखि १० पाथीसम्म अन्न उठाउँदै आएका छन् । यसरी उठाएको अन्नले उनले वार्षिक रूपमा घर खर्च चलाएको बताउँछन् ।

बालीघरे प्रथाका पक्षमा जगतबहादुर अहिले मात्रै होइन १२ वर्षको उमेरदेखि नै थिए । बाबुले काम गर्न नसकेपछि उनले १२ वर्षदेखि नै आरन चलाउन थाले । फलामका धातु पिटेर हँसिया, बन्चरो, कोदाली, फाली बनाएरै उनले घर खर्च चलाउन थाले । आरन चलाउँदै गर्दा उनलाई भारत जाने सोच आयो । पहिले उडिसा र पछि आसाम पुगेर रोजगारी गरे । भारतमा गएपछि उनलाई अरू पेसा होइन आरन नै चलाउन मन लाग्यो । २२ वर्षजति भारतमा बिताएर २०१८ सालमा उनी फलेबास फर्केर फेरि पुरानै आरन चलाउन थाले । ‘भारतमा गए पनि आरन चलाउन छाडिनँ ।’-उनले भने-‘अरू काम गर्दा कमाई नभएपछि आरन चलाउँदा सोचेभन्दा बढी कमाई भयो ।’ भारतमा उनले मासिक ५ सय रुपियाँसम्म हँसिया र धान काट्ने कँचीया बनाएर कमाई गरे । त्यसबेला त्यो कमाई सबैभन्दा बढी थियो ।

Photo20180912Parvat (2)

नेपाल फर्केपछि पनि उनले यही पेसा अँगाले । नेपाल फर्केपछि साविकका शङ्करपोखरी, खानीगाउँ, देबिस्थान र मुडिकुवाका झण्डै २ सय घरमा बालीघरे प्रथाका आधारमै आरन चलाए । त्यसबेला उनले २० देखि ३० मुरी अन्न उठाउँथे । अन्न उठाउन मात्रै परिवारका सदस्यले महिना दिनभन्दा बढी समय लगाउनुपथ्र्यो । उनी सम्झन्छन-‘महिना दिनसम्म त अन्न उठाउन हिँड्नै समय लाग्थ्यो । कतिघरमा त वर्षमा एक दिन पुग्न पनि मुस्किल !’ त्यसबेला उनका ६ भाइ छोरा र ७ बहिनी छोरी सहितको परिवार उठाएको अन्नले सजिलै पाल्न सक्थे । ‘परिवार पाल्न एक गेडो अन्न बेसाइनँ (किनिनँ) ।’-उनले भने-‘बरू छिमेकीलाई दुई चार पाथी बाँड्न पनि पुग्थ्यो’ । फलेबास हिजो गाउँ थियो अहिले नगरपालिका भएको छ । गाउँ क्रमशः बजारमा रूपान्तरित बन्दैछ । तर, उनको दुःख कहीँ गएको छैन । ८२ वर्षको उमेरमा पनि ५ किलोको घन उचालेर फलाम पिट्न उनका हात अभ्यस्त देखिन्छ । अहिले उनलाई सबैभन्दा बढी फलाम पगाल्ने गोल (दाउराको कोइला)को समस्या परेको छ । पहिले जङ्गलमा सालका जरा उखेलेर गोल बनाउँथे, अहिले जङ्गल जान बुढ्यौली लागेपछि सक्दैनन । नजिक रूख काट्न पाउँदैनन् । गोल बनाउनुको साटो हँसिया बोकेर आउने ग्राहकले नै सालका दाउरा ल्याउँछन् । आगो बालेर फलामका सामग्री तयार पार्छन् । ‘मेरो प्राण रहेसम्म यही आरनमा फूफू गरेर बित्ने भो !’-उनले हाँस्दै भने-‘अरूलाई जे सुकै होस् । मलाई मेरो परिवार पाल्न यही पेसा ठिक छ ।’

फलेबास नगरपालिकाले अरूलाई आगो सल्काउन आरन चलाउने मेसिन दिएपनि आफूलाई नदिएको गुनासो गरे ।’-जगत बहादुरले भने । फलेबास नगरपालिकाले भने आरनलगायत तामाका भाँडाकुँडा बनाउन गाउँमा उद्योग ग्राम खोल्ने योजना बनाएको छ । एकै ठाउँमा सबै उद्यमीलाई राखेर नगरपालिकाले उद्योगका लागि घर र सामग्री दिने उद्देश्य राखेको नगरप्रमुख पदमपाणी शर्माले बताए । ‘घरेलु हतियार उद्योग बनाउने गरि उद्योग ग्रामको अवधारणा बनाएका छै ।’-उनले भने-‘अब कसैले सहयोग पाइनँ भन्ने अवस्था नै आउँदैन । चाहे जति सहयोग र सामग्री उपलब्ध गराउन बजेट व्यवस्थापन गरेका छौँ ।’ नगरपालिकाले चालु वर्षको बजेटमा ३० लाख रुपियाँ घरेलु हतियार उद्योग ग्राम बनाउन बिनियोजन गरेको छ ।


सन्तोष थापा







Top