काग र गिद्ध घुमेका भरमा काजकिरिया

०७२ पुस ३० गते

दिनको १२ बज्न लाग्दै थियो । सोममायाँ विश्वकर्मा बारीमा मकै गोड्न जाने तयारी गर्दै थिइन् । घरको पिँढीमा १२ वर्षीया छोरी सुनिता खेल्दै थिइन् । घरनजिकै रहेको कोलडाँडाँ बारीको डिलमा सोममायाँकी पति घास काट्दै थिए । अकस्मात केही ठूलो आवाज आयो । जमिन हल्लायो, सोममायाँ मलखाल्डोमा पल्टिन पुगिन् । छोरीको अत्तोपत्तो भएन । कत्ति चोटी बेगवान आवाज आउँदै जमिन हल्लाउँदै थियो । उनी सुन्न र गन्न पट्टि लागिनन् । त्यतिबेला सम्म घाँस काट्न गएका उनको पति पहिरोसँग बग्दै थिए । सोममायाँ त्यसपछि हारगुहार गर्न थालिन् ।

 

सिन्धुपाल्चोक जिल्लाको बराम्ची गाविस-५ सिरानगाउँका ५१ वर्षीय हिराबहादुर विश्वकर्माको ०७२ वैशाख १२ गते आएको विनाशकारी भूकम्पमा परेर मृत्यु भयो । घाँस काट्न हिँडेका हिराबहादुर विक घर फर्कन पाएनन् । बारीको डिलमा घाँस काटिरहेकै अवस्थामा विनाशकारी भूकम्पले बारीको डिलसहित पहिरोमा परिणत भयो । पहिरोसँगै उनी बेपत्ता भए । उनको शवसमेत आफन्तले फेला पार्न सकेनन् ।

 

विनाशको भूमरीले छियाछिया भएको मन लिएर पहिरोमा परेका पतिको शव खोज्ने क्षमता सोममायासँग थिएन । गाउँलेसँग गुहार माग गर्नतिर उनी लागिन् । उनले चारैतिर हारगुहार मागिन् । तर, विपतको त्यौ क्षणमा उनले कतैबाट सहयोग पाइनन् । सोममायाँकी आमाछोरीको "बचाउ, बचाउ" शब्दको गुहार गाउँले कसैले सुनेनन् । अन्ततः पतिसँगै गएको पहिरोको डिलमा बसेर अलाप र बिलाप गर्दै "ए बुढा, ए बुढा" भन्दै बोलाउन लागिन् । बारीको डिलसहितको निकै ठूलो सुख्खा पहिरो गएको थियो । त्यहि पहिरोसँगै सोममायाको पति हिराबहादुर हेलिँदै बग्दै थिए । उद्धार गर्न सक्ने सामर्थ्य कसैको थिएन । ३ सय मिटरको पहिरोले घिसार्दै घिसार्दै लैजाँदा हिराबहादुरलाई कता पुर्‍यायो र कता दवायो कसैले पत्तो पाउन सकेनन् ।

 

सिरानगाउँ लगायत बराम्चीका अधिकांश बासिन्दाका हतियार र औजार बनाउन निपूर्णको रुपमा हिराबहादुर गाउँमा परिचित थिए । उनीले रात बिरात गाउँले बोलाएको जुनसुकै बेलामा पनि दौडिएर कयौँको औजार अर्चाप्ने र हतियार बनाएर सेवा गरेका थिए । तर, उनी पहिरोमा परेको बेला बचाउँन उनीकी पत्नीले गुहार माग्दा कसैले गुहार नदिएको उनकी पत्नी सोममायाले बताइन् ।

 

भूकम्प गएको तीन दिनपछि गाउँका घाइते लिन आएका नेपाली सेनाका जवानलाई पतिको शव खोजिदिन सोममायाले निकै अनुरोध गरिन्, तर पनि हिराबहादुरको शव उत्खनन कार्य भएन । आफू गरिब भएकै कारणले पतिको शव खोज्न कतैबाट मद्दत नपाएको सोममायाँको ठम्याइ छ । तर, पहिरो निकै ठूलो गएको र त्यहा गएर शव खोज्न नसक्ने भएकाले कठिनाइ परेको स्थनीय चन्द्रबहादुर विश्वकर्मा बताउँछन् । हिराबहादुरको दुई छोरा र एक छोरी छन् । दुवै छोरा काठमाडौँको बसन्तपुरमा क्यूरियोको कामको मजदुरी गर्दछन् भने छोरी सानै छिन्, घरमै बसेर आमाको काममा सघाउँछिन् । बाबु पहिरोमा पुरिएको खबर छोराहरूले घटनाको भोलिपल्ट मात्र थाहा पाए । समाचार सुन्नासाथ दुवै छोरा घर आए तर बाबुको खोजी गर्ने सामर्थ्य उनीहरूमा पनि रहेन ।

 

भूकम्प गएको सात दिनपछि सोममाया पहिरोको डिलमा रुँदै छोराहरूसँग भक्कानिइन्-"काग र चिल पहिरोमाथि घुमिरहेको छ । पक्कै पनि बाबुको लाश खान ती चिल र काग घुमेका होलान् । त्रि्रा बाबु कता के भएका होलान्, बरु बाबुको काजक्रिया गर्यौ भने मृत बाबुको आत्माले शान्ति पाउलान् ।"आमाले रुँदै भनेको कुरा छोराहरूले नर्कान सकेनन् । घर नजिकै रहेको चन्द्रबहादुर विकसँग छोराहरूले सल्लाह मागे । गाउँले छिमेकीहरूबाट पनि काजकिरिया गर्नुपर्ने सल्लाह पाए । आठौँ दिनपछि आफ्नो रितअनुसार काजकिरिया गरे । पहिरो वरिपरि काग, गिद्ध र चिलहरू घुमिरहेका छन् त्यसको कुनै चासो नराखी छोराहरू बाबुको काजकिरिया सकेर काठमाडौँ फर्किए ।

 

जिल्ला दैवी प्रकोप उद्धार समितिको अभिलेखअनुसार गते वैशाख १२ गते आएको विनाशकारी भूकम्पमा परेर सिन्धुपाल्चोकमा ३ हजार ५ सय ३४ जनाको ज्यान गयो । ती मध्ये १८ जनाको वैशाख २९ गते आएको परकम्पमा परेर मृत्यु भएको थियो ।

 

- नातिबावु धिताल