कलिला हातहरूको सहारा तुइन ! (फोटोफिचर)

दार्चुला । ०७५ वैशाख १७ गते

वारीपारी ठूला ठूला चट्टान । साघुँरो बाटोमा महाकाली नदी आफ्नै सुरमा बगेको हुन्छ । नदी वारिपारी फलामको तार लगाइएको छ । हेर्दा सजिलो देखिन्छ, तर त्यसमा यात्रा गर्नु निकै चुनौती छ । हेर्दै जीउ सिरिङ्ग हुने । फलामे तारमाथि डोरी अर्थात स्थानीय भाषामा ताङ्लो लगाएर नदी वारपार गर्नुपर्छ । कोमल हातहरूले ती फलामे डोरी कस्दै नदी वारपार गर्नुपर्ने कष्टकर जीवन भोग्न बाध्य छन्, व्यास गाउँपालिकाका बालबालिकाहरू ।

व्यास ४ धौलाकोटका ११ वर्षीय युवराज धामी त्यही तुइनमार्फत वारपार गर्छन् । गाउँकै कक्षा ६ मा अध्ययनरत धामी कापीकलम किन्न सदरमुकाम गएका थिए । 'विद्यालय खुलिसकेकाले कापीकलम र विद्यालय पोशाकको लागि खलङ्गा गएको थिएँ ।'-उनले भने-'हाम्रो त दैनिकी भयो, तुइन वारपार गर्नु ! बर्खामा नदी ठूलो भएर डर लाग्छ । तर, अहिले नदी सानै छ । तार पिठ्युँ र गोडामा राखिन्छ । हात छोड्नु पर्दैन । हात चलाउन नजाने भने फलामे तारले हात काटिन्छ ।' यहाँका सबै मानिस यसैगरी तुइनमार्फत आवतजावत गर्छन् ।

खलङ्गामा पढ्ने बालबालिकाहरू पनि तुइनमार्फत नै आउजाउ गर्छन् । व्यास-२ राप्ला मालका १३ वर्षीया सिर्जना धामी आफ्ना अभिभावकसँग खलङ्गा आवतजावत गरेपनि तुइन तर्दा भने एक्लै वारपार गर्छन् । '१०-११ वर्षको हुँदादेखि तुइन तरियो । अहिले त एक्लै तर्नसक्छु ।'-उनले भनिन् । रानिस्थान आधारभूत विद्यालयमा कक्षा ६ मा अध्ययनरत धामी यार्साको तयारीको लागि पनि सामान लिन आएको बताइन् । 'लेकको सामान र आफ्नो विद्यालय पोशाक, कापीकलम किन्न खलङ्गा गएको हुँ ।'-उनले भनिन्-'यार्साको समयमा विद्यालय बन्द हुने भएकाले लेकको पनि तयारी गर्दैछौँ ।'

'यस क्षेत्रका कलिला बालबालिकाहरू फलामे तारमाथि तर्नु दैनिकी बनेको छ ।'-दार्चुला बहुमुखी क्याम्पसमा अध्ययनरत हरकसिंह कार्कीले भने-'बच्चादेखि नै नदी तर्न जानेका छन् । सुरूसुरूमा खलङ्गा आउजाउ गर्दा अभिभावकले खोलासम्म तार्न सहयोग गर्थे । अहिले झोलामा ताङ्लो बोकेर हिड्छौँ । खलङ्गामा अध्ययन गर्न जाने सबै विद्यार्थीको आवतजावत गर्ने बाटो यहि तुइनमार्फत हो ।'

'सरकारले तुइनमुक्त गर्दै पुल बनाउने भनेको पनि दुई वर्षभयो । पुल कहिले बन्ने हो थाहा छैन । यहाँका नागरिकले सहज रूपमा आवतजावत गर्नसमेत बाटो छैन ।'-कार्कीले भने-स्थानीय सरकार आयो । यी कलिला बालबालिका आवतजावत गर्न सजिलो हुने गरी पुलको पहल गरिदिनुपर्छ । नेपालतिर सडक छैन । गाउँका विद्यार्थी सदरमुकाम आएर पढ्नको लागि बाटोको समस्या हुन्छ । कापीकलम समाउने कलिला हातहरूले कहिलेसम्म फलामे तार समाइ राख्नु?'

1

1

1

1

1

1

1

1

1

1

1

1

- नरेन्द्रसिंह कार्की