कोरोना कहर ։ व्यवसायीको उठिबास

बागलुङ । ०७७ असोज १३ गते

६ महिना भयो दिललाई राम्रो सँग निद्रा लागेको छैन । घरको भाडा, लाखौ ऋणको ब्याज, किस्ता र बन्द गरेर राखेको रेष्टुरेण्ट सम्झेर कोल्टे फेर्दा फेर्दै कयौ रात बितेका छन् । पाँच वर्ष जापान बसेर फर्किएको भर्खर एक वर्ष बित्यो । जापानमा रहँदासम्म घर फर्कने र नेपालमै व्यवसाय गर्ने हुटहुटी थियो, तर वर्ष दिनमै आफ्नो योजना र निर्णय प्रति खेद लाग्न थालेको छ । बागलुङको काठेखोला–१ पालाका ३० वर्षीय दिल थापाले २१ लाख रुपियाँ लगानी गरेर २०७६ पुस महिनाबाट बागलुङ बजारमा ‘एम्मी किचन’ नामक रेष्टुरेण्ट सञ्चालनमा ल्याउनुभएको थियो । मासिक ६० हजार रुपियाँ भाडा तिर्ने गरी घर भाडामा लिएर सुरू गरेको व्यवसाय उत्साहप्रद थियो । तर विश्वभरी महामारीको रूप लिएको कोभिड–१९ कोरोना भाइरसको कारण चैत ११ गते नेपाल सरकारले लकडाउन घोषणा गर्यो । एक महिना, दुई महिना हुँदै ६ महिना बित्दा समेत कोरोनाको कारणले निम्त्याएको समस्या समाधान हुने छाटकाट नदेखिएपछि भोक, निद्रा हराएको थापाको भनाइ छ । कोरोनाको कारण पछिल्लो पाँच महिना थापाको रेष्टुरेण्ट पूर्ण रूपमा बन्द रह्यो । बैंकको ऋण र किस्ताको व्यथा छुट्टै छ, घरको भाडा मात्र तीन लाख रुपियाँ भएको थियो । घरभेटीले ३ लाखमा ३० हजार रुपियाँ छुट गर्दिए पनि बाँकी २ लाख ७० हजार रुपियाँ पुनः ऋण खोजेर थापाले भाडा तिर्नुभएको छ ।

थापा मात्र होइन बागलुङ बजारमा मासिक १० हजार भाडा तिर्ने देखि एक लाख भाडा तिर्ने सयौ व्यवसायी छन् । जसको कोरोनाका कारण बन्दाबन्दी र निषेधाज्ञाले उठिबासनै लगाएको छ । व्यवसाय सञ्चालनमा नआउँदा समेत घरभेटीलाई भाडा तिर्नुपर्ने समस्याले बागलुङका करिब दुई दर्जन बढी व्यवसायी व्यवसायबाटै पलायन भएका छन् । जसमध्ये पाँच वटा सुनचाँदी पसलमात्र छन् । इलेक्ट्रोनिक्स, फेन्सी तथा अन्य पसल गरी दुई दर्जन व्यवसायीले सटर खाली गरी दिएको उद्योग वणिज्य सङ्घ बागलुङका अध्यक्ष युवराज राजभण्डारी बताउनुहुन्छ । कोरोना रोकथाम तथा व्यवस्थापनको लागि सरकारले लामो समय लकडाउन गर्यो । भदौ २७ गते सम्म जिल्लामा निषेधाज्ञा थियो । यो अवधिमा घरभाडा तिर्न नसकेर सटर खाली गर्नेहरू मात्र होइन व्यवसाय बन्द हुँदा रोजगारी गुमाउनेको सङ्ख्या पनि बढ्दो छ । जिल्लाका विभिन्न स्थानबाट आएर सटर भाडामा लिएर व्यवसाय गरिरहेकाहरू कोरोनाको कारणले थप मारमा परे । बागलुङ उद्योग वणिज्य सङ्घले घरभाडा छुट गर्नको लागि घरधनीलाई आग्रह गरेको थियो । घरभाडा छुट गर्ने घरधनीलाई उद्योग वाणिज्य सङ्घले सम्मानित र पुरस्कृत गर्ने घोषणा गरेको सङ्घका अध्यक्ष युवराज राजभण्डारीले बताउनुहुन्छ । भाडा तिर्न नसकेर व्यवसाय छोडेकाहरूलाई पुनः व्यवसायमा फर्काउनको लागि पहल गर्ने उहाँको भनाइ छ ।

