खोरहरूमा डोमहरू

०७६ चैत ५ गते

कोही कोल्टो परेर त कोही हात खुट्टा फैलाएर सुत्छन् । अझ कोही घोप्टिएर त कोही उत्तानो परेर सुत्छन् । कोही सुतेका बेला फनफनी घुम्छन् । मानिसको स्वभाव अनुसार मात्र नभई अवस्था अनुसार पनि सुत्ने तरिका फरकफरक हुँदो रहेछ ।

photo20200318saptari (1)

सप्तरीका ६५ वर्षीय जुक्तिदेव मरिकको खुट्टा खुम्च्याएर गुडुल्किएर सुत्नुको विकल्प छैन । चिकित्सक विशेषज्ञहरूका अनुसार घुँडालाई खुम्च्याएर कुप्रो परेर सुत्नु स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ । त्यसैले सुत्ने तरिका सहि हुुनुपर्छ । तर, जुक्तिदेव चाहेर पनि खुट्टा फैलाएर सुत्न सक्नु हुन्न ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका५ स्थित राजविराजकुनौली सडक किनारको भिरालोमा रहेको ऐलानी जमिनमा ११ जना परिवारको एउटा डोम वस्ती छ । त्यहाँ बाँसको बत्तीले बनेको गोलाकारको सुँगुरका खोरहरू छन् । खोरसँगै टाँसिएको त्यो भन्दा सानो डोमहरूको घर छ ।

साढे तीन फिट लामो र त्यतिनै चौडा भएको खोरभन्दा सानो मरिकको घर छ । उहाँ चार हातपाउ टेकेर भित्र पस्नु हुन्छ । तेर्सो परेर सुत्दा पनि खुट्टा तन्काउने ठाउँ पुग्दैन् । भुइँमा ओछ्याइएको परालमाथि राखिएको मैलो कम्बलमा सुत्नु हुन्छ र त्यही कम्बल ओढनु हुन्छ ।

photo20200318saptari (2)

मरिकले दुई छोरी र तीन छोरा हुर्काउनु भयो । छोरीहरू प्रमिला र सुशिलाको १६ नपुग्दै विवाह भयो । छोरा ठूला नहुँदै छुट्टिए । उहाँको भागमा त्यही छाप्रो प¥यो । गरिवी र भूमिहीनताको सङ्कट झेल्न नसकेर उहाँकी पत्नीले छाडेर हिँडेपछि एक्लिएका मरिक अहिले बुढेसकालमा कष्टपूर्ण गुजारा गर्दै आउनु भएको छ ।

स्थानीय रबी रायका अनुसार उहाँका छोराछोरी सबैको वरिपरि टालटुल गरिएको छाप्रो छ । सबैलाई दुई छाक खान धौधौ छ । सुँगुरको भन्दा सानो खोरमा रात काटिरहेका यी वृद्ध खाना पकाउन सक्नु हुन्न । दया गरेर छिमेकी वा छोराछोरीले उब्रेको खाना ल्याइदियो भने उहाँको छाक टर्छ ।

छाप्रोमा चिसो भुइँमा सुत्ने उहाँ एक्लो होइन । गोला मरिकसँग विहे गरेर आउनु भएकी रुन्ती मरिक सुँगुरको खोरमाथि सुत्ने गरेको पाँच वर्ष भयो । सुँगुरको खोरमाथि बनाइएको सानो मचानमा सुत्दै आउनु भएकी २१ वर्षीया रुन्तीले ५ वर्षको अवधिमा त्यही खोरमा दुई छोरी र एक छोरालाई जन्म दिनु भयो । मरिक दम्पतिलाई समेत सुत्न खुट्टा खुम्च्याउनु पर्ने मचानमा अहिले उहाँहरूका छोरा तीन वर्षीय नितिश तथा छोरीहरू चार वर्षीया पुजा र तीन महिनाकी सङ्गीता पनि अटाउँछन् ।

photo20200318saptari (3)

हावा, पानी नछेकिने गरी बाँसको बत्ती र थोरै परालले छाएको झुप्रोमा पराल ओछ्याएर रीता मरिकको परिवार सुत्ने गर्छन् । पानी छेक्न कालो प्लाष्टिकले छोपेको छाप्रोमा पिङ्कीदेवी मरिकको परिवार पनि भुइँमै रात गुजार्छन् । यसरी पुस्तौदेखि ऐलानी जमिनमा बस्दै आएका डोमहरू खोरहरूमा सपरिवार सुत्छन् ।

आर्थिक रूपले विपन्न भूमिहीन डोम समुदाय सुँगुर पाल्छन् र बाँसजन्य सामग्री बनाएर बेचबिखन गरी जीविकोपार्जन गर्छन् । बिहानै उठेर सुँगुर चराउनु, मजदुरी गर्नु र बाँसजन्य सामाग्री बनाउनु डोमहरूको दैनिकी हो । आम्दानीको कुल रकममध्ये सबैभन्दा बढी मधपान र धुम्रपानमा खर्चिने भएकाले कमाएकै दिन खर्चिन्छन् ।

अभाव र दरिद्रताले परिवारका सदस्यहरू बीचको झगडाले डोम समुदायको परिवार चाँडै टुक्रने गरेको पूर्व वडा अध्यक्ष जयप्रकाश ठाकुरले बताउनु भयो । गोला मरिकका बुवा जगदेव र आमा जलेशीले पनि दिनहुँ हुने झगडाबाट आजित भएर पाँच छोरालाई सानै छँदा अलग गरि दिनु भयो । जुक्तिदेवले पनि तीन भाई छोराहरूलाई सानैमा अलग गरी दिनु भयो । सबैको सम्पत्तिको नाममा सुँगुर, सुँगुरको खोर र खोरसँगै वा खोरमाथि सुत्ने घर छ ।

photo20200318saptari (5)

कथित जातीय छुवाछूतका कारण माथिल्ला जातिकाले गाउँवस्तीमा बस्न दिँदैनन् र आफ्नै जातीय प्रचलनअनुसार अन्यत्र गएर बस्न पनि पाउँदैनन् । डोम समुदायका माइन्जन (अगुवा) छिन्नमस्ता गाउँपालिका२ का युक्तिलाल मरिक भन्नुहुन्छ–‘अधिकांशसँग जमिन किन्ने हैसियत नभएकोले बस्तीभन्दा टाढा सडक किनार, ऐलानी, पर्ती, गाउँ ब्लकको जमिनमा छाप्रोटहरा बनाएर बसेका छन् । रोजीरोटी, व्यवसाय गर्नका लागि आफ्नो भागमा परेको भूगोलभित्र अन्य क्षेत्रका डोमलाई बस्न त के सामान बिक्री गर्ने अनुमति पनि नपाइने मरिकले अप्ठ्यारो सुनाउनु भयो । उहाँले समेत घर बनाउने अनुमति नपाउँदा राजविराजमा किनेको जमिन बिक्री गर्नु पर्यो । एक ठाउँका डोम अन्य ठाउँमा गएर बसोवास गर्न नपाइने प्रचलन कायम रहेकोले निश्चित भूगोलमा डोमहरूको सघन बसोवास छैन ।

पराल र प्लाष्टिकले छाएको फुसको छाप्रोमा हिउँद्बर्खा कटाउँदै आएका उनीहरूको घर बर्षामा चुहिन्छ, गर्मीमा आगलागी हुन्छ र हावाहुरीले उडाउँछ । डोमबस्ती वरिपरी खाल्डोमा पानी जम्ने हुँदा दुर्गन्ध र लामखुट्टेको प्रकोप छ ।

राजविराजकुनौली सडक विस्तार र स्तरोन्नतिका कारण उहाँहरूले त्यहाँबाट पनि हट्ने सूचना पाउनु भएको छ । वर्षौदेखि जिर्ण रहेको भारत बिहारको कुनौलीसँग जोडिने सडक स्तरोन्नतीले जिल्लाको विकासमा टेवा पुग्ने भन्दै उद्योगी, व्यावसायीहरू खुशी छन् । तर, सामान्य अवस्थामा पनि हातमुख जोर्न धौधौ पर्ने डोम परिवारमा त्यहीँ सडक विस्तारले थपेको पीडा र उनीहरूको व्यवस्थापनतर्फ कसैको ध्यान पुगेको छैन । सडक छेउको ऐलानी जग्गामा बनाइएको खोर र छाप्रोहरू हटाउनु पर्ने भएपछि ओत लाग्ने सहाराको खोजिमा रहेका उहाँहरू अब कहाँ पो जाने भन्ने चिन्तामा पर्नु भएको छ ।

photo20200318saptari (8)

सप्तरीमा मरिक, सप्तरीपूर्व बाँसफोर र मरिक, झापातर्फ मल्लिक, सिरहा र धनुषामा मल्लिक र डोम, पर्सामा मल्लि र राउत थर लेख्ने डोम समुदायको जनसङ्ख्या राष्ट्रिय जनगणना २०६८ अनुसार १३ हजार २ सय ६८ छ । यो भनेको कुल तराई दलितको एक प्रतिशतभन्दा कम हिस्सा हो । डोम समुदायको कूल जनसङ्ख्यामध्ये तराईमा नै १२ हजार ८ सय ३३ बसोवास गर्दै आइरहेको राष्ट्रिय योजना आयोगको केन्द्रीय तथ्याङ्क विभागमा उल्लेख छ । सप्तरी, सिरहा, सुनसरी, मोरङ्ग, झापा, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा र पर्सामा तुलनात्मक रुपमा यो जातीको बसोवास रहेको पाइन्छ ।

अति विपन्न यी प्रत्येक परिवारसँग गरिखाने मेलोको नाममा बाँसजन्य सामाग्री बनाउने हातको सिप मात्र छ । उहाँहरूले बनाएको सुपली, ढाला, कोनिया, ढकिया, पङ्खा भगवानलाई चढाइन्छ, कानुनी रूपमा छुवाछुत अन्त्य छ तर पनि डोमहरू भने छोइन्छ । डोमलाई हिन्दू वर्णव्यवस्थामा सबैभन्दा तल्लो वर्णको रूपमा राखिएकाले शोषणको सबैभन्दा बढी मारमा पर्दै आएका छन् र दिनहुँ छुवाछुत भेदभावको शिकार बनेका छन् ।

अन्य दलितहरूबाट समेत पीडित र लाञ्छित डोम समुदायले यस्तो अन्यौलको जीवन बिताउन थालेको पुस्तौ भइसक्यो । दलित जातिमध्ये सबैभन्दा कमजोर, उत्पीडनमा परेको र दलितहरूबाट समेत हेपिएको समुदाय नै डोम रहेको साहित्यकार राजेश बिद्रोहीको दाबी छ । जातिय पेशा र कमजोर आर्थिक अवस्थाले सामाजिक घुलमिलभन्दा पर रहेका डोमको आफ्नो जमिन नहुनाले हमेशा उठिबासको समस्या छ ।

photo20200318saptari (7)

विभेद, गरिवी र भूमिहीनता डोम समुदायको मुख्य समस्या रहेको अनुसन्धानले नै देखाएको छ । राष्ट्रिय दलित आयोगद्वारा २०६५ सालमा प्रकाशित मधेसी दलित समुदायको परिचयात्मक पुस्तिकामा पाँच प्रतिशत डोमको स्थायी घर छ भने ८०.४ प्रतिशतको घर अस्थायी प्रकृतिको रहेको उल्लेख छ । सबैलाई गरिवीले सताएको छ, खान छैन, लाउन छैन, सन्तान पढाउनुपर्छ भन्ने अभिभावकलाई ज्ञान पनि छैन ।

सप्तरी जिल्लालाई ०७४ चैत २१ गते खुला दिसामुक्त जिल्ला घोषणा गरिए पनि डोम बस्तीमा नै शौचालय छैन । बिजुली बत्ति र शुद्ध पानीको सुबिधा छैन । पहुँच र अवसरबाट सदैव बञ्चित छन् । शिक्षा र निजामती सेवामा पहुँच नहुनाले राज्यबाट प्राप्त हुने सुविधाबाट बञ्चित यो समुदायसम्म संविधानले संरक्षण गरेको अधिकार पनि पुगेको छैन । दलित वा अल्पसङ्ख्यकको कोटामा डोम समुदाय कहिले नपरेको जलेशी मरिकको दुखेसो छ ।

देशमा भएको पछिल्लो परिवर्तनले अन्य दलित समुदायको आर्थिक, सामाजिक, राजनीतिक प्रतिनिधित्व र पहुँच बृद्धि भएपनि अपहेलित, शोषित, बहिष्कृत डोम समुदायका मानिसहरू वडा सदस्य पनि हुन पाएका छैनन् । स्रोत/साधनबाट विमुख, भूमिहीन, निरक्षर, गरिव, बेरोजगार डोम समुदायलाई राज्यले विशेष प्राथमिकतामा राख्नु पर्ने लेखक मणिलाल विश्वकर्माले बताउनु भयो । नेपालमा डोम र मेस्तर जातिको अवस्था पुस्तिकाका लेखक विश्वकर्मा भन्नुहुन्छ–‘सिङ्गो दलित समुदायलाई एउटै समरूप समूहमा लिने प्रवृत्ति अर्थात डोम र अन्य दलितलाई एकै किसिमले विश्लेषण गरेर सही निष्कर्षमा पुग्न सकिँदैन् । तसर्थ सबैभन्दा पछाडि रहेको यो समुदायको न्यायोचित व्यवस्थापनमा राज्यको ध्यान अविलम्ब पुग्नुपर्छ ।

- मनोहरकुमार पोखरेल