अवैध घरेलु विषाक्त मदिरा सेवनको कारण दुई महिनामा ३६ जनाको मृत्यु

०७७ वैशाख २५ गते

 

अवैध घरेलु विषाक्त मदिरा सेवनको कारण पछिल्लो दुई महिनामा धनुषा र महोत्तरीमा ३६ जनाको मृत्यु भएको छ । धनुषा र महोत्तरीमा ०७६ चैत महिना देखि ०७७ वैशाख २३ गतेसम्मको अवधिमा ३६ जनाले विषाक्त मदिरा सेवनको कारण ज्यान गुमाएको हो ।

०७६ फागुन २७ गतेदेखि चैत २ गते सम्ममा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. १ र २ रमदैयामा घरेलु मदिरा सेवनबाट १४ जनाको मृत्यु भएको छ भने जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ मुसहरी टोलका चार जनाको मृत्यु छ ।

मृत्यु हुनेमा रमदैयाका ४७ वर्षीय शत्रुधन मण्डल, ५५ वर्षीय श्रीदेव यादव, २५ वर्षीय इन्द्रजित महरा, ३५ वर्षीय ब्रहमदेव यादव, ४० वर्षीय रामबिलास मण्डल, ६५ वर्षीय गुदरी महरा, ३६ वर्षीय राम नारायण महरा, ३० वर्षीय राजु महरा, ४७  वर्षीय शत्रुधन मण्डल र रामप्रसाद यादवको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । तर, स्थानीयका अनुसार मदिरा सेवनबाटै बिजय सदा, रासमती सदा, झुरुक सदा र रञ्जित यादवको पनि मृत्यु भएको छ ।

यस्तै, घरेलु मदिरा सेवन कै कारण धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ स्थित मुसहरी टोलका मिथिला सदा, वनारशीदेवी सदा, झगरु सदा र जितेन्द्र सदाको मदिरा सेवन कै कारण मृत्यु भएको छ ।

त्यसैगरी, ०७६ चैत २ गतेदेखि ५ गते सम्ममा महोत्तरीको मनरा सिस्वा नगरपालिकामा पाँच जनाको मृत्यु भएको छ । विषाक्त मदिरा सेवन कै कारण मनरा सिस्वा नगरपालिका वडा नं. १ साविकको मनरा गाउँका ५० वर्षीय ब्रह्मदेव मण्डल, ५५ वर्षीय राघो मण्डल, ४५ वर्षीय सुखचन्द्र मण्डल, ५० वर्षीय विकास मण्डल र ५५ वर्षीय गङ्गा सिंहको मृत्यु भएको हो ।

यो घटना सेलाउन नपाउँदै ०७७ वैशाख १० गतेदेखि वैशाख २३ गतेसम्ममा विषाक्त मदिरा सेवनकै कारण महोत्तरीको भङ्गहा नगरपालिका वडा नं. ६ र ७ तथा बर्दिबास नगरपालिका वडा नं. १२ मा १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा भङ्गहा नगरपालिका वडा नं. ६ हतिसर्वाका ४८ वर्षीय पलट साह, भङ्गहा नगरपालिका वडा नं. ७ का ५५ वर्षीय नथुनी महरा, ५५ वर्षीय लालवावु सिंह, ४० वर्षीय सिकिन्द्र सिंह, ५७ वर्षीय सुकदेव महरा, रौतहट घर भई भङ्गहा नगरापलिका वडा नं. ७ मेघरौलमा काठ मिस्त्रीको काम गर्दै आएका ५६ वर्षीय महेन्द्र चौधरी, सोही स्थानका ४४ वर्षीय मोहन चौधरी र रूप नारायण सिंह दनुवार रहेका छन् ।

त्यसैगरी वर्दिवास नगरपालिका वडा नं. १२ का ५५ वर्षीय गङ्गाराम सदा, ३० वर्षीय सोकिन्द्र मण्डल, ५५ वर्षीय सोमनीदेवी वातर र भारत उत्तर प्रदेश घर भई स्थानीय ईट्टा भट्टामा कार्यरत ५५ वर्षीय मोतीलाल प्रजापतीको मृत्यु भएको छ भने भङ्गहा नगरपालिका वडा नं. ७ का ७० वर्षीय महिला गरभुदेवी महतोको वैशाख २३ गते मृत्यु भएको छ ।

भङ्गहाको उक्त वडामा लगातार मान्छेको मृत्यु हुने क्रम नरोकिएपछि त्यस क्षेत्रका स्थानीय निकै त्रासमा छन् ।

