कारखाना बन्दै कारागार, कैद भोग्दै सीप सिक्दै

गुल्मी । ०७३ कात्तिक २२ गते

हातमा बाँसका कप्टेरा र खुकुरी । कहिले बाँसका सुइरा खुर्किरहेका हुन्छन् त कहिले मुढा बुन्दै र साथीहरूलाई सिकाउँदै हुन्छन् उनी । जिल्ला कारागार गुल्मीमा हाडहाडे-४ का बासु खत्री जहिले पनि उत्साहित मुद्रामा काम गरिरहेको भेटिन्छन् । सजाय भोग्न कारागार आएका उनी सीपयुक्त भएर घर फर्कदैँछन् । उनी भन्छन्-'म आउँदा कारागार खोर जस्तै थियो । अहिले उद्योग भयो ।' उनी अहिले मुढा बुन्न खप्पिस छन् । परिवार भेट्न आउनेलाई उनी खाली हात फर्काउँदैनन् । बलात्कारसम्बन्धी मुद्दामा ०६५ सालमा जिल्ला कारागार आएका उनले मासिक ५ देखि ७ हजार आम्दानी गर्ने गरेको बताए । कारागारका कैदीबन्दीहरू मध्ये उनले मुढा बुनेर सबैभन्दा बढी आम्दानी गर्छन् । यसका साथसाथै उनले ढाका उद्योगमा सल पनि बुन्दै आएका छन् । उनले कैद भुक्तानसँगसँग परिवारको गुजारा पनि कारागारबाट गर्दै आएका छन् । खत्रीले कैद भुक्तान गरेपछि पनि मुढा बुन्ने उद्योग खोलेर अगामी दिनहरू बिताउने योजना सुनाए ।

photo20161107gulmi

'घ' श्रेणीको जिल्ला कारगार गुल्मीमा ६५ जना कैदीबन्दीहरू रहेका छन । ती मध्ये ४३ जना कैदी र १२ जना थुनुवा गरी ५५ जना पुरुष रहेका छन् । ६ जनजा कैदी र दुई जना थुनुवा गरी आठ जना महिला रहेका छन् । दुई जना नाबालक समेत जेलमा रहेका छन् । जीर्ण अवस्थामा रहेको यो कारागारमा रहेका ६५ जना कैदीबन्दी मध्ये धेरैले कुनै न कुनै सीपमूलक काम गरेर आय आर्जन गरिरहेका छन् । पछिल्लो समय कैदी बन्दीहरूको मेहेनत र कार्यालयको प्रशासनको व्यावस्थापनको कारण घरेलु उद्योगका सामान तथा तालिम र आर्थिक सहयोग पनि विभिन्न संस्थाहरूले गरिरहेका छन् । धेरै जनाले सहज रूपमा अनुमान गर्छन, कारागार नराम्रो गर्नेहरू सुधार्ने वा बस्ने थलो हो । हो, यहाँको कारागारमा त्यही भएको छ । कारागारमा आएका कैदीबन्दीले केही न केही गरिरहेका छन् ।

कारगार खत्रीको लागि मात्रै होइन जिल्लाकै हाडहाडे र नेटा गाविसका नारायण मरासिनी र वासु चन्दलाई पनि जीवन भोगाइसँगै जीवन सुधार्ने राम्रो माध्यम बनेको छ । 'पहिले भित्र समय बिताउन मुस्किल हुन्थ्यो ।'-कृषि र मुढा बुन्ने काम गर्दै आएका बासु चन्दले भने-'अहिले दिन काट्न धेरै सजिलो भएको छ ।' उनीहरूले अहिले कृषि तथा अन्य उद्योगमा काम गरेर मासिक ४ हजार भन्दा बढी आम्दानी गर्ने गरेका छन । उनीहरूको सोचाइ छ, कैद मुक्त भएपछि उद्योग खोल्ने र जिविकोपार्जन गर्ने । त्यस्तै कारागारभित्रै बाँसको मुढा बनाउने कञ्चनपुरका उत्तम राना अहिले सबैभन्दा धेरै मुढा बुन्नेमा चिनिन्छन् । उनले मासिक ७ हजार भन्दा बढी कमाउने गरेको बताए । 'कमाइसँगै मानसिक तनाव पनि कम भएको छ ।'-उनले भने ।

photo20161107gulmi1

कोही मुढा बुनिरहेका, केही ढाकाको सल बुन्दैमा मस्त, महिला कैदी बन्दीहरू हस्तकलाका सामग्रीहरू बनाउँदै गरेको जिल्ला कारागारको यो मनमोहक दृश्य निकै रोचक लाग्छ । कैदलाई मेहनतसँग साटेका उनीहरूलाई भेट्न आएका आफन्तलाई समय दिने फुर्सदसमेत छैन । जिल्ला कारगार गुल्मी भित्र बुनेका मुढा तथा ढाकाका सल जिल्लामै सबैभन्दा राम्रो र बलियो मानिन्छ । उत्पादित मुढा तथा ढाकाका सलहरू जिल्लाको सदरमुकाम तम्घास लगायत जिल्लामा मात्र प्रयोग नभएर बाहिरसमेत जाने गरेको जिल्ला कारगार गुल्मीका प्रमुख गोपाल पाण्डेले जानकारी दिए । कैदीबन्दीहरूले आफै लगानी गरेर उद्योग सञ्चालन गरेकाले राज्यले नै उद्योग खोलेर काममा लगाउन सके खेर गइरहेको श्रमबाट लाखौं रुपियाँ आम्दानी गर्न सक्ने पाण्डेको भनाइ छ ।

- टोपलाल अर्याल