अपाङ्ग व्यक्तिको पीडाः आमा नभए के गरौँला !

०७६ माघ ४ गते

माघ महिनाको चिसो सिरेटो, बिहानीको झुल्के घामसँगै घरको आँगनमा आमाको साहरामा ह्विलचेयरमा निस्किन्छन् हरिचन्द्र रावल । खलाचौरस्थित कर्णाली राजमार्गको छेउमा उनको घर छ । घरदेखि वरपर जान नसक्ने भएपछि दुई वर्षदेखि उनले घरको आँगनमा दिन विताइ रहेका छन् । कर्णाली राजमार्गमा गुड्ने सवारी साधन र आवत जावत गर्ने मान्छे हेर्दै उनको दैनिकी बित्ने गर्दछ ।

चन्दननाथ नपा–७ खलाचौरका २४ वर्षीय हरिचन्द्र रावल एक पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति हुन् । उहाँ जन्मजात अपाङ्गता भएका व्यक्ति भने होइनन । ०७४ फागुन २८ गते आफैले चलाएको ट्याक्टर दुर्घटना हुँदा मेरुदण्ड भाँचिएपछि उहाँ पूर्ण अशक्त अपाङ्गता हुनु भएको हो । ‘गरिवीका कारण सानोमा पढ्न लेख्न पाएन’ उहाँले भन्नुभयोे पछि ठुलो भएपछि जिवीकोपार्जनका लागि ट्याक्टरको खलासी भएर काम गरे । केही समय खलासीमा काम गरेपछि आफैले ट्याक्टर चलाउने भए । ट्याक्टर चलाउने क्रममै दुर्घटना भएपछि अहिले यो हालत भयो उहाँले भन्नुभयो ।

दुर्घटनापछि उहाँको जीवन केही समय अस्पतालमा बित्यो । उपचारमा करिब पचास लाख रुपियाँ खर्च भयो, तर सञ्चो नभएपछि अहिले ह्विलचेयरको सहारामा जीवन विताई रहेका छन् । शुरुमा जुम्ला अस्पताल, त्यसपछि नेपालगञ्ज हँुदै भारतको लखनऊ पुगेका हरिचन्द्रलाई सञ्चो भएन । घरखेत बेचेर उहाँको करिब ५० लाख खर्च भयो तर सञ्चो भएन ।

उनको जीवनमा अर्को पीडा थपियो । दुर्घटनापछि हरिचन्द्रको पत्नीले घर छोडिन । चार वर्षकी एक छोरी साथमा छन् । उनको लालनपालन ४७ वर्षीया आमा कर्मकली रावलले गरिरहनु भएको छ । हरिचन्द्रले भन्नुभयोे अहिले त आमा हुनुहुन्छ । आमाले दुख्ख गरी पालनपोषण गर्नु भएको छ तर भोली आमाको ज्यान तलमाथि भए के गरौँला । एउटा छोरी छ उनको भविश्य के हुने हो । यही चिन्ताले पिरोल्ने गरेको उहाँले दुख्ख पोख्नु भयो । छोरी चार वर्षकी भईसकिन । विद्यालय पठाउन सकिएको छैन उहाँले भन्नु भयो । आफ्नो भविश्य त यस्तै भईसक्यो छोरीको भविश्य बनाउने उपाय छैन हरिचन्द्रले भन्नुभयो । उहाँले दुःख पोख्नुभयो मरौ भने काल आउदैन बाँचौ भने बाँच्ने आधार छैन ।

कहिलेकाही आमा भन्दा अगाडी मर्न पाए हुन्थ्यो जस्तो लाग्छ उहाँले गुनासो गर्नु भयो । आफ्नो मृत्युपछि छोरी कहाँ जालिन जस्तो पनि लाग्छ । बाँचेर पनि केही गर्न सकिने होइन । यस्तै मनका कुण्ठाले रातीमा निन्द्रा, दिनमा भोग लाग्दैन उहाँले भन्नुभयो । अरु दाजुभाई पनि छन् उहाँले भन्नुभयो आमाको माया जस्तो कहाँ होला र । उनीहरुका पनि घर परिवार छन् । आफ्नो घर परिवारको हेरचार गर्लान् की मेरो । उनीहरूलाई पनि समस्या नै छ उहाँले भन्नुभयो ।