अहिले विश्वभर फैलिएको कोरोना भाइरसको महामारीको बेला यसरी मृत्यु हुनेहरूको पोष्टमार्टमको साथै कोरोना भाइरसको समेत परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएको र मृत्युको कारण अत्यधिक घरेलु मदिरा सेवनबाट भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुने सबैको सुरूमा टाउको र पेट दुख्ने, बान्ता आउने, आँखा डम्म हुने र अन्ततः शरिर चिसो भएर मृत्यु हुने गरेको स्थानीयको भनाई छ ।

१३ जनाको मृत्युपछि कारण खोज्न डाक्टरको टोली गाउँमा

महोत्तरीको बिजलपुरा र मेधनाथ गोरहन्नामा १० दिनमा ११ जानको मृत्यु भएपछि स्वास्थ्य विभाग अन्तर्गतको इपीडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका बरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. अमृत पोखरेलको टोली वैशाख २२ गते मृत्युको कारण खोज्न गाउँ पुगेका थिए ।

टोलीमा डब्लुएचओको इमरजेन्सी हेल्थ प्रोग्रामका फिल्ड मेडिकल अफिसर सुदेसा खड्का समेत रहनु भएको थियो । टोलीले मृत्यु भएका परिवारहरूसँग घरमा पुगेर घटनाको अध्ययन गरेका छन् ।

कोरोना भाइरसको त्रासबीच गाउँमा धमाधम मानिसहरूको मृत्यु भएपछि स्थानीय त्रसित भएका छन् । मृतकका परिवारजन तथा गाउँ शोकमा डुबेको छ ।

गत वैशाख १० गते यता महोत्तरीको बर्दिबास नगरपालिका वडा नं. १२ स्थित बिजलपुराको जुरीटोलमा चार जनाको मृत्यु भयो भने भङ्गहा नगरपालिका वडा नं. ६ हत्तिसर्वाको जमुनियाँ र वडा नं. ७ को मेघनाथ गोरहन्ना, मेघरौल, नयाँटोलमा गरी सात जनाको मृत्यु भइसकेको छ ।

‘अहिले मदिरा सेवन झन् हानिकारक’

मदिरा सेवनबाट मानव स्वास्थ्यमा प्रतिकूल अवस्था सिर्जना हुने भन्दै अहिलेको स्वास्थ्य सङ्टका समयमा मदिरा सेवन नगर्न अपिल गरिएको छ । मदिरा सेवनबाट मुलुकका विभिन्न भागमा मानवीय क्षति भएको भन्दै अहिलेको अवस्थामा मदिराको सेवन गरेर आफूलाई थप जोखिममा नपार्न स्वास्थ्य मन्त्रालयले आग्रह पनि गरेको छ ।

स्वास्थ मन्त्रालयमा वैशाख २३ गते आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले मदिराको सेवनले रोग प्रतिरोधात्मक क्षमतामा ह्रास गर्ने भन्दै यसले कोरोना सङ्क्रमणको थप जोखिम बढ्ने बताउनु भयो । ‘मदिराले हानी गर्छ, फाइदा गर्दैन, कोरोना भाइरसलाई नष्ट गर्ने कुरै भएन, न मानिसमा छर्केर नै यसको नियन्त्रण गर्न सकिन्छ न सेवनले नै रोक्न सकिन्छ । यो दुबै हिसाबले मदिराको प्रयोग हानीकारक छ’,–उहाँले भन्नु भयो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाले मुलुक लकडाउनको अवस्थामा मदिरा सेवन गर्नुको साट्टो शारीरिक तथा मानसिक हिसाबले सुदृढ हुने खालका क्रियाकलाप गर्न अनुरोध गर्नु भयो । ‘मदिरा सेवनले कलेजोमा हानि गर्छ, त्यस्तै शरिरका अन्य अङ्गमा पनि असर गर्छ, जटिल रोगको अवस्था निम्तन सक्छ र मृत्यु पनि हुन सक्छ’,–उहाँले भन्नु भयो । अत्यधिक मदिरा सेवनले मानसिक समस्या पनि निम्तन सक्नेतर्फ उहाँले सचेत गराउनु भएको छ ।

के हो मद्यपान वा मदिरा ?