विषम परिस्थितिमा नाफा घाटा नभएर व्यवसायलाई बचाउन आवश्यक पहल गर्नुपर्ने प्राध्यापक डा.सूर्दशन शिलवालको सुझाव छ । ‘तत्कालका लागि एउटा व्यवसायमात्रै बन्द भएको बुझिन्छ’– शिलवालले भन्नुभयो– ‘तर एउटा व्यवसायको अवसर सबैसँग जोडिएको हुन्छ यसको असर सबैलाई पर्छ ।’ एउटा व्यवसाय बन्द हुँदा व्यवसायीलाई मात्र नभएर घर भेटी, व्यवसायीका परिवार, स्कूल कलेजको फीस देखि कर सम्मका कुरा जोडिएको हुने उहाँको भनाए छ । शिलवालका अनुसार हरेक व्यवसाय एक अर्का सँग जोडिएर अन्नतत् राष्ट्रिय अर्थतन्त्रमै असर पु¥याउने भएकाले व्यवसायमा हात धुने अवस्था नल्याउनका लागि पूजी आर्जन गरेपछि मात्रै भाडा तिर्ने र अन्य व्यवहार मिलाउने गरी व्यवसायीलाई हौसला प्रदान गर्नुपर्ने शिलवालको भनाइ रहेको छ । त्यस्तै बैंकको ब्याजदरमा छुट, राहतका कार्यक्रमलाई जोड्न सकेमा मात्रै आजको अवस्थामा व्यवसाय टिकाउन सकिने प्राध्यापक डा. शिलवालको भनाइ रहेको छ ।

बागलुङ नगरपालिका–४ का ५७ वर्षीय मनबहादुर विकले पछिल्लो १४ वर्षदेखि सुनचाँदी व्यवसाय गर्दै आउनुभएको थियो । बागलुङ बजारमा उहाँको ‘बागलुङ कालिका सुनचाँदी पसल’ थियो । लकडाउनपछि पसल बन्द गरेर घर गएका विकलाई घरभेटीले फोन गरेर तत्काल भाडा नदिए पुलिस बोलाउछु भने । ‘तत्काल भाडा दिन नसके पनि व्यवसाय खोल्ने अवस्था भएपछि भाडा मागेको भए हुन्थ्यो,’– विक भन्नुहुन्छ,– ‘भर्खरै भाडा तिरे तिर, नतिरे पुलिस बोलाउछु भनेपछि सटर खाली गरेर चापी बुझाइदिए ।’

बागलुङ नगरपालिका–८ सिगानाका ३४ वर्षीय शंकर जिसीले बागलुङ बजारमा इलेक्ट्रोनिक्स पसल सञ्चालन गरेको १० वर्ष भयो । पाँच वर्षसम्म कतारमा मजदुरी गरेर फर्केका जिसीलाई विदेशी र विदेशले नदिएको पीडा कोरोना र घरभेटीले दिए । लकडाउन भएपछि पसल बन्द गरेर गाउँ फर्किएका जिसीले चार महिनासम्म अवस्था सामान्य नभएपछि घरभेटीलाई जहिले व्यवसाय सञ्चालन गर्ने अवस्था बन्द तेही समयबाट भाडा तिर्छु भन्नुभएको थियो । तर घरभेटीले सटर बन्द गरेर घर बसेपनि भाडा पुरै भाडा तिर्नुपर्छ भनेपछि असार २४ गते बल्ल तल्ल एक महिनाको भाडा छुट लिएर जिसीले चैत देखि जेठ महिना सम्मको ४५ हजार रुपियाँ भाडा तिरेर सटर खाली गर्दिनुभएको छ ।

बागलुङ नगरपालिका–२ का युवा व्यवसायी सुवास श्रेष्ठले लकडाउन हुनुपूर्व ३० जनालाई रोजगारी दिएको भएपनि अहिले धेरैलाई हटाइ सकेको बताउनुहुन्छ । पोखरा र बागलुङमा पार्टी प्यालेस, बागलुङ बजारमा ब्राउन आइज रेष्ट्रो, ब्राउन आइज मार्ट, कालिगण्डकी फिल्म हल सञ्चालन गर्दै आउनुभएका श्रेष्ठले लाखौ ऋणको ब्याज र किस्ता तिर्न ग्राहो भएकाले कर्मचारी पाल्न नसक्ने अवस्था आएको बताउनुहुन्छ ।

photo20200929Baglung1

 

photo20200929baglung2

 

- सिर्जना पन्त