इँटा भट्टामा श्रम गर्न बाध्य बालबालिकाहरूको व्यथा

भक्तपुर / ०७६, माघ २९ गते

११ वर्षीय सुनिल कुवँर इँटा बनाउने साँचो निकै छिटो चलाउनुहुन्छ । हातमा कापी कलम समाएर पढ्ने, लेख्ने हात भक्तपुरको झौखेल स्थित इँटा भट्टामा परिवारसँगै इँटा बनाउँदा र इँटा पल्टाउँदैमा थाक्छन् उहाँको दैनिकी ।

कानमा ठूलो मुन्द्रा लगाएका, घुम्रिएको कपाल बनाएका कुँवर इँटा बनाउने साँचोमा बालुवा हाल्नुहुन्छ, भुइँ मा ढ्वाकढ्वाक दुईपटक बजार्नुहुन्छ, अनि हिलो माटो उचालेर साँचो भित्र बेस्सरी हाल्नुहुन्छ, त्यसलाई तारले सिधा पारेर काट्नुहुन्छ, र भुइँमा घोप्ट्याउँनुहुन्छ । अनि तयार एउटा इँटा ।

Ita Ita-2

सल्यान जिल्ला कपुरकोट नगरपालिका–६ का उहाँ परिवारसँगै इँटा भट्टामा आउनुभएका भयो । उहाँ यसैगरि प्रतिएक मिनेटमा कम्तीमा १ वटा ईटा बनाउँनुहुन्छ । यसरी नै बित्छ उहाँको हरेक दिनचर्या । भक्तपुरका ६२ वटा इँटा भट्टामा यस्ता  सयाै‌  बालबालिका यसैगरि विहानैदेखि आफ्नो आँगनमा इँटा बनाउने र साँझ इँटा पल्टाउने काममा व्यस्त रहन्छन् ।

‘कापी किताब पल्टाउन भन्दा इँटाको साँचो पल्टाउनै सजिलो लाग्न थालेको बताउनुहुन्छ’ कुवँर । ‘पढ्न छोडेर काममा लाग्नु रहर नभई बाध्यता थियो, अब यसैमा रमाउन थालें’ उहाँले भन्नुभयो । ‘इँटा पार्दा, इँटा पल्टाउँदा हात त थाक्छ नी, राती झ्याउलीमा गयो, भुक्लुक्क सुत्यो,पढ्ने रहर त सपना नै भयो’ उहाँले भन्नुभयो ।

३८ वर्षीया आमा लक्ष्मी कुँवरको चार सन्तान छन् । १४ वर्षमा विवाह गर्नुभएको उहाँको जेठो छोरा र बुहारी इँटा बोक्नुहुन्छ । १५ वर्षीया छोरी सरिता पनि इँटा बोक्नुहुन्छ, काखमा ३ वर्षको छोरी बोकेर उहाँ पनि श्रीमान्सँगै इँटा बनाउँनै व्यस्त हुनुहुन्छ ।

‘बा–आमा, भाइ इँटा पार्छन्, म र दाइ भाउजू इँटा बोक्छम, कमाई कति हुन्छ, मलाई थाहा छैन, हिसाब बा ले राख्छन्’–१५ वषीया सरिताले भन्नुभयो ‘गाउँमा ३ कक्षासम्म पढेकै हो, त्यसपछि बा, आमासँगै यतै आईयो, अचेल पढ्न मन लाग्दैन, यहीँ इँटा बोक्नै रमाईलो लाग्न थाल्यो ।’

रामेछाप फर्कश्वारबाट भक्तपुरको सुडाल स्थित इँटा भट्टामा काम गर्न आएका १२ वर्षीय विनोद तामाङ्गले पनि पढ्न छाड्नुभयो । बाबुआमा नभएपछि काकासँग गाउँमा बस्ने उहाँ इँटा भट्टाका नाईकेसँग यहाँ काम गर्न आउनुभयो । अब दिनहरू यही बित्न थाले ।

‘पढ्न त मन लाग्थ्यो, काकाले स्कूल पठाउनु भएन, घर कै काम गर्नुभन्दा नाईकेले इँटा भट्टामा काम गर्न जाम भनेपछि यतै आए, अहिले दिनमा २ सय कमाउछु,’ उहाँ भन्नुहुन्छ ‘अब पढ्दिन, गाउँ पनि जान्न, भट्टा बन्द भएपछि अन्तै काम खोज्छु ।’