जाँड, रक्सी, वाइन, ह्वीस्की जस्ता अल्कोहलयुक्त तरल पदार्थको सेवन गर्नुलाई मद्यपान भनिन्छ । यो पेय पदार्थ सेवन गर्नु नै मदिराको सेवन हो ।

  • मदिराको सेवनले स्वास्थ्यमा नकारात्मक असर पार्दछ । मदिराको लत बस्यो भने व्यक्ति दुव्र्यवसनी बन्छ । विभिन्न अपराधमा संलग्न हुन्छ । मदिराले शरिरका अङ्गमा क्यान्सर हुने, कलेजो सुनिने, उच्च रक्तचाप हुने, मस्तिष्क घात हुने जस्ता प्रमुख स्वास्थ्य समस्या ल्याउने गर्दछ । मदिरा स्वास्थ्यका लागि हानिकारक भएपनि मानिसले यसलाई धर्मको नाममा, भोजको बहानामा र साथीहरूको जमघटमा प्रयोग गर्ने गरेको पाइन्छ ।
  • आजको तथ्याङ्कलाई हेर्दा ६५ प्रतिशत पुरुष र पाँच प्रतिशत महिलाहरुले मादक पदार्थ सेवन गर्ने गरेको पाइन्छ । जुन तथ्याङ्कमा वृद्धि भइरहेको पाइन्छ ।

मदिराको कुलतमा लाग्नुका कारणहरू

  • धर्म संस्कारका रूपमा मदिराको प्रयोग गर्नु ।
  • भोज एवम् साथीभाइको जमघटमा रमाइलोका लागि सेवन गर्नु ।
  • खाना पचाउँछ, शक्ति दिन्छ भन्ने गलत धारणाका कारण सेवन गर्नु ।
  • मदिराको आकर्षक विज्ञापनको प्रभावमा पर्नु ।
  • साथीभाइको दबाब, लहैलहै एवम् देखासिकीमा लाग्नु ।
  • जाडोबाट बच्न मदिराको प्रयोग गर्नु ।
  • व्यक्ति स्वयम् सचेत हुन नसक्नु ।
  • मदिराको उत्पादन एवम् विक्रीवितरण बढ्दै जानु ।
  • विवाह, व्रर्तबन्ध र खुशीयालीका कार्यक्रममा मदिराको सेवन गर्ने प्रवृतिमा वृद्धि हुनु ।
  • विदेशीहरूले र ठुलावडाले भनिने हरुले खान्छन् तर उनीहरूलाई केही भाएको छैन भन्ने लहैलहैमा लाग्दै हाल पुरूषले मात्र नभई महिलाले पनिसेवन गर्नु ।

मदिरा सेवनबाट पर्न सक्ने तत्कालीन असरहरू

  • व्यक्तिको सोच्ने र सम्झिने शक्तिमा बाधा पुगी आफ्नो क्रियाकलापमा नियन्त्रण हुँदैन ।
  • शारीरिक सन्तुलन गुमाई भीरबाट लड्ने, सवारी दुर्घटनामा पर्ने हुन्छ ।
  • रगतमा रक्सी वा अल्कोहलको मात्रा बढी भएमा मृत्यु समेत हुन सक्छ ।
  • घरायसी झै–झगडा, साथीहरूसँग मनमुटाव हुने हुन्छ ।
  • यौन अपराधहरूमा संलग्न हुने सम्भावना हुन्छ ।

मदिरा सेवनले समाजमा पारेका असरहरू

  • मदिरा सेवनले सर्वप्रथम आफैलाई विनास गर्छ ।
  • यसले हिंसा निम्त्याउँछ ।
  • झगडा गराउँछ ।
  • सम्पत्तिको नास गराउँछ ।
  • गाउँ, घर तथा समाजमा अशान्ति पैदा गर्दछ ।
  • दुर्घटना गराउँछ तथा मृत्यु गराउँछ ।
  • मदिराको सेवनले सन्तुलन गुमाएर महिलाहरू बलात्कारमा पर्दछन् ।
  • महिला हिंसा बढाउछ ।
  • परिवारका सदस्यहरूको बिचल्ली गराउँछ ।
  • शारीरिक, मानसिक तथा भौतिक क्षती गरी छोराछोरीहरूको भविष्य अन्धकार गराउँछ ।
  • सदाचार खलबलाउँछ ।