जीवनयापनको साहारा बन्यो सुरक्षा भत्ता
अहिले उहाँको परिवार पाल्न सरकारले दिएको अपाङ्गता परिचय पत्र साहारा भएको छ । पूर्णरूपमा अशक्त अपाङ्गता भएका व्यक्तिहरुको जीवनशैली कसरी वित्छ होला ? पछिल्लो समयमा सरकारले अपाङ्गता भएका व्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन थालेपछि जीवनयापनको माध्यम हुन थालेको छ । सरकारले अपाङ्गता भएका व्यक्तिलाई दिने सामाजिक सुरक्षा भत्ताले कतिपय परिवार यस्ता छन् जहाँ उक्त भत्ताले परिवार नै धान्ने गरेको छ ।

परिचय पत्र वापत मासिक तीन हजार आउने सामाजिक सुरक्षा भत्ताबाट घर व्यवहार सञ्चालन भईरहेको हरिचन्द्रकी आमा कर्मकली रावलले जानकारी दिनुभयो । उहाँका अनुसार छोरा हरिचन्द्रको उपचारका लागि घर घडेरी ऋणमा छ तर सरकारले दिएको तीन हजार आजभोली नूनतेलको साहारा भएको छ ।

हरिचन्द्र रावल दिसा पिसाव तरकाउन पनि सक्दैनन । पाइपमार्फत पिसाव र पञ्जा लगाएर दिसा गराउनुपर्ने हुन्छ तर त्यही पञ्जा खरिद गर्न रकम अभावले आफु कहिले भौतारिने गरेको कर्मकलीले बताउनुभयो । उहाँ मात्रै हैन, चन्दननाथ नपा– ९ का १८ वर्षीय पशुपति शाही पनि पुरै शरीर नचल्ने पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति हुन् । उहाँको घर परिवारको पनि आम्दानीको माध्यम अरु केही छैन् । तर सरकारले उपलब्ध गराएको रातो परिचय पत्रले घर परिवारको बाच्ने साहारा भएको हो ।

सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ताले अपाङ्गता भएका व्यक्तिहरु, ज्येष्ठ नागरिक र बालबालिकाहरुका लागि भरपर्दो आधार हुन थालेको छ । हरिश्चन्द्र र पशुपति एक नमूनाका पात्र हुन् ।

सरकारले अपाङ्गता भएका व्यक्तिहरुलाई उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ताले आफ्नो सरकार अभिभावक जस्तै लाग्ने गरेको चन्दननाथ नपा–५ कालेखोलीका पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति ३७ वर्षीय मोहन शाही बताउनुभयो । उहाँ पनि रातोकार्ड प्राप्त पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति हुन् ।

सरकारले अहिले पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरुलाई मासिक ३ हजार र अतिअशक्त अपाङगता भएका व्यक्तिलाई एक हजार दुई सय रूपियाँ सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउदै आएको छ ।

अपाङ्ग पुनस्र्थापन तथा विकास केन्द्र जुम्लाका अध्यक्ष नन्दराज धितालका अनुसार पूर्ण अशक्तका लागि सरकारले जति गरेको छ, त्यो राम्रो छ तर एक परिवारले पुरै समय दिनुपर्ने भएकाले कर्मचारी बराबरको तलव दिन आवश्यक रहेको बताउनुभयो ।

राज्यले अपाङ्गतामैत्री नीति तथा कार्यक्रम ल्याएपनि कार्यन्वयनमा नआउदा शिक्षाको पहँुचबाट बाहिर रहनु परेको छ । उहाँले भन्नुभयोे यहाँको प्राकृतिक भुगोल अपाङ्गता मैत्री त छैन तर मानवनिर्मत भौतिक संरचना अपाङ्गता मैत्री नहुँदा हरेक सेवा सुविधादेखि शिक्षाबाट पनि बञ्चित हुनु परेको हो ।

photo 2020-01-20 Jumla 1 Photo 2020-01-20 Jumla 2

 

- मानदत्त रावल