खानीकाे जिन्दगानी

०७७ साउन ३२ गते

अनकन्टार भिरको कपेरामा ठूलो ढुङ्गाखानी । महिलाहरू गिट्टी फुटाउँछन् । कपेरामा बसेर पुरूषहरू ढुङ्गा झिक्छन् । ढुङ्गा फोर्ने र गिट्टी कुट्ने कसैको टाउकोमा हेलमेट छैन । दैनिक पानी परेरहेको छ । बर्षात भएकाले त्यतिकै पनि जमिन गलेको छ । सिमसिम बर्षातमै पनि थुप्रै व्यक्तिले दैनिक जोखिमपूर्ण काम गरिरहन्छन् । एकटकले हेरेर काम गर्नुपर्छ । आँखा झिमिक्क गरे जे पनि हुनसक्छ । एउटा ढुङ्गाबाट झुक्किए पनि खानीका कसैले ऐया ! सम्म भन्न पाउँदैनन् । हतपत भाग्ने विकल्प छैन । झट्ट देख्दा मान्छेले काल खोजेकै जस्तो लाग्छ । तर वर्षौँदेखि यो ढुङ्गाखानीमा २ सय विपन्न परिवारले जीवन खोजिरहेका छन् । यो जोखिमपूर्ण ढुङ्गाखानीको बिषयमा स्थानीय तह वा प्रशासनलाई कुनै चासो छैन् । खानीका श्रमिकहरूले जोखिमसँगै बाध्यतामा काम गरिरहेका छन् । सुरक्षाका न्यूनतम मापदण्ड पनि कसैले अपनाएका छैनन् । रोजगारीका अवसरहरू पनि छैनन् । जसका कारण श्रम अनुसारको पारिश्रमिक नभएपनि जोखिमपूर्ण काम गर्न बाध्य छन् ।

 

प्युठानको गौमुखी गाउँपालिका–३ रजबारका ६१ वर्षीय अमरध्वज गुरूङले ढुङ्गाखानीमा काम गर्न थालेको पाँच वर्ष भयो । बिहान ८ बजेबाट घाम नडुब्ने बेलासम्म खानीमै काम गर्नुहुन्छ । एक ट्याक्टर ढुङ्गा पुर्‍याए एक हजार रूपियाँ पाउँछन् । पत्नी तुल्सीले गिट्टी फोर्नुहुन्छ । छोरा विक्रमसँगै आफुले ढुङ्गा निकाल्दै आएको गुरूङले बताउनु भयो । ‘पलपलमा जोखिम छ । कति पटक भाग्छौँ ।’–गुरूङले भन्नुभयो–‘काम नगरेरै खान पुग्ने भए प्युठानबाट आउने नै थिएनौँ ।’ पानी नपरेको बेला ढुङ्गाखानीमा सबै जनाले ढुङ्गाको काम गर्छन् । खानीमा काम गर्ने गुल्मीसहित बाग्लुङ र प्युठान जिल्लाका छन् । आफुहरूको कामको आधारमा बजारको दैनिक पारिश्रमिक ८ सयदेखि १२ सयसम्म भए पनि खानीमा सोहि मूल्य पाउन तीन दिन काम गर्नुपर्ने श्रमिक बिक्रम गुरूङ्गले बताउनु भयो ।

photo2020081401gulmi

 

रेसुङ्गा नगरपालिका–१२ का ५१ वर्षीय गुनबहादुर बिकले सदरमुकाम तम्घास नजिकैको उर्लेनी ढुङ्गाखानीमा काम गर्नुहुन्थ्यो । काम गरिरहेकै अवस्थामा पहिरो खस्यो । गम्भीर घाइते बिकको मृत्यु उपचारकै क्रममा भयो । उहाँलाई परिवार पाल्न सजिलो थिएन । त्यसैले अप्ठ्यारो काम पनि वर्षौँ गर्नुभयो । गुनबहादुरको मृत्यु भएको डेढ वर्ष भयो । अहिले पनि उहाँकी पत्नी मनकला सोही ढुङ्गाखानीमा गिट्टी कुटेर गुजरा चलाउँदै हुनुहुन्छ । ‘पहिरोले आँखै अगाडि पतिको ज्यान गयो तर के गर्ने ? यही काम गर्नुको अर्को विकल्प छैन ।’–उहाँले भन्नुभयो–‘तीन / चार जना केटा केटी सहितको पेट पाल्न मुस्किल परेको छ ।’ गुल्मी दरवार गाउँपालिका–१ बलिथुमकी गाण्टीकुमारी कुँवर एक वर्षदेखि ओछ्यानमा नै हुनुहुन्छ । उहाँ पहिले पनि शारीरिक रूपमा अशक्त हुनुहुन्थ्यो । तर, ज्यान पाल्नकै लागि सोही ढुङ्गाखानीमा काम गर्नुपथ्र्यो । ‘एक दिन अचानक माथिबाट पहिरो खस्यो । अपाङ्गता भएकाले तत्काल भाग्न सक्ने कुरै थिएन । पहिरोले च्यापिएर गोडा भाँचियो । दैवले मेरो खुसी देखेन । चोटमाथि चोट खेपिरहेकी छु ।’–कुँवरले गुनासो गर्नुभयो–‘ढुङ्गा कुटेर छाक टार्नेलाई यो भन्दा ठूलो पीडा के होला ?’ अहिले हरेक जोखिमपूर्ण कामको दुर्घटना बिमा गर्न थालिएको छ । तर खानीमा काम गर्नेहरूलाई त्यो बिषयमा जानकारीनै छैन् । खानी सञ्चालकहरू पनि उनीहरू आफुहरूनै रोजिरोटीको लागि खानीमा काम गर्न आएको भनेर उम्कने गरेका छन् ।