मदिरा सेवनका दीर्घकालीन असरहरू

  • आमाशयमा असर पर्न गई ग्यास्ट्राइटिस हुन्छ ।
  • आमाशयको भित्री भागमा अल्सर भई रगत बग्न सक्छ ।
  • कलेजोमा नराम्रो असर पर्न गई कमलपित्त हुन्छ । त्यस्तै सिरोसिस नामक प्राणघातक रोग लागी ज्यान समेत जान सक्छ ।
  • कुपोषित हुने, मुटु र मृगौलाको कार्यमा सुस्तपन आउँछ ।
  • स्नायु र मस्तिष्कमा असर पार्ने भएकोले मानसिक असन्तुलन भई अन्त्यमा बेहोस भएर मृत्यु पनि हुन सक्छ ।
  • पुरूष तथा स्त्रीको प्रजनन् क्षमतामा कमी आउँछ ।

मदिरा सेवन र हाम्रो देशको अवस्था

  • लिटरलाई आधार मान्दा सबभन्दा बढी आयात हुनेमा पेट्रोलीयम पदार्थ, खाद्यान्नमा प्रयोग हुने तेलपछि मदिराजन्य पदार्थ तेस्रोमा पर्दछ ।
  • चाडपर्वमा अनिवार्य रक्सी सेवन गर्नु पर्ने सोचका कारणले मदिराजन्य पदार्थको आयात बढेको अनुमान गर्न सकिन्छ । दसैँ, तिहार, छठ, इद र लोसार लगायतका विभिन्न भोजमा रक्सी पिउने संस्कृति मौलाउँदै गएको पाइन्छ ।
  • विश्व स्वास्थ्य सङ्ंगठनले २००३ मा गरेको एक अध्ययन अनुसार नेपालमा (१५ वर्ष भन्दा माथि ) वार्षिक  रक्सीको प्रयोग प्रति व्यक्ति (०.२ परक्यापिटा कन्सम्सन प्रति व्यक्ति)  रहेको छ ।
  • यो अध्ययन अनुसार सबै भन्दा बढी रक्सीको प्रयोग लक्जम्बर्ग (१५.६ पर क्यापिटा), आइरल्यान्द (१३.७), युके (११.८) जस्ता देशहरूमा छन् भने मुस्लिम देशहरू जहाँ कानुनी बन्देजको कारणले साउदी अरेबिया, अफ्गानिस्तान, पाकिस्तान जस्ता देशहरूमा कम खपत हुने गरेको पाइएको छ । अध्ययनले त्यहाँ (०.०) पर क्यापिटा देखाएको छ ।
  • सन २००० मा  चाइल्ड वर्कर इन नेपाल (सिवीन) को एक अध्ययन अनुसार २ हजार ४ सय घरपरिवार, १६ जिल्ला, गाउँ शहरमा गरिएको सर्भे अनुसार ६ सय ५ रक्सी प्रयोग गरिएको पाइयो । नियमित प्रयोगकर्ताले ३ सय ८५ (३० दिनमा एक–पाँच दिनसम्म प्रयोग गर्ने), दिनहु प्रयोग गर्ने १ सय ५ (३० दिनमा २० दिन भन्दा बढी प्रयोग गर्ने ) जसमा महिला २ सय १५ र पुरूषले ५ सय ५ कुनै प्रकारको मदिरा सेवन गरेको पाइएको छ । नेपालमा हुने धेरै जसो हिंसा मदिरा सेवनको प्रत्यक्ष वा अप्रत्यक्ष असरले हुने गरेको पाइएको छ । मदिरा सेवनपछि हुने अपराधहरूमा घरेलु हिंसा ४ सय ५, शारिरीक हिंसा ३३.४५%, धन सम्पत्ती नास २७.८५ %, शिक्षाबाट बन्चित २०.२५% देखाएको छ ।