उस्तै दैनिकी छ रिता कुवँरको पनि । किताब कापीले भरिएको झोला बोक्ने काँधमा दैनिक इँटा बोक्नुहुन्छ १४ वर्षीया रीता कुँवर । झौखेल भैरब चिम्नी इँटा उद्योगमा इँटा बोक्ने गरेको उहाँले बताउनुभयो । ‘एक पटकमा २२ वटा इँटा बोक्छु, दिनमा एक हजारदेखि १ हजार पाँच सयसम्म इँटा बोक्छु ।’ इँटा बोकेर दिनमा ३ सय कमाउने गरेको उहाँले बताउनु भयो । उहाँ भन्नुहुन्छ ‘अब त पढ्दिन, यतै साथीहरूसँग रमाईलो लाग्छ, किताबको चाङ्ग बोक्न सजिलो भएपनि, यहाँ रमाउन थालियो ।’

यो इँटा भट्टामा मात्रै २० भन्दा बढी बालबालिका इँटा बोक्न व्यस्त देखिन्छन् । हेर्दा सानै देखिने बालबालिकाहरूलाई अपरिचित व्यक्तिले उमेर सोधे १८ वर्ष भन्छन् । इँटा भट्टाका मालिकले नै उमेर बढाएर भन्न सिकाउने गरेको बालबालिकाका परिवार बताउँछन् । वास्तविक उमेर बताएमा काम गर्न नपाईने भएकाले उमेर ढाटेर काम गर्न बाध्य भएको बताउँछन् भकुण्डे बेसीबाट इँटा भट्टामा काम गर्न आएका १३ वर्षीय राजन परियार । उहाँ भन्नुहुन्छ ‘काम लगाईदिन्छु भनेर नाईकेले ल्याए, यहाँ इँटा भट्टामा आउँदा कसैले उमेर सोधे १८ भन्नु, नत्र काम गर्न पाईदैन भनेकाले उमेर ढाटेको, साहुँले नचिनेका मान्छेसँग नबोल्नु भनेका छन् ।’

इँटा व्यावसायि भने सकेसम्म बालबालिकालाई काममा नलगाउँने बताउँछन् । आमाबाबुसँग आएका बालबालिकालाई उनीहरूकै परिवारले काममा लगाउने गरेको सञ्चालकहरूको दावि छ । इँटा भट्टामा विशेष गरि नाईकले नै बालबालिकालाई श्रमका लागि ल्याउने गरेको एनपी इँटा भट्टाका सञ्चालक नविन प्रजापतिले बताउनु भयो  । इँटा भट्टा सञ्चालकले तोकेको नाईकेले गाउँबाट काम गर्ने मजदूर ल्याउने ठेक्का पाउँछ, त्यसै अनुसार नाईकेले बालश्रमिक समेत ल्याउने गरेको उहाँले बताउनुभयो । मजदूर ल्याए वापत नाईकले प्रत्येक मजदूरबाट मासिक रुपमा कमिसन समेत पाउँने गर्छन् ।

भक्तपुर इँटा व्यवसायि संघका अध्यक्ष नातीभाई ह्याम्बा इँटा भट्टामा बाल मजदुर नराखेको दावि गर्नुहुन्छ । इँटा भट्टालाई बालश्रम मुक्त बनाउने अभियानमा स्वयम् व्यवसायि नै लागेको दावि गर्र्दै उहाँले कतिपय बालबालिका परिवारसँग आउने भएकाले इँटा भट्टामा बालबालिका देखिएको बताउनु भयो ।

संघका अध्यक्ष ह्याम्बाले चारवटा इँटा भट्टा बालश्रम मुक्त घोषणा गरिसकेको बताउनु भयो । संघले बालश्रमिक नभएको दाबी गरेपनि अधिकांश इँटा भट्टामा विहान १० बजेसम्म पुग्दा बालबालिका चिसोमा काम गरिहेका भेटिन्छन् । अपरान्हपछि बालबालिका इँटा पल्टाउने काममा व्यबस्त हुन्छन् । इँटा भट्टामा इँटा बोक्ने समेत बालबालिकाका नै देखिन्छन् ।

गतवर्ष महिला तथा बालबालिका कार्यालयले गरेको अनुगमनमा १६ जना बालबालिकाको उद्धार गरेको थियो । अनुगमन गरेपछि इँटा भट्टामा भेटिएका बालबालिकाको उद्धार गरेर राख्ने ठाउँ नहुँदा सरकारी निकायलाई थप समस्या पर्ने गरेकोले अनुगमन र उद्धारमा चासो नदिएको हुनसक्ने पूर्व महिला विकास कार्यालयकी प्रमुख निला घिमिरे बताउनु भयो ।

- रमेश गिरी