 

गौमुखी गाउँपालिका–२ अर्खाकी ५० वर्षीया सुनिता बुढामगरले उर्लेनी ढुङ्गाखानीमा काम गर्न थालेको १० वर्ष भयो । बुढामगर छोरा र छोरीसहित गुल्मी सदरमुकाम तम्घासमा बस्दै आउनु भएको छ । बिहान ८ बजे नै खाना बोकेर आएदेखि साँझ अबेरसम्म खानीकै बास हुन्छ । राम्रोसँग गिट्टी फोर्न पाए १० दिनमा एक ट्याक्टर पुग्छ । ठेकेदारले एक ट्याक्टरको ३ हजारदेखि ३ हजार ५ सय रूपियाँ दिन्छन् । सुनिताले ढुङ्गा फोरेरै छोराछोरीलाई कक्षा १२ सम्म पढाउनु भएको छ । १५ वर्षदेखि पति गोविन्द बुढामगर परिवारको सम्पर्कमा हुनुहुन्न । बुढेसकालमा खानीमा आउने रहर नभएर सदरमुकामको खानपान, कोठाभाडा र छोराछोरीको पढाइ खर्चले बाध्यता बनाएको बुढामगरले सुनाउनु भयो ।

photo2020081403gulmi

कोरोना सङ्क्रमणको कारण निर्माणको काम ठप्प भएपछि खानीमा ढुङ्गाको काम गर्नेहरू पनि प्रभावित छन् । उनीहरूले निकालेका ढुङ्गा र गिट्टी सदरमुकामका विभिन्न निर्माणका काममा खपत हुन्थ्यो । चार महिना कुनै काम भएन । जसका कारण ढुङ्गा र गिट्टी बिक्री भएन । रेसुङ्गा नगरपालिका–४ सेउघाका ४१ वर्षीय ज्ञानबहादुर बिक र उनकी पत्नी फुलमायाले पाँच दिनमा एक ट्याक्टर गिट्टी पुर्‍याउनु हुन्छ । तर, दुख गरेर झरीमा कुटेका पाँच / सात ट्याक्टर गिट्टी बिक्री भएन । ‘सङ्क्रमणले गरीबका ढुङ्गा समेत बिकेनन् ? के खाने ?’–ज्ञानबहादुरले भन्नुभयो–‘त्यहि माथि क्रसरले रोजिरोटी खोस्यो ।’ निर्माण व्यावसायीहरू क्रसरतर्फ आकर्षित भएपछि खानी सञ्चालन र श्रमिक समस्यामा परेको खानी सञ्चालक गीरबहादुर बस्नेतले गुनासो गर्नुभयो । ‘पहिले क्रसर थिएनन्, हातले फोरेकै गिट्टी प्रयोग हुन्थ्यो ।’–बस्नेतले भन्नुभयो–‘अहिले सरकारी मापदण्ड भनेर क्रसरकै गिट्टी खोज्न थालेपछि थुप्रै विपन्नको रोजिरोटी गुम्यो ।’

खानीको जोखिम स्वयम् खानी सञ्चालकले पनि महसुस गरेका छन् । तर, आफुहरूको मात्रै विषय नभएर खानीबाटै परिवार पालेकाहरूको जिविकोपार्जन पनि महत्वपूर्ण भएकाले चलिरहेको अर्का खानी सञ्चालक चुराबहादुर वस्नेतले बताउनु भयो । उहाँले सबैलाई सकेसम्म जोगिएर काम गर्न आग्रह गर्दै ठुलो पानी परे काम रोक्ने गरेको जानकारी दिनुभयो । उर्लेनीमा पाँच जनाले खानी सञ्चालन गरेका छन् । खानी सञ्चालक आफैँ जग्गा धनी हुन् । व्यक्तिगत जग्गामा श्रमिकहरूले काम गर्छन् । उनीहरूबाट १ हजार रूपियाँदेखि १ हजार २ सय रूपियाँसम्ममा ढुङ्गा र ३ हजार रूपियाँदेखि ३ हजार ५ सय रूपियाँसम्ममा गिट्टी खरिद गर्ने गरिएको खानी सञ्चालक बस्नेतले जानकारी दिनुभयो । खानी सञ्चालनहरूले श्रमिकबाट निर्माण व्यावसायीहरूलाई ढुङ्गा २ हजार २ सय रूपियाँ र गिट्टी ५ हजार ५ सय रूपियाँ प्रति ट्याक्टर बिक्री गर्ने गरेका छन् ।

 

- टोपलाल अर्याल