मदिरा सेवन र धनुषा–महोतरीको अवस्था

  • विनाअनुमती र गुणस्तरहीन घरेलु मदिरा खुलेआम बिक्री वितरण र उत्पादन भइरहेको छ ।
  • भट्टीहरूमा बिक्री हुने विषाक्त मदिराका कारण यहि दुई महिना भित्र धनुषा र महोत्तरीमा मात्रै ३५ जनाको मृत्यु भएको छ ।
  • अस्पतालको रेकर्ड अनुसार मदिरा सेवन गरी अस्पतालमा उपचार गर्न महिनामा सरदर २० जना बिरामी आउने गरेका छन् ।
  • जिल्ला अस्पताल जलेश्वरका डा. सतिसकुमार साहका अनुसार अखाद्य तथा अनियन्त्रित केमिकल प्रयोगका कारण मादक पदार्थ (रक्सी) विषाक्त हुने गरेको छ ।
  • पटक पटक अवैध मदिरा भट्टि नष्ट गर्ने प्रयास गरेपनि मदिरा भट्टिको जालो नै भत्काउन नसकेको अवस्था छ ।
  • युरिया खाद्य, सखर, सडे गलेको प्लाष्टीक, चप्पल, मोजा र अन्नपातलाई महिनौ सम्म जमिन मुनि खाल्डो खनेर गलाएर अखाद्य पदार्थ मिसाइएर बनाइने ती भट्टिबाट उत्पादित मदिरा सेवनले सर्वसाधारणको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने गरेको छ ।
  • आन्तरिक राजश्व कार्यालय जनकपुरको तथ्याङ्क अनुसार धनुषामा छिरेश्वर डिस्टिलरी प्रा.लि., सांग्रिला डिस्टिलरी प्रा.लि., छिन्नमस्ता डिस्टिलरी प्रा.लि. र धनुषा डिस्टिलरी प्रा.लि.ले मात्र मदिरा उत्पादन गर्ने अनुमति प्राप्त गरेका छन् । त्यसैगरी सर्लाहीको अमरावती मधुशाला प्रा.लि.ले हरिवनमा रक्सीको कच्चा पदार्थ स्प्रिीट उत्पादन गर्ने अनुमति प्राप्त गरेका छन् । यसका बाहेक उत्पादन हुने रक्सीहरू धनुषा, महोत्तरी र सर्लाहीमा अवैध मानिन्छन् ।
  • धनुषा र महोत्तरीमा मात्र वार्षिक करिव ५ करोडभन्दा माथिको नक्कली मदिरा उत्पादन र बिक्री वितरण भइरहेको छ ।
  • आन्तरिक राजस्व कार्यालय, जनकपुरका अनुसार महोत्तरीमा १३ ओटा थोक वितरक र १ सय ६५ ओटा खुद्रा मदिरा पसल दर्ता भएका छन् तर अवैध रुपमा पसल सञ्चालीत छन् ।
  • बिहारमा रक्सी प्रतिबन्धित भएपछि अवैधरूपमा नेपाली बजारबाट मदिराको निर्यात बढी नै भइरहेको छ ।
  • शान्तिपूर्ण सामाजिक वातावरणमा समेत असर पुगिरहेको छ ।

कानूनी ब्यबस्था

  • मदिरा ऐन, २०३१ ले ६ महिनासम्म कैद वा १ लाख रुपियाँसम्म जरिवाना वा दुबै सजाय हुने र प्रयोग भएको भाडा बर्तन समेत जफत हुने कानूनी व्यवस्था छ ।
  • अन्तः शुल्क ऐन २०५८ ले बिना ईजाजत मदिरा उत्पादन तथा बिक्री गर्ने व्यक्तिको विगो जफत गरी बिगो बमोजिम जरिवाना वा एक वर्षसम्म कैद वा दुबै सजाय हुने र प्रयोग भएको भाडा बर्तनसमेत जफत हुने बताएको छ ।

समाधानका उपाय

  • छिमेकी मुलुक भारतको बिहारमा जस्तो नेपालमा पनि मदिरा सेवन तथा विक्री वितरणमा प्रतिबन्ध लगाउनु पर्छ ।
  • शिक्षा, जनचेतना र रोजगारीमा सरकार तथा सरोकारवालानको ध्यान जानु पर्छ ।
  • आर्थिक विकासका कार्यक्रम ल्याउनु पर्छ ।
  • व्यक्ति आफू स्वयम् सचेत हुने, मदिरा सेवन नगर्ने ।
  • घरपरिवारमा कसैले मदिरा धर्म संस्कारको रूपमा सेवन गर्दै आएको छ भने नराम्रो असरप्रति सचेत गराई संस्कारमा विस्तारै परिवर्तन गर्दै लग्नु पर्छ ।
  • सार्वजनिक स्थलमा मदिरा बिक्री वितरणमा रोक लगाइनु पर्छ ।
  • मदिराको विज्ञापनमा रोक लगाउनु पर्छ ।
  • सार्वजनिक स्थलमा मदिरा सेवन गर्न नपाउने कानुनी व्यवस्था गरी प्रभावकारी रूपमा लागु गर्नु पर्छ ।
  • घरपरिवारका सदस्यले आफ्ना बालबालिकालाई मदिरा किन्ने र विक्री गर्ने कार्यमा लगाउनु हुँदैन ।
  • स्वास्थ्य शिक्षा र नैतिक शिक्षालाई अनिवार्य गर्नु पर्छ ।

- अजयकुमार साह