एक पाथी अन्नमा चन्द्रामतीले धानेको कटुवाल प्रथा !

पर्वत । ०७५ कात्तिक ७ गते

मोदी गाउँपालिका–१ भुकताङले गाउँ । जहाँ जनजाती समुदायको बाहुल्यता छ । त्यही समुदायमा केही दलित परिवार पनि बस्दै आएका छन् । ती दलित समुदायका व्यक्ति आ–आफ्नो पेसामा आत्मनिर्भर छन् । कोही बाजा बजाउने पेसा अपनाउँछन् त कोही आरनमा सीप देखाउँछन् । समुदायमै बस्ने ४१ वर्षीया चन्द्रामती दमाईको कथा भने अलि बेग्लै छ ।

Photo20181024Parbat1

चन्द्रामतीको दिनचर्या गाउँका अधिकांश डाँडाकाँडा दगुर्दैमा बित्छ । गाउँमा कोही नयाँ पाहुनाको उपस्थित हुँदा होस् या भेला बैठक र सरसफाईको झारा लगाउने कार्यक्रम किन नहोस्, चन्द्रामती गाउँभर सूचना पुर्‍याउन ब्यस्त रहन्छिन् । गाउँलेले कटुवाल काम गर्ने गरी छनौट गरेपछि उनी गाउँका सम्बन्धित ठाउँमा खबर प्रवाहका लागि दगुर्छिन् । मोदी गाउँपालिकाको सबै भन्दा उच्च भूभागको गाउँ हो भुकताङले गाउँ । यद्यपि यो गाउँ सूचनाको पहुँचबाट भने टाढा छैन । गाउँमा विद्युत, मोबाइल, टेलिभिजन रेडियोलगायतकासञ्चारका सबै सुविधा भएपनि चलिआएको परम्परागत कटुवाल प्रथा कायमै रहँदा चन्द्रामतीलाई भ्याइनभ्याई भएको हो ।

चन्द्रामतीलाई भुकताङले गाउँबासीहरूले गाउँ भेलाबाट गत जेठ महिनामा कटुवालमा छनौट गरेका हुन् । गाउँमा यसअघि कटुवालको रूपमा काम गर्दै आएका व्यक्ति कोही विदेश पलायन भए त केहीको मृत्यु भएपछि चन्द्रामतीले सो जिम्मेवारी सम्हालेकी हुन् । कटुवाल बन्नका लागि अन्य पुरूष पनि प्रतिस्पर्धामा आएका थिए । तर, चन्द्रामतीको मनोबल र क्षमताका कारण उनलाई कटुवाल छनौट गरेको गाउँलेको भनाई छ । ‘महिला पनि पुरूष समान हौँ’ भन्ने अठोट बोकेर आपूmले कटुवाल पेसा सम्हालेको उनी बताउँछिन् । चन्द्रामतीले भनिन्–‘महिलाले नै जन्माएका पुरूष भन्दा हामी के कम भनेर मैले कटुवाल काम गर्ने जिम्मा लिएकी हुँ ।’

भुकताङले गाउँमा करिब १ हजार ५ सय घरधुरी रहेका छन् । गुरुङ परिवारको बाहुल्यता रहेको सो गाउँमा अहिले अधिकांश परिवार गाउँबाट बसाइसराई गरी छिमेकी शहर पोखरा र कुश्मालगायतका स्थानमा गएपछि गाउँ पातलिएको छ । गाउँमा सूचना प्रवाह गर्न गाउँका डाँडाडाँडामा पुग्ने पेसा सम्हालेकी चन्द्रामती दमाईको परिश्रमको मूल्य भने निकै न्यून छ । चन्द्रामतीले कटुवाल काम गरेबापत प्रति घरधुरी १ पाथी अन्न पाउने गरेको बताउँछिन् । ‘कसैकसैले पैसा नै दिनुहुन्छ । नत्र मैले पाउने १ पाथी अन्न नै हो ।’–उनले सुनाइन् ।

चन्द्रामतीले विशेष गरी गाउँको सरसफाईमा प्रत्येक हप्ताको मङ्गलबार समुदायलाई जुटाउने काम गर्छिन् । यसैगरी गाउँमा पाहुना आउने खबर र भेला बैठकका लागि पनि समुदायलाई सूचना पुर्‍याउने जिम्मा पनि उनकै हुन्छ । पर्वतको भुकताङले गाउँसँगै सुदूरदक्षिणी बिहादी, पैँयु, महाशिलालगायतका गाउँमा अझै पनि कटुवाल प्रथा कायम नै छ । सूचना सञ्चारको पहुँच विस्तार गरी परम्परागत प्रथालाई आधुनिकीरण गर्दै लगेमा परम्परा जोगिनुका साथै चन्द्रामतीहरूको दुखः केही घट्ने थियो की ?


सन्तोष थापा







